शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : तिम्रो प्रजातन्त्रको पाठ

शनिबार, २६ माघ २०७५, १४ : २४
शनिबार, २६ माघ २०७५

आविष्कार कला                                                  
                                                     
म तिमी भन्छु 
बरु त भनौला 
अहिले चाहिँ तपाईं भन्नै 
सक्दै सक्दैन 
ए संसारको  प्रजातान्त्रिक मुलुक 
तिम्रो प्रजातन्त्र हेर त 
कस्तो छ ?
के ? तिम्रो पक्षको मताधिकार मात्रै
प्रजातन्त्र हो
जनपक्षीय मताधिकार प्रजातन्त्रभित्र पर्दैन ।

तिम्रो ठूलो प्रजातन्त्रको
इतिहास हेर त 
कतै मानवीयता पाउँछौ ?
जसले भियतनामी छातीमाथि 
सङ्गीन रोप्यो 
छातीमा परेड खेल्यो 
भियतनामी  शरीर
विषाक्त बनायो 
अनि टुक्रयायो एउटै भूमिलाई 
तिम्रो प्रजातन्त्र यही हो
आफ्नो नाकमुनिको क्युवामा
आधा शतक लामो नाकाबन्दी 
त्यो पनि ठूलो प्रजातन्त्रको अभ्यास हो
तिम्रो इतिहासभन्दा लामो इतिहास भएको 
कोरियामा बम र बारुदको वर्षा मात्रै होइन 
एउटै शरीर दुई टुक्रा बनायो 
त्यो पनि प्रजातन्त्रको अभ्यास हो 
अहिले भेनेजुएलामा 
तिम्रो कठपुतलीको अभ्यास 
जनताको  मत र आवाजविरुद्धको 
तिम्रो हुङ्कार 
के यो पनि प्रजातन्त्र हो 
जनताको ढुकढुकी 
दुई तिहाईको अभिमत
तिम्रो प्रजातन्त्रले देख्दैन
जनताको लाखौँ लाखको जुलुसमा 
विदेशी एजेन्टका दस हजारौंको 
जुलुस देख्छ तिम्रो प्रजातन्त्र ।

इराकमा, लिबियामा बमबारी  
अफगानी धर्ती रुवाउने
तिम्रो प्रजातन्त्र  कति जाति 
सुडानको ढाडमा हानि 
दुई टुक्रा तिम्रै प्रजातन्त्रले बनायो
इथियोपियाबाट इरिस्ट्रिया
कसको प्रजातन्त्रले बनायो ।

अर्को ठूलो प्रजातन्त्र
तिमीले हेर त 
छिमेकीहरुमाथि तिम्रो व्यवहार 
१९४७ पूर्व ब्रिटिसको भन्दा कति फरक छ
उ घोषित साम्राज्यवाद 
तिमी अघोषित विस्तारवाद
सिक्किममाथि तिम्रो क्रुर हमला 
कास्मिरको छातीमाथि परेड
भुटानमाथि कुदृष्टि
नेपालमाथि बक्रदृष्टि 
छिमेकीमाथि गरिने सबैखाले ज्यादती 
यही हो तिम्रो प्रजातन्त्र ।

ए संसारका ठूलो प्रजातन्त्रहरु हो 
तिम्रो प्रजातन्त्रको परिभाषा 
आफ्नै भूगोलमा मात्रै लागू गर 
अन्यत्र तिम्रो परिभाषाको प्रजातन्त्र 
टिक्न सक्दैन 
किनकि तिम्रो प्रजातन्त्रको पीँध 
सिन्कोको टुप्पो जति छ
एकछिनमा नअडि आफैँ ढल्छ ।

आफूले चाहे जे गर्न पनि हुने अधिकार 
अरुले चाहे विराउन नहुने कर्तव्य यो कहाँको न्याय हो
रिमालले यो प्रश्न वर्षौं अघि सोधेका हुन्
ए प्रजातन्त्रवादी हो ।

भियतनाम एकीकरण
क्युवाको विकास 
कोरियाको सममृद्धि
यी सब तिम्रो प्रजातन्त्रका विपरीत छन्
अब हेर त 
भेनेजुएली जनताको एकता र साहस
मादुरोको जनलहर
मादुरोको विश्वव्यापी सर्मथन 
यो पनि तिम्रो प्रजातन्त्रको विपरीत हुन्छ ।

अब तिम्रो प्रजातन्त्रको पाठ
तिम्रो भूगोलभन्दा बाहिर
प्रयोग गर्न आवश्यक छैन
तिम्रो अमानवीय प्रजातन्त्रको 
हिसाब गरेर
क्षतिपूर्ति ती पीडित भूगोलका 
जनमा, हावामा, माटोमा, पानीमा 
दिलाउन 
हामी त हाम्रो भूगोलभित्र 
संसार अटाउने 
प्रजातन्त्रको अभ्यास गर्दैछौँ 
कामदार वर्गको 
किसानको 
मजदुरको
गरिब अनि दुःखीको
न्याय समानता अनि मुक्तिको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप