मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अचानक बादलको प्रतिवेदन आएपछि नेकपाको कार्यदलमै विवाद बढ्यो

बिहीबार, २४ माघ २०७५, २० : २३
बिहीबार, २४ माघ २०७५

काठमाडौँ । सत्तारुढ नेकपाको एकीकरणका बाँकी काम टुंगो लगाउन बनेको शक्तिशाली कार्यदलको विहिबार बसेको बैठकमा सदस्यहरुबीच झन विवाद चर्किएको छ ।

पुस १३ गते नेकपाको स्थायी कमिटी बैठकले गठन गरेको ९ सदस्यीय कार्यदललाई केन्द्रीय सदस्यको कार्यविभाजनसहित एकीकरणका बाँकी काम टुंग्याउने गरी प्रस्ताव तयार पार्ने म्यान्डेट दिएको थियो ।

कार्यदललाई पुस मसान्तभित्र प्रतिवेदन बुझाउन समय दिएपनि माघको तेस्रो हप्ता बितिसक्दा पनि प्रतिवेदन बुझाउन नसकेको भन्दै गत सोमबार (२१ गते) बसेको सचिवालय बैठकले दुई दिनभित्र (२२ वा २३ गतेभित्र) यथास्थितिमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

सचिवालयले प्रतिवेदन मागेपछि बुधबार कार्यदलका केही सदस्यहरुले संयोजक समेत रहेका रामबहादुर थापा बादललाई भेटेर बैठक बोलाउन दवाव दिएका थिए । त्यसपछि संयोजक बादलले आज (विहीबार) लाई बैठक बोलाएका थिए ।

दिउँसो नेकपाको संसदीय दलको कार्यालयमा बसेको बैठकमा संयोजक बादलले सदस्यहरुलाई ‘सप्राइज’ दिए । ‘सप्राइज’ यो थियो कि बैठकको सुरुमै संयोजक बादलले सचिवालयलाई बुझाउने भन्दै अचानक ३ पृष्ठ लामो प्रतिवेदन बाँडे ।

उनले आफूले प्रतिवेदन तयार गरेर ल्याएको भन्दै छलफल गर्न कार्यदलका अन्य सदस्यहरुलाई बादलले आग्रह गरेका थिए । संयोजक बादलको प्रतिवेदन महासचिव विष्णु पौडेलबाहेक अन्य सदस्यलाई साँच्चैकै सप्राइज थियो । संयोजक बादलले अचानक प्रतिवेदन दिएपछि बैठकको बहुमत सदस्यले त्यसमा आपत्ति जनाएका छन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार उक्त प्रतिवेदन संयोजक बादलले सचिवालयका केही नेताको समझदारीमा बनाएर ल्याएका छन् ।

ती सदस्य भन्छन्, ‘बैठकमा अचानक प्रतिवेदन आयो । त्यो प्रतिवेदन कहाँबाट आयो, कसरी आयो हामी अन्यौलमा परेका छौँ । बैठकको सुरुमै संयोजकले प्रतिवेदन बाड्दैँ त्यसमा छलफल गरेर सचिवालयलाई बुझाउँ भन्नुभयो । हामीले त्यसमा आपत्ति जनायौँ ।’

ती सदस्यका अनुसार, संयोजक बादल र महासचिव पौडेलले कार्यदल असफल पार्ने गरी प्रतिवेदन ल्याएका छन् ।

तर, बहुमत सदस्यले कार्यदल असफल भएको साबित हुने उक्त प्रतिवेदन नबुझाउने अडान लिएपछि आजको बैठक निष्कर्षविहीन नै टुंगिएको छ ।

बैठकमा संयोजक बादलले सचिवालयले जस्तो छ त्यही प्रतिवेदन ल्याउन भनेको भन्दै सोहीअनुसार आफूले प्रतिवेदन तयार गरेको बताएका थिए ।

त्यसपछि कार्यदलको बहुमत सदस्यले तत्काल यही आधाअधुरो प्रतिवेदन बुझाउने कुरा ठीक नभएको भन्दै बाँकी काम टुंग्याएपछि मात्रै प्रतिवेदन बुझाउनुपर्ने अडान राखेको ती सदस्यले बताए ।

‘अब सबै काम सकेपछि प्रतिवेदन बुझाउने हो । अहिले केहि काम भएकै छैन । हामीले सबै काम टुंग्याउन सक्छौँ । संयोजकले माघ ७ गते बेलुका भोलिका लागि बैठकको खबर गर्छु भन्नुभएको थियो । तर अहिलेसम्म बैठक डाक्नुभएन’, बैठकमा सहभागी ती सदस्यले भने, ‘बाहिर कार्यदल असफल भयो भनेर जसरी प्रचार गरिएको छ, त्यो कुरा गलत हो । कार्यदल असफल भएकै छैन । दुई/तीन दिन बैठक बस्ने हो भने सबै काम टुंग्याउन सकिन्छ ।’

ती सदस्यका अनुसार एकीकरणका बाँकी काम सहमतिमै टुंगिने र केही विषयमा सहमति हुन नसके त्यसलाई थाँती राख्दै अन्य विषयमा निर्णय गर्ने प्रस्ताव बैठकमा पाँच सदस्यले गरेका थिए ।

उनले भने, ‘केही असहमति होलान् । पार्टीमा पनि सहमति/असहमति हुन्छ । तरपनि यो प्रतिवेदन सचिवालयमा बुझाएर कार्यदल विघटन गर्ने कुरामा हाम्रो सहमति छैन । हामीले प्रष्टसँग बैठकमा कुरा राखेका छौं ।’

संयोजक बादलले ल्याएको प्रतिवेदन सचिवालयलाई बुझाउने प्रस्तावमा बहुमत सदस्यले असहमति राखेका छन् । असहमति राख्नेमा योगेश भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र बेदुराम भुसाल रहेका छन् । आजको बैठकमा सदस्य शंकर पोखरेल र रघुवीर महासेठ उपस्थित भएका थिएनन् ।

संयोजक बादलले पेश गरेको प्रतिवेदन जस्ताको तस्तै सचिवालयमा बुझाउने र कार्यदल भंग गर्ने पक्षमा बादल र महासचिव विष्णु पौडेल मात्र देखिएको ती सदस्यले बताए ।

तर, आज बहुमत सदस्यले आपत्ति जनाउँदै प्रतिवेदन अध्ययन गर्ने समय मागेपछि शुक्रबार फेरि अर्को बैठक बस्ने भएको छ ।

‘आज संयोजकले प्रतिवेदन दिनुभएको छ । उहाँ र महासचिवले आज नै छलफल गरेर प्रतिवेदन बुझाउँ भन्ने प्रस्ताव पनि राख्नुभएको थियो,’ ती सदस्यले भने, ‘तर हामीले आज हुँदैन, एकदिन प्रतिवेदन अध्ययन गरौँ र यसमा सहमति–असहमति के हुन्छ, त्यसपछि अर्को बैठक बसौँ भन्ने अडान राखेपछि भोलि दुई बजे बैठक बस्ने भएको छ । बाँकी निर्णय भोलि नै हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप