शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुण्डुमा आइपुग्यो सिंहदरबार

शुक्रबार, ०३ फागुन २०७५, १९ : ००
शुक्रबार, ०३ फागुन २०७५

भक्तपुर । गतवर्ष सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल नेकपाको चुनावी घोषणापत्रको एक मुख्य नारा थियो ‘गाउँ गाउँमा सिंहदरबार ।’

भक्तपुर सुर्यविनायक नगरपालिका – ७ कार्यालय वरपरको आजको दृश्य हेर्दा त्यती बेलाको घोषणापत्रको सोही नारा अनुरुप जनताको मन जित्न भक्तपुरका जनप्रतिनिधीहरु सक्रियतापूर्वक लागिरहेका थिए । 

जिल्ला सदरमुकामका सम्पूर्ण सरकारी निकायका सेवाप्रदायक कार्यलयहरु कर्मचारी, फाईल, काजजातसहित देखिन्थे भने अस्पातल र अन्य स्वास्थ्य संस्थाहरु उपकरण र स्वास्थ्यकर्मीसहित देखिन्थे । सयौं नागरिकहरु आफ्नै गाउँटोलमा आइपुगेको यो शिविरबाट लाभ लिन तल्लिन देखिन्थे । 

सेना, प्रहरीलगायत अन्य सरकारी निकायहरु विभिन्न स्टलमार्फत जनचेतनामुलक कार्यक्रम सञ्चालनमा व्यस्त देखिन्थे । रक्तदान, स्वास्थ्य शिविरलगायतका स्टलहरुमा गाउँलेहरुको उल्लेखिय भीड देखिन्थ्यो ।

आफूलाई आवश्यक सम्पूर्ण सेवाहरु लिइसकेपछि घर फर्किने बेला गाउँलेहरुको ‘रिफ्रेसमेण्ट’का लागि चियापान, सांस्कृतिक तथा मनोरन्जनात्मक गतिविधीहरु सँगैको मैदानमा आयोजना गरिएको थियो । सिंगो गाउँ, टोलभरी स्थानीयहरुको बाक्लो चहलपहल देखिन्थ्यो । 

यो दृश्य आज भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ स्थित सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको हो । 

पूर्व उद्योगमन्त्री तथा भक्तपुर प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलकदमी र नेपाली सेनाको वीरदल गणको व्यवस्थापनमा आजदेखि शुरु भएको ‘एकीकृत घुम्ती सेवा’मा हजारौं जनताको स्वतस्फुर्त सहभागिता रहेको आयोजकको दाबी छ । 

सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुति दिलाउनु यस अभियानको मुख्य उद्देश्य रहेको सांसद बस्नेतले बताए । राज्यका  तिनै तहका प्रतिनिधिहरुको सहभागिता रहने उक्त अभियानको प्रसाशनिक सेवाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले नै गर्ने र हरेक महिनाको पहिलो शुक्रबार फरक फरक वडामा यस कार्यक्रम सञ्चालन हुने जानकारी बस्नेतले दिए ।

जनता र जनप्रतिनिधीहरुकै बीचमा पारदर्शी हिसाबले सेवा प्रदान गर्ने उपयुक्त वातावरण निर्माणको कारण जनताले भोग्नु परिरहेको प्रसाशनिक झमेला, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न यो अभियान प्रभावकारी रहने दाबी समेत सांसद बस्नेतले गरे । 

‘घरको सानो सिफारिस र अंश बण्डाको लफडा थियो । काम अल्झिराको थियो । आज गाउँटोलमै सिडियोसाप, हाकिमसापहरु आफैँ आएर हाँसीहाँसी काम गर्दिनुभो । खुसी लाग्यो’ शिविरमा सहभागी ६० वर्षीया एक महिलाले भनिन् । 

गाउँकै एक व्यक्तिलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परिक्षण गराउँदै शिविरको उद्घाटन सांसद बस्नेतले गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप