बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केबलकार निर्माण गर्ने

बुधबार, ०१ फागुन २०७५, ०९ : १६
बुधबार, ०१ फागुन २०७५

काठमाडौँ – मुक्तिनाथ केबलकार प्रा.लिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई  लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ ।

कम्पनीको तर्फबाट निर्देशक शिरोमणि दवाडीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

विज्ञप्तिका अनुसार, नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागको सो मुक्तिनाथ केबलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको छ । तदअनुरुप, आइडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रा.लिबीच शेयर खरिद बिक्रीको सम्झौतामा हस्ताक्षर पनि भएको छ । सम्झौताअनुसार, कुल जारीपूँजीमध्ये २० प्रतिशत सेयर आईडिया फर नेपाल प्रालिको रहनेछ ।

स्मरण रहोस्,पैतालीस देशका दुई हजार भन्दा बढी गैरआवासीय नेपाली र चिनियाँ व्यावसायीहरु समेतको लगानी रहेको आईडिया फर नेपालले कृषि, भौतिक पूर्वाधार, पर्यटन तथा प्रविधिका विभिन्न परियोजनामा पनि लगानी गर्दै आएको छ ।

कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको उक्त केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा छ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिनेछ । साथै, बीचमा तिखेढुंगा, घासा र मार्फामा समेत चढ्ने र ओर्लने सुविधा हुनेछ ।

कम्पनीले जनाएअनुसार, परियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययन भइसकेको छ । सो निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याकंन कार्य पनि द्रुत गतिमा अघि बढिरहेको विज्ञप्तिमा जनाइएको छ ।

हालसम्मको अध्ययन अनुसार उक्त परियोजनामा निर्माणकालीन ब्याज बाहेकको परियोजना लागत त्रिचालीस अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये पन्ध्र प्रतिशत जारी पुँजी (ईक्विटी) र बाँकी पचासी प्रतिशत कर्जा रहने विज्ञप्तिमा जनाइएको छ ।

फोटो स्रोत: http://www.marysrosaries.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप