बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षामाथि असर नपर्ने गरी राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न माग

सोमबार, २८ माघ २०७५, १५ : ५८
सोमबार, २८ माघ २०७५

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले राष्ट्रिय सुरक्षामाथि प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकको गोपनियताको हक र राष्ट्रिय सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचयपत्र वितरणको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सरकारले हाल पाँचथर र सिंहदरबारबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । त्यसो गर्दा व्यक्तिको गोपनियताको हक र राष्ट्रिय सुरक्षामाथि खलल् आउन नदिन सरकारलाई सचेत रहन पनि सांसद बडुको आग्रह छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले राष्ट्रिय परिचयपत्र छपाईको काम देश बाहिर नगर्न पनि सरकारलाई सचेत गराए ।  देश र नागरिकको सुरक्षासँग सम्बन्धित राष्ट्रिय परिचयपत्र जस्तो संवेदनशील विषय राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर गर्न नहुने उनको भनाई थियो । सांसद रावलले राष्ट्रिय परिचयपत्र वितरणको काममा सरकारलाई हतार नगर्न पनि गम्भिर ध्यानाकर्षण गराए । 

सांसद रावलले मुलुकको सूचना बाह्य मुलुकमा पुर्याउने काम हुन नदिने गरी राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारसँग माग गरे ।  बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहसचिव प्रेमकुमार राईले नागरिकहरुलाई बहुउपयोगी हुने गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरिएको बताएका थिए । उनले सरकारले हाल पाँचथर र सिंहदरबारबाट सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरणको काम देशभर सञ्चालन गर्न लागिएको समितिलाई जानकारी दिए ।

 समितिले राष्ट्रिय परिचयपत्र वितरणको कामलाई व्यवस्थित बनाउन त्यसको मोडालिटीमा पनि आवश्यक छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने तयारी पनि गरेको छ । समितिकी सभापति शशी श्रेष्ठले राष्ट्रिय परिचयपत्र वितरणको विषय मुलुकको सुरक्षासँग सम्बन्धित विषय भएकाले यस सम्बन्धमा विस्तृत छलफल गरी सरकारलाई आवश्यक सुझाव दिने तयारी गरिएको पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप