बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रको मुख्य आधार नै कृषि : मुख्यमन्त्री राई

सोमबार, २८ माघ २०७५, १९ : ४३
सोमबार, २८ माघ २०७५

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताएका छन् । 

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश स्तरीय शाखाको उद्घाटन गर्दै आज उनले कृषिलाई आधुनिक र व्यावसायिक ढङ्गबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताए । 

उनले कृषिलाई उद्योगका रुपमा विकाश गर्दै प्रदेशलाई भविष्यमा रासायानिक र विषादी मुक्त गर्दै अग्र्यानिक प्रदेशका रुपमा घोषणा गर्ने तयारीका साथ सरकार अघि बढेको जानकारी गराए । जैविक मल उद्योग प्रदेशकै गौरव भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेटबाट उद्योगले अनुदान प्राप्त गर्ने बताए । 

कृषिलाई आधुनिकीकरणसँगै अर्गानिक बनाएर लानुपर्ने आवश्यकता महसुस भइरहेको बेला जैविक मलको उद्योग स्थापना गरिएको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले जानकारी दिए । 

उनका अनुसार एक बिगाहा क्षेत्रफलमा करीब रु दुई करोडको लागतमा उद्योग स्थापना गरिएको हो । सो उद्योगमा मोरङसहित झापा र इलामका तीन वटा कृषक समूह तथा सात वटा कृषि सहकारीका सदस्य आबद्ध छन् । सो उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप