शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल प्रहरीमा दुई डीआईजी थप्न चलखेल, को–को छन् प्रतिस्पर्धी ?

शनिबार, २६ माघ २०७५, १७ : ०५
शनिबार, २६ माघ २०७५

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीमा दुई डीआईजीको पद थप्ने तयारी गरेको छ । प्रहरीमा हाल एक डीआईजीको पद खाली रहेको छ । 

एकमात्र दरबन्दीमा बढुवा हुन चाहने आकांक्षीहरु धेरै भएसँगै मन्त्रालयका सचिव प्रेम कुमार राईको चाहनामा विशेष पद सिर्जना गरेर डिआईजी पद थप गर्ने तयारी भएको बताइएको छ । 

नेपाल प्रहरीमा अहिले २४ जना डिआईजी कार्यरत छन् । कार्तिक १० गते काभ्रेको मण्डन देउपुर नगरपालिका–६ मा जीप दुर्घटनामा परेर डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि उक्त पद अहिले खाली रहेको छ । 

भण्डारीको स्थानमा डीआईजी बढुवा गर्ने तयारी भइरहेको बेला गृहसचिव राई उक्त अवसरको सदुपयोग गर्दै विशेष पद सिर्जना गर्न लागिपरेका हुन् । 

प्रधानमन्त्री केपी ओली समेतले आफ्ना मान्छेलाई बढुवा गर्नुपर्ने भन्दै विशेष पद सिर्जना गर्नेगरी प्रस्ताव तयार गर्न गृह–सचिव राइलाई निर्देशन दिएको प्रधानमन्त्री निकट एक नेताले रातोपाटीलाई जानकारी दिएका छन् । 

प्रहरीमा अहिले कार्यरत २४ जना डिआईजीहरु सवैले क्रियाशिल भूमिका पाएका छैनन् । डिआईजीको संख्या बढाउँदा साधन, स्रोत र थप आर्थिक व्ययभार समेत बढ्छ । 
 

को–को छन् प्रतिस्पर्धी ? 
नेपाल प्रहरीमा अहिले खाली रहेको एक सिटमा डिआईजी बढुवा हुनका लागि एसएसपीहरु गणेश ऐर, विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, बसन्त पन्त, विश्वराज पोखरेल, उत्तम सुवेदी र धिरज प्रताप सिंहको बीचमा तिब्र प्रतिस्पर्धा रहेको छ । 

आईजीपी सर्वेन्द्र खनाल आफू निकट कल्याण शाखामा कार्यरत एसएसपी गणेश ऐरलाई डिआईजी बनाउन लागि परेका छन् । पछिल्लो ब्याचका विश्वराज पोखरेल र धिरज प्रताप सिंहबीच पनि तीब्र प्रतिस्पर्धा रहेको बताइएको छ । 
सत्तापक्षका केही नेताको दवावमा पोखरेल र सिंहबीचको प्रतिस्पर्धा चुलिएको बताइएको छ ।  

डीआईजीको संख्या थप गर्न लागिएकोबारे रातोपाटीको जिज्ञासामा गृहसचिव राईले अनभिज्ञता जनाए । 

‘थाहा छैन’ उनल भने, ‘आफू–आफैं बढाउने हुन् मलाई त्यसबारे थाह भएन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप