बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चेतावनी :

‘मर्ला र खाउँला भनेर नसोचे हुन्छ’

बुधबार, ०१ फागुन २०७५, १५ : ३५
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफू नेतृत्वको सरकार र नेकपा कमजोर भए पालो आउला भनेर सोचेको भए त्यो सपना नदेख्न चेतावनी दिएका छन् । 

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । 

प्रधानमन्त्री ओलीले यसरी किस्सा जोडे । 

‘भैंसी हेरेर एउटा जीवले भन्छ, मरेपछि खाउँला । तर भैंसी मर्नुको सट्टा झन्झन् मोटाउँछ, ब्याउँछ, पाडापाडी पनि पाउँछ । अनि त्यो जीवले भन्छ, म यही दिन देख्नका लागि बाँचेको थिएँ ? तर भैंसी पाल्नेले त्यही दिन देख्नका लागि पालेको हो । र, नेपालीले देख्न चाहेको पनि त्यही दिन हो ।’

देश सुशासन, समृद्धि र विकासतर्फ अगाडि बढिसकेको भन्दै अब यो यात्रा नरोकिने बताएका छन् ।

ऋषिमुनीको सन्तान के भएर गए .... 
नेपाल विद्धान् र ऋषिमुनीहरुको देश भएपनि पछिल्लो समय अपराध र भ्रष्टाचारले शिर झुक्ने अवस्था आएको प्रधानमन्त्रीको गुनासो थियो । उनले प्रश्न गरे ‘नेपालीहरु विद्धानको सन्तान, ऋषिमुनीको सन्तान तर अहिले के भएर गए ?’

देशमा अपराध र भ्रष्टाचार बढ्नुको कारण अशिक्षा र गरीबी रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले बिस्तारै यी दुवैलाई हटाउने दाबी गरे । 
 
उनले भने ‘यदि सबैले समुचित काम पाउने हो भने यो गरीबी रहने थिएन । हामी नेपाललाई परिवर्तन र रुपान्तरण गर्न चाहन्छौँ । गरीब देशबाट समृद्ध देश, अनपढबाट विद्धान, अल्पविकसितबाट विकसित भनेर पहिचान बदल्न चाहन्छौँ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारीको अभावलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने कदमको रुपमा आएको भन्दै यो प्रयास फलदायी हुने पनि उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले बेरोजगारीप्रति लक्षित गर्दै ‘भारी टाउको बिना ज्याला बोक्ने दिनको अन्त्य’ गरिने बताए ।

अहिले सरकारसँग स्पष्ट नीति, गन्तब्य र कार्यदिशा भएकाले अब विकासको लहर समातिसकेको उनले दाबी गरे । 

राजनीतिक प्रसङ्गमा प्रधानमन्त्री ओलीले अहिले नेकपामा समस्या पैदा गर्ने कोशिश थामिनसक्नु भएको भन्दै प्रयास सफल नहुने दाबी गरे । 

आमा र बुवामा फाटो ल्याउन छोराले गर्ने हर्कतको किस्सा सुनाउँदै प्रधानमन्त्री ओलीले त्यस्तो प्रयास सफल नहुने चेतावानी दिए । 

भेनेजुएला प्रकरणमा बचाउ
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणलाई उचालेकामा आक्रोश व्यक्त गरेका छन् । 

उनले भने ‘अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्नें धेरै कोशिश भएको छ । यो ब्ल्यांक फायर होइन, कतै ताकेको छ । यस्तै–यस्तै कुरा सुनाउने प्रयास भएको छ । त्यो कुनै काम लाग्नेवाला छैन ।’

नेपालको विदेश नीतिबारे थप प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भने ‘नेपाल सुस्पष्ट नीति लिएर अगाडि बढेको छ र यसमा कुनै दुविधा छैन । बाह्य हस्तक्षेप हुनु वाञ्छनीय हुँदैन भन्ने संयुक्त राष्ट्र संघको वडापत्रलाई हामीले मानेको हो ।’
 
सरकारको आयु ५ वर्ष नै हो
फागुन ३ गते शुक्रबार सरकारको १ वर्ष पूरा हुने भन्दै नेपालको लागि यो नै महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीको जिकिर छ । उनले भने ‘यो सरकार ५ वर्ष आरामसँग जान्छ । यो सरकार स्थिर सरकार हो ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ समारोहका झलक:
तस्बिरः सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप