शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘संकटकाल’ घोषणा गर्ने तयारीमा ट्रम्प

शुक्रबार, ०३ फागुन २०७५, १६ : ४०
शुक्रबार, ०३ फागुन २०७५

बीबीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा बनाउने भनेको पर्खालको लागि आवश्यक पैसा जुटाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका छन् । यो जानकारी ह्वाइट हाउसस्थित अमेरिकी राष्ट्रपति कार्यालयले दिएको छ । 

उनले सरकारी कामकाज बन्द हुने अवस्था आउन नदिनको लागि एक सिमाना सुरक्षा विधेयकमा हस्ताक्षर गर्नेछन् । एक वक्तव्यमा बताइए अनुसार ट्रम्पले त्यहाँको संसद(कँग्रेस)लाई ‘बाइपास’ गरेर सैन्य कोषलाई पर्खाल बनाउन प्रयोग गर्नेछन् । 

डेमोक्रेट पार्टीका बरिष्ठ नेताहरुले भने ट्रम्पले संकटकाल घोषणाको तयारीलाई ‘शक्तिको निर्लज दूरुपयोग’ र ‘स्वेच्छाचारी कदम’ भनेका छन् ।   डेमोक्रेटहरुको बहुमत रहेको अमेरिकाको संसदको तल्लो सदनले बिहीबार एक विधेयक पास गरेको थियो, जसमा ट्रम्पले पर्खालको लागि माग गरेको रकम छुट्याइएको छैन । उक्त विधयक कानुन बन्नको लागि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुपर्छ । 

मेक्सिकोसँग जोडिएको भागमा पर्खाल बनाउने ट्रम्पको प्रमुख चुनावी प्रतिबद्धता थियो । तर राष्ट्रपतिको रुपमा उनले हालसम्म उक्त योजनालाई अघि बढाउनको लागि बजेट पाइरहेका छैनन् ।  ट्रम्पले आप्रवासीहरुको प्रवाहलाई रोक्नको लागि अमेरिकाको दक्षिणी सिमानामा एक भौतिक अवरोध आवश्यक रहेको बताउँदैं आएका छन् । उनले पटक–पटक अमेरिकामा आप्रवासीहरुको प्रवाह संकटग्रस्त स्तरमा पुगेको बताउँदैं आएका छन् । 

तर आलोचकहरुले भने सिमानामा आप्रवासीहरुको संख्या अघिल्ला दशकहरुको तुलनामा धेरै कम भएको, आएकामध्ये पनि बढी कानुनी रुपमै अमेरिका प्रवेश गर्न खोजेको बताउँदैं आएका छन् ।  अमेरिकाको संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिले संकटकाल घोषणा गरे डेमोक्रेटहरुले कानुनी चूनौती दिने बताइसकेकी छिन् । 

के हो राष्ट्रिय संकटकाल ?

अमेरिकामा संकटको समयमा संकटकालीन अवस्था घोषणा गरिन्छ । हालको सन्दर्भमा अमेरिका–मेक्सिको सिमानामा आइरहेका आप्रवासीहरुले ल्याइरहेको ट्रम्पको भनाई छ ।  विज्ञहरुका अनुसार राष्ट्रिय संकटकाल घोषणा भएको अवस्थामा त्यहाँका राष्ट्रपतिले केही विशेषाधिकार पाउँछन्, जसले गर्दा उनले प्रभावकारी रुपमा सामान्य राजनीतिक प्रक्रियालाई ‘बाइपास’ गर्न सक्छन् । 

ट्रम्पले हालको सैन्य अथवा प्रकोप राहत बजेटलाई पर्खालको निर्माणका लागि प्रयोग गर्न सक्छन् ।  तथापि अमेरिकाको दक्षिणी सिमानाको अवस्थालाई संकटकाल मान्न सकिने नसकिने बारेमा विवाद छ । 

एकातर्फ, नोभेम्बर महिनामा प्रत्येक दिनजसो दैनिक २००० मानिसहरु सिमानामा पक्राउ परिरहेको अथवा फकाईरहेको अवस्था थियो । समर्थकहरुले यो सकंटकालीन अवस्था भएको बताइरहेका छन् ।  अरुले भने यो संख्या एक दशक अघिको भन्दा निक्कै कम रहेकाले संकटकाल लगाउनुपर्ने जरुरी नरहेको बताइरहेका छन् ।

साथै होण्डुरसबाट लाखौंको संख्यामा अमेरिकातर्फ आइरहेका मािसहरुमध्ये अधिकाँशले आफूलाई शरणार्थीको रुपमा प्रस्तुत गरिरहेका छन् । यस्तो समूहलाई अन्तर्राष्ट्रिय कानुन अनुसार शरण दिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप