बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१५ परिवार एकै बनेको कम्युनउन्मुख आधारशिलाको १६ औं वार्षिकोत्सव (फोटोफिचर)

शनिबार, २६ माघ २०७५, ११ : ५४
शनिबार, २६ माघ २०७५

काठमाडौं–महोत्तरीको बर्दिबासमा शुक्रबार कम्युनउन्मुख आधारशिलाको १६ औं वार्षिकोत्सव मनाइएको छ ।

 तत्कालीन एकता केन्द्रको १ नम्बर ब्यूरोले सञ्चालन गरेको आधारशिलामा १५ परिवारका ४५ सदस्यको सामूहिक वसोबास रहेको छ । सिरहाको गोलबजारमा २०५९ साल माघ २५ गते स्थापना भएको आधारशिला २०६६ सालदेखि महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ मा सञ्चालित छ ।

वार्षिकोत्सव कार्यक्रममा नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जीवनस्तर सुधार गर्नका लागि ऋण, बचत तथा उपभोक्ता सहकारीको माध्यमबाट अघि बढ्न सकिने बताए । 

उनले विश्वका धेरै देशहरु आर्थिक संकटमा पर्दा पनिमाथि उठ्न सफल भएको बताउँदै इजरायल, जापान र जर्मनी सहकारीताको माध्यमबाट माथि उठ्न सकेको बताए । 

सहकारिता र सामूहिकतालाई अगाडि बढाउन जोड दिँदै नेता नेपालले पुँजीको मात्रा बढाएर आधुनिक सामग्रीको प्रयोग गरी सामुहिक रुपमा उत्पादनमा लाग्दै बजार व्यवस्था गरेर सहकारितालाई जोड दिनुपर्ने बताए । 

१५ परिवार रहेको ४५ सदस्य भएको आधारशिलाको सानो युनिटलाई बढाउदै कृषि क्षेत्रमा सामूहिक रुपमा काम गरी उत्पादन बढाउदै लैजान सकिने बताए  । 

कार्यक्रममा नेकपा नेता तथा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राज्यले हत्या गरेका ४ दर्जन कार्यकर्ता र बेपत्ता पारेका कार्यकर्ताका छोराछोरीलाई शिक्षा र बसोबासको व्यवस्थाका लागि सिरहाको गोलबजारमा आधारशिला निर्माण सुरु गरेको स्मरण गरे । सामाजिक सांस्कृतिक रुपान्तरणका लागि १८ जना बालबालिकाबाट आधारशिला स्थापना गरेको बताउदै २०६२÷६३ को आन्दोलनपछि यसलाई पुनर्गठन गर्नुपर्छ भनेर अघि बढाएको बताए । 

आधारशिलाका संरक्षक समेत रहेका मन्त्री पोखरेलले अहिले ठूलो कम्युनिष्ट पार्टी बनेको र समाजवाद उन्मुख कार्यक्रमलाई जोड दिइरहेको अवस्थामा आधारशिलाजस्तै सामुहिकतालाई अगाडि बढाउने बिषयमा बहस हुन आवश्यक रहेको बताए । 

उनले भने, ‘अहिले हाम्रो अगाडि वैज्ञानिक समाजवादलाई अगाडि बढाउनुपर्ने जिम्मेवारी आएको छ । यो नयाँ परिवेशमा आजको यो कार्यक्रम गर्नुको कारण यसप्रकारको सामुहिमताको बारेमा बहस आवश्यक छ ।’

बर्दिबासमा अवस्थित आधारशिलामा विभिन्न जातजातीका १५ परिवार एउटै परिवारको रुपमा सामुहिक रुपमा काम गर्छन्, सामुहिक भान्छामा खाना खान्छन् । शिक्षा तथा विज्ञान प्रविधीमन्त्री पोखरेल आधारशिलाका मुल संस्थापक हुन् भने नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठ संरक्षक रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप