मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

`सभापतिजी यसरी भएन, पार्टीलाई नोक्सान गर्‍यो´

रामचन्द्र पौडेल, नेपाली कांग्रेसका वरिष्ठ नेता
सोमबार, २८ माघ २०७५, ०९ : ३८
सोमबार, २८ माघ २०७५

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल काँग्रेसभित्र फेरि असन्तुष्टि बढेको छ । पार्टीको महासमिति बैठकपछि नेताहरुबीचको असन्तुष्टि कम हुने अपेक्षा गरिएको थियो । केही दिन सभापति शेरबहादर देउवा र वरिष्ठ नेता पौडेलबीचको दूरी नजिकिएपनि त्यो दुरी दुई महिना नपुग्दै फराकिलो बनेको छ । सरकार सही ढंगले नचलेको भन्दै सदनदेखि सडकसम्म संघर्षमा होमिएको काँग्रेसको आन्तरिक राजनीति भने अस्तव्यत छ । पार्टीका प्रमुख नेताहरुको गुटगत स्वार्थका कारण भ्रातृ संगठन पनि लथालिङ अवस्थामा छन् ।

गत पुस ८ गते समापन भएको महासमिति बैठकले स्वीकृतका लागि केन्द्रीय कार्यसमितिमा पठाएको पार्टीको विधानमा समेत लफडा देखिएको छ ।

 काँग्रेसको आन्तरिक राजनीति किन अस्तव्यस्त अवस्थामा पुग्यो ? यसको कारण के हो ? यसलाई समधान गर्न नेतृत्व तहबाट के कस्ता पहल भइरहेका छन् ? लगायत अन्य विविध समसामयिक विषयमा केन्द्रीत रहेर काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग रातोपाटीका लागि लोकेन्द्र भट्टले कुराकानी गरेका छन् ।

यतिबेला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आन्तरिक राजनीति एकदमै अस्तव्यस्त देखिन्छ । यस्तो अवस्था किन र कसरी सिर्जना भयो ?

काँग्रेसको राजनीति अस्तव्यस्त नबनोस् भनेर मैले धेरै प्रयास गरेँ । महासमिति नै भत्किएर जान्छ कि भन्ने आशंका थियो । त्यसलाई निवारण गराएँ, महासमिति विधान नै नबनाई जान्छ कि भन्ने पनि थियो । केही न केही सम्झौता गरेर विधानमा पनि सहमति जुटायौँ । इस्युमा सहमति भएपछि पार्टीमा पनि सहमति भयो । हामी (सभापति देउवा र म) बीच सहमति भयो । अनि मैले हामी मिल्यौं भनेर महासमिति बैठकको समापन समारोहमा नै भनेँ  ।

त्यतिबेला तपाई र पार्टी सभापति देउवावीच हात मिलाएर मिलन भएको घोषणा गरेपनि त्यो आत्मैदेखि होइन भन्ने अहिले पुष्टि भयो होइन ?

महासमिति बैठक उद्घाटन समारोहमा एकता भयो भन्न मैले हिच्किचाएकै हो । किनभने त्यत्तिकै ख्यालख्यालमा एकता भनेर मात्रै मान्छेलाई किन झुक्याउने ?  इस्युमा एकता हुनुपर्यो, तब मात्रै पो एकता भयो भन्ने हो ? त्यसैले मैले इस्युमा र विधानमा एकता भएपछि मात्र हामीबीच एकता भयो भनेर भनेको हुँ । त्यसपछि मैले अब पार्टीमा एकता भयो साथीहरु निर्धक्क भएर जिल्ला जानुहोस् भनेँ । त्यहाँ गएर तपाई‌हरु गुटबन्दी नगर्नुस्, त्यो हटोस् भनेर सबै साथीहरुलाई जिल्ला पठाएको हो । त्यसपछि पनि म आफू पनि जहाँजहाँ गएँ, काँग्रेस पार्टी भन्नुस्, देउवा वा पौडेल भन्न छोड्नुस् भनेकै छु ।  अर्को कुरा, पार्टीले प्रतिपक्षसँग सामना गर्नुछ । प्रतिपक्षसँग सामना गर्नका लागि योजनाबद्ध तरिकाले अगाडि जानु पनि पर्यो । त्यही अनुसार समय र योजनाबद्ध तरिकाले पार्टीलाई अघि बढाऊँ भनिरहेको छु ।

सुनौलो भविष्यका लागि योजनाबद्ध र एजेन्डासमेत लिएर जनतामा जाऔं, त्यसो गरियो भने पार्टी चुस्त दुरुस्त हुन्छ भन्ने मेरो भनाइ हो । मैले एजेण्डा पनि प्रस्तुत गरेको छु । त्यहीअनुसार काम गरौँ भनेर कार्यतालिका ल्याएँ । यसबाट पार्टी चुस्तदुरुस्त रुपमा चलाउन सकिन्छ भन्ने मेरो बुझाइ थियो । तर, यो कुरा पार्टी नेतृत्व, हाम्रो सभापतिजीलाई मनपर्ने र स्वीकारयोग्य भइरहेको छैन । यो नै अहिले खड्किँदो विषय भएको छ ।

पार्टी सभापति र तपाईंले महासमिति बैठकको समापन सत्रमा जिल्ला सभापतिलाई दिएको आश्वासन केन्द्रीय कार्यसमितिबाट पूरा नगर्ने संकेत देखिएको छ । पार्टीको दोस्रो सर्वोच्च निकाय महासमितिमा जनाएको प्रतिबद्धताबाट तपाईंहरु किनपछि हट्नु खोज्नु भयो ?

मैले त्यो आश्वासनमा बेमानी नगरौँ भनिराखेको छु । हामीले आश्वासन दिएको छौँ । त्यो बेला त्यो कुरालाई केन्द्रीय कार्यसमितिबाट पुरा गछौँ भनेका हौँ । कार्यसमितिका साथीहरु पनि त्यहाँ हुनुहुन्थ्यो । आम महासमितिका साथीहरुको धारणा सुन्नु भएको छ । त्यसकारण तलबाट आफ्नै साथीहरुसँग चुनिएर आउनु किन नहुने ? मैले त केन्द्रीय कार्यसमितिमा जाउँ हामी तलैबाट चुनिएर आउँ भनि राखेकै छु । तिनीहरुसँगै आऊ हामी पनि , हामी सबै एकै नासको किन नहुने भनिराखेको छु । सभापति पक्षको भनाई ‘कहाँ हुन्छ ?’ भन्ने छ । उहाँहरु हामी एक पटक भइसकेपछि भइँयोभइँयो भन्ने खालको छ । अब ती साथीहरुलाई के जवाफ दिनुहुन्छ ? त्यो त उहाँहरुले नै जान्नुहुन्छ  ।

मिटिङ ११ बजे भनेर बोलाइन्छ । सभापतिजी २ बजे आउनु हुन्छ । ४, ५ बजे भएपछि २,४ जनाले बोल्दाबोल्दै ल अब आजका लागि बैठक सकियो भन्दिनु हुन्छ । अब ५ दिनपछि बस्छ भनिन्छ । मैले त दिन बिताउने काल कटाउने काम गरेर जाने हो ?

सभापति देउवापक्षले पार्टी एकताको क्रम जारी रहेकाले केन्द्रीयस्तरका नेता बुथबाट चुनिएर आउने कुराले समस्या आउनसक्छ भन्ने छ नि यसमा तपाइँको भनाइ के छ ?

यसमा के प्रष्ट हुनुपर्छ । हामीले पार्टीको हितविरुद्ध केही व्यक्तिको हितका लागि पार्टी एकता गरेको होइन । आफ्नो एउटा सरेण्डर (आत्मासमर्पण) हुन्छ । पार्टीको हितका लागि आफूहरुले एजेण्डा, कार्यक्रम सारिएको हुन्छ । ती सबै कुरा छाडेर हुन्छ र ? एकतामा सबै कुरा मिल्नु पर्छ । एजेण्डामा सहमति हुनु पर्यो । आज हामीसँग के एजेण्डा छन् ? प्रतिपक्षले के एजेण्डा लिएर सत्तापक्षसँग सामना गर्ने र जनतामा जाने । ती एजेण्डासहित कुन कार्यक्रम, कुन विधि, कार्यशैली लिने भन्ने विषयमा हाम्रो मिलन हुनुपर्यो । त्यो विषयमा सहमति नभएपछि एकताको के अर्थ हुन्छ ? एकता एकता भनेर  मात्र हुन्छ ? साथै पार्टीमा पनि बेलाबेलामा एकता एकता भन्ने गरिन्छ । नेताहरुबीच पार्टीको एजेण्डा, पार्टी सञ्चालनको विधि र कार्यशैलीमा पनि एकरुपता आउनु पर्यो । हामीबीच एकता छ भनेर आत्मवाञ्चना गर्ने काम गर्नुहुँदैन भन्ने मेरो भनाइ हो । म आत्मवाञ्चना गर्न चाहन्न ।

तपाईँको पार्टी प्रतिपक्षमा छ । प्रतिपक्षले त सरकारका गलत काम कारवाहीलाई सदनदेखि सडकसम्म सशक्त रुपमा उठाउनु पर्ने हुन्छ । आन्दोलको उर्जाको रुपमा रहेका भ्रातृ संगठन नेविसंघ र तरुण दल पनि अस्तव्यस्त छन् । तरुण दल ४ जनाको भरमा चलिरहेको छ भने नेविसंघको अवस्था अरु विकराल छ । भ्रातृ संगठनलाई काँग्रेसले चुस्त दुरुस्त राख्न किन सकेको छैन ?

तरुण दलको आकार बढाउ भनेर म भनिरहेको छु । सभापतिज्यु किन थप्ने ?भनिरहनु भएको छ । मैले भनेको मानिरहनु भएको छैन । यस्तै नेविसंघबारे पनि भनिरहेकै छु । नेविसंघले अधिवेशन गर्न सकिरहेको छैन । यसले स्ववियु चूनावलाई पनि सही तरिकाले हाँक्न सक्दैन । मैले स्ववियु चुनावलाई सामना गर्न सक्ने यो नेतृत्वको विकल्प चाहियो भनेर भन्ने गरेको छु । साथै नयाँ नेतृत्व ल्याउँदा नेविसंघको अधिवेशन सुनिश्चित चाहिएको छ । त्यो अनुसारको प्रबन्ध गरौँ भन्ने मरो भनाइ छ ।

नेविसंघ अधिवेशनउन्मुख देखिएका बेला किन विकल्प खोजिनु पर्यो ? करिब १५, २० वटा जिल्लामा अधिवेशन समेत गरिसकेको छ । यस्तो अवस्थामा नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने प्रस्ताव पेश गर्नुभएको छ । नेविसंघलाई यत्रो दिनसम्म निकास दिन नसक्नुमा त तपाइहरुकै कमजोरी हो भनेर कार्यकर्ताले बुझेका छन् नि ?

नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव सभापति पक्षबाटै आएको हो । अहिलेको नेतृत्वले संगठन चलाउन सकेन भनेर उपसभापति विमलेन्द्र निधिजीले प्रस्तुत गर्नुभएको छ । हामीले पनि देखेको के हो भने नेविसंघको यो कार्यसमितिले अधिवेशन गर्ने भन्छ । तर आज एउटा निर्णय गर्छ, भोलिपल्ट त्यसलाई उल्ट्याउँछ । आज एउटा प्रतिनिधि खटाउँछन्, भोलि अर्को खटाउँछन् । यस्तो तरिकाले अहिलेको नेतृत्वले काम गर्न सक्दैन भन्ने हाम्रो पनि धारणा हो । त्यसभित्र पनि नैनसिंह महर पक्षकाले नै पनि राजीनामा दिए । त्यहाँ भुइँचालो नै गयो । त्यसैले मैले त अधिवेशनको सुनिश्चितता र स्ववियु निर्वाचनलाई सम्हालेर लैजाने वातावरण निर्माण गरौँ भनेको हो । त्यसको विकल्प के हुन्छ ? सोचौँ भनेको छु । यी विषयलाई सम्हाल्ने मान्छेलाई नेतृत्व दिऊ भन्ने गरेको छु ।

नेविसंघको नेतृत्वको विकल्प दिन के ले रोकेको छ ? यसबारे केन्द्रीय कार्यसमितिले लामो समय निर्णय गर्न नसक्नुको कारण के हो ?

तपाईलाई थाहा नै छ । पटक पटक मिटिङ राखिन्छ ।  मिटिङ ११ बजे भनेर बोलाइन्छ । सभापतिजी २ बजे आउनु हुन्छ । ४, ५ बजे भएपछि २,४ जनाले बोल्दाबोल्दै ल अब आजका लागि बैठक सकियो भन्दिनु हुन्छ । अब ५ दिनपछि बस्छ भनिन्छ । मैले त दिन बिताउने काल कटाउने काम गरेर जाने हो ? भनेर प्रश्न नै गर्ने गरेको छु । यस्तो तरिकाबाट जाने हो भने मलाई चित्त बुझ्दैन पनि भन्ने गरेको छु ।

पार्टी त  प्रभावकारी ढंगले जानु पर्यो नि ? कार्यसमितिको बैठक निर्णायक रुपमा जानु पर्यो । यस्तो तरिकाले पार्टी चलाउनु हुँदैन भन्ने मेरो भनाइ छ । यो लम्व्याउने काम गरेर काल काट्ने दिन विताउने गर्दै नगरौँ भनिरहेको छु ।

तपाईंले महासमिति बैठकमा सभापति र आफू सैद्धान्तिक रुपमा मिल्यौँ भनेर भन्नु भयो । तपाइँको कुरा सुन्दा त व्यवाहारिक रुपमा मिल्न बाँकी नै रहेको देखियो नि ?

होइन, होइन । बैठकमा इस्युमा एजेण्डामा कुरा मिलेपछि मिल्यो । सधँै झगडा गरिराख्न एउटै पार्टीमा त मिल्दैन नि ! एउटा घटनामा मिलेको कुरा सधँैका लागि पनि होइन ।  इस्युमा कुरा मिल्यो भने पार्टीमा हुने झगडा मिलाएर लैजानुपर्छ । तर फेरि इस्यु आयो । इस्युमा कुरा नमिलेपछि मिलेन भनेर भन्नु पर्यो नि ! पार्टीको हितमा मैले योजना दिए । कि मलाई कन्भेन्स गर्नु पर्यो – तपाईंका योजनामा यहाँ कमी कमजोरी रह्यो, यति कारणले यो अनुपयुक्त छ भन्नुपर्यो कि त्यसलाई मान्दिनु पर्यो, कि त्यसका यति कुरा मान्छु, यति कुरा मान्दिन भन्नु पर्यो । दुईवटै नगरेर ‘आउट राइट रिजेक्ट’ गर्न थालेपछि त कसरी मेलमिलाप, सहमति र समभदारी हुन्छ ?

महासमिति बैठकबाट पार्टीको विधानसहितका विभिन्न प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पठाएको पनि करिब २ महिना हुँदैछ । विधान कार्यान्वयन र पार्टीको अन्य व्यवहारिक पक्षलाई कहिले व्यवस्थापन गर्नु हुन्छ ?

त्यही त मैले भनिराखेको छु । उहिले नै विधान पास गरेर माहासमिति समापन भएको छ ।  महासमिति सम्पन्न भएको २, ३ दिनभित्रमा केन्द्रीय कमिटी बोलाएर टुङ्ग्याउनु पथ्र्यो । यो त नेतृत्वको काम हो । मैले त पहिले नै भनेको थिए । महासमिति सकिनेबित्तिकै विधानलाई कार्यान्वयन गर्ने जिम्मा केन्द्रीय कार्यसमितिलाई दिएको छ । त्यसलाई परिमार्जन गरेर कार्यान्वयनतिर लगिहालौँभन्दा पनि यतिका दिनसम्म लम्बिएको छ । यही कुरा मलाई चित्त बुझिरहेको छैन । जसले समस्या मात्र निम्त्याउने होइन, पार्टीलाई ठूलो क्षति नै भएको छ ।

यस्तो अवस्थामा अब तपाईंको भूमिका के रहन्छ त ?

मैले त आफ्नो कुरा भन्ने हो । म  पार्टी सभापति होइन । मैले सभापतिजीलाई यसरी भएन । छिटो गरौँ, चाँडो टुङ्ग्याउँ र निर्णय दिऔं भनिरहेको छु । म फेरि पनि भनिराख्छु–नेतृत्वबाट गल्ती भयो, यसले पार्टीलाई नोक्सान गर्यो । यस्तो  नगरौँ भनेर सचेत गराउने हो, गराइरहेको छु ।

काँग्रेस कार्यकर्ताले नै भन्ने गरेका छन् – सभापति देउवाले तपाईलाई यो वा त्यो भनेर आश्वासन दिने र पुरा नगर्ने । त्यस्तो कि भइरहेको छ ?

म कुनै आश्वासनको खेलमा पनि परेको छैन । मलाई आश्वासन पनि चाहिएको छैन । मलाई व्यक्तिगत आश्वासनबाट कुनै लिनुदिनु पनि छैन ।

म कुनै आश्वासनको खेलमा पनि परेको छैन । मलाई आश्वासन पनि चाहिएको छैन । मलाई व्यक्तिगत आश्वासनबाट कुनै लिनुदिनु पनि छैन । काँग्रेसका लागि यत्रो जीवन दिइयो, यत्रो संघर्ष पनि गरियो । १५, १५ वर्ष जेलमा पनि बसेँ काँग्रेसकै लागि । सत्तामा हुँदा होस् वा बाहिर, जीवनभर काँग्रेसको इज्जत फाल्ने काम गरिनँ, सत्ताको  दुरुपयोग कहिल्यै गरिनँ  । म जेलमा बस्दा पनि पार्टीको आदर्शमा कहिलै सम्झौता गरेर छुट्ने कोशिस गरिनँ । काँग्रेसलाई यत्रो जीवन दिएको मान्छे काँग्रेस बिग्रेको कसरी हेर्न सक्छु र ! यो पार्टी नबिग्रियोस् भन्ने कोशिस गर्ने हो । त्यो भन्दा बढी मेरो केही चाहना छैन ।

पार्टीभित्र यस्तो भद्रगोल र अलपत्त्र अवस्था छ । तर तपाईंहरुको ध्याउन्न १४ औँ महाधिवेशनमा नेतृत्व हत्याउनका लागि शक्तिआर्जनमा मात्र केन्द्रीत भएको देखिन्छ नि ?

यसमा म तपाईंलाई सच्याउन चाहन्छु । पार्टीको भद्रगोल अवस्थालाई त्यतिकै छाडेर आउँदो चुनावमा उत्रेको भन्ने कुरा म मान्न तयार छैन । यो भद्रगोल अवस्थालाई कसरी व्यवस्थित गर्ने, पार्टीलाई सही तरिकाबाट कसरी सञ्चालन गर्ने, पार्टीलाई ट्रयाकमा कसरी ल्याउने भन्ने कुरामै केन्द्रीत भएर बोलिराखेको छु ।

केन्द्रीय कार्यसमितिमा त्यही कुरामा सुझाव दिरहेको छु । पार्टीलाई चुस्त–दुरुस्त बनाएर लैजाउन भनेर विकल्प दिरहेको छु । मैले खालि आफ्नो चुनावी प्रचारको कुरा गरिराखेको छैन । ममा पार्टीलाई कसरी प्रभावकारी रुपमा लैजान सकिन्छ भन्ने मात्रै चिन्ता छ । त्यही कुरालाई ध्यानमा राखेर  मैले केन्द्रीय कार्यसमितिमा कार्यतालिकासमेत प्रस्तुत गरेको छु ।

यस्तै अवस्थामा काँग्रेस १४ औँ महाधिवेशनमा गयो भने पार्टीले कस्तो परिमाण हात पार्ला ?

मैले यस्तो अवस्था महाधिवेशनमा जानु उचित हुँदैन भनेर अहिलेका समस्या चाँडोभन्दा चाँडो टुंग्याऔं, पार्टीलाई एजेण्डामुखी बनाऔं भन्दै आएको छु । साथै, जनताका चासोका एजेण्डालाई अगाडि ल्याऔं, ती एजेण्डा लिएर जनतामा जाऔं, ती एजेण्डा लिएर सत्तासँग प्रतिस्पर्धा गरौँ, सत्तालाई पनि सही बाटो देखाउने गरौँ पनि भन्दै आएको छु । देश, लोकतन्त्र र पार्टीको भलो कसरी हुन सक्छ भन्ने विकल्पसहित तयार छु म । त्यसलाई सभापतिजीले गम्भीरतापूर्वक साँचेर लिइदिनुपर्यो ।

तपाई १४ औँ महाधिवेशनमा पनि नेतृत्वको दावेदारीमा हुनुहुन्छ होला । अब तपाईंले लिने ठोस एजेण्डा के के हुन्छन् ?

आगामी महाधिवेशनको उम्मेदवार म मात्रै हो, मेरो विकल्प छैन भनेर भन्ने गरेको छैन । लोकतन्त्रमा हरेकका विकल्पहरु हुन्छन् । त्यतिखेरको आवश्यता के महसूस हुन्छ आम कार्यकर्तालाई ? त्यो प्रमुख प्रश्न हो । अहिले नै हतार गरेर म नै हो सभापति भनेर मैले भनिर राखेको छैन । अरु साथीले पनि भन्नुभएको छ भने त्यो ठिक हुन्न भनिरहेको छु । बरु अहिले पार्टीको हितका लागि के गर्ने सकिन्छ, त्यतातिर उन्मुख हौँ भन्ने नै मेरो भनाई हो ।

काँग्रेसमा युवा नेताहरुले नेतृत्व गर्नुपर्ने आवाज पनि उठेको छ । १४ औँ महाधिवेशनमा काँग्रेसको नेतृत्व युवाले गर्ने सक्ने सम्भावना कति छ ? त्यसमा तपाईंको भूमिका कस्तो रहन्छ ?

नेतृत्व कसैले बनाई दिएर बन्दैन । ल तँ नेतृत्व भइस् भनेर स्वस्थानीमा हात्तीले नवराजलाई जस्तै माला पहिराइदिने पनि होइन । त्यो क्रमशः निर्माण भएर आउँछ । आफ्नो काम, प्रस्तुति र आम साथीहरुको विश्वास जितेर नेतृत्वमा आउने कुरा हो । यहाँ पुरानै मान्छे हुनुपर्ने भन्ने पनि छैन । त्यो चल्दा पनि चल्दैन । त्यसका लागि पनि बाटो खुला छ । नयाँलाई अवसर र मौका दिनुपर्छ । तर नयाँनयाँ भनेर सर्लक्क हामीले छोडिदिऔं नै भनेपनि त्यो नेतृत्व कसलाई दिने त ? त्यो पनि त थाहा छैन । काँग्रेसमा नयाँ पुस्ता अगाडि आइराखेकै छ, आउँछ पनि । त्यसको लागि अहिले नै तोक लगाउने कुरा मिल्दैन ।

अहिले काँग्रेसमा उर्जाशील, क्षमतावान युवा नेताहरु हुनुहन्छ । अब त तपाईहरु अभिभावक भएर उहाँहरुलाई नेतृत्व दिने बेला भएन र ? के लाग्छ तपाईलाई ?

गिरिजाप्रसाद कोइरालाले ८४ वर्षको उमेरमा शान्ति सम्झौताको नेतृत्व गर्नुभयो ।  गणतन्त्रको नेतृत्व गर्नुभयो ।

हामीले कुनैबेला कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाबाबुलाई रिटायर गरेको कागज लेखाएका थियौ । उहाँहरुले नै भन्नुभएको थियो– अब हामी आइन्दादेखि चुनाव पनि लड्दैनौँ, रिटायर भयौँ भनेका थिए । तर, त्यो कुरा टिकेन । आखिरमा त्यही गिरिजाप्रसादले त्यत्रो ऐतिहासिक भूमिका खेलेको इतिहास थाहा छ । त्यसकारण कसले कुन भूमिका खेल्छ भन्ने कसैले जान्दैन । कसले कतिबेला कुन भूमिका खेल्न बाँकी हुन्छ ? भन्ने पनि थाहा हुदैन । काम गर्ने र क्षमता भएसम्म बस्ने हो, नभए त्यतिकै बस्ने कुरा छैन । जसरी गिरिजाबाबु र किसुनजीहरुले बसिबसी पार्टी हाँक्नु भयो । त्यो हामीले गरौँला भन्ने हामीलाई आशा छैन । सुतेर गरौँला भन्ने आशा छँदा पनि छैन, गर्न पनि चाहन्न ।

युवा नेताहरुले अब सभापति शेरबहादूर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्राम लिनुपर्यो । हामी नेतृत्व गछौँ भनिरहेका छ नि ?

त्यो त काँग्रेसका कार्यकर्ताले भनिदिनु पर्यो नि ! अब  यी फलाना फलानाको दिन सकियो, अब ल फलानालाई भनेर । त्यो भन्ने अधिकार छ त ! त्यसका लागि हाम्रो पार्टीभित्र लोकतान्त्रिक परिपाटी पनि छ । प्रक्रियाबाट आइदिनु पर्यो । कार्यकर्ताहरु त्यसरी आएदेखि त कसैलाई कसले नेतृत्वमा राख्छ । हामीले राख्दैमा राखिन्छ त ! नेतृत्व भनेको त्यसरी राखिने कुरै होइन नि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप