शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिटायर नभएसम्म एकै अस्पतालमा काम गर्नुपर्ने डाक्टरको चिन्ता

सोमबार, २८ माघ २०७५, १६ : ४३
सोमबार, २८ माघ २०७५

काठमाडौँ । डाक्टर अनिल आचार्य अहिले आफ्नो काम छाडेर काठमाडौँमा आन्दोलनमा छन् । 

गुल्मी जिल्ला अस्पतालमा कार्यरत डा. आचार्य सरकारलाई घच्घच्याउन कामै छाडेर काठमाडौँमा आएका हुन् । उनी लगायत सरकारी चिकित्सकहरुको माग सरकारी चिकित्सकलाई केन्द्र सरकार मातहत राख्नुपर्ने रहेको छ । 

‘म अहिले गुल्मी अस्पतालमा छु । यदि नयाँ ऐनलाई मान्ने हो भने रिटायर नभएसम्म म त्यही अस्पतालमा बस्नु पर्नेहुन्छ । चिकित्सकको बृद्धि विकास अनुसार स्थानीय, प्रदेश र केन्द्रमा पठाउँनु पर्ने हो तर अहिले ल्याइएको समायोजन विधेयकमा सरकारी चिकित्सकको सरुवा बढुवाको व्यवस्था छैन’ उनको गुनासो छ । 

शनिबारबाट काठमाडौँमा जारी आन्दोलनमा सहभागी डा. आचार्य चिकित्सकलाई उसको क्षमता अनुसार अस्पतालमा राख्न जरुरी भएको बताउँछन् । 

उनीसँगै अहिले कर्मचारी समायोजनको विरोध गर्दै देशभरका सरकारी चिकित्सकहरु आन्दोलनमा छन् । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशले चिकित्सकको धेरै कुरालाई नसमेटेको हुँदा अनुभवी चिकित्सकहरु राखेर अध्यादेश ल्याउनुपर्ने भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् । ‘कर्मचारी समायोजन अध्यादेशमा चिकित्सकप्रति विभेदकारी नीति ल्याइएको छ’ उनीहरुको गुनासो छ । 

चिकित्सकको माग 
स्वास्थ्यमन्त्री र सरकारी चिकित्सक संघबीच भएको सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरुले दोस्रो पटक आन्दोलन गरेका हुन् । 

सरकारी चिकित्सकसँग सम्बन्धित समयानुकूल तलव÷भत्ताबृदि,सामाजिक सुरक्षा लगायत विभिन्न सुविधा, अस्पतालका भौतिक पूर्वाधारको गुणस्तर बुद्धि तथा औजार उपकरणको सहज उपलब्धता ,संघीय निजामति ऐनमा स्वास्थ्यका कर्मचारीको समतामूलक स्थान, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नु पर्ने चिकित्सकहरुको माग छ । 

आइतबारबाट यस्तै माग राखेर दोस्रो आन्दोलन सुरु गरेको सरकारी चिकित्सकहरुले प्रहरीले चिकित्सकप्रति ज्याजती देखाएको भन्दै सोमबार वीर अस्पतालबाट माइतीघर मण्डलासम्म र्याली निकालेका थिए ।  
 सहमति कार्यान्वयन भएन 
कर्मचारी समायोजन अध्यादेशविरुद्ध पुस २५ देखि चिकित्सकहरुले आन्दोलन सुरु गरे । आन्दोलनपछि पुस २९ गते स्वास्थ्य मन्त्रालयले उनीहरुसँग वार्ता गर्न टोली गठन गर्यो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर गुणराज लोहनी, सहसचिव जनार्दन गुरागाई  मन्त्रालयका जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ मन्त्रालयको वार्ता टोलिमा थिए भने सरकारी चिकित्सक संघको तर्फबाट डा. रुद्र मरासीनी, डा. दिपेन्द्र पाण्डे ,डा. रविन खड्का,डा. सन्तोष पौडेल ,डा. कीर्तिपाल सुवेदी र डा. निरज अर्यालको टोलीले आन्दोलनरत पक्षसँग वार्ता गरेको थियो । 

वार्तामा कर्मचारी समायोजन अध्यादेश अनुसार कर्मचारी समायोजन गर्दा हाल संघीय लोकसेवा आयोगबाट नियुक्ति भएका स्वास्थ्य सेवातर्फका चिकित्सक लगायतका अधिकृतस्तरका कर्मचारीहलाई संघीय सरकारले परिचालन गर्नेगरी आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने, चिकित्सकलाई भत्ताको व्यवस्थापन गर्ने  लगायत ७ बुँदे सहमति भएको थियो ।

यसैबीच सोमबारै सामान्य प्रशासन मन्त्रालयले आन्दोलनरत चिकित्सकहरुलाई वार्ताका लागि बोलाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप