बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फागुुन ३ गते : प्रदेश ५ हेडलाइन, कहाँ के भयो ?

शुक्रबार, ०३ फागुन २०७५, १९ : ३५
शुक्रबार, ०३ फागुन २०७५

प्रदेश ५ मा प्रदेश स्थापना दिवस सम्पन्न 
सरकारले बुधबारदेखि प्रदेश स्थापना दिवस मनाउने क्रममा आज भव्य कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । दिवशका अवसरमा बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको प्रभात फेरी बुटवलमण्डपमा आई बिशेष समारोहमा परिणत भएको हो । 

प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिँदै स्थापना दिवसलाई भव्य रुपमा मनाउनको लागि आग्रह गरेको थियो ।

फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस मनाउने निणर्य प्रदेश सरकारले गरेअनुसार प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । 

प्रदेश ५ को अस्थाई राजधानी बुटवल उपमहानगरपालिकाको ६० औं स्थपना दिवस र प्रदेश दिवसलाई  संयुक्त रुपमा मनाइएको छ । सोही अनुसार झाँकी, मञ्चको व्यवस्थापन गरिएको छ ।

प्रभातफेरीमा प्रदेशका मन्त्रिहरु कुल प्रसाद केसी, बैजनाथ चौधरीसहित प्रदेशसभा सदस्यहरु, बुटवलसहित विभिन्न नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधहरु, कर्मचारी, संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।  बुटवलमा विभिन्न जाती समुदाय, टोल समूहको विशेष झाँकी प्रस्तुत गरिएको थियो ।

प्रदेश सरकारले ३ दिनसम्म प्रदेश स्थापना दिवस मनाउने निणर्य गरेपछि बिहीबारदेखि यस प्रदेशमा रक्तदान, सरसफाई, विद्यालयहरुमा वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिताहरु भएका छन् ।  

सोही अवसरमा  प्रदेश स्थापनाको एक बर्ष नामक स्मारिका विमोचन गरिएको थियो । यस्तै विभिन्न कर्मचारी र करदाताहरुलाई सम्मान गरिएको छ । बुटवलमा मण्डपमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख उमाकान्ता झा, मुख्यमन्त्री शंकर पोखरेल उपस्थिति रहेको रहेको थियो ।

प्रदेश समृद्धि बनेपछि राष्ट्र समृद्धि : मुख्यमन्त्री पोखरेल
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश समृद्धि बन्दा मात्र राष्ट्र समृद्धि बन्ने बताएका छन् ।

प्रदेश स्थापना दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरलेले प्रदेशहरु समृद्धितर्फ लाग्दा राष्ट्र नै समृद्धि बन्ने भएको सबैको ध्यान प्रदेश विकासमा केन्द्रीत हुनुपर्ने बताए । संघले रणनीति अयोजना केन्द्रीत हुनुपर्ने प्रदेशले जनताका विकास र आधारभूत आवश्यकता सुनिश्चता गर्नुपर्ने बताए ।

उनले ५ नम्बर प्रदेशको विकास र समृद्धिको आधार कृषि भएकाले भूमिविहिनलाई करार खेती, ५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलगायतका नौला कार्यक्रम कार्यान्वयनमा आएका मुख्यमन्त्री पाखरेलले उल्लेख गरे ।

प्रदेशको दीर्घकालीन समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले अब लुम्बिनीको पर्यटन प्रवर्द्धनको जिम्मेवारी संघले प्रदेश सरकारलाई दिनुपर्ने बताए । लुम्बिनी गुरुयोजना र अन्य विकास निर्माण लुम्बिनी विकास कोषले गरे पनि पर्यटन प्रवर्द्धनको जिम्मा प्रदेश सरकारलाई दिन संघीय सरकारलाई आग्रह गरिसकेको पनि बताए ।

दाङमा बस दुर्घटना, ४२ जना घाइते
दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँको बोगटीमा दुईवटा यात्रुबहाक बस दुर्घटना हुँदा ४२ जना घाईते भएका छन् ।

दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँको बोगटीमा दुईवटा बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा१ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुर आउँदै गरेको ना८ख १०१७ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ, भने गम्भीर घाईते भएका तीनजनाको थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

बुटवलमा क्यान इन्फोटेक मेला सुरु
बुटवलमा सूचना प्रविधिसम्बन्धी प्रर्दशनी क्यान इन्फोटेक मेला २०१९ सुरु भएको छ । मेलाको आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन् । 

उनले  क्यान नमुना प्रविधियुक्त सहर बनाउनको लागि प्रदेश सरकार जहिले पनि तयार रहेको बताए । ५ दिनसम्म बुटवको बुटवलमण्डपमा सञ्चालन हुने इन्फोटेकमा एक सय २५ स्टलको सहभागिता रहेको छ ।

उनले क्यान महासंघलाई नमूना आईसिटी सीटी बनाउनको लागि आग्रह गर्दै जसको लागि प्रदेश सरकार सहयोग गर्न तयार भएको बताए । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले प्रदेशमा आईसीटी सम्बन्धी नमुना उत्पादन गर्नको लागि समेत आग्रह गरे ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले डिजिटल नेपालको परिकल्पना सरकारले गरेको भएपनि सोही अनुसारको नीजि क्षेत्र संग सहकार्य गर्न नसकेको बताए । यस्तै क्यान महासंघ नेपालका संस्थापक अध्यक्ष डा. विमल शर्मा क्यान संगको सहकार्यमा सरकारले हातेमालो गर्नुपर्ने जोड दिए ।

देउसी भैली खेलेर स्वास्थ्य चौकीमा फार्मेसी र ल्याब सेवा
दुई सय रुपैयाँको औषधी किन्न तीन सय रुपैयाँ गाडी भाडा तिरेर जानुपर्ने समस्या भएपछि गुल्मीको विकट गाउँ भार्सेका वासिन्दाले  देउसीभैलो खेलेर संंकलन गरेको रकमले गाउँकै स्वास्थ्य चौकीमा फर्मेसी तथा ल्याव सेवा सञ्चालन गरेका छन् ।

सत्वती गाउँपालिका वडा ८ भासे स्वास्थ्य चौकीमा फार्मेसी र ल्याब सेवा सञ्चालन गरेका हुन् । उक्त सेवाको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले उद्घाटन गरेका छन् ।  

उद्घाटन समारोहलाई सम्बधोन गर्दै अध्यक्ष ढकालले सबैभन्दा विकट गाउँ भार्सेका  वासिन्दा २ सय रुपैयाँको औषधी किन्नका लागि तल खैरेनी बजारमा   ३ सय रुपैयाँ गाडी भाडा तिरेर जानुपर्ने बाध्यया भएकोले गाउँपालिकाले १ लाख ८४ रुपैयाँ विनियोजन गरेको र त्यसले   सामग्री खरिद गरेको र बाँकी भार्सेवासीले देउसीभैलो खेलेर कर्मचारी राख्दै फार्मेसी र ल्याब सेवा सञ्चालन गरेकोप्रति धन्यवाद दिए ।

उनले त्यस वडाका वडाध्यक्ष  तथा भार्से स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार थापा र स्वास्थ्य चौकी इञ्चार्ज युवराज दिशा मगरले गाउँवासीसँग सहयोग संकलन गरेर यस्तो कार्य गरेको भन्दै उनीहरु धन्यवादको पात्र भएको बताए । 

उनले भार्से स्वास्थ्य चौकीमा बेला बेलामा डाक्टर पठाएर स्वस्यको पहुँच घर दैलोमै पुर्याउन गाउँपालिका लागेको बताए ।

४१ वर्षअघि  शिक्षक बनेको विद्यालयमा पुगेर मन्त्री ज्ञवालीले किन झिके कात्रोको प्रसंग ?
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले हरेक नागरिक र जिम्मेवारीमा रहेका सबै पक्षले पैसाको पछाडी मात्रै लागेर नहिँड्न र जिम्मेवारी अनुसारको काम गर्न आग्रह गरेका छन् । उनले  गृहजिल्ला गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ५ वम्घा काउलेमा रहेको जनज्योति  प्राथामिक विद्यालयको  स्वर्ण महोत्सव शुक्रवार उद्घाटन गर्दै यस्तो बताएका हुन् । 

उनले शिक्षकहरुलाई  पैसा होइन कामप्रति गम्भीर जिम्मेवारी लिन आग्रह गर्दै भने, ‘बाँचुञ्जेल काम गरेर देखाउ पैसाको पछाडी मात्रै नलागौं, मरेर लानु के छ र ? आखिर कात्रोको खल्ती हुँदैन, मरेपछि कसैले केही लगेर जान पाईँदैन ।’

४१ बर्षअघि त्यसै विद्यालयको शिक्षक अहिले मन्त्री
परराष्ट्रमन्त्री ज्ञवाली २०३४ साल भदौदेखि डेढ बर्षसम्म त्यसै विद्यालयका शिक्षक थिए । त्यसै विद्यालयमा शुक्रबार स्वर्ण महोत्सव मन्त्रीको हैसियतले उद्घाटन गर्ने अवसर प्राप्त गरेकोप्रति आफू गर्वित, हर्षित र विगतको स्मरण गरेर भावुक समेत बनेको उनले बताए ।

उनले भने– ‘आज भन्दा ४१ बर्षअघि म यसै विद्यालयमा १४ बर्षको उमेरमा शिक्षक थिएँ । त्यो ताका नै मेरा राजनैतिक गुरु स्वर्गीय  जिवराज आश्रितसँग चिनजान भई मेरो राजनैतिक यात्रा समेत यहिँबाट सुरु भएको हो । यस अवसरमा मैले मेरा राजनैतिक गुरु स्वर्गीय नेता जिवराज आश्रित र विद्यालयका संस्थापकसहित प्रधानध्यापक  स्वर्गीय कुलचन्द्र ज्ञवालीलाई पनि स्मरण गर्दै सम्मान व्यक्त गर्दछु ।’

‘हामीले त उतिबेला धुलोमा लेखियो, पार्टीमा पढियो र बाँसको कलमले पनि लेखियो र पढाईयो पनि, अहिले भने म आफूले हातले लेख्दिँन सबै काम कम्युटरबाटै गर्छु, अर्थात म बाँसको कलमदेखि  कम्युटरसम्मको युगमा आइरहेको छु,’ उनले भने– ‘अर्थात म अहिले कम्युटरमा आश्रित भइसकेको छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप