शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवस : बाबुरामले प्रचण्ड सम्झे, क्रान्ति जारी राख्ने वैद्यको घोषणा

बुधबार, ०१ फागुन २०७५, १० : ३७
बुधबार, ०१ फागुन २०७५

काठमाडौँ ।  आज फागुन १ अर्थात जनयुद्ध दिवस । यो दिवसका अवसरमा विभिन्न कम्युनिष्ट घटकले आआफ्नै ढंगले कार्यक्रम गरी मनाउने तयारी गरेका छन् । यसै अवसरमा नेताहरुले शुभकामना सन्देशसमेत दिएका छन् ।

२०५२ साल फागुन १ गते जनयुद्ध थाल्ने मध्येका एक प्रमुख नेता हुन् डा. बाबुराम भट्टराई । तर, डा. भट्टराई हाल कम्युनिष्टमा छैनन् । केही बर्षअघि नै कम्युनिष्ट पार्टी छाडेका डा. भट्टराई नयाँ शक्ति पार्टीका संयोजक हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

डा. भट्टराईले सशस्त्र जनयुद्धको २४ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजको लोकतान्त्रिकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १ गते) को सबैमा हार्दिक शुभकामना भनेका छन् ।

संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२–६३ को जनआन्दोलनको प्रमुख भूमिका रहेको भन्दै डा. भट्टराईले यसलाई नभुल्न पनि सुझाव दिएका छन् ।

डा. भट्टराईले ट्वीटरमा जनयुध्द  दिवसको शुभकामना शब्दसँगै पूर्व सहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो जनयुद्धकालीन तस्विर पोष्ट गरेका छन् । डा. भट्टराई र प्रचण्ड २०४८ सालदेखि ७१ सालसम्म एउटै पार्टीमा रहेर काम गरेपनि अहिले फरक–फरक पार्टीका प्रमुख छन् ।

डा. भट्टराईकै नेतृत्त्वमा २०५२ साल माघ २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग पेश गरिएको थियो ।  फागुन १ गतेबात प्रारम्भ भै १० वर्ष चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भएका थिए ।

यस्तै जनयुद्ध दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले जनयुद्धमा जनताले गरेको त्याग र बलिदान खेर नगएको बताएका छन् । जनयुद्धले गम्भीर धक्का खाए पनि जनताको त्याग र बलिदानले भावी क्रान्तिको लागि ऊर्जा प्रदान गरेको उनको ठहर छ ।

‘नेपालमा सञ्चालित महान जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएका छैनन् र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन्’  जनयुद्ध दिवसको अवसरमा मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बैद्यले भनेका छन् ।

त्यस्तै, जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पक्रे पनि सच्चा क्रान्तिकारी कम्युनिष्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखेको बैद्यले दावी गरेका छन् ।

बैद्यको विज्ञप्तिमा ‘नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने’ प्रतिबद्धता पनि जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप