शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा नेपाल–भारत बैठक : लोकसभा निर्वाचनका लागि सुरक्षा कडा पारिने

सोमबार, २८ माघ २०७५, १७ : ३७
सोमबार, २८ माघ २०७५

जनकपुर– नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै दुई देशीय बैठक सम्पन्न भएको छ । सोमबार जनकपुरमा जम्मा भएका भारतको विहारसँग जोडिएको मधुवनी जिल्लाका सुरक्षा अधिकारी र भारत विहारको सिमा क्षेत्रसँग जोडिएका प्रदेश नम्बर २ का विभिन्न जिल्लाका सुरक्षा अधिकारीबीचको सुरक्षा वैठक सम्पन्न भएको हो ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँल र भारतको बिहारस्थित मधुवनीका जिल्ला अधिकारी कपिल अशोक सहभागी थिए ।  भारत विहारका तर्फबाट प्रतिनिधित्व गर्दै आएका अशोकले भारतमा अप्रिल र मई महिनामा हुन लागेको आसन्न लोकसभा चुनावलाई लक्षित गरेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्थाका विषयमा छलफल भएको बताए ।

प्रमुख जिल्ला अधिकारी कणँेलले सीमा क्षेत्रमा हुन सक्ने आपराधिक घटनालाई रोकथाम तथा नियन्त्रण, नक्कली रुपैयाँको ओसारपसार लगायतका घटनालाई निस्तेज पार्नका लागि दुवै देश सहमत रहेको बताए । उनले सीमा क्षेत्रमा हुन सक्ने अवैध मदिराको कारोबार, अवैध लागूऔषधको कारोबारलाई पूर्णरुपमा प्रतिवन्ध गर्ने गरी सीमामा सुरक्षा व्यवस्था कडाई गर्ने सहमति भएको बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा रहेका स्तम्भको मर्मत–सम्भार गर्ने भनेर गरिएको निर्णयलाई निरन्तरता दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी कणँेलले जानकारी दिए । उनले दुवै देशको सीमावर्ती क्षेत्रमा अवैध अतिक्रमण हुन नदिने सम्बन्धमा पनि छलफल भएको बताए ।   त्यस्तै आउँदो फागुन महिनामा हुन लागेको मिथिला माध्यमिकी परिक्रमाका बेला नेपाल–भारतको सीमा क्षेत्रमा भारतका सुरक्षा निकायले सुरक्षा दिने सहमति भएको पनि प्रजिअ कणेलले बताए ।

भारत विहारस्थित मधुवनीका जिल्ला अधिकारी अशोकले आपराधिक समूहले नेपालमा अपराध गरेर खुला सीमाको दुरुपयोग गर्दै भारतमा लुक्ने तथा अपराधिक घटनाजस्ता विषयमा नेपालको खुटौना र भारतको लौकहाका सुरक्षाकर्मीबीच छलफल भएको बताए ।

उनले छिट्टै अपराधीको पहिचान गरेर अपराधीलाई पक्राउ गरेर नेपाल सरकारलाई सुपुर्दगी गर्ने बताए । उनले विगतमा पनि अपराधीलाई समातेर नेपाल सरकारलाई र नेपाल सरकारले भारत सरकारलाई सुपुर्दगी गर्दै आएको स्पष्ट पारे ।

यस वैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी गरी ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकको उपस्थिति थियो भने मधुवनीका प्रहरी उपरीक्षक दिपक बर्मासहित सुरक्षा निकायका प्रमुखको गरी १४ जनाको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप