केन्द्रीय संस्करण
मेराे जीवन

नवराज लम्सालको जीवन : जुन दिन मेरो मुखमा मदिरा पर्यो त्यस दिनदेखि सबै छोडिदिएँ

person explore access_timeमाघ २६, २०७५ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

रेडियोकर्मी हुन् उनी । पेसा उनको भिडसँग रमाउने छ । मासमा बोल्ने छ । तर उनी एक्लै उभिँदा, एकान्तमा रहँदा जस्तो आनन्द अन्य केहीबाट पनि नमिल्ने बताउँछन् । उनी अर्थात्  नवराज लम्साल
नवराजको अर्काे परिचय साहित्यकार पनि हो । उनी व्यक्ति एक हुन् । तर उनमा प्रतिभा भने अनेक छन् । लामो समयदेखि रेडियोकर्मीका रूपमा सुपरिचित उनको साहित्यक्षेत्रमा पनि बेग्लैै उचाइ छ । अहिले रेडियो नेपालको उच्च पद कार्यक्रम महाशाखा प्रमुखका रूपमा कार्यरत उनी कविता, गीतलगायत विधा लेखनमा पनि उत्तिकै सक्रिय छन् । ७ साहित्यिक कृतिसमेत बजारमा ल्याउन सफल लम्सालसँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि कुवेर गिरीले गरेको कुराकानी ।

मेरो फिट्नेस
फिट्नेसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा खानपिन हो । म रेगुलर होटलमा गएर खान्न । अर्काे कुरो, चिल्लो, पिरो र अमिलोलगायत जे पायो त्यही पनि खान्न । बिहान बेलुकाको खाना सधैँ घरमै खान्छु । यसले पनि शरिरलाई राम्रो गर्दाे रहेछ । 

पानी धेरै खान्छु । दिनमा ५, ६ लिटर पिएकै हुन्छु । जिन्दगीमा जति नै तनाव भए पनि दुई गिलास पानी खाएर लामो सास फेरेपछि तनावमुक्त हुन सक्छु ।

धेरै मानिसले मलाई खेद्छन् होला । धेरैले दुःख दिन्छन्, जसले जे गरे पनि तनाव लिन्नँ । मलाई थाहा छ । केही व्यक्तिका कारण मलाई उपलब्धिमा हुने ठाउँमा क्षति भएको छ । समाज र गौरव गर्ने ठाउँमा आफन्तले, चिनजान भएकाले टिपेक्ससमेत लगाएका छन् । उनीहरूप्रति मेरो कुनै ईश्र्या छैन ।

मेरो पोसाक
सबै खालको पहिरन मनपर्छ । सानैमा सहर पसियो । अभावै अभावमा जीवन अगाडि बढ्यो । म ८ कक्षा पढ्न काठमाडौँ आएको थिए । 

‘वनको ढुङ्गो, वनकै चरो’ भनेजस्तो गरेर जीवन त्यसरी नै अगाडि बढ्यो । सायद, त्यसैले पनि होला । औपचारिक कार्यक्रममा जाँदा कर्मले लगाउनै पर्ने बाहेकको फेसनमा शोख राख्दिनँ । अफिस समय सरकारले तोकेको ड्रेस लगाउनै पर्यो ।

मैले धेरै वर्ष स्टेजहरूमा उद्घोषण गरेँ । उद्घोषणमा जाँदा फर्मल ड्रेसमा जानुपर्छ भन्ने कुरामा म सचेत छु । बाँकी समय ल्याङ्गफ्याङ नै चल्छ ।

मेरो सबैभन्दा कम खर्च पहिरनमा हुन्छ होला । वर्षमा दुई जोर श्रीमतीले किनिदिन्छिन् । एक पटक हाम्रो विवाह भएको दिन फागुनको ३० गते । अर्काे साउन ८ गते मेरो जन्मदिन । उनले आफ्नै ढङ्गले जे किनिदिन्छिन् । त्यो नै प्रिय लाग्छ । 

कहिलेकाहीँ फर्मल ड्रेसका लागि कोटहरू आफूले नै किन्ने गरेको छु । मेरो मनपर्ने कलर रातो र हरियो हो । मेरो धेरै कोट र सर्ट पनि रातो छ ।

मेरो खाना
खानामा सबै परिकार मीठो लाग्छ । मीठो नलाग्ने भन्ने केही छैन । तीमध्ये सबैभन्दा मीठो खसीको मासु लाग्छ । डाक्टरले मासु विस्तारै कम गर्नु भनेर अहिले भन्नुभएको छ ।

म अलि अल्छी छु । विद्यार्थी कालमा काठमाडौँ बस्दा आफै पकाउने, खाने गरियो । अहिले भने पकाउँन अल्छी लाग्छ । पकाउनै पर्दा तरकारी मीठो पकाउँछु ।

रेस्टुरेन्ट धेरै जाँदिनँ । आक्कल झुक्कल बच्चाहरूलाई घुमाउन लाने हो । म मास मिडियामा काम गर्छु । धेरै मानिससँग घुलमिल छ ।

तर मेरो त्यस्तो अन्तरङ्ग साथी अहिलेसम्म कोही छैन । जोसँग कहिले काहीसँगै खाना खान मिलोस् । बेलुका अफिस छुटेपछि एक कप कफी रेस्टुरेन्टमा बसेर लिन सकियोस् । त्यसैले रेस्टुरेन्टमा थोरै जाने मध्यमा म अगाडि पर्दछु । 

मेरो अध्ययन
अध्ययन धेरै गर्छु । अध्ययन गर्न मनपर्छ । अहिले हरारे भन्ने विदेशी प्रोफेसरले लेखेको युभल नोहा हरारी ‘ट्वान्टी वान लेसन फर द ट्वान्टी फस्ट सेन्चुरी’ पुस्तक अध्ययन गरिरहेको छु । 

अलि संवेदनशील खालको, अलिकति चिन्तन भएको पुस्तक पढ्न मनपर्छ । अहिले डाटाका लागि पुस्तक पढ्नु बेकार छ । 

किनभने डाटा चाहियो भने त गुगलले दिइहाल्छ नि ? डाटा भरिएको पुस्तकभन्दा संवेदनासँग खेलको पुस्तक पढ्छु । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । रमाइलो लाग्छ । एउटा झोला बोकेर घुम्न निस्किन मनपर्छ । 

रेडियो कार्यक्रम सञ्चालक म । पेसा भिडसँग रमाउने छ । मासमा बोल्ने छ । कविता पनि लेख्छु । मासमा कविता पढ्छु । तर मलाई एक्लै उभिएको जस्तो आनन्द केही लाग्दैन ।

एकान्तमा जब एक्लै हुन्छु त्योभन्दा प्रिय केही लाग्दैन । त्यहाँ मैले ऊर्जा प्राप्त गर्छु । कुनै नदीको किनार होस्, कि ठूलाठूला ढुङ्गा भएको ठाउँ होस् । कि बगैँचा पार्कहरू होस् । एकान्त ठाउँ होस् । डाँडापाखा जङ्गल होस् । ती ठाउँमा एक्लै आँखा चिम्म गरेर बस्दा साँच्चिकै आनन्द लाग्छ । 

कहिलेकाहीँ त्यहीँ बसेर सबै बिर्सिएर आनन्दले बसौँ भन्ने सोच पनि आउँछ । तर त्यसरी मेरो जिन्दगी चल्दैन । मेरो मिसन पनि पूरा हुँदैन । 

मलाई खप्तडको लेक प्रिय लाग्यो । रारा तालको डिल प्रिय लाग्यो । मलाई स्वर्गद्वारी प्रिय लाग्यो । जनकपुरको नौलाखा मन्दिरको आँगनीमा आँखा चिम्म गरेर उभिँदा आनन्द लाग्यो । ताप्लेजुङको पहाड मन पर्यो । 

म मनाङ, मुस्ताङ र हुम्ला अझै पुग्न सकेको छैन । यीबाहेकका सबै जिल्ला घुमेको छु । अमेरिका, फ्रान्स, स्विडेन, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, चाइना, भारत, पाकिस्तान टेकिसकेँ । मनाङ, मुस्ताङ र हुम्ला पुग्न मन लागेको छ । यी ठाउँमा पुगेपछि देश पूरै घुमे भनेर भन्न सक्छु । 

विदेशका दुई देश जाने रहर छ । साथीहरूले पनि बोलाएका छन् । ती हुन् बेलायत र जापान । मैले बीबीसीमा काम गर्दा बेलायका लागि धेरै अवसर पाएको थिए तर गइनँ । अहिले जाने इच्छा छ ।

मेरो फुर्सद
बितेको १० वर्ष मैले जीवनकै चरम दुःख गरेँ । यो समय १० देखि ५ सम्म रेडियो नेपालमा जागिर गर्थें । ५ देखि ११ सम्म बीबीसीमा । सबै काम सकेर घर पुग्दा १२ बज्थ्यो ।

ती दिनमा २४ मा झन्डै २२ घण्टा म काम गर्थें । अहिले रेडियो नेपालबाहेक अन्त कतै काम गरेको छैन । त्यसैले अहिले फुर्सद छ भन्नुपर्छ । 

यो फुर्सदको समयमा धेरै अध्ययनका लागि दिइरहेको छु । लेख्दै पनि छु । लेख्नको नाममा लेख्न मनपर्दैन । केही सार्थक कुरा लेख्न मनपर्छ । अहिले अध्ययनका लागि पहिला पढेका किताबहरू पनि दोहोर्याउन थालेको छु ।

गीता, कुरान र विदेशी प्रोफेसर हरारेको किताब पनि एकसाथ पढिरहेको छु । अन्तर्राष्ट्रिय युनिभर्सिटीमा अध्यायन गराइरहेका हरारेले पुस्तकमा आजको युग भनेको डिजिटल डिक्टेटरसिप हो भन्नुभएको छ ।
यो पुस्तक सँगसँगै कुरान पनि पढिहरेको छु । गीता पनि पढिरहेकी छु । सिधै भन्नुपर्दा तीन कोणबाट संसार हेर्ने कोसिस गरिरहेको छु । 

मेरो खेलकुद
खेलकुदमा धेरै इन्ट्रेस्ट छैन । गाउँमा डन्डिबियो, कबडी, वीर खेलियो । सहर पसेपछि केही समय कलेजमा फुटबल खेलेको थिए । 

त्योभन्दा बढी मलाई खेलकुदमा रुचि छैन । पत्रिका हेरेँ भने कम पढ्ने र टेलिभिजन हेरेँ भने कम हेर्ने र रेडियोमा कम सुन्ने समाचार भनेको खेलकुद हो । यसको सामान्य सूचना राख्छु । तर गहिरो रुचि भने कहिल्यै भएन ।

मेरो मोबाइल
मोबाइलमा शोख छैन । अहिले एमआई सिक्स चलाउँदैछु । यस अगाडि हुवेई चलाएको थिएँ । पहिले मेरो सामान्य खालको मोबाइल थियो । त्यो हरायो । 

एउटा स्कुलमा प्रमुख अतिथि हुन जाँदा हराएको थियो । त्यो समय उक्त स्कुलबाट एउटा मोबाइल पनि दिएका थिए । 

अहिले चलाएको मोबाइल पनि एकजना साथीले सरप्राइज गिफ्ट दिएका हुन् । अहिलेसम्म जति मोबाइल फेरेँ मैले १, २ पटकभन्दा बढी किनेको प्रायः छैन । ३ वटा मोबाइल त हराएको छु । प्रयोग गर्न नमिल्ने भएपछि मात्र मैले मोबाइल फेर्ने हो ।

फोन र म्यासेजबाहेक फेसबुक र ट्विटरका लागि समेत मोबाइल प्रयोग गर्छु । 

मेरो टीभी
टीभी कम हेर्छु । बेलुका ८ बजेको हाराहारी टेलिभिजन हेर्छु । यो समाचारको समय पनि हो । अर्काे कुरा, यो समय टेलिभिजनमा अन्तरवार्ताको समय पनि सुरु हुन्छ । म अन्तरवार्ताका लागि मात्र टेलिभिजन हेर्छु ।

मैले ६ महिना टीभी नहेरेको समय पनि थियो । त्यो समय श्रीमतीले टीभी भान्सामा राखौँ । तपाईं बाहिरबाट आउँदा आउँदै बस्ने यहीँ हो । तपाईंले खाना खाँदै टीभी हेर्दै गर्न पनि पाउनु हुन्छ । म पनि खाना बनाउँदा हेर्न पाउँछु भनिन् । 

अनि टीभी भान्समा राखियो । त्यसपछि म रेगुलर टीभी हेर्ने भएँ । मेरो घरमा डेउ ब्रान्डको टीभी छ । त्यो किनेको लगभग ५ वर्ष भयो ।  

मेरो चलचित्र
प्रायः नेपाली फिल्म हेर्ने गरेको छु । पुराना चलचित्र पनि हेर्छु । चलचित्रको विषयमा धेरै जानकारी राख्छु । अघिल्लो साता तीन चलचित्र आएका थिए, त्यो पनि याद छ ।

यो साता ‘समर लभ’ आएको छ । त्यो पनि थाहा छ । अहिले केही समययता चलचित्र हेर्न पाएको छैन । प्रिमियरमा पनि बोलाउँछन् । बोलाएको बेला गएर हेर्छु । पछिल्लो समय चलचित्रमा धेरै परिवर्तन आएको छ । खुसी लाग्छ । 

मेरो रोग
भगवानको कृपाले ठूलो रोग अहिलेसम्म केही छैन र नहोस् पनि । पित्तथैलीमा हालै इन्फेक्सन देखिएको थियो । साथमा पत्थरी पनि देखियो । त्यसका लागि दुई साता अगाडि एक अपे्रसन गराएँ । ६ हप्ता आराम गरेँ । बाहिर कहिल्यै जे पायो त्यही नखाने भएकाले अहिलेसम्म स्वस्थ छु । 

मेरो भाषाशैली
ठेट नेपाली शैलीमा बोल्न मनपर्छ । अरूले पनि राष्ट्रियभाषामै बोलेको मनपर्छ । टक्कटक्क काटिएको सरल वाक्य प्रयोग भएको भाषा मनपर्छ । जे भन्न लागेको प्रष्ट भनेको रुचाउँछु ।

पछिल्लो केही वर्षयता म कार्यक्रमहरूमा कम जाने गरेको छु । किनभने एक त म दिउँसो अफिस छोड्न पाउँदिनँ । अर्काे कुरो दिनदिनै कार्यक्रममा गएर एउटै कुरो गर्न मन पर्दैन ।  जो भेट्यो ठीक पार्ने प्रवृत्ति नराम्रो लाग्छ । अहिलेको समयमा जे हो, त्यो प्रष्ट भन्नुपर्छ भन्ने मेरो बुझाइ हो । इमानदारीपूर्वक बोल्नुपर्छ, प्रष्ट बोल्नु पर्छ । सत्य बोल्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । 

मेरो मापसे
मापसे कहिलेकाहीँ गर्छु, नियमित हैन । पिकनिक, पार्टी, भोजभतेरतिर गर्ने हो । थोरै खाने, त्यो पनि घरमै खान मनपर्छ । 

घरमै पनि श्रीमतीले भान्सामा खान पकाउँदै गर्दा उनले पकाएको तरकारी हातले झिकेर खान मनपर्छ । 

श्रीमतीले पकाएको तरकारी काँचोकाँचो झिकेर खाँदा उनले कति हतार गरेको पर्खनुस् न पाकेपछि खानुहोला, अहिले नुन लागेको छैन भनेको एकदमै मनपर्छ । 

बाहिर सधैँ नखाने भएकाले यही ब्रान्ड भन्ने छैन । घरमा सजाएर राखेको छैन । कसैले सजाउने गरेर गिफ्ट गरेको पनि छैन । घरमा स्टक राख्न पनि मन पर्दैन । मापसेमा भन्दा पनि खसीको मासुमा मेरो रुचि बढी छ । मेरो घरमा चामल नहोला । तर फ्रिजमा खसीको मासु सधैँ हुन्छ । 
 
मेरो सङ्गीत
गीत सङ्गीत मनपर्छ । मेरा पनि ३ सय बराबरको गीत आएका छन् । संवेदनशील, भावुक खालका गीत सङ्गीतमा मेरो रुचि रहँदै आएको छ । 

मानिसले मलाई निरासावादी भन्लान् तर मलाई स्याड भर्सनको गीतसङ्गीत मनपर्छ । भक्तराज आचार्यको ‘जीवन भन्नु त घात हो, हजार सपनाको माया लागेर आउँछ’, नरायण गोपालको ‘तिम्रो जस्तो मुटु, दुइटा फूल देउरालीमासँगै राखुँ’ जस्ता खालका गीत सङ्गीत बढी सुन्छु ।
 
मेरो भूल
जीवनमा जानी नजानी धेरै भूल गरेँ होला । म सानोमा धेरै सोझो थिए रेँ आमाबुबाले भन्नुभाको ।

अहिलेसम्म जानेर ठूलो भूल गरेको छैन । कहिले कहिले ढाँटे होला, कहीँ कतै केही छलेँ होला । सकेसम्म कसैलाई नराम्रो गर्ने, कसैको चित्त दुख्ने काम अहिलेसम्म गरेको छैन । गर्न पनि नपरोस् ।  

मेरो सौन्दर्य
सौन्दर्यका लागि केही गर्दिनँ । मलाई कपाल छोटो काटेको मनपर्छ । कपालले कान छोएको मन पर्दैन । दारी काटेपछि क्रिम लगाएको पनि मन पर्दैन । 

मेरो प्रेम
बुबाआमाले रोजेको केटीसँग मैले विवाह गरेको हो । त्यसैले विवाहपछि प्रेम बस्यो । सानैमा विवाह गरियो । अहिले छोरीले एमए सकाइसकेकी छन् । 

जीवन फर्केर हेर्दा रोमाञ्चित लाग्छ । ४० सालमा काठमाडौँ छिरेको थिएँ । ३५ वर्ष लामो काठमाडौँ बसाइमा धेरै मानिससँग ठोक्किएँ । मलाई धेरैले मन पराए । मेरो आँखाले धेरैलाई मन पराए । हृदयले मन पराए । तर कसैले मैले मन पराउँछु भनेर भनिनँ । धेरैले म तलाँई मन पराउँछु भनेर  भन्दा पनि उसलाई स्वकार्न सक्ने, सँगै बस्न सक्ने वातावारण बनेन ।  

मेरो सपना केही लेख्नुपर्छ,, पढ्नुपर्छ भन्ने थियो । प्रेम गर्न उमेरमा म रेडियो नेपालमा १० देखि ५ सम्म काम गर्थें, ५ देखि राति ११ बजेसम्म बीबीसीमा काम गर्थें । अन्नपूर्ण पोस्टलगायतका पत्रपत्रिकामा नियमित कलम चलाउँथे । 

अहिलेसम्म माया गर्ने मानिससँग चलचित्र हेर्न गएको छैन । सँगै बसेर कफी खाएको छैन । मलाई सबैले भावुक भन्छन् । कविता लेख्छु ।

आफैलाई लाग्छ, म कठोर मानिस रहेछु । जसले माया गर्छ त्योसँग एककप कफी खाएको छैन । प्रेम गर्नेलाई माया देखाउने फुर्सदसमेत भएन । बरु त्यो माया मैले कवितामा उतारेँ । गीतमा उतारेँ ।

मेरो सपना 
अहिलेसम्म जे प्राप्त गरेको छु त्यसैमा खुसी छु । म गाईभैंसी दुहुँदादुहुँदै, नाम्लो बुन्दाबुन्दै, भारी बोक्दा बोक्दै सहर पसेको मानिस । मेरो शरीरमा अहिले पनि गनाउने भकारो फालेको सुगन्ध छ ।
बीबीसीमा मैले कला भन्ने पत्रकारिता सुरु गरे । कलाकारीता बिटको रिपोर्टिङमा कला भनेर नाम राख्ने अवसर त्यहीँबाट मिल्यो । मलाई अहिले कर्ण र धरा भन्दा उच्च कोटीको एक दुई काव्य लेख्ने इच्छा छ ।

मेरो राशि 
मेरो राशि तुला हो । आफै पनि ज्योतिष हुँ । म  पुरेतको छोरा हुँ । जजमानलाई मैले विवाह, न्वारन, श्राद्धलगायतका धेरै कर्म गराएको छु । भागवत पुराण भनेको छु । 

सिधैभन्दा कर्मकान्ड गर्ने पुरोहितले गर्ने सबै काम गरेको छु । तर जुन दिन मेरो मुखमा मदिरा पर्यो । त्यस दिनदेखि मैले सबै पुरेत्याइँ छोडिदिएँ ।

मेरो विचारमा जन्मेर ब्राह्मण हुने होइन, कर्मले हुने हो । डाक्टर हुन एमबीएस पढेजस्तो, वकिल हुन ल पढेजस्तो पुरेत्याइँ गर्न पनि एउटा निष्ठा पनि चाँहिन्छ । त्यो निष्ठामा म नरहेकाले पुरेत्याइँ छाडेको हुँ । सङ्कल्प नपढेको अहिले पच्चिस वर्ष भयो होला । मैले धेरैको चिना पनि बनाएको छु । ग्रहदशा पनि हेर्न आउँछ । 

मेरो मृत्यु 
यो ध्रुवसत्य कुरो हो, मैले केहीले काहीँ साथीहरूलाई भन्ने गरेको छु । महाकवि लक्ष्मीप्रसाद ५० वर्षमा मरेका थिए । म पनि ५० हुन लागे भनेर साथीहरूलाई भन्ने गर्छु । यो सुन्दा साथीहरूले मलाई गाली गर्छन् ।

मलाई मृत्यदेखि डर छैन । मलाई माधवप्रसाद घिमिरेले १०० वर्ष बाच्नुहुन्छ भनेर भन्ने गर्नु भएको छ । मृत्यु बाध्यता हो । जहिले जुन रूपमा आए पनि स्वीकार्नुपर्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ