बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ को ‘थप्पड काण्ड’मा नयाँ मोड, अख्तियारले छानविन थालेपछि सरकार दबाबमा

सोमबार, २८ माघ २०७५, १० : ३१
सोमबार, २८ माघ २०७५

प्रदेश २ मा मन्त्री र सचिवबीच भएको ‘थप्पड काण्ड’को विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको आरोप बारे सरकारले छानविन गरिरहेकै बेला आयोगले छानविन शुरु गरेको हो ।

थप्पड कण्ड आर्थिक लेनदेनसँग सम्बन्धित भएकाले अख्तियार दुरुपयोग आयोगले यसको छानविन गर्न लागेको हो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमकै कारण उक्त काण्ड भएको कुरा बाहिर आएपछि अख्तियार दुरुपयोग आयोग, बर्दिवासले पनि यसको छानविन शुरु गरेको हो ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत आफ्नो एनजीओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले सचिव झासँग विवाद भएको कुरा बाहिर आएपछि आयोगमा यसबारे उजुरी परेको थियो । उजुरी परेपछि आयोगले छानविन शुरु गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले सञ्चालन गर्न संस्था छनोटका फाइलहरु झिकाएर आयोगले छानविन शुरु गरेको छ ।

आयोगले अनुसन्धान शुरु गरेपछि सरकारले छानविनका लागि गठन गरेको समिति पनि तातेको छ । आयोग कुनै निष्कर्षमा पुग्नुभन्दा पहिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको बुझिएको छ ।  

प्रदेश सरकारले गठन गरेको छानविन समितिमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवसहित प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाल रहेका छन् ।

यो पनि

प्रदेश २ थप्पड प्रकरणः सञ्चारमन्त्री बास्कोटाले दिए यस्तो प्रतिक्रिया

पछि कर्मचारी संगठनहरु पनि आन्दोलित भएपछि कर्मचारीहरुको तर्फबाट गणपति झालाई समितिको सदस्यमा मनोनित गरेको थियो । 

विवादीत उद्यम कार्यक्रमको सबै कागजपत्र दिनका लागि आयोगले प्रदेश २ का उद्योग मन्त्रालयलाई माघ १६ गते पत्र काटेको थियो । मन्त्रालयले गैरसरकारी संस्था मार्फत प्रदेश २ का आठवटा जिल्लाका लागि आठ करोड रुपियाँ उद्यम कार्यक्रम संचालन गर्ने योजना तयार गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रस्ताव आह्वान गर्दा  १९३ गैरसरकारी संस्थाले दरखास्त दिएका थिए । मापदण्ड पूरा गर्ने ४६ संस्था मात्र छनोट सूचीमा परेका थिए ।

संघीय सरकारको सशर्त अनुदानमा गरिबी निवारणको लागि उद्यम कार्यक्रम प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आशयपत्र आह्वान गरेको थियो । 

सोही सूचीमा मन्त्री यादवले दिएको नाम नपर्दा आफूलाई कुटपिट गरेको सचिव झाको आरोप छ तर मन्त्री यादवले आफूले कुटपिट नगरेको दावी गर्दै आइरहेका छन् । उनले भने, ‘यदी मेरो संस्थाको नाम राख्नुनै पर्छ भने म सिधै मन्त्रीसँग कुरा गर्नसक्छु । सचिवसँग किन जोरी खोज्नु ? बरु सचिव झाले नै मसँग पटक–पटक भेट्न खोज्नुभएको थियो तर मैले भेट्न चाहेको थिइनँ । त्यो दिन उहाँ आफै मेरो कार्य कक्षमा छिर्नुभयो । यदी मैले उहाँसँग भेट्न खोजेको हो भने कुनै प्रमाण त होला नि । मसँग उहाँले नै मलाई भेट्न खोजेको प्रमाण छ ।’

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव

तर, सचिव झा भन्छन्, ‘उहाँले आफ्नो स्वकीय सचिवमार्फत बोलाएपछि म त्यहाँ गएको थिएँ । उहाँको कार्यकक्षमा पुग्दा ‘मेरो संस्था किन नपरेको ?’ भन्दै गालीगलौज गर्दै कुटपिट गर्नुभयो ।’

मन्त्री यादव र सचिव झाबीच विवादकै बीचमा कार्यक्रमको नतिजा सार्वजनिक गरे पनि मन्त्रालयले अहिले सबै कार्यक्रम स्थगित गरेको छ ।

घटनाको बारेमा सरकारले पनि छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ भने उता आयोगले पनि अनुसन्धानका लागि सबै कागजात लगेको हुनाले कार्यक्रम नै स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले आन्तरिक रुपमा समस्या समाधान गरेपनि अख्तियारको ‘इन्ट्री’पछि प्रदेश २ सरकार दबाबमा परेको छ ।

यो पनि

प्रदेश २ थप्पड प्रकरण : छानविन समिति नै शंकाको घेरामा

प्रतिवेदन तयार

आर्थिक मामिला मन्त्री यादव र सचिव झा बीचको विवादको बारेमा अध्ययन गर्न बनेको छानविन समितिले प्रतिवेदन तयार गरिसकेको छ । तर समितिका सदस्य सचिव समेत रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मुख्य सचिव दीपक सुवेदीले प्रतिवेदनमा हस्ताक्षर नगरेको कारण ढिलाई भइरहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका छानविन समितिका संयोजक ज्ञानेन्द्रकुमार यादवले बताए । प्रदेश सरकारलाई दुई दिनभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको उनले बताए ।

घटनापछि गठन भएको समितिले छानविन गरेर सात दिनभित्र प्रतिवेदन बुझाउने भनिएको थियो तर झण्डै एक महिना बितिसक्दा पनि बुझाउने छाँटकाँट नदेखिँदा समितिमाथि विभिन्न आशंकाहरु गर्न थालिएको थियो । तर, मन्त्रालयमा भएको घटनामा अहिले अख्तियारले गम्भिर रुपमा अनुसन्धान सुरु गरेपछि प्रतिवेदन सार्वजनिक गर्न समितिमाथि दबाब परेको हो ।

यता, सचिव झा प्रतिवेदनले आफूलाई न्याय दिने कुरामा विश्वस्त छैनन् । उनी भन्छन्, छानविन समितिले न्याय दिएन भने अदालत जान्छु । अहिले प्रतिवेदनको प्रतिक्षमा छु ।’

कर्मचारीले साथ दिएन

सचिव झा एक सातादेखि आफ्नो कार्यालयमा जान थालिसकेका छन् । उनले निजामति कर्मचारीहरुले नै यो घटनालाई दुनो सोझ्याउने भाँडो बनाएको र घटनालाई त्यतिकै सेलाउनेतिर लागेको आरोप लगाए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा

यो घटना भएपछि केन्द्रदेखि प्रदेशसम्मका कर्मचारीहरु आन्दोलनमा उत्रेका थिए तर मुख्यमन्त्री लालबाबु राउतले सरकारले छानविन गर्ने र प्रतिवेदनको आधारमा दोषीलाई कारवाही गर्ने भनेपछि कर्मचारीहरु पछाडि हटेका थिए ।

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन धनुषाका अध्यक्ष रामबाबु साहले प्रदेश सरकारले घटनाको छानविन गरिरहेकाले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे ।

मन्त्री जाँदैनन् मन्त्रालय

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय मन्त्री भएदेखि मन्त्रालय गएका छैनन् । जति पनि कामकाज हुन्छ ती सबै आफ्नो सरकारी निवासमै गर्ने गरेका छन् । मुटुमा पेसमेकर राखेको कारण माथिल्लो तल्लामा जान गाह्रो भएको हुनाले उनी मन्त्रालय जान छाडेका हुन् ।

यो पनि

प्रदेश २ थप्पड प्रकरण: मन्त्री यादवविरुद्ध सार्वजनिक अपराधको मुद्वा दायर गरिने

उनले यो घटनामा आफ्नो पक्षबाट कुनै पहल नगरेको कारणले पनि यो रुप लिएको विश्लेषण भइरहेकोछ । उनी बाहिरको कार्यक्रममा जाने र बाँकी समय सरकारी निवासमै बिताउने भएकाले पनि यो विवाद बढ्दै गएको पनि कतिपयको बुझाई छ ।

मन्त्री राय र मन्त्री यादव बीच भएको कुराकानीको आधारमा विभिन्न गैरसरकारी संस्थाका सिफारिस भएको थियो । र, मन्त्री रायले निवासमा बसेर सचिव झालाई जिम्मेवारी दिने गरेका थिए ।

प्रदेशसभाका सभामुख सरोजकुमार यादवले समेत केही गैरसरकारी संस्थाको सिफारिस गरेका थिए । सभामुख यादवले आफूले सिफारिस गरेको गैससले कार्यक्रम नपाएको भन्दै मन्त्री यादवसमक्ष गुनासो गर्न पुगेका थिए । त्यही भएर मन्त्री यादवले सचिव झालाई आफ्नो कार्यकक्षमा बोलाएर सभामुखकै सामुने थप्पड हानेको स्रोतको दावी छ ।

तर सभामुख यादव भन्छन्, ‘मेरो त्यस्तो कुनै एनजीओ छैन र मैले कसैलाई सिफारिस पनि गरेको थिएन ।’ बरु सचिव झाले कार्यकक्षमा जथाभावी बोल्न थालेपछि त्यसलाई मिलाउने प्रयास आफूले गरेको उनले बताए ।

यता, मन्त्री यादवले आफूले भनेको सिरहा गोलबजार स्थित सहकार्य नेपाल र लहान स्थित सगरमाथा स्रोत विकास केन्द्र नामक गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै गालीगलौज गरेको सचिव झाको अरोप छ ।

विभिन्न संस्था गरि १४ वटा गैसससँग प्रति संस्था ५ लाख रुपियाँका दरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीको समन्वयमा रकम उठाइएको स्रोतको दावी छ । त्यसमा सचिव झाको पनि संलग्नता देखिएको बताइन्छ ।

मन्त्री यादव र सचिव झाबीच घटना हुनुमा मुख्यमन्त्री राउतको अति निकटम मानिएका सुरेश शर्मा पनि दोषी देखिएको कर्मचारीहरुको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप