शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काग कराउँदै गर्छ, सरकार काम गर्दै जान्छ : मन्त्री बाँस्कोटा

सोमबार, २८ माघ २०७५, १६ : ५१
सोमबार, २८ माघ २०७५

बुटवल– सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरि ऐन कानुन निर्माणमा जुटेको बताएका छन्  । उनले विज्ञापनका बिषयमा भइरहेको आलोचनालाई लक्षित गर्दै भने, ‘भ्रमको शिकारमा पहिरनुस् हजुर, काग कराउँदै गर्दछ पिना सुक्दै गर्छ ।’ 

उनले अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकरात्मक रुपमा प्रचार गर्ने काम भइरकोमा आपत्ति जनाए ।  नेपाल पत्रकार महासंघ रुपन्देहीको बार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकार नागरिक अधिकारलाई थप बलियो बनाउने पक्षमा रहेको दावी गरे ।

पत्रकार महासंघले बिगतमा उठाएको बिषयमा सरकारले काम गर्न खोज्दा  महागल्ती गरे जसरी भम्र सिर्जना  गर्न खोजिएको मन्त्री बास्कोटाको भनाई छ । उनले अहिले मिडियाको कानुनी विषयमा अनावश्यक हल्ला मच्चाउने काम भएको पनि बताए । ‘प्रेस कानुन ल्याउँदैछौं, मान्छेहरु हल्ला मचाउँदैछन, अध्यारोमा तरबार नचलाऔं’ मन्त्री बाँस्कोटाले भने ।

उनले संसदमा विज्ञापन सम्बन्धि विधेयक दर्ता गरेको बताउँदै त्यसले मिडियालाई फाइदै गर्ने बताए ।  ‘सबैभन्दा बढि माग मोफसलका मिडियाले गरेका हुन्, त्यसलाई सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको हो’ उनले विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बमा पुर्याउने दावी गरे । 

मन्त्री बाँस्कोटाले ६५ बर्ष पुगेका पत्रकारलाई निवृत्त भरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापनाको सम्झौता गर्नु सरकारको उपलब्धी भएको बताए । तर,उनले नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धि गर्न माग गरेकोमा २५ प्रतिशत पूरा गर्दा पनि विरोध हुनुलाई अस्वभाविक भने । ‘विरोध भएपनि सरकारले कार्यान्वयन गरेरै छाडछ’ मन्त्री बास्कोटको दावी छ । 

उनले कम्यूनिष्ट सरकारले काम गर्दा अरुलाई पीडा भएको समेत बताए ।  नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले संघीयता कार्यान्वयनको चरणमा रहेकाले संरचनाको जगलाई बलियो बनाउने गरि मिडियाले विषय उठाउनुपर्ने बताए । उनले समृद्धि मूलूकको आवश्यकता भएको भन्दै मिडियाले सकरात्मक भूमिका खेल्नुपर्ने बताए । 

कार्यक्रममा प्रदेश नम्बर ५ की सांसद कमला विश्वकर्माले समाज परिवर्तनमा पत्रकारिताले धेरै काम गर्न सक्ने भन्दै यसको शक्तिलाई सदपयोग गर्न आग्रह गरिन् ।  पूर्व सांसद विनोद पहाडीले मूलूक संघियतामा गएपछि प्रेस पास तथा अन्य सेवा लिन कठिन भएकाले समाधान गर्न आग्रह गरे । उनले लुम्बिनी राष्ट्रिय पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न आग्रह समेत गरे । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरी, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनाल, पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार खिमानन्द भट्टराई, नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलम, उत्कृष्ट पत्रकारिता मूल्यांकन समितिका संयोजक डिआर घिमिरे, शैक्षिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक इन्दिरा अर्याल, लगायतले पत्रकारितालाई विश्वसनीय बनाउन आग्रह गरेका थिए । 

एक दर्जनलाई सम्मान र पुरस्कार 
साधारणसभाकै अवसरमा महासंघले विभिन्न निकायसँग मिलेर स्थापना गरेको तीनवटा पुरस्कार वितरण गरेको छ ।  नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरले संयुक्त रुपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारी र पत्रकार भगवती पाण्डे पुरस्कृत भएका छन् । अधिकारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ र पाण्डे उत्कृष्ट पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भएका हुन् । दुवै जनालाई नगद ५०÷५० हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ  ।

प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा र बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले पुरस्कार वितरण गरेका हुन् । यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल पब्लिकसँगको सहकार्यमा स्थापना गरिएको शैक्षिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोखरेल सम्मानित भएका छन् । 

पूर्वअध्यक्ष एवम् सल्लाहाकार सम्मानित 

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी र सल्लाहाकारलाई पनि सम्मान गरिएको छ । नेपाली पत्रकारिताको जगलाई बलियो बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेकाले शाखाले सम्मान गरेको हो । पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, डिआर घिमिरे, मोहन चापागाई, दीपक ज्ञवाली र शेरबहादुर केसीलाई सम्मान गरिएको हो । यसैगरि प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, दिल साहनी, बसन्त पोखरेल,प.बाबुराम भट्टराईलाई मरोपरान्त सम्मान गरिएको छ । यसैगरी सल्लाहाकारहरु खिमानन्द भट्टराई, माधव नेपाल, नारायण सापकोटा र चेतन पन्तलाई सम्मान गरिएको छ । प्रमुख अतिथि मन्त्री बाँस्कोटा र महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।    

अक्षय कोषका लागि ५ लाख घोषणा 
साधारणसभाकै अवसरमा पत्रकार महासंघको ३० लाख रुपैयाँ अक्षयकोष बनाउने लक्ष्यमा तिलोत्तमा नगरपालिका सहभागी भएको छ  ।  तिलोत्तमा नगरपालिकाले आगामि आर्थिक बर्षमा उपलब्ध गराउने गरी ५ लाख रुपैयाँ अक्षयकोषलाई दिने घोषणा गरेको छ । साधारणसभामा बोल्दै नगरप्रमुख घिमिरेले नगद ५ लाख उपलब्ध गराउने घोषणा गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप