बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्ट पार्टीमा नेतालाई देउता ठानिँदैन : नेता नेपाल

बुधबार, ०१ फागुन २०७५, १४ : ५३
बुधबार, ०१ फागुन २०७५

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विगतको एक वर्षमा सरकारले गरेका विभिन्न कामकारवाहीको समीक्षा गरी सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधबार जनकपुरमा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले वर्तमान सरकारले विगतका कमिकमजोरीलाई स्वीकार गरेर जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले कामहरुको राम्ररी वस्तुनिष्ठ ढंगले समीक्षा गर्दै कमजोरीलाई सुधारेर काम गर्नुपर्छ । आगामी वर्षको नयाँ यात्राको लागि जनताको मन जित्नतर्फ सरकार काममा लाग्नुपर्छ ।’

त्यस्तै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर गठन भएको नेकपासमेत अन्योलमा रहेको बखत उनले पार्टी विधिसम्मत चल्नुपर्ने टिप्पणी गरेका छन् ।

उनले पार्टी निर्माणको काममा लागेका अध्यक्षद्वयहरुले आफू अनुकुल पार्टी चलाउन खोजेको बताए । ‘पार्टी विधिबाट चल्नुपर्छ । कम्यूनिष्ट पार्टीको विधि हुन्छ र सोहि अनुसार कमिटी चल्छ । तसर्थ त्यही अनुसार अघि बढ्नुपर्छ,’ उनले भने, ‘कम्युनिष्ट पार्टीमा नेतालाई देउता ठानिँदैन । यो नेताहरुले बुझ्नुपर्छ ।’

नेता नेपाल जनकपुरस्थित कविर बाल बात्सल्य अनाथ आश्रममा आयोजित कार्यक्रममा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप