‘त्यसो हुन सकेको भए माओवादीले ५०औँ वर्ष राज गर्थ्यो’

person access_timeसाउन १६, २०७४ chat_bubble_outline0

भारतीय सेना नेपाललाई सार्वभौमसत्ता सम्पन्न, शान्तिपूर्ण राष्ट्रका रूपमा देख्न चाहन्छ

 
पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल कुनै बेला निकै ‘साहसिक’ व्यक्तिको रूपमा चित्रित गरिन्थे । कारण थियो, विद्रोहबाट सत्तामा पुगेको माओवादी शक्तिलाई च्यालेन्ज गर्नु । अर्थ सोझो थियो । तत्कालीन समयमा आन्दोलनरत सात राजनीतिक दललाई सेनाका माध्यमबाट राजाले ‘लात’ लगाएका थिए । हातमा बन्दुक बोकेका सेना देशमा दुइटा थिए । एउटा शासनसत्ता हातमा लिएको राजासँग र अर्को जनवादी गणतन्त्र स्थापना गर्न जनसरकार घोषणा गरेको विद्रोहीसँग । हतियारसँग हतियारले नै सामना गर्न सक्थ्यो । त्यसैले सात राजनीतिक दल र माओवादीले हात मिलाएर र राजा फाल्ने निधो गरे । 

माओवादी पनि जसरी हुन्छ आफ्नो सपना पूरा गर्न चाहन्थ्यो । सहमति भयो, देशमा राजा फालियो, गणतन्त्र आयो । सरकारको बागडोर पुरानो विद्रोही तर, नयाँ म्यान्डेड बोकेको दलको काँधमा आयो । सरकारको नेतृत्व गर्दै थिए विद्रोही नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तर बागमतीमा धेरै पानी बगिसकेको थियो । माओवादी पूरै राजनीतिमा हाबी थिए । दलहरू नामेट हुने हो कि भन्ने डरमा नयाँ सेनासँग होइन कि पुरानो सेनासँग उभिन पुगेका थिए । त्यही पुरानो सेनाको पुरानो सारथीको नाम हो कटवाल । कटवालको नाम ‘साहसिक’ व्यक्तिका रूपमा तिनैले शक्तिले उच्चारण गरे जो आफ्नो अस्तित्वको लडाइँमा थिए । जे होस् उनीहरूलाई पनि माथि आउनु थियो । 

‘'जनरल्स नेभर रिटायर्ड’ भन्ने बुढो निवृत्त पूर्वसेनापतिलाई भेट्नुअघि मेरो मनमा समेत त्यस्तैत्यस्तै ‘साहसिक’ छवि कुँदिएको थियो । जति बेला मैले उनलाई भेटेँ । हाम्रो पहिलो दिन केही मिनट र आगामी तीन दिनसम्म धेरै कुरा भए । मैले त्यहीँबाट नेपाली सेना र उनको निर्माण गरिएको छवि तथा वास्तविक छविका बारे जान्ने मौका पाएँ । (भलै यो बुझाई अझै अपूरो छ) यो लामो कुराकानी मैले १४, १५ र १६ फागुन २०७२ मा गरेको थिएँ । यो कुराकानी मैले अन्य कुनै पत्रिकाका लागि गरेको थिएँ । तर, कारणबस त्यो छापिन सकेन । अनि म उपयुक्त समयको प्रतीक्षामा थिएँ ।– नरेश ज्ञवाली
 
 
हिजोआज के गर्दै हुनुहुन्छ ?
तपाईंसँग कुरा गर्दैछु । 

धार्मिक कार्यक्रममा सहभागी हुनेबाहेक अरू केही ?
मलाई फ्रिलान्सर भने हुन्छ । राज्यले कुनै जिम्मेवारी दिएको छैन । कुनै सङ्घ–सङ्गठन तथा दलीय राजनीतिमा पनि लागेको छैन । म स्वतन्त्र देशको स्वतन्त्र नागरिक भएर हिँडिरहेको छु ।

तपाईं आफै फेरि ‘'जनरल्स नेभर रिटायर्ड’ पनि भन्नुहुन्छ ?
हो, जर्नेल कहिलै रिटायर्ड हुँदैन । त्यो मर्यो भने पनि फलानो जर्नेल मर्यो भनेर कहलिन्छ । 

जर्नेलले राज्यका लागि केही न केही काम गरिरहने हुनाले पो उनीहरू कहिलै रिटायर्ड हुँदैनन् भन्न खोजियो होला ? 
राज्यले भन्दा पनि राज्य सञ्चालन गर्ने मानिसहरूले कसरी लिन्छन्, त्यसमा भरपर्ने कुरा हो । राज्यले कुनै जिम्मेवारी नदिएपछि विभिन्न सामाजिक कार्यक्रमहरू मार्फत मैले मेरा विचारहरू राख्ने गरेको छु । मेरा विचार कतिलाई मन पर्न सक्छन् भने कतिपयलाई मन नपर्न सक्छन् । मैले बोल्ने भनेको नेपाल र नेपालीको बृहत्तर हितलाई मध्यनजर राखेर मेरो ब्रह्मले देखेको बोल्ने हो । जुन मान्छेले नेपाल स्वतन्त्र, अविभाज्य, अखण्डित चाहन्छ, त्यसले पक्कै पनि मलाई मन पराउँछ । 
तर मेरो डिफेक्ट के छ भने म ठूला भनाउँदाहरूको घर जान्न । उनीहरूले जे भन्यो त्यो खुरुक्क मान्दिनँ । नेपालको राजनीतिक व्यवस्था र सन्दर्भमा यो निकै अमिल्दो कुरा हो । यो कुरा मेरो कार्यकालले प्रमाणित गर्यो । साथीहरूले मलाई कुनै पार्टीमा लागेको भए राज्यले जिम्मेवारी दिने तथा मन्त्री, राजदूत पाउने थियौँ भन्छन् । तर लाभको पदका लागि मलाई आत्मा र आफ्ना मान्यता नबेचौँ भन्ने लाग्यो । अर्को कुरा मसँग दिनलाई प्रशस्त थैली पनि छैन् । यी मेरा ‘माइनस प्वाइन्ट’ हुन् । 

माइनस प्वाइन्ट !
मेरो त्यस्तो किसिमको चरित्र निर्माण हुन सकेन । म एक किसिमको धारणाबाट ‘बिल्ड अप’ हुँदै ठ्याक्क ठूलो तहमा बस्न पुगेँ । आज आएर त्यो परिवर्तन गर्ने कुरा असम्भव भयो । 

भारतमा यदि एउटा कुनै यस्तो शक्ति छ, जसले नेपाललाई सार्वभौमसत्ता सम्पन्न, शान्तिपूर्ण, पूर्ण विकसित स्थायित्व भएको राष्ट्रका रूपमा देख्न चाहन्छ भने त्यो भारतीय सेना नै हो । उसले आफ्नो नर्दन बेल्टमा कुनै किसिमको बाधा व्यवधान नआओस् भनेर नेपाललाई शान्तिपूर्ण कानुनी शासनमा चलेको स्थिर राष्ट्र होस् भन्ने चाहन्छ ।

तपाईंले निश्चित विचारधाराबाट निर्देशित भएको र अब अर्को विचारधारामा फेरिन सम्भव नरहेको कुरा गर्नुभयो । त्यो भनेको के हो ?
जुन विचारधाराको जगमा अथवा जुन कुराहरूले नेपालको आर्थिक, सामाजिक, साहित्यिक र ऐतिहासिकतालाई काँध थापेर बसेका छन् त्यसमा तलमाथि गर्नु हुँदैन । संसारको परिवर्तनशील अवस्थालाई मध्यनजर गरेर नेपाली भएर बाच्नुपर्छ । भन्नुको अर्थ अहिलेको सुपरपावर अमेरिका, चाइना, रसिया अथवा युरोपियन युनियन नै किन नहोस् उनीहरू कसैले ‘एप्सुलुट सोभरेन्टीकोे एक्ससाइज’ गर्न सक्दैनन् । हामी एकअर्कामा त्यति निर्भर भइसकेका छौँ । 


त्यस सन्दर्भमा नेपालजस्तो सार्वभौम, अल्पविकसित, अस्थिर देशले आफ्नो बृहत्तर हितलाई ध्यानमा राखेर आफ्ना छिमेकीसँग प्रष्ट कुरा राख्न सक्नुपर्छ र उनीहरूका जायज कुरालाई सुन्नुपर्छ । मैले सम्पूर्ण राजनीतिक दलहरू प्रजातान्त्रिक पद्धति अनुसार चल्नुपर्छ र त्यसको बर्खिलाफ जानु हुँदैन भने । किनभने त्यो हाम्रो भौगोलिक र छिमेकीको अवस्थाले दिँदैन । जस्तै ८० प्रतिशत हिन्दूहरू भएको देशमा त्यसलाई परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन । परिवर्तन भनेको समयको माग हो तर यो ‘इभुलुसन’मा आधारित हुनुपर्छ न कि ‘रेभुलुसन’मा । बाँकी कुरा मलाई मान्यता हुँदैन । त्यसबेलाको मेरो संस्थालाई पनि मान्यता हुँदैन । 

वर्तमानमा समस्या कहाँ देख्नुभएको छ ?
पहिलो नेतृत्वको खडेरी हो । धेरैजसो नेतृत्वमा के देखिन्छ भने सबै रूपान्तरित हुनुपर्छ भन्ने तर आफू रूपान्तरित हुन नपरोस् भन्ने ।

तपाईंभन्दा अघिका सबै सेना प्रमुखले राजाबाट शपथ लिए तर तपाईंले राष्ट्र प्रमुख रहेका प्रधानमन्त्रीबाट शपथ लिनुभयो । पछि प्रधानमन्त्रीकाविरुद्ध उभिनुभयो । कतै राजाबाट शपथ लिन नपाएकोमा झोँक त थिएन ? 
यसलाई यसरी हेर्नु पर्छ– राजालाई ‘सस्पेन्ड’ गरेर प्रधानमन्त्री राष्ट्र प्रमुख भएको बेला शपथ लिएको हो । मान्छेहरू यसलाई विभिन्न किसिमले हेर्छन्, त्यसैले जस्तो आँखाले हेर्यो त्यस्तै देखिने हो । अर्को प्रधानमन्त्रीलाई च्यालेन्ज गरेको कुरा त्यसबेला मैलेभन्दा पनि मेरो सङ्गठनले संविधान मिच्ने कुरा प्रजातान्त्रिक पद्धतिमा स्वीकार्य छैन भनेको हो । 

सेनाभित्र ‘चेन अफ कमान्ड’को अवस्था कस्तो छ ?
प्रजातान्त्रिक पद्धति अथवा कानुन अनुरूप चलेको सेनामा ‘चेन अफ कमान्ड’ भनेको ‘बेड रक’ आधारित हुन्छ । सेनामा यो भएन भने त्यो सेना होइन, भीडमा परिवर्तित हुन्छ । यसबारेमा धेरै किताब, निबन्धहरू लेखिएका छन् । 

कलियुगमा रुकमाङ्गत कटुवाल जस्ता मान्छेलाई मानिसहरूले गाली गर्नु, फटाहा भन्नु नौलो कुरा होइन । लस्कर बनाएर हजारौँ कमिला हिँडे पनि ती कमिलालाई कसैले देख्ँदैन तर एउटा हात्ती हिँडेपछि त्यहाँ कुकुर पनि भुक्छ, केटाकेटी पनि कराउँछन्, कसै कसैले ढुङ्गा–मूढा पनि गर्छन् । तर हात्ती आफ्नो सुरमा लम्किरहन्छ ।

भन्नुको अर्थ तपाईंले अघि संविधान जोगाएँ भन्ने कुरा, तपाईंले गलत निर्णय लिए पनि त्यसको विरुद्ध उभिने कोही हुँदैनन् । किनभने त्यो सेना हो । गलत निर्णयका विरुद्ध राजनीतिक दलभित्र कुरा गर्न पाइन्छ तर सेनामा त्यो हजम हुने कुरा होइन । होइन र ?
कानुन सबैलाई थाहा हुन्छ । तर पनि इतिहासको कालखण्डमा कुनै–कुनै व्यक्ति रामराज्यकै पालादेखि त्यो कुरालाई मन पराइरहेका हुँदैनन् । रामकाविरुद्ध पनि मान्छेहरू उभिएकै हुन् । यो कलीयुगमा एक दुईजना मान्छे भड्किने आफ्नो स्वार्थमा लाग्ने संसारभर जहाँ पनि हुन्छ । तर संविधान मिच्नु हुँदैन भन्ने कुरा पत्रकार, कानुनविद्, राष्ट्रप्रमुख सबैलाई लागेकै हो । त्यसबेला एउटा किसिमको विचारधारा लाद्ने कुरा भयो भन्ने सबैलाई लागेकै हो । त्यसबेलाको नेपाली सेनाको कुरा सबै राजनीतिक दलहरू प्रजातान्त्रिक पद्धतिभित्र आउनुपर्छ भन्ने हो । 

तपाईंले अघिदेखि संविधान जोगाउन भूमिका खेलेको कुरा गरिरहनु भएको छ, तपाईंलाई थाहा छैन संविधानतः सेना प्रमुखलाई राख्ने फाल्ने अधिकार कार्यकारीमा निहित थियो ? राष्ट्रपतिको काम भनेको लालमोहर लगाउने मात्र हो । कुरा के हो भने सबैको स्वार्थ मिल्यो तपाईं टिक्नुभयो ?
त्यसबेलाका कानुनविद्ले यो कुरा गलत हो भनेरै अगाडि बढेको हो । मैले माथि भने नी कसरी हेर्ने तपाईंको आँखामा भर पर्छ । 

तपाईंलाई सम्झना छ, जति बेला तपाईं सेना प्रमुख हुनुहुन्थ्यो तपाईंको उमेरहदबारे समाचार आइरहन्थे । रुकमाङ्गत कटुवाल जो संविधानको, प्रजातन्त्रको, नैतिकताको यति धेरै कुरा गर्छ, उसलाई यसबारे बोल्नुपर्छ भन्ने कहिलै लागेन किन ?
यो बेलामा सबैलाई जे पनि लेख्ने अधिकार छ । सबै कुरालाई खण्डन गर्दै जाने हो भने सकिँदैन । त्यो जरुरत पनि पर्दैन । तपाईंलाई आफ्नो सत्यतामा विश्वास छ भने त्यसलाई समातेर बस्नुस पछि त्यो ठीक भइहाल्छ । त्यस्ता कुरा पहिलेदेखि नै हुँदै आएका कुरा हुन् । 

राजनीतिक नेताहरूलाई नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने कुरा उठ्छ तर सेना प्रमुखलाई यस्तो कुरा नउठ्ने है ?
कानुनी हिसाबमा सर्वोच्चमा पुगेको मुद्दालाई हामीले खण्डन गरी हिँड्ने कुरालाई कानुनी राज्यमा मान्यता दिइँदैन । भनिन्छ नि कानुनले आफ्नै बाटो समाउँछ । 

न्यायालय भनेको राज्यको एउटा अङ्ग हो । न्यायालयले त्यस्तै निर्णय गर्छ जस्तो राज्यको नीति हुन्छ भन्नेमा कुनै शङ्का छ र ? झन् नेपालजस्तो देशमा सेना कति हाबी छ भन्ने कुरा त तपाईं प्रमाणित गरिसक्नु भएको छ, अनि ?
होइन, तपाईले प्रजातान्त्रिक पद्धति मान्ने हो भने प्रजातान्त्रिक पद्धति अनुसार न्यायालयको कुरा मान्नुपर्ने हुन्छ । 

मैले प्रजातान्त्रिक पद्धति मान्ने अथवा नमान्ने कुरा गरेको होइन । मैले न्यायालयले कसरी काम गर्छ भन्ने कुरा तपाईंलाई स्मरण गराएको । न्यायालयको अनुहार देखाएर तपाईंहरू कसरी काम गर्नु हुन्छ भनेर जान्न चाहेको ?
तपार्इंले भर्खर इजराइलमा पनि देख्नुभयो, त्यही भारतमा पनि त्यत्रो प्रधानमन्त्रीलाई जेल हाल्यो । 

अहिले नेपाल नेपाल भनेर जनै जपेर बस्ने हो भने राष्ट्र मात्र होइन, गाँस पनि चल्दैन । राष्ट्रवादी बनेर म साइकल चढ्छु भन्ने कूटनीतिले केही पनि हुँदैन । त्यसले मित्रहरूलाई चिढ्याउने मात्र गर्छ ।

मैले राज्यको चरित्र र न्यायालयको चरित्र मिल्छ कि मिल्दैन भन्न खोजेको ?
म कानुनविद् नभएको हुनाले यसबारे कानुनविद्ले बोल्न सक्लान् । हामी जस्तो ले–म्यानले कानुनलाई यसो उसो भन्न मिल्दैन । हामीले सर्वोच्च अदालतले गरेको निर्णयलाई मान्यता नदिने हो भने प्रजातन्त्रको नाम लिनु बेकार हो । 

अर्को कुरा जानौँ न, भारत र नेपालबीच मानार्थ सेनापतिको सम्मान दिने लिने परम्परा नेपालको हकमा ठीक हो अथवा बेठीक ?
कसैलाई ठीक कसैलाई बेठीक लाग्ला । हाम्रो राज्यले ठीक ठानेरै स्वीकारेको हो । मैले पनि ठीक छ भनेरै स्वीकारेको हो । राज्यले पहिलेदेखि अँगालेको कुरालाई हामीले स्वीकारेको हो । 

एउटा ठूलो देशको सेनासँग सानो देशको सेनाले यस्तो प्रचलन अगाडि बढाउँदा ऊ हावी हुन सक्ने सम्भावना कतिको हुन्छ ?
अब तपाईंले कसरी हेर्नु हुन्छ ? तपार्इंले स्वार्थी आँखाले हेर्नुभयो भने स्वार्थ हुन्छ । अरूको स्वार्थ के हो तपार्इंले छुट्याउनु सक्नुपर्यो । मैले यसमा भारतको कुनै स्वार्थ लुकेको देखेको छैन । राजालाई पनि विभिन्न किसिमका मान मान्यता दिएका हुन्छन् । यसमा विभिन्न आँखाले हेर्नुपर्छ भन्ने मलाई लाग्दैन । यो दुई सेनालाई नजिकता ल्याउने, सम्बन्ध बढाउने कुरा हो । 

भारतमा यदि एउटा कुनै यस्तो शक्ति छ, जसले नेपाललाई सार्वभौमसत्ता सम्पन्न, शान्तिपूर्ण, पूर्ण विकसित स्थायित्व भएको राष्ट्रको रूपमा देख्न चाहन्छ भने त्यो भारतीय सेना नै हो । उसले आफ्नो नर्दन बेल्टमा कुनै किसिमको बाधा व्यवधान नआओस् भनेर नेपाललाई शान्तिपूर्ण कानुनी शासनमा चलेको स्थिर राष्ट्र होस् भन्ने चाहन्छ । 

अरू भारतीय सुरक्षा अधिकारी नेपाल आफ्नो सुरक्षा छाताभित्र रहेको बताउँछन् तपाईं भारतीय सेना नेपालको सार्वभौमसत्ता र स्थिरताको सूत्र भएको बताउनुहुन्छ कस्तो मिलेको ?
तपाईंले यसलाई कसरी हेर्नु पर्यो भने– एउटा व्यक्तिले के भन्छ भन्दा पनि राज्यले कसरी हेर्छ भन्ने कुरामा जानु पर्यो । 

प्रचण्डजीले नेपालको सन्दर्भमा अहिलेकै राजा त होइन तर राजसंस्था राख्नु पर्छ भनेर मलाई भनेकै हो । तरपछि उहाँले त्यसलाई छोड्दै जानु भयो । उहाँसँग त्यति मात्र होइन, नेपाली सेनाको कुरा, लडाकु भाइबैनीलाई सेटल गर्ने कुरा र राजसंस्थालाई मान्ने कुरा भएकै हो । यदि त्यो भयो भने तपाईंहरूले ५०औँ वर्ष राज गर्नु हुन्छ भनेर मैले भनेको थिएँ । त्यसो हुन सकेको भए सायद उहाँहरूले गर्नु पनि हुन्थ्यो होला । तपाईं आफैँ भन्नुस न कसले छुन सक्थ्यो माओवादीलाई ? कुनै माइका लाल थिए माओवादीलाई च्यालेन्ज गर्ने ?

मैले पनि व्यक्तिको नभएर भारतीय राज्यका ‘थिङ्क ट्याङक’हरूको सोचको कुरा गरेको । 
व्यक्तिले भन्दा पनि राज्यले कसरी हेर्छ महत्वपूर्ण कुरा हो । यस्ता कैयौँ कुरा पहिले पनि धेरै विवादमा आइसकेका कुराहरू हुन् । त्यस्ता कुरा छन् भने राज्यका तर्फबाट हाम्रो सरकारले कुन–कुन कुरामा बाधा व्यवधान खडा भएको हो त्यो भन्न सक्नुपर्छ । कारण दिनुपर्छ । यो हाम्रो ‘रेड लाइन’ हो भनेर भन्न सक्नुपर्छ । बाहिर आएर दशवटा कुरा गर्नेभन्दा पनि सम्बन्धित क्षेत्रसँग हाम्रो प्रधानमन्त्रीले भारत अथवा चाइनाको प्रधानमन्त्रीसँग खुला रूपले कुरा गर्नसक्नु पर्छ । 

यो–यो गर्नुपर्छ भनेर भन्नसमेत नसकेमा सेना प्रमुखको काम के हो त ? 
हामीले के गर्यौँ तपाईंले देख्नु भएकै होला । हामी पत्रवाजी गरेर हिँड्दैनौँ । हामी आफ्नो अडानमा सशक्त बस्छौँ । हाम्रो स्वार्थ भनेको नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता हो । यो कुरामा नेपाली सेनाका तर्फबाट अहिलेसम्म कहीँ पनि शिर झुकाउनुपर्ने अवस्था छैन । यसका साथ–साथै हामीले सँगै जोडिएर बसिसकेपछि मैले मेरो स्वार्थको कुरा गर्दा तपाईंको स्वार्थको पनि हेरविचार गर्नुपर्छ । भन्नुको अर्थ मेरो स्वार्थको बचाउ गर्दा तपार्इंको स्वार्थलाई हानि हुनुभएन । बाहिर आएर बुरुक बुरुक उफ्रने गर्दा मानिसलाई रिस उठ्छ । त्यसैले त्यस्तो कुरा गर्न सुहाउँदैन ।

त्यसैले मैले नेपालको स्थायित्वका लागि तीन–चारवटा कुरा भनेको छु । पहिलो, सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्यो । दोस्रो, समानुपातिक प्रतिनिधित्व प्रणाली सैद्धान्तिक रूपमा ठीक भए पनि नेपालमा यसलाई हटाउनुपर्छ । तेस्रो, १० प्रतिशत थ्रेस होल्ड राख्नु पर्छ । चौथो, मेरिटोक्रेसी लागू गर्नुपर्छ । यी भनेका प्रजातन्त्रका खम्बा हुन् । 

तपाईंले ‘मेरिटोक्रेसी’को कुरा गर्दै गर्दा तपाईंको छोरा शुभाङ्गत कटुवालले कर्णेलका लागि गरेको स्टाफ कलेज ट्रेनिङ्गमा अङ्क बढाउन तपाईंले गरेको प्रयासको सेनामा निकै चर्चाको विषय बनेको छ । तपाईंले भनेको ‘मेरिटोक्रेसी’ त्यही हो ?
त्यो बोर्डले गर्ने कुराहरू हो । मैले मेरो पालामा छोरा, भतिजा अथवा कसैका लागि यसो गरिदेऊ भनेको छैन । तर नेपालमा रिस उठेपछि हौवा फिजाइदिने गर्छन् । मलाई त्यसबेला भन्थे त यसलाई बडामहारानी रत्नले भात खुवाएर खुर्काएको, पालेको भनेर । दुनियाँभरिको कुरा भने । तर, म त दरबारमा एक रात नबसेको मान्छे ।


 
तपार्इंको कुरा र विवेक शाहको कुरा धेरै मिल्दैन नि किन होला ?
उहाँले के लेख्नु भएको छ, मलाई राम्रोसँग थाहा छ । लेख्न त मान्छेले के के लेखेका छन् छन् । विवेक शाहले मात्र हो र ? उहाँकै विषयमा मान्छेहरूले के–के भनेका छन् । सूर्यबहादुरदेखि भारतसम्म विभिन्न कुरा आए । त्यसकारण तपाईंले कसरी हेर्नु हुन्छ, त्यही कुरा पाउनुहुन्छ । यो कलीयुग हो । 


कलीयुगमा रुकमाङ्गत कटुवाल जस्ता मान्छेलाई मानिसहरूले गाली गर्नु, फटाहा भन्नु नौलो कुरा होइन । लस्कर बनाएर हजारौँ कमिला हिँडे पनि ती कमिलालाई कसैले देख्दैन तर एउटा हात्ती हिँडेपछि त्यहाँ कुकुर पनि भुक्छ, केटाकेटी पनि कराउँछन्, कसै कसैले ढुङ्गा–मूढा पनि गर्छन् । तर हात्ती आफ्नो सुरमा लम्किरहन्छ । 

रुकमाङ्गत कटुवाल हात्ती हो भन्नु खोज्नुभएको ?
कसरी हेर्ने तपाईंको क्षमतामा भर पर्ने कुरा हो । 

बर्खास्त हुने पक्का भएपछि मैले विदेशी मित्रहरूलाई फोन गरेँ भनेर आफ्नो पुस्तकमा तपाईंले उल्लेख गर्नुभएको छ । ती को मित्र हुन् ? बताइ दिनुस् न ? 
संसारभर चिनेजानेका मान्छेहरू जसले मलाई जोगाउनुपर्छ भने मैले उनीहरूलाई फोन गरेको हो । मैले अमेरिका फोन गरेँ । बेलायत फोन गरेँ । भारतमा पनि फोन गरेँ । चाइना, जापानमा पनि गरेँ । त्यसलाई काउन्टर गर्न सक्ने सबैलाई काउन्टर पार्टसँग मैले कुरा गरेँ । मैले त्यसबेला खुलेआम भनेकै हो– सेना जो नेपालको संविधान समातेर बसेको छ तपाईंहरूको कर्तव्य हो, तपाईंको राजनीतिक नेताहरूलाई सम्झाउनु पर्यो । 

नेपाललाई उन्नतिको पथमा कसरी पुर्याउने भन्ने बारेमा हाम्रो सबैभन्दा धैरै कुरा भएको हो । त्यसपछि स्थायित्वका लागि के गर्न सकिन्छ र आवश्यक पर्छ, त्यो गर्नुपर्छ भन्नेमा कुरा भयो । तर, कानुनलाई तलमाथि नगर्नुस हामी तपाईंको ढाँड भएर बस्छौँ भनेको थिएँ ।


ममा राष्ट्रवादी चेतना छ भन्नु हुन्छ, अनि आफ्नो पद जोगाउन विदेशी गुहार्नु हुन्छ, यो कस्तो दोहोरो चरित्र ?
अहिलेको संसारमा म राष्ट्रवादी भनेर खाली नेपाललाई समातेर बस्नुभयो भने तपाईं खत्तम हुनुहुन्छ । अहिलेको संसारमा अमेरिका जस्तो देश त एक्लै बस्न सक्दैन । डेनमार्कलाई उसले अफगानिस्तानमा सेना पठाइ दे भन्छ भने संसार अहिले एक अर्कामा ‘इन्टरडिपेन्डेन्ट’ भइसकेका छन् । त्यसलाई बोध गर्न नसक्नु भनेको त्योभन्दा महामूर्ख कोही पनि हुँदैन । 


नत्र अमेरिकालाई नेपालमा आएर दुनियाँभरि किन गर्नुपर्ने ? के जरुरत छ ? नेपालले के दिन सक्छ ? पृथ्वीनारायाणको पालामा त एक्लै अगाडि बढ्न सकिँदैन्थ्यो भने आज म राष्ट्रवादी भनेर हुन्छ ? अहिले नेपाल नेपाल भनेर जनै जपेर बस्ने हो भने राष्ट्र मात्र होइन, गाँस पनि चल्दैन । राष्ट्रवादी बनेर म साइकल चढ्छु भन्ने कूटनीतिले केही पनि हुँदैन । त्यसले मित्रहरूलाई चिढाउने मात्र हुन्छ । 

तपाईंले कहिले काहीँ नेपाली आफैले निर्णय गर्न पाउनुपर्छ भन्नु हुन्छ, के विषयमा भन्नुभएको ?
प्रजातान्त्रिक पद्धति मान्ने हो भने नेपालमा हिन्दू राष्ट्र (धर्म निरपेक्षता), सङ्घीयता, राजसंस्थाका बारेमा जनमतसङ्ग्रह मार्फत अगाडि बढ्नुपर्छ । हिन्दू राष्ट्र भनेको हाम्रो परिचय र पहिचान हो । हाम्रो मौलिकता हो । सङ्घीयता जनताले मागेको होइन । त्यो जनआन्दोलनको माग पनि होइन । त्यस्तै राजसंस्था जुन राष्ट्रको मियो हो, त्यसलाई के गर्ने भन्नेबारेमा जनताको मत लिनुपर्दैन । त्यसै राति बसेर दुई–तीन जना मिलेर झ्वाम झ्वाम निर्णय गरेँ भनेर हुन्छ ? प्रचण्डजीले यही राजा त होइन तर राजसंस्थाबारे हाम्रो कुरा भएकै हो । 

प्रचण्डले राजसंस्था राख्ने विषयमा सहमति जनाएको भन्न खोज्नुभएको ?
प्रचण्डजीले नेपालको सन्दर्भमा अहिलेकै राजा त होइन तर राजसंस्था राख्नु पर्छ भनेर मलाई भनेकै हो । मसँग त्यही सम्बन्ध भएको हो । तरपछि उहाँले त्यसलाई छोडदै जानुभयो । उहाँसँग त्यति मात्र होइन नेपाली सेनाको कुरा, लडाकु भाइबैनीलाई सेटल गर्ने कुरा र राजसंस्थालाई मान्ने कुरा भएकै हो । यदि त्यो भयो भने तपाईंहरूले ५०औँ वर्ष राज गर्नु हुन्छ भनेर मैले भनेको थिएँ । त्यसो हुन सकेको भए सायद उहाँहरूले गर्नु पनि हुन्थ्यो होला । तपाईं आफै भन्नुस् न कसले छुन सक्थ्यो माओवादीलाई ? कुनै माइका लाल थिए माओवादीलाई च्यालेन्ज गर्ने ? 

जतिबेला प्रचण्ड र तपाईंको कुरा मिल्थ्यो, तपाईंहरूबीच त्यस्तो कुनै सहमति भएको थियो ? जस्तै राजनीतिक कमान्ड प्रचण्डले गर्ने र सेनाको कमान्ड तपाईंले गर्ने गरी अगाडि बढ्ने ? 
नेपाललाई उन्नतिको पथमा कसरी पुर्याउने भन्ने बारेमा हाम्रो सबैभन्दा धैरै कुरा भएको हो । त्यसपछि स्थायित्वका लागि के गर्न सकिन्छ र आवश्यक पर्छ, त्यो गर्नुपर्छ भन्नेमा कुरा भयो । तर, कानुनलाई तलमाथि नगर्नुस्, हामी तपाईंको मेरुदण्ड भएर बस्छौँ भनेको थिएँ । उहाँ कुरा नचपाइकन खुलस्त गर्नु हुन्छ । तर पछि के भयो कुन्नि उहाँ चेन्ज भैदिनु भयो । पछि उहाँ आफैले बाबुराम, रामबहादुरले आएर रातदिन कराउनु भयो– कारवाही गर–गर भनेर अनि मैले कारवाही गर्ने कोशिस गरेँ । यी कुरा मेरो र उहाँकाबीच भएको थियो तर उहाँको त दुनियाँभर ‘पोलिटिकल’ साथी सहयोगीहरू छन् । थाहा भएन के भयो ।

प्रचण्ड र तपाईंको बीच भएको सहमति लागू भएको भए के हुन्थ्यो होला ?
अहिलेको अवस्था हुने थिएन । अहिलेसम्म मुलुकले स्थायित्वको बाटो लिइसकेको हुन्थ्यो । त्यो भनेको पनि १०–१२ वर्ष भैसक्यो । यो बेलासम्म त देश एउटा खुड्किलो चढी सक्थ्यो । 

तर प्रधानसेनापतिबाट बर्खास्त हुने भएपछि तपार्इंले त्यही माओवादी हेडक्वाटर (प्रचण्डसहितको टिम)लाई एक्सन गर्न बालुवाटार र पेरिस डाँडामा आफ्ना टिम परिचालन गर्नुभयो होइन ?

त्यस्ता टिम कति तयार पारिए पारिए । राज्य सञ्चालन गर्नका लागि अनेक कुरा गर्नुपर्छ । राज्य त्यसै सञ्चालन हुँदैन । एउटा घर परिवार चलाउन त कैयौँ कुराहरू गर्नुपर्छ भने राज्य सञ्चालन गर्न कयौँ कुरा गर्नुपर्ने आवश्यकता पर्दछ । केही मन लागेर गर्नुपर्छ केही मन नलागे पनि गर्नुपर्छ । 

किनभने त्यहाँ राज्यको स्वार्थ जोडिएको हुन्छ । मलाई मन लाग्ने र नलाग्ने भन्ने कुरासँग सम्बन्धित हुँदैन । इतिहासको कालखण्डमा त्यस्तो परिस्थितिबाट पनि म गुज्रनुपर्ने अवस्था आयो कि के–के गरियो गरियो । गर्नुपर्छ । त्यसका लागि अठोट, आँट र प्लानिङ चाहिन्छ । त्यतिकै गर्यो भने हामी साइकल चढ्छौँ भने जस्तो हुन्छ । 
 

नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ