केन्द्रीय संस्करण

मेरी आमालाई न्याय दिलाउँछु

person explore access_timeमाघ २६, २०७५ chat_bubble_outline0
लेखक

अमृता बुढाथोकी
 

असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बिर्खे ठूलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको परिवर्तनका लागि नयाँ विचारको आगमन गर्ने हुनुपर्छ’ त्यति नै बेला सानु हस्याङफस्याङ गर्दै कोटेश्वर जाने गाडीमा चड्छे ।

एक पटक मात्र होइन पटक–पटक जिउँदै मरेकी सानुलाई कसले के भन्छ सुन्ने आदत छुटिसकेको छ । उसको अधरको हासो १०औँ वर्ष अगाडि नै कसैले हरेर लगिसकेको छ । अहिले त उसलाई यो समाजले एउटा नामुद उपमा दिएको छ ‘भालु’ । 
दुनियाँसँग सरोकार राख्नुभन्दा उनी आफ्नै पीडा र यथार्थमा जिउँदै छिन् । तीनकुनेको रङ्गीन बाहिरी दुनियाँबाट झट्ट हेर्दा लाग्छ उनी अत्यन्त खुसी छिन् । तर भोगाइको पीडा कति दर्दनाक हुन्छ भन्ने जान्नलाई अरूको हृदयमा पनि पीडाको अनुभूति हुनु पर्दोरहेछ । 

साँझ, उनी कोटेश्वर आसपासका डान्सबारमा डान्स गर्छिन् रे । अन्य समय जसले जता बोलायो त्यतै गएर अरूको यौन खोलना बन्छिन् । त्यसबापत उनी दुई चार पैसा कमाउँछिन् । त्यो पैसाले उनी आफ्नी छोरीको लालनपालन गर्नुका साथै उसको भविष्यका लागि केही रकम सञ्चित गर्दै आएकी छिन् । उनलाई आफ्नी छोरीले आफ्नो बाटो नहिँडोस् भन्ने लागेको छ । 
उनी पनि चाहेर यो बाटोमा कहाँ लागेकी हुन् र ? बाँच्नका लागि अरू कुनै विकल्प नभएपछि उनले बाध्य भएर यो बाटो रोज्न पुगेकी हुन् रे । 

पुरानो शैलीमा बनेको बालकोटस्थित छिँडीको कोठामा बसेर उनी विगत सम्झँदै भन्छिन्, ‘उसको हृदय त्यसरी नमरिदिएको भए उसको हृदयको चिसो लास आफ्नै भाग्यको चिहान बनाएर म यो गुमनाम यात्रामा निस्कने नै थिइनँ । उसका पनि त आमा दिदी, बैनी वा अरू कोही थिए होलान् । जसलाई उसले आफ्नो हृदयमा बेरेर राखेको होला । उनीहरूलाई मेरो हालतमा कसैले पु¥यादियो भने के गर्दो हो ?’
दुनियाँको नजरमा आदर्श र उच्च घरानियाँ कहलिएको आफ्नै दाजुको साथीबाट १७ वर्षमै बलात्कृत सानु र त्यही बलात्कारको उपहार आफैले जन्म दिएकी छोरीबाहेक यो दुनियाँमा उनीहरूका अरू कोही छैनन् ।
मानिसको जीवनमा कहिले काहीँ सपनाहरू चाहना बोकेर आउँछन् र विपनामा पीडा थपेर भाग्छन्, कता जान्छन् ? के गर्छन् कसैलाई पतै हुँदैन भनेझँै त्यो घटनापछि उनको जीवनमा एक तमासको बतास आयो उनका प्रत्येक चाहानालाई उडाएर लग्यो । थाहै नपाई कता पुर्यायो छताछुल्ल बनाएर सबै चकानाचुर बनायो । 

यतिकैमा बाहिर खेल्न गएकी छोरी दगुर्दै आएर सोद्छे आमा मेरो बुबा खोई ? सबैले मलाई वेश्याकी छोरी भन्छन् । आमा वेश्या भनेको के हो ? अबोध छोरीको प्रश्नले उनको मुटु धुजा धुजा हुन्छ । छोरीलाई सम्झाउँदै उनी भन्छिन्, ‘नानी ! यो मेरो नाम हो । तिम्रो बाबु पनि मै हुँ, आमा पनि मै हुँ नानी ! हामी जस्ताको आफन्त कोही हुँदैन । हामी आफै एकअर्काका परिपूरक हौँ नानी । 
बीचैमा छोरी बोल्छे, ‘आमा सबैका आमाबुबा हुन्छन् । मेरो चाहिँ किन तिमी मात्रै ।’ छोरीको अबोध प्रश्नले सानु वाक्क हुन्छे । उसका आँखा अनायसै रसाएर आउँछन् । 

सानु मनमनै भन्छे, ‘त्यो दिन, घरमा अरू कोही भइदिएको भए मेरो दाजुको साथीले मलाई केही गर्न सक्ने थिएन होला । यो घटनालाई समयमा नै आमा वा दिदीलाई भनेको भए समयमा नै गर्भपतन गर्न सकिन्थो होला । आखिर, मेरो के गल्ती थियो र मैले आफ्नो जिन्दगी नै नगरकीय बनाउनु पर्यो ?’

नारीलाई धरती भन्छौँ तिमी लोग्ने मान्छे, ममताकी खानी भन्छौँ । आधा आकाशको दर्जा दिन्छौँ तर किन धरती र आकाश सबैतिर पुरुषहरू मात्रा हुन्छन् ? किन पुरुषको गल्तीको सजाय म जस्ता नारीले बाध्य भएर भोग्नुपर्छ । यी र यस्तै अनुत्तरित प्रश्नले उनको मनमा डेरा जमाउँछ । कहीँ कतैबाट जवाफ पाउन सक्दिनन् ।

उनी सम्झन्छिन् आफ्नो जन्म तेह्रथुमको आठराई जहाँ प्रधानमन्त्री, मन्त्रीलगायत अन्य ठुल्ठुला व्यक्तिको जन्म भएको भनिन्छ । अहिले पनि धेरै शिक्षित व्यक्ति जन्माउने पूर्वकै उर्वर राजनीतिक भूमि मानिन्छ आठराईलाई । तर त्यही आठराईमा मैले सम्भोग के हो भन्ने थाहै नपाई आमा बन्न पुगेँ । मसँग सम्भोगपछि त्यो पुरुषले मलाई कसैलाई भनिस भने तलाई मार्छु भन्यो । कसैलाई केही भन्नै सकिनँ । घरमा आमाले थाहा पाउँदा धेरै ढिलो भइसकेको रहेछ । गर्भपतन गर्नै मिलेन । घरबाट निस्किएपछि भक्तपुर बालकोटको यही अध्यारो छिडी मेरा लागि बासस्थान बन्न पुग्यो । 
बुबाआमा हुन्जेलसम्म त घरबाट दुई चार पैसा आउँथ्यो रे उनलाई । तर अब त बुबाआमा परलोक गइसकेका छन् । दाजु भाउजूले घर निकाला गरिदिए रे । अब उनको यो दुनियाँमा छोरीबाहेक कोही छैनन् ।

बाँच्न र छोरीलाई बचाउनका लागि उनले देह व्यापार गरिरहेकी छिन् । वर्षौं निरन्तर पुरुषको खेलौना बनिरहेकी छिन् । 
यो दुनियाँ पनि कस्तो अचम्मको, सोच्नै नसकिने । कहीँ वर्ष दिन नपुगेका अबोध शिशुलाई आफ्नो हवसको शिकार बनाउँछ लोग्ने मान्छे । कहीँ ४ वर्षका छोरीलाई आफ्नै बाबुले बलात्कार गर्छ । कतै यौन परिपक्वता नै नभएकी बालिकालाई सामूहिक बलात्कार गरेर मारिदिन्छ लोग्ने मान्छे । आजभोलि हरेक दिन हाम्रो देशमा अबोध शिशुदेखि ७५ वर्षसम्मका ४ जना महिला यिनै बलात्कृत हुने गरेका छन् । पटक पटक धेरै पटक सबैतिर यस्तै घटना दोहोरिरहन्छन् । तर, वेश्या चाहिँ त्यो अबोध बालिका हो रे । त्यो वृद्ध हजुरआमा हो रे । किनकि नारीले छोटा लुगा लगाएर बासनाको लागि निम्तो दिन्छन् भन्छन् प्राज्ञिक क्षेत्रकै लोग्ने मान्छे ।

उफ  सम्झँदा पनि कस्तो अचम्म लाग्दो । म पनि त सानै थिएँ नि बलात्कृत हुँदा (सानु मनमनै भन्छे) मलाई त बलात्कारपछि मारिएको त थिएन । अहिले त नौ महिने बालीका पनि बलात्कृत हुन थालेका छन् हाम्रो लोकतान्त्रिक मुलुकमा । न्याय मरेको मुलुकमा म, कञ्चनपुरकी निर्मला, काभ्रे की ९ वर्षीय एलिसा तामाङ जस्ता हजारौँ बालिकालाई बलात्कारपछि मारिँदै छ । उनीहरूले पनि न्याय पाउन सकेका छैनन् । यो न्याय मरेको देशमा यसै गरी यस्ता घटना बढ्दै गएमा एक दिन वीर गोर्खाली देश भनेर होइन वीर अपराधीको देश भनेर विश्व इतिहासमा आफ्नो नाम लेख्न सफिल हुने छ । 

हृदय र मस्तिष्क मरेका लोग्ने मान्छेको हुलले म र निर्मला जस्ताको चित्कार सुन्नै सक्दैन । एक पटक होइन, सयौँ पटक कहीँ सभामा, कतै प्रहरी तथा न्यायालयमा, कहीँ पत्रकारले हजारौँ पटक भाषिक बलात्कार गर्छन् । अन्त्यमा म जस्ता अबोधहरू नै वेश्या सावित हुन्छौँ । ती लोग्ने मान्छेहरू पानीमाथिको ओभानो बनेर उम्किन्छन् र राज्य चलाउँछन् ।

पछिल्लो पाँच महिनाको यो अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणीका घटना भई सकेका छन् । यस्ता घटनाको परिदृश्य हेर्दा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष १० प्रतिशतको दरले बलात्कारका घटना बढेको छ । पाँच महिनाको अवधिमा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना हुनु बडो दुःख विषय हो भन्छ आफै गृह मन्त्रालय तर नियन्त्रण गर्नै सक्दैन ।

यता, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्याङ्क भने अलि फरक छ । सो मन्त्रालयका अनुसार वैशाखदेखि भदौ मसान्तसम्ममा ७१० बलात्कार र ३९१ जबरजस्ती करणी उद्योगका घटना भएका छन् । जिम्मेबार निकायलाई नै स्पष्ट छैन म जस्ता साच्चै पीडित कति छन् देशमा भनेर ।

एक दिन सानु आफ्नो दैनिकी चलाउनका लागि गाडीमा चढेर काममा जाँदै थिइन् । उनको छिमेकी बिर्खे उनी बसेकै सिटमा आएर बस्छ । ऊ सानुसँग विभिन्न कुरा गर्दै जान्छ । सानु काम गर्ने रेस्टुराँ गएर राति अबेर उनीसँगै फर्कन्छ । बाटोमा सानुलाई भन्छ । हेर सानु जीवन बिताउन कुनै न कुनै लोग्ने मान्छेको साहारा चाहिन्छ । त्यसैले एउटा तिमी जस्तै पीडा भोगेको वा श्रीमतीले छाडेको वा बुढी मरेको कोही मान्छे हेरेर बिहे गरे । 

सानु उसलाई भन्छे, किन र दाइ मैले पीडा भोगेको मान्छेसँगै सम्बन्ध जोड्नुपर्ने ? मैले के गल्ती गरेको छु र ? मेरो के दोष छ र ? मेरो यो नियति हुनुमा ?
सानुको यो कुराले बिर्खेको पुरुषत्वमा ठोस पुगेछ कि के हो ? तिमीलाई म जस्ता पढे लेखेका अविवाहितले बिहे गर्दैनन् । किनकि तिमी बच्चै देखिकी वेश्या हौँ । हेर अन्तिममा वृद्धाआश्रम पुर्याउन पनि तिमीलाई कोही न कोही संरक्षकको आवश्यकता पर्छ । त्यसका लागि पनि बिहे गर मेरो अनुरोध मात्र हो भन्दै गाडीबाट बिर्खे आर्लियो । 

बिर्खेको यस्तो कुराले सानुको टुटेको हृदयमा नुनचुक छर्ने काम गरिदियो । उनलाई असह्यै पीडा भयो । उसको बच्चै देखिकी वेश्या हौँ भन्ने शब्दले पुनः एक पटक उनलाई मृत्युको आभाष गराइदियो ।
अब त उनका लागि हरेक समय कहाली लाग्दो औँशीको रातजस्तै बनी सकेको छ । उनका लागि अब बिहानी नै आउन छाडिसकेको छ । उनको जीवनमा लाली किरण छरेर कहिले कुनै बिहानी आउनै सक्दैन अब । सधैँ एउटै गतिमा एउटै रफ्तारमा पृथ्वीले सूर्यलाई परिक्रमा गरे जस्तै गरी उनको जिन्दगीको अँध्यारो गन्तव्यको गाडी सधँै एकैनास गुडिरहन्छ, गुडिरहेकै छ । कहिलेसम्म यसरी जिउँदो लासको उनी आफै मलामी जाने हुन् उनी आफै अनविज्ञ छिन् । 

उनका हरेक दिन एउटै कहानी बोकेर बितिरहेका छन् । अब त उनकी छोरी प्राप्ति पनि सात वर्ष पुगिसकेकी छे । उनलाई आफू काममा गएको समयमा पनि छोरीको चिन्ता लागिरहन्छ । कतै आफूले आफ्नै जन्म घरमा भोगेको त्रासदीपूर्ण घटनाको शिकार त मेरी छोरी हुने होइन ? यही डरले उनले नजिकैको चायल्ड केयर सेन्टरमा आफ्नी छोरी राखेकी छिन् । उनी हरेक बिहान भगवानसँग एउटै कामना गर्छिन् हे भगवान मेरी छोरीको इज्जत बचाइ दे ।

असोज महिनाको अन्त्यतिर छोरीलाई संरक्षण गर्ने केन्द्र पनि बन्द भएको छ । रातोदिनको भागदौडबाट उनले पनि केही समयका लागि विश्राम लिएकी छिन् । उनी आफ्नी छोरीसँग समय बिताउन पाएकोमा खुसी पनि छिन् । यतिकैमा बाहिर खेल्न गएकी छोरी नियाउरो मुख लगाएर उनका छेऊमा आएर बस्छे । 
उनी छोरीलाई सोद्छिन्, ‘नानी के भयो तिमीलाई ?

छोरी केही बोल्दिन । उनले धेरै बेर कर गरेपछि छोरी भन्छे, आमा मावली भनेको के हो ? मेरा साथीहरू यो दसैंमा मावली जान्छन् रे ! म पनि जाने नि है मावली ? 
सानु छोरीलाई सम्झाउँदै भन्छे हुन्छ, नानी हुन्छ ।

छोरी पुनः विद्रोही हुँदै भन्छे, आमा तिमी जहिले नि मसँग झुट बोल्छ्यौ । बुबा सोद्दा पनि भोलि आउनुहुन्छ, भन्छ्यौ तर ऊ कहिल्यै आउँदैन ? मावली भनेको मलाई नि थाहा छ आमा, त्यो तिमी जन्मिएको घर त हो नि । मावली जाने भन्दा पनि हुन्छ भन्छ्यौ । झुटी तिमी कट्टीकट्टी बोल्दिनँ । 

छोरीको यस्तो कुरा सुनेर सानुको हृदय फुट्ला जस्तो हुन्छ । नानी तिमी सानै छेउ अहिले यस्ता कुरा बुझ्दिनौँ । अलि ठूली भएपछि भन्छु नि है सबै भनी अर्कातिर फर्किएर नबोली बस्छे । 
उसलाई छोरीका कुराले मुटुमा तीर रोपे जस्तै च्वास्स घोच्न पुग्यो । अनायसै अनेक तरहका कल्पना गर्दै कालो कुहिरोभित्र हराएको काग जस्तै कल्पनाको गर्तमा हराउन पुग्छे ।

ऊ छोरीका हरेक प्रश्नमा अनुत्तरित छे । उसले त्यो अबोध छोरीलाई कहाँबाट ल्यादियोस् बाबु ? ऊ कुनै सम्मानित सम्बन्धबाट जन्मिएकी सन्तान हो र ? जाउँ छोरी ऊ त्यहीँ हो तिम्रो बाबु भन्नलाई ? ऊ त गिद्दले सिनो लुछेझैँ आफैलाई लुछेन् मानवरूपी गिद्दको अपराध बीज हो । न त सानु छोरीसँग त तेरो बाउको अपराध बीज होस् नै भन्न सक्थी । न त छोरीले आमाको आँखामा लुकेको विशाल बेदनाको सङ्ग्रहालय नै बुझ्न सक्थी । कहाँबाट लैजाओस् उसलाई मावली दाजुभाइले सात वर्ष अगाडि नै उसलाई घरबाट निकालिसकेका छन् । बुबाआमा छैनन् । 
समय बित्दै गयो दसैं आयो । उपत्यका बाहिरका सबै आआफ्नो घर फर्किए । सानु र उसकी छोरीले त्यही अध्यारो छिडीमा रुँदै कराउँदै दसैं मनाए । 

एकपछि अनेक गर्दै अरू सात–आठ दसैं बितेर गए । प्राप्तिका मनमा उब्जने हरेक जिज्ञासा जस्ताका त्यस्तै थिए । अनेक तरहले ऊ आफ्नी आमासँग आफ्नो परिवारको बारेमा बुझ्ने कोशिस गर्थी । तर उसका हरेक कोशिस असफल हुने गर्दथे । 

अब त प्राप्तिले १२ कक्षा पनि पास गरिसकेकी छे । ऊ दिनभर घरमा नै बस्छे सानु सधैँ जस्तै गरी आफ्ना नियमित कार्यहरू गरिरहेकी छिन् । आमाका बारेमा साथी सङ्गतिले कुरा काटेको प्राप्ति सुन्न सक्दिनन् । आमालाई सोद्धा सधैँ एउटै जवाफ आउँछ नानी त सानी छेस् । 

अब आमाको वस्तविकता बुझ्न प्राप्ति लागि परेकी छिन् । एक दिन उनले आमा कहाँ काम गर्न जान्छिन् भनेर पत्ता लगाउने सोचले आमालाई पच्छ्याइन् । उनले आमा विशाल बजारको एउटा होलसेल पसलमा सेल्स ओमनका रूपमा काम गर्दै गरेको भेट्टाइन् । उनले त्यहाँ बुझ्दा विगत दुई वर्षदेखि त्यही पसलमा उनी काम गर्दै आएको पत्ता लगाइन् । 

उनको जिज्ञासा अझै शान्त हुन सकेन घरमा आएर आमाका सबै पुराना सामान खोतल्न पुगिन् । त्यहाँ एउटा पुरानो रङ्ग उडी सकेको डायरी भेट्टाइन् । डायरीको पहिलो पानामा एउटा यस्तो कविता लेखिएको थियो :
२०५६÷६÷१२
यो कहालिलाग्दो दिन
मेरो इच्छा, आकाङ्क्षा र भरोसा सबै मारिसकेका रहेछन्
आफ्नै भन्नेहरूको हृदय पनि मरेर चिसो लास बनि सकेको रहेछ 
उनीहरूको हृदयसँगै विस्तारै विस्तारै मरिरहेको रहेछ
उनीहरूकोे मस्तिष्क ।
मलाई थाहै नदिई
आफ्नै दाजुबाट बेचिएकी रहेछु 
उसैको साथीसँग ।
थाहा पाउँदा फैलिसकेको थियो दुर्गन्ध
त्यति बेलै हो मैले थाहा पाएको
आफ्ना भनिने घृणित पुरुषको व्यवहारबाट निस्केको दुर्गन्ध
निकै लामो–लामो दूरीसम्म पुगिसकेको रहेछ
विशाक्त आफ्नै दुर्गन्ध ।
मलाई सार्वजनिक वेश्याको चिहानमा पुरिसकेपछि
उनीहरूको मस्तिष्कको चिहान 
मनाउँदै रहेछ उमङ्ग ।

दोस्रो पानामा लेखिएको थियो :
२०६३ असोज १५
आज त मैले मेरो जन्म घर छाडेको पनि सात वर्ष पुगिसकेको छ । मेरी छोरी मलाई आफ्नो बाउका बारेमा सोद्छे, मामाको बारेमा सोद्छे । म कसरी बताउँ ? छोरी तँ तेरो आफ्नै मामाले मलाई उसैको साथीसँग बेचर उसको बलात्कारपछि जन्मिएकी मेरी अनिच्छित छोरी होस् भनेर । म उसलाई कसरी बताऊँ तरो अनुहार हेर्दा मलाई तेरो बलात्कारी बाबुले मलाई दिएको शारीरिक, मानसिक र सामाजिक पीडाको याद हुन्छ भनेर । म उसलाई कसरी बताऊँ म के काम गर्छु भनेर । सबैतिर अन्धाकार नै देख्छु नानी तर अशीम पीडाभित्रैबाट पनि आजभोलि तेरो अनुहार देख्दा खुसी लाग्छ नानी जिउने आश बढेर आउँछ ।

अर्को पानामा लेखिएको थियो :
२०७३ ÷१२÷२८
अब त मलाई मेरी छोरीप्रति भरोसा लाग्न थालेको छ । ऊ पढाइमा तेज छे । मैले आजसम्म उसको स्कुलको फी तिर्नुपरेको छैन । उत्कृष्ट भएर सधैँ निःशुल्क नै पढ्दै आएकी छे । ऊ निडर पनि छे । अब मैले पेसा परिवर्तन गर्नु छ, मेरी छोरीका लागि । बाच्नका लागि मात्र ८ दस हजार कमाउँछु । मेरो भरोसा अब मेरी छोरी हुनेछे । धन्न भगवान मैले मेरी छोरीलाई गर्भमा नै मारी दिइनँ । 

म मेरी छोरीलाई सच्चा, आदर्श र कर्तव्यनिष्ठ नारी भएको हेर्न चाहन्छु । मेरा हरेक आँशुको मूल्य चुकाउने सामथ्र्यवान व्यक्ति भएको हेर्न चाहन्छु । यति मात्र होइन हजारौँ पीडित नारीको उद्धार गर्ने एउटा योद्धा भएको हेर्न चाहन्छु । उसको आँखामा अपराध बीज होइन सङ्घर्षले भरिएको महाकालीको रूप हेरी गर्व गर्न चाहन्छु । 

प्राप्तिले डायरीका सबै पन्ना पढिसकी । हरेक पन्नामा उसका बाल्यकालदेखिका अनुत्तरित प्रश्नको जवाफ भेटी । उसलाई आमाप्रति अशीम श्रद्धा जागेर आयो । उसले मनमनै प्रश्न गरी मेरी आमासँग आफ्नो भन्ने जो थियो त्यसैको उपभोग गरेर आफ्ू र आफ्ूलाई नै बलात्कार गर्ने बलात्कारी बीजलाई हुर्काइने, सुखसयलमा बढाइन् र पढाइन् पनि । यस्तो अवस्थामा मेरी आमा वेश्या कि मेरी आमालाई यो पेसामा लाग्न बाध्य पार्ने पितृसतात्मक पुरुषवादी सामाजिक संरचना वेश्या भन्ने प्रतिप्रश्न आफैलाई गर्न पुगिन् । 

क्लारा जेटकिनले जसरी आफ्नो सङ्घर्षबाट विश्वका मतदानमा अधिकार, राजनीतिक अधिकार तथा विश्व इतिहासमा महिलाको श्रमलाई सम्मान गर्न सिकाइन्, त्यसैगरी अरूलाई नभए पनि म मेरी आमालाई यो अवस्थामा पुर्याउने नरपिशाचलाई कारवाहीको दायरामा ल्याएरै छाड्छु भन्दै त्यही डायरीको सिरानी लगाएर निदाइन् ।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ