बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यौनाङ्ग र पाठेघरबिना जन्मिइन् यी युवती, अब उपचारका लागि पैसा जुटाइरहेछिन्

बुधबार, ०१ फागुन २०७५, ०९ : ५०
बुधबार, ०१ फागुन २०७५

यौनाङ्ग र पाठेघरबिना जन्मिएकी एक युवती आफ्नो उपचारका लागि ९ हजार पाँच सय डलर (१० लाख रुपैयाँ) जुटाउने कोसिसमा छिन् । उपचार गरेर उनी आफ्नो परिवार सुरु गर्न चाहन्छिन् ।

ओन्टोरिया सिम्कोईकी २१ वर्षे सारा गिस्बेचले १६ वर्षसम्म पनि महिनावारी सुरु नहुँदा आफूमा केही समस्या भएको शंका गरेकी थिइन् ।

त्यतिबेला उपचार गराउँदा डाक्टरले त्यस्तो केही समस्या नभएको बताएपनि उनको १८ वर्ष पुग्दासम्म महिनावारी भएन । त्यसपछिको स्वास्थ्य परीक्षणपश्चात् उनलाई मेयर–रोकित्यान्स्कि–कुस्तर–हौसर सिन्ड्रोम (एमआरकेएच) भएको पत्ता लाग्यो ।

डेली मेलको खबर अनुसार आफू कहिले पनि आमा बन्न नसक्ने थाहा पाएपछि २३ वर्षे ज्याकोबसँग विवाह गरेकी सारा एक वर्षसम्म डिप्रेशनमा परिन् ।

अब उनले आफ्नो प्रजनन उपचार गर्ने सोच बनाएकी छिन् त्यसकारण पैसा जुटाउनका लागि पेज बनाएकी छिन् । सरोगेटका लागि अण्डा निष्कासनका लागि उनको उपचार हुनेछ ।

अर्डियलसँग कुरा गर्दै साराले भनिन्, ‘जब म १६ वर्षकी थिएँ तब म पहिलो पटक अस्पताल पुगेँ । त्यतिबेला डाक्टरले डराउनुपर्ने केही छैन भन्नुभयो । त्यतिबेला मलाई महिनावारीका लागि अझै धेरै समय बाँकी छ भनियो । ’

‘म निकै तनावमा थिएँ किनभने मेरो परिवार र साथीभाइले त्यसलाई साधारण मानेकै थिएनन् किनभने केटीहरुको १४–१५ वर्षमा महिनावारी सुरु भइसक्छ ।’

केही वर्षको प्रतिक्षापछि उनले आफ्नो स्वास्थ्य परीक्षण गर्नेबारे निर्णय गरिन् ।

‘मेरो पहिलो परीक्षण थियो अल्ट्रासाउन्ड । मलाई याद छ, म त्यहाँ सुतिरहेकी थिएँ, जताततै सन्नाटा थियो । मैले त्यहाँ मेसिन कराएको आवाज मात्र सुनिरहेको थिएँ,’ उनले भनिन् ।

‘जुन महिलाले मेरो अल्ट्रासाउन्ड गरिरहेकी थिइन्, उनले एक शब्द बोल्न सकेकी थिइनन् । उनले किन बोल्न सकिनन्, मैले त्यो बुझ्न सकिनँ ।’

‘अल्ट्रासाउन्डको नतिजा त्यहीँ थियो तर उनीहरुले मलाई रिपोर्टका लागि दुई हप्ता कुराए ।’

‘अन्त्यमा, हामीले रिपोर्ट पायौं । उनीहरुले मेरो पाठेघर नभएको हुनसक्ने बताए तर स्पष्ट जानकारीका लागि मेरो एमआरआई र रक्त परीक्षण गर्नुपर्ने सुझाइयो । उनीहरुले मलाई स्त्रीरोग विशेषज्ञलाई भेट्ने सल्लाह दिए ।’

एमआरआई स्क्यानका लागि साराले तीन महिना कुर्नुपर्यो । तर त्यसको पनि चार हप्तापछि मात्र रिपोर्ट दिइयो ।

‘डाक्टरले मलाई बसालेर मलाई हेर्दै भने, ‘माफ गर्नुहोस्, तर हामीले तिमीमा एमआरकेएच सिन्ड्रोम पायौं,’ जब उनले मलाई यसबारे जानकारी दिइरहेकी थिइन् तब म रोइरहेकी थिएँ, उनले भनेको मैले केही पनि सुनिरहेकी थिइनँ,’ साराले भनिन् ।

‘मैले योमात्र सोचिरहेकी थिएँ कि म अब कहिले पनि आमा बन्न सक्दिनँ र कहिले पनि सन्तान जन्माउन सक्दिनँ ।’

‘त्यतिबेला म सम्बन्धमा थिएँ । मलाई थाहा थियो कि मेरा प्रेमी बच्चा चाहन्छन् ।’

‘डाक्टरले मलाई विकल्पबारे जानकारी दिइरहेका थिए तर इमान्दारीतापूर्वक भन्ने हो भने मैले केही पनि सुनिरहेकी थिइनँ, म निकै आघात भएकी थिएँ ।’

‘बच्चालाई जन्मदिने बारे म सधैं सपना देख्थेँ र त्यो मबाट हुनसक्दैन भनेपछि म निकै विक्षिप्त थिएँ ।’

साराको यौनाङ्ग बाहिरबाट हेर्दा साधारण देखिन्छ तर उनको ‘भ्याजिनल क्यानल’ यति छोटो छ कि त्यो पाठेघरसम्म नै पुग्दैनन् ।

उपचारको क्रममा उनको मेरुदण्डमा पनि असामान्य देखियो । उनी राम्रोसँग सुन्नसमेत सक्दिनन् । यो एमआरकेएचकै लक्षण हो ।

साराले सन् २०१२ मा ज्याकोबलाई भेटेकी थिइन् । उनीहरुले सन् २०१७ मा विवाह गरे । ज्याकोबले सारालाई प्रत्येक पाइलामा साथ दिन्छन् ।

‘हाम्रो सम्बन्धको सुरुवाती अवस्थामा नै मैले ज्याकोबलाई सबै बताएकी थिएँ । मैले बच्चालाई जन्म दिन नसक्ने प्रबल सम्भावना छ भन्दा उनीपनि दुःखी थिए,’ उनले भने ।

‘मलाई थाहा छ, उनलाई बच्चा चाहिन्थ्यो तरपनि उनले मलाई भने, ‘म मेरो जीवन तिमीसँग बिताउन चाहन्छु त्यसकारण समय आएपछि समस्याको समाधानबारे सँगै सोचौंला ।’’

‘जब हाम्रो विवाह भयो तब हामीले सरोगेसी र एडेप्सनबारे चर्चा गर्यौं तर प्रत्येक छलफलमा हामी सरोगेसी नै चाहन्थ्यौं किनभने हामी आफ्नो जैविक सन्तान चाहन्छौं ।’

त्यसकारण आफ्नो उपचारका लागि पेज बनाउने सोच बनाएको उनले बताइन् ।

‘सबैको सहयोग पाए, हामीले आफ्नो जैविक सन्तानलाई जन्म दिन सक्षम हुनेछौं,’ साराले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप