बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पहाडकी रानी इलामको गहना – माइपोखरी

शुक्रबार, ०३ फागुन २०७५, ११ : ५४
शुक्रबार, ०३ फागुन २०७५

सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने र विकसित हुँदै आइरहेको इलाम जिल्लाको गहनाको रुपमा रहेको एउटा प्रमुख पर्यटकीय स्थल हो– माइपोखरी ।

हिन्दू र बुद्ध धर्मावलम्बीहरुका लागि अत्यन्तै आस्थाको केन्द्रको रुपमा मानिँदै र पुजिँदै आइएको माइपोखरी इलाम जिल्लाको सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरतिर ६,९०० फिटको उचाइमा अवस्थित छ । करिब १ किलोमिटर क्षेत्रफलमा फैलिएको माइपोखारी सन् २००८ को अक्टोबरमा विश्व सिमसार क्षेत्रको रुपमा समेत सूचीकृत भइसकेको छ ।

आफ्ना वरिपरि माइपोखरी बोटानिकल गार्डेनलाई समेटेर बसेको त्यस क्षेत्रलाई जैविक एवं वनस्पति विविधिताको क्षेत्रका रुपमा समेत लिइन्छ । विभिन्न थरिका अर्किड फूलहरु, अन्य विविध लेकाली फूल तथा चाप, धूपी, सल्ला लगायतका रुखविरुवा तथा जडीबुटीहरु पाइने माइपोखरी क्षेत्र ह्वाइट रम्प्ड गिद्ध, चितुवा–बिरालो, युरेरियन ओटर र विश्वमै दुर्लभ मानिने एकखालको छेपारो (स्थानीय नाम ठकठके) को समेत बासस्थान हो । त्यस क्षेत्रमा ३०० प्रजातिका चराहरु पनि पाइन्छन् ।

दुर्भाग्यवश, अहिले माइपोखरी क्षेत्रमा बढ्दो आवासीय गतिविधि, वरिपरि बढ्दो चियाखेतीले त्यसको अस्तिवमाथि खतरा र चुनौतीहरु बढेर गएको छ । विशेष गरी, मानवीय गतिविधिको बृद्धिसँगै रुखविरुवाहरुको विनाश तथा चियाखेतीमा बढ्दो अजैविक विषादीको प्रयोगले समगू्र पर्यावरणीय प्रणाली अर्थात् इकोसिस्टममा नै खतरा उत्पन्न हुन थालेको छ ।

सौभाग्यवश, त्यो खतराका विरुद्ध लड्न र जुघ्न स्थानीय वासिन्दाहरु जुर्मुराउन थालेका पनि छन् । आचारसंहिताको निर्माण गर्ने र पर्यावरणीय सन्तुलन खज्मज्जिने गतिविधिहरुमा रोक लगाउन तथा जनचेतना अभिबृद्धिका लागि विभिन्न गतिविधिहरु सञ्चालन हुनु निश्चय पनि स्वागतयोग्य कुरा हो ।

जेहोस्, पर्यटनमा रुचि राख्नेहरुका लागि इलाम जिल्ला एक पटक अनिवार्य रुपमा पुग्नै पर्ने स्थान हो । त्यसमाथि थप, इलाम पुगेपछि माइपोखरी नजाने हो भने त्यो नून बिनाको तरकारी खाए जस्तै हुने त पक्कै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुन्दर बस्नेत
सुन्दर बस्नेत
लेखकबाट थप