शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन डे : राजा भर्तृहरी र रानी पिङ्गलाको कथा नदोहोरियोस्

आइतबार, २७ माघ २०७५, १२ : ५०
आइतबार, २७ माघ २०७५

राजा भर्तृहरी आफ्नी रानी पिङ्गलालाई अत्यन्त प्रेम गर्दथे र आँखा चिम्लेर विश्वास पनि । तर, पिङ्गलाभने भित्रभित्रै सैनिक अफिसर दरोगासँग सम्बन्धमा थिइन । यो कुरो विक्रमादित्यलाई थाहा थियो । उनले यसबारे दाजु भर्तृहरीलाई वेलिविस्तार लगाउँदा भाउजू पिङ्गलाले उल्टै आँफुलाई देवरले कुदृष्टी लाउने गरेको कपटपूर्ण आरोप लगाएर विक्रमादित्यलाई देश निकाला गरियो ।

एकदिन राजा भर्तृहरीको इजलासमा भगवानले दिएको दिव्यफल वोकेर एकजना ब्राह्मण आइपुगे । दिव्यफल जसले सेवन गर्छ उ सँधैभरी तन्नेरी भैरहने फलको विशेषता थियो । ब्राह्मणले फल राजालाई दिए । उनी आफ्नोराजा सँधै जवान भएको हेर्न चाहन्थे । राजाले सो फल पिङ्गलालाई दिए । उनी पिङ्गलाको जवानीप्रति आशक्त थिए । पिङ्गला सेनानायक दराेगाप्रति आशक्त थिइन त्यसैले फल सेनानायकलाई दिइन् । सेनानायक शहरकी अर्कै राजनर्तकी वेश्यासँग प्रेम गर्दथे उनले त्यो फल उही वेश्यालाई दिए । फल पाएपछि वेश्या विचलित भई । त्यो फल उसले खाएर आफ्नो थिलथिलो सरीरमा थप कष्ट व्यहोर्ने मन उसलाई भएन । बरु त्यो फल आफुले सबैभन्दा वढि मनपराएको मान्छे राजा भर्तृहरीलाई दिने निधो गरी ।

आँफुले पिङ्गलालाई दिएको फल अन्ततस् राजा भर्तृहरीकै हातमा आउँदा छाँगाबाट खसे झै‌ं भए । उनले आफ्नो गुप्तचरबाट सवैकुरा पत्तो लगाए । जसको पश्चतापस्वरुप पिङ्गलाले आत्महत्या गरिन् । राजा वैरागी वने । राज्य शंकटमा आएपछि विक्रमादित्य फर्केर राज्य चलाउन थाले ।

अहिले चलनमा आएको भ्यालेन्टाइन डे राजा भर्तृहरीको कथा जस्तो नवनोस् । कतै तपाइँले आफ्नी प्रेमिकालाई दिएको उपहार घुम्दै तपाइँकै हातमा आइनपरोस् । कलियुगमा साथ एउटाको, मन अर्कोसँग र आँखा तेस्रोपट्टी हुँदा पनि मान्छे सन्तुष्ट नहुने कुरा शास्त्रमै उल्लेख छ । नभन्दै समय त्यस्तै आएको छ । पार्कमा देखिने, यात्रामा भेटिने, मनोरञ्जनात्मक कार्यक्रमतिर नजर आउँने जोडिहरुमा साँच्चै आफ्नै जोडी पाइयो भने उदेक लाग्ने भैसकेको छ ।

स्मार्टफोन र इन्टरनेटले संसार साँघुरो वनाएको छ । यातायातको सुविधाले मेचीको मान्छे महाकाली डेटिङ्ग भ्याएर साँझ घर फर्किन्छन कसैलाई पत्तो समेत हुँदैन । महिला हुन् या पुरुष, विवाहित हुन या अविवाहित राजा भर्तृहरी र पिङ्गलाको कथा लागु भैरहेको छ ।

अदालतमा दर्ताहुने अधिकांश डिभोर्सको फिरादहरुमा मुख्यकारण परपुरुष या अर्कीनारीसँगको सम्बन्ध नै रहेको पाइन्छ । आफ्नो जीवनसाथीलाई धोका दिएर जीवन मनोरञ्जनात्मक वनाउनेहरुको मन पूनस् आफ्नो जोडीतर्फ फर्काउन मुस्किल पर्ने हुनाले अधिकांसको पारपाचुके हुने तथ्य अदालतमा मौजुद छ ।

प्रेम शब्दलाई राम्रोसँग नवुझेका नवयौवनाहरु आकर्षणलाई प्रेम सम्झन्छन र जीवन वर्वाद पार्छन । प्रेमको अर्थ सिधै सेक्ससँग जोडेर जीवन दुर्घटनातर्फ मोड्छन् । गर्भपतन मुख्यतस् अपराध हुँदाहुँदै पनि सामान्य वनेको छ । आशक्तहरु असल र खराब छुट्याउन सक्दैनन् । अपराध वारम्वार दोहोर्याउनेहरुले त्यसलाई जायज मान्न थाल्छन् । प्रेम ईन्द्रीय सुखको लागि गरिने व्यापारको रुपमा परिभाषित हुँदैछ ।

सौन्दर्यले भरिपूर्ण रानी पिङ्गलाले आत्महत्याको लागि प्रेम गरेकी थिइनन् । रुपवती जोसुकैलाई आफ्नो हवसको शिकार वनाउनसक्ने युवतीसँग कहिले जित्न सकिँदैन भन्ने पाठ विक्रमादित्यले देश निकाला हुन परेको घटनाबाट लिन सकिन्छ । अति आशक्त राजाले राज्य गर्न सक्दैन भन्ने उदाहरण हुन भर्तृहरी । प्रेमको नाममा खेलिने नाजायज खेलको परिणाम सर्वनाश वाहेक केही हुन सक्दैन । जसले प्रेम वुझेर त्यसलाई सदुपयोग गर्दछन वास्तविकरुपमा तिनीहरुको जीवन नै स्वर्ग समान हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत पौडेल
भरत पौडेल
लेखकबाट थप