कविता : छोराको अस्ट्रेलिया सपना
अच्युतशाली घिमिरे
आमा
हजारौँ जिन्दगीका
युद्धहरूमा,
अदृश्य शक्तिसँगको लडाइँहरूमा,
सन्तानलाई बचाउन
आफू ढाल बनेर उभिइरहिन्,
सूर्यले मुख अँध्यारो बनायो
होला तर आमा
अभावले
दिल रोएको वियोगमा समेत
हंसिलो चेहेरामा
‘खुशी’को पाठ पढाइरहिन्
पत्थरहरूमा हात घोटेर
सन्तानमा
छातीको सर्वस्व माया सुम्पिरहिन्,
तोते बोल्न सिकाइन्
ताते गर्न सिकाइन्
दिव्य स्पन्दनहरू सिकाइन्
कर्म ज्ञानहरू सिकाइन्
धर्म र सत्य सिकाइन्
स्वदेश प्रेम सिकाइन्,
सायद विश्वको कृत्रिम मोहनीमा
अनभिज्ञ भइन् र त
आफ्नो अध्यारो हृदय
र साँघुरो झुपडीमा
उज्यालो छर्न चाँडै फर्कने
वाचासहित छोरालाई
अस्ट्रेलिया पठाइन् ।
पति परलोक भएपछि
त्यसपछिको
भोक, शोक सबथोक
पार लाउन
समाजमा अपवाद भएर
उदाइन् आमा
पश्चिमदेखि पूर्वसम्म ।
पालिन् एक्लै लैनो भैँसी
गरिन् एक्लै घाँस दाउरा
जोतिन् बाँझो खेत
र हुर्काइन्
जसोतसो एक्लो छोरो
एक दिन त पक्कै ठूलो हुने आसहरूमा
जब त्यही छोरालाई
पढ्न पठाउन पर्यो अस्ट्रेलिया
खुशी खुशी बेचिन्
पेवा
लैनो भैंसी र बाझो खेत !
आज छोरा
काठमाडौं सहरबाट उड्ने दिन,
छिमेकीका आँगनीमा
अनेक सपनाहरू बुन्दै
सुनाउँदै
आकासमा प्लेन उडेको हेरिबसिछिन्
दिनहरू बित्दै गए
दिन महिना हँुदै वर्ष नि कटे,
हप्तामा आक्ल झुक्ल
फोन गर्नुबाहेक
छोराले खासै
गाँउ सम्झिएन
आमा सम्झिएन,
घाँटीमा बिज्ने
पैसाहरू त पठायो तर
फर्किआउने आसहरूमा
पूर्णिविराम लगायो ।
समुन्द्र तटमा
जोडी जोडी बाँधिएर
सेल्फी खिच्दा
भुल्यो उसले
सानो हुँदा
लुकामारी खेल्ने
बन पहाड
लेक बेँसीहरू,
पब र डान्सबारको
सङ्गतमा भुल्यो उसले
गाउँखाने कथा र रोदीहरू,
बरगर र पिज्जाहरूमा
भुल्यो उसले
फापरको स्वाद र ढिँडोको तागत,
बिस्तारै
पहाडमा उम्रिएका उसका नवीन पङ्खहरू काटिए
र ऊ घिस्रिन थाल्यो
र त भुल्यो
बरको हाँगा अनि चौतारो
भिरालो खेत अनि रातो माटो
केराको बोट
गाईको गोठ,
चलन रीति रिवाज,
ढिकी जाँतो पँधेरो,
साथी सङ्गी गोठाला,
बिस्तारै गाउँ ठाउँ भुल्यो,
हरेक गासमा
कतै छोरा आइपुगिहाल्ने
आसहरूमा
आमाले छुट्याएर राख्ने आधा गासहरू भुल्यो,
पिँढीमा बसी टाढा टाढासम्म नियाल्ने
पर्खाइका मातृआभासहरू भुल्यो,
आमाको अन्तध्र्वनिबाट
छुटेका बलिन्द्रधाराहरू भुल्यो !
जब धैरै धेरै वर्षपछि
आफै बाबु बनिसकेपछि
सम्झियो त मातृत्व
केही क्षणका लागि
ऊ फर्कियो देश
र हतार हतार पुग्यो घर
बल्ल देख्यो गरिबीको असर
चुहिएको छानो
रित्तो मानो
धुजा धुजा पटुका
रित्ता रित्ता बटुका
रित्तो गोठ
भगवान हराएको मोठ
आँसुका खाकाहरू
छोरा फर्की आउने भाकाहरू
अनि एउटा निभेको दियो
सायद त्यही दियोमा आमाको पर्खाइ बाँचेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा