बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब सजिलो छैन मोदीको सत्तारोहण

बुधबार, २३ माघ २०७५, १५ : ५७
बुधबार, २३ माघ २०७५

लोकसभा निर्वाचनको दिनगन्ती सुरु भइरहँदा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले आइतबार रातिदेखि मोदी सरकारविरुद्द सुरु गरेको अनपेक्षित एवम् आकष्मिक धर्नासँगै भारतीय राजनीति तरङ्गित बन्न पुगेको छ । आफ्नो विश्वासपात्र प्रहरी अधिकारीमाथि पश्चिम बङ्गालको चर्चित शारदा चिट फन्ड भ्रष्टाचार काण्डमा केन्द्रीय अन्वेषण ब्युरोले जाँच सुरु गर्न खोजेसँगै ३ फेब्रुअरीको आधी रातदेखि  नारा दिएर बेनर्जीले सुरु गरेको हाइभोल्टेज ड्रामा दुई दिन वितिसक्दा सीबीआई त बहाना हो, मोदीतिरै निशाना हो भन्ने विन्दुमा आइपुगेको छ । 

‘सबका साथ सबका विकास’ नारा लिएर ४ वर्षअघि सत्तासीन भारतीय जनता पार्टीविरुद्द विपक्षी एकताको नयाँ आइकन बन्न ममताको यो धर्नारूपी ब्रह्मास्त्र कत्तिको सफल हुन्छ, त्यो भने भविष्यले बताउला । 
हिन्दु राष्ट्रवादको नारा दिएर डा. श्यामाप्रसाद मुखर्जीले १९५१ मा स्थापना गरेको भारतीय जनसङ्घ नै आजको भाजपा हो । १९५२ को पहिलो आमनिर्वाचनमा जम्मा ३ सिट जित्न सफल भाजपा २०१४ को निर्वाचनमा कुल ५४३ लोकसभा सिटमध्ये २८२ सिट जितेर पूर्ण बहुमतका साथ केन्द्रीय सत्तामा प्रतिष्ठित भयो । मोदी लहरको आँधीमा सत्तामा परम्परागत विरासतहरू छिन्नभिन्न भए । भारतीय राष्ट्रिय काँग्रेस जम्मा ४४ सिटमा सीमित हुनपुग्यो । आज भारतका १६ राज्यमा आफ्नै र ४ राज्यमा भाजपासहित सहयोगी दलको नेतृत्वमा कास्मिर देखि कन्याकुमारी सम्म विस्तारित भएको छ । त्रिपुराको साम्यवाददेखि उत्तरप्रदेशको समाजवादसम्म सबै भग रङमा रङ्गिएको छ । 

सन् २०१४ देखि २०१९ सम्म आइपुग्दा गङ्गामा धेरै पानी बगिसकेको छ । राम्रो दिनको आशामा हर हर मोदी घर घर मोदीको नारा लगाउने सामान्य जनसाधारणको जीवनमा तात्विक बदलाव आयो वा आएन तर भर्खरै सम्पन्न मध्यप्रदेश राजस्थान र छत्तीसगढमा सम्पन्न विधानसभा चुनावमा भाजपाका तेजतर्रार मुख्यमन्त्रीहरूको पराजयले मेरो बुथ सबैभन्दा मजबुत भन्ने मोदी मन्त्र भने पराजित हुन पुगेको छ । 

दिल्लीको सत्ताको मूलढोका उत्तर प्रदेश हो । उत्तर प्रदेश एक्लैले ८० लोकसभा सिट ओगटेको छ । भनिन्छ, जसले यूपी जित्यो उसले दिल्ली जित्यो । २०१४ को लोकसभा चुनावमा भाजपा एक्लैले ७२ सिट जितेर दिल्लीको दैलो सजिलै उघारेको थियो ।

तर यस पटक भने परिस्थिति बदलिएको छ । उत्तर प्रदेशको दुई पुराना तर विपरीत पार्टीहरू मायावती नेतृत्वको बहुजन समाजवादी पार्टी र अखिलेश यादवको समाजवादी पार्टीले चुनावी तालमेल गरेका छन् । २४ वर्ष पुरानो गेस्ट हाउस काण्डबाट पानी बाराबार रहेका यी दुई पार्टीहरू मोदीको महारथ रोक्न एकजुट भएका छन् । गोरखपुर र फुलपुर सिटको लोकसभा उपचुनावमा भाजपा प्रत्यासीलाई पराजित गरेर गठबन्धनको सफलतम प्रयोग गरेका यि दुई पार्टीहरूको बृहत्तर चुनावी तालमेलले यस पटक मोदीको सत्तारोहरणमा ग्रहण नलगाउला भन्न सकिन्न । गुरु चेला (नरेन्द्र मोदी –अमित शाह) विरुद्द बुआ बबुआ अखिलेश–(मायावतीको नौलो राजनीतिक क्रान्तिले मोदीको कमल ओइलाउने र मायावतीको हात्ती लम्किने सङ्केत दिएको छ । 

विहारको ४० लोकसभा सिटमध्ये संसदमा एक्लै २२ सिट जितेको भाजपा यो पटक १७ सिटमा सीमित भएर तालमेल गर्ने विन्दुमा आइपुगेको छ । जम्मा २ लोकसभा सिट जितेको नितिश कुमारको जेडीयू भाजपासँग १७ सिटको बार्गेनिङमा सफल भयो । भारतीय राजनीतिका मौसम वैज्ञानिक रामविलास पासवान चुनावी तालमेलमा ६ सिट लिन सफल मात्रै भएनन्, भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धनको तर्फबाट राज्यसभामा उम्मेदवार हुनसमेत भ्याए । भाजपा गठबन्धनमा साना दलहरूको बढ्दो बार्गेनिङ पावर र रिझाएर लैजानुपर्ने मोदीको बाध्यताले शुभ सङ्केत दिँदैन । 

हालैका दिनहरूमा एनडीए गठबन्धनको हिस्सेदार शिवसेनासँग पनि भाजपाको सुमधुर सम्बन्ध छैन । राम मन्दिर बनेन भने सरकार पनि नबन्ने धम्की मात्रै होइन ५६ इन्चको छातीभित्र एउटा दिल पनि हुनुपर्छ भन्ने  शिवसेना सुप्रिमो उद्धव ठाकरेको २५ नोभेम्बरको नसिहतले भाजपा शिवशेनाको हनिमुनमा दरार परेको प्रष्ट पार्छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्रीसमेत रहेका चन्द्रबाबु नायडुको तेलगु देशम् पार्टी एवम् विहारमा सक्रिय उपेन्द्र कुशवाहा नेतृत्वको राष्ट्रिय लोक समता पार्टीले भाजपा नेतृत्वको एनडीए गठबन्धन त्यागेर विपक्षी गठबन्धनमा सहभागी हुनुले समेत मोदीलाई सत्ताको राह त्यति सहज देखिँदैन । 

हिन्दी, हिन्दु र हिन्दुत्वको सिद्धान्तभित्र रहेर संसदीय राजनीति गर्ने भारतीय जनता पार्टीप्रति पछिल्लो समय सन्त समाजको असन्तुष्टि बढेको छ । हालै सम्पन्न मध्यप्रदेश विधानसभा चुनावमा समेत सन्त समाजको असन्तुष्टि बिजेपीको पराजयको एउटा कारण बन्यो । स्वयम् भाजपा नेतृत्वको राज्यमन्त्रीबाट राजीनामा दिएर नामदेवदास त्यागी उर्फ कम्प्युटर बाबाले नर्मदा घोटाला यात्रा नर्मदा नदीको अवैध उत्खनन् तथा गौहत्या जस्ता विषयमा सुरु गरेको सन्त समागम कार्यक्रमहरूले इमानदार मुख्यमन्त्रीको छवी बनाएका शिवराजसिंह चौहान (मामा) लाई सत्ताबाट बेदखल गर्नमा महत्त्वपूर्ण कारण सावित भयो । हाल प्रयागराज उत्तर प्रदेशमा चलिरहेको कुम्भ मेलामा समेत सन्त समाजको गुटगत धर्म संसदहरू हुनुले समेत मोदी सरकारप्रति सन्त समाजको पूर्ववत् एकता विद्यमान नरहेको सङ्केत गर्छ । शारदा एवम् ज्योतिष पिठका शंकराचार्य स्वरूपानन्द सरस्वतीले देवालयभन्दा पहिले शौचालय भन्दै मोदीको कटाक्ष गरे भने २१ फेब्रुअरीमा राम मन्दिरको शिलापुजन गरी राम मन्दिरको निर्माण सुरु गर्ने घोषणासमेत गरे । मोदी समर्थक विश्व हिन्दु परिषद् भने राम मन्दिरका लागि यज्ञ गर्नुपर्ने भन्दै भाजपा सरकारको बचाउमा उत्रियो । २०१९ को चुनावका सन्दर्भमा भाजपा सरकारप्रति सन्त समाजको समस्वर नरहेको प्रष्ट छ । 

मुस्लिम एवम् अल्पसङ्ख्यकहरूको मामिलामा मोदिप्रति अनुदारको आरोप कुनै नयाँ होइन । प्रति १५ मिनेटमा १ दलित उत्पीडनको तथ्याङ्कहरू सार्वजनिक भइरहँदा विपक्षीहरूले त्यसको राम्रै फाइदा उठाइरहेको देखिन्छ । आफ्नो एक मात्र ग्रन्थ संविधान एक मात्र भक्ति भारत भक्ति तथा एक मात्र दुस्मन गरिबीको सार्वजनिक अभिव्यक्ति दिने मोदीलाई असहिष्णुता र तुष्टीकरणको बात लागेको छ । समाजमा वैमनश्यता फैलाएको आरोपमा केही साहित्यकारहरूले चलाएको अवार्ड फिर्ताको अघोषित आन्दोलन मोदीको सर्वजन सुखायको नाराप्रति नमिठो व्यङ्ग्य थियो । 

विगत ४ वर्षमा मोदी सरकारले चलाएको कतिपय योजनाहरू भने अनुकरणीय नै मान्नुपर्छ । स्वच्छता अभियानअन्तर्गत सञ्चालित शौचालय निर्माण तथा फोहोर व्यवस्थापन होस् या जन, धन योजनाका माध्यमबाट देशका हरेक नागरिकलाई बैङ्किङ सुविधा उपलब्ध गराउन चलाइएको अभियान । ग्रामीण महिलाहरूलाई निःशुल्क ग्यास कनेक्सन उपलब्ध गराउने उज्ज्वला योजना होस् या निर्माण क्षेत्रमा विदेशी निवेश परिचालन गर्न चलाइएको मेक इन इन्डिया अभियान नै किन नहोस् । जनसाधारण प्रत्यक्ष लाभान्वित हुने तथा सरकारलाई समाजको अन्तिम व्यक्तिसम्म पुर्याउने ती त्यस्ता योजनाले मोदीलाई विपक्षीहरूको सहस्र प्रहारका बाबजुत पनि समाजको एक विशाल पङ्क्तिमाझ लोकप्रिय बनाएको छ । 

हिन्दुवादी भाजपालाई टक्कर दिन राहुल गान्धीको सफ्ट हिन्दुत्व कार्ड मोदी सत्तारोहणको अर्काे टाउको दुखाइ हो । २०१४ मा व्यहोरेको ऐतिहासिक पराजयबाट पाठ सिक्दै बहुसङ्ख्यक हिन्दु मतदातालाई लोभ्याउन राहुल गुजरात पुग्दा शिवभक्त चित्रकुटमा रामभक्त र कैलाश मानसरोवर यात्रा जस्ता धर्मास्त्रको सहारा लिइरहेका छन् । मुस्लिम भावना जित्न तिन तलाक कानुनको विरोध गर्ने भारतीय काँग्र्रेस हिन्दु भोट प्राप्त गर्ने रेसमा समेत पछि पर्न चाहँदैन ।

 विकासको मुद्दा लिएर २०१४ को चुनावमा बम्पर जित हासिल गरेको भाजपा पनि हिन्दुत्वको कार्डमा कमी देखिँदैन  । भाजपाका नयाँ पोस्टर ब्वाई योगी आदित्यनाथले मियाँ बजारको नाम परिवर्तन गरेर माया बजार,  इस्लाम नगरको नाम परिवर्तन गरेर आर्य नगर, इलाहावादको नाम परिवर्तन गरेर प्रयागराज बनाएका मात्रै छैनन् साधु सन्तलाई पेन्सन दिने घोषणासमेत गरिसकेका छन् । 

अब २०१९ को  लोकसभा चुनाव धर्म, जाति, क्षेत्रीयता या विकासका नाममा लडिन्छ, हेर्न बाँकी छ । नामदार राहुल बुआ मायावती वा कामदार मोदीमध्ये कसको राजतिलक हुन्छ, त्यो भविष्यले बताउला तर मोदीको सत्तारोहण विगतको अपेक्षा त्यति सहज भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनकुमार नेपाल
मोहनकुमार नेपाल
लेखकबाट थप