केन्द्रीय संस्करण
बहसमा परराष्ट्र नीति

नेपालको परराष्ट्र नीति र जियोपोलिटिक्सको जोखिम

person explore access_timeमाघ २३, २०७५ chat_bubble_outline0

अस्तित्वको संकटबाट निर्देशित परराष्ट्र नीति होइन, शान्ति र समृद्धिलाई केन्द्रमा राखेर परराष्ट्र  नीति निर्माण गरी अघि बढ्नुपर्ने हाम्रो आवश्यकता छ । हामी सबैलाई यो कुराको बोध भइरहेको पनि छ  । हामी ठूलो राजनीति परिवर्तन पश्चात आफ्नै मोडेलको लोकतन्त्रको स्थापना गरी समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेका छाँै । त्यो समृद्धिलाई हामीले संविधानबाट नै समाजवाद उन्मुख समृद्धि वा सामाजिक न्यायसहितको समृद्धि भनेर परिभाषित गरेका छौँ ।

सम्बृद्धि शान्तिसँग सम्बन्धित

शान्ति प्रक्रियाको एउटा मौलिक प्रयोगको बाटोबाट हामी अगाडि बढ्दै यो ठाउँमा आइपुगेको हुनाले स्वभाविक रुपमा हाम्रो समृद्धि शान्तिसँग सम्बन्धित छ । शान्ति र समृद्धि राष्ट्रको मुख्य कार्यभार हो । त्यसैले परराष्ट्र नीति त्यसको सेवा गर्ने उद्देश्यबाटै निर्देशित हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।

यसका लागि हामीले सुरुमै दुईवटा कुरामा सचेत हुन जरुरी छ । हामी अस्तित्वको संकटबाट मुक्त भयौँ, अहिले परराष्ट्र नीति केन्द्रमा छैन भनियो भने हाम्रो राष्ट्रिय सार्वभौमिकताको रक्षाको प्रश्न कमजोर हुनसक्छ । त्यो हुन नपाओस् । राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएका केही विषयहरु अहिले पनि छन् ।

हाम्रो देश सावैभौमसत्ता सम्पन्न देश हो । यो कुरा सत्य हो । समृद्धिको जुन विश्व परिवेश छ त्यो भूगोल नै खाइदिने स्थिति, अस्तित्व नै लोप हुने स्थिति छैन । हाम्रो राष्ट्रिय सार्वभौमिताको सङ्कुचन एउटा कोणबाट मात्र हुँदैन । त्यो कुरामा हामीले नजरअन्दाज गर्न मिल्दैन । अहिले पनि भौगोलिक अखण्डतामा अतिक्रमण भइरहेका घटनाहरु कायमै छन्, जसलाई समाधान गर्न हामीले सकेका छैनौँ । यो पक्षलाई नजरअन्दाज गर्न सकिन्दैन ।

हामी अहिले समृद्धिको कुरा गरिरहेका छौं । तर,कस्तो समृद्धि ? कसरी हासिल गर्ने समृद्धि ? भन्नेमा राज्यको नीति निर्देशित हुन्छ । त्यस अन्तर्गत परराष्ट्र नीति पनि निर्देशित हुन्छ । कुटनीति पनि त्यसबाटै प्रभावित हुन्छ । त्यसकारण हामीले शान्ति र समृद्धिको कुरा गर्दा समृद्धिको मोडेलको बारेमा र समृद्धि प्राप्त गर्ने तरिकाका बारेमा छलफल गर्नुपर्छ । किनकि निर्देशित नीतिहरुले हाम्रो परराष्ट्र नीतिलाई पनि प्रभावित पार्छ ।

यो पनि

भारत, चीन वा अमेरिका : गठबन्धनमा लाग्दा कसैले पनि हामीलाई बचाउन सक्दैन

किन कमजोर भयौं हामी ?

किन हामी परराष्ट्र सम्बन्धका मामलामा कमजोर भयौँ ? अरु देशसँग हेपिने भयौं ? हामी सम्पन्न नभएर हो, गरिब राष्ट्र भएर हो, अर्थतन्त्र कमजोर भएर हो भन्ने यो यथार्थ हो । हामी जति सशक्त भयौँ, बलशाली भयौँ, सबल हुन सक्यौँ, त्यति नै हाम्रो सार्वभौमिकता मूल्याङ्कन गर्ने अधिकार बढ्छ । व्यवहारमा त्यसको अभ्यास बढेर जान्छ । तर, त्यसको अर्थ यो होइन कि हाम्रो सावैभौमिकता बलियो नभइ नेपाल विकसित हुन सक्छ र अर्थतन्त्र सुदृढ हुनसक्छ ।

अर्थतन्त्रको मात्र कुरा गर्ने र समृद्धिको मात्र कुरा गर्ने मनस्थितिको विकास गर्ने कि अरुको पनि विकास गरिदिन्छु भन्ने ? राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानलाई मजबुत पार्नुपर्छ । यसलाई केन्द्रबिन्दुमा राखेर निर्णय गर्दै विश्वसँग सम्वन्ध कायम गरी उनीहरुलाई आफ्नो पक्षमा परिचालन गर्न सकियो भने बल्ल विकास र समृद्धि हुनसक्छ । तर, हामीले विकास र समृद्धिको निम्ति अरु सबै सुम्पिदिए पनि हुन्छ भन्ने दिशामा जाने खतराबाट मुक्त हुनु जरुरी छ ।

हामी गरिब छौँ । अहिले पनि हामी अतिकम विकसित राष्ट्रको समुहमै छौँ । परराष्ट नीतिमा हाम्रो एकरुपता छैन । राष्ट्रिय सहमति छैन ।

हामी शान्ति र समृद्धिको चरणमा छौँ । हाम्रो परराष्ट नीतिले त्यसको सेवा गर्नुपर्छ भन्ने धेरै कुराले पनि पुष्टि गरेको छ । परराष्ट्र नीति र कुटनीति स्वयम् पनि हाम्रो राष्ट्रिय अवस्था र नीतिको विस्तारित रुप नै हो । यसबारे एकदुइ वटा कुरा ध्यानाकर्षण गराउन जरुरी छ ।

हाम्रा अन्तराष्ट्रिय नीतिहरु दोहोराइरहनु पर्दैन । सार्वभौम अखण्डता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा हामीले गर्ने हो । त्यसअन्र्तगत यसलाई पनि परिभाषित गर्नुपर्छ । राष्ट्रिय हितको सन्दर्भमा हामीले ‘के हो त हाम्रो राष्ट्रिय हित?’ भनेर बुझ्नुपर्छ । शान्ति र सुरक्षा यससँग जोडिएको महत्त्वपूर्ण पक्ष हो हाम्रो अन्तराष्ट्रिय नीतिको । हाम्रो पहिचान र भूमिकालाई स्थापित गर्ने कुरा पनि यसैभित्र पर्छ । यसो गर्दा विश्वको शान्ति, न्याय र प्रगतिमा हामीले के भूमिका खेल्न सक्छौँ भन्ने कुरालाई पनि नजरअन्दाज गर्नुपर्छ ।

हामीले हाम्रो अन्तराष्ट्रिय उद्देश्य र नीतिलाई पनि ध्यान दिनुपर्छ । सकारात्मक चिजहरु हाम्रा अगाडि प्रस्टै छन् । विश्वका धेरै ठाउँमा साम्राज्यवादको विगविगी हँुदा प्रत्यक्ष उपनिवेशको बिगबिगी हुँदा पनि हाम्रो देश भौगोलिक रुपले एउटा सानो राज्यको रुपमा रहिरह्यो, टिक्न सक्यो । भारत, पाकिस्तान, बंगलादेश स्वयम् चीन लगायतका देशहरु हेर्दा प्रत्यक्ष उपनिवेश नभएको कमै छ । यस्तो स्थितिमा हामी सार्वभौम मुलुकका रुपमा उभिन सक्यौँ । यो हाम्रो सबैभन्दा सकारात्मक पक्ष हो ।

पछिल्लो पटक नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले अघि बढ्यो । यो विश्वव्यापी चर्चाको विषय पनि भयो । शान्ति प्रक्रियाको एउटा अन्तिम पाटो न्यायसँग सम्बन्धित  छन् ।  त्यसलाई कसरी पूरा गर्ने भन्ने कुराबारे हामी छलफल गरिरहेका छौँ । त्यो विषय एउटा महत्त्वपूर्ण र सम्वेदनशील कार्यभारका रुपमा छ । तैपनि नेपालमा मौलिक ढंगले लोकतन्त्रको स्थापना गर्ने काम भयो । यो बाटो र यसको चरित्र दुबै हिसाबले अहिलेको विश्वपरिवेशमा एकदम सबल पक्ष हो । लोकतन्त्रका पनि आफ्नै छुट्टै खास विशेषताहरु छन् । यो व्यवस्था नेपालमा नेपालकै खास मौलिक बाटोबाट अगाडि बढेको छ । शान्ति प्रक्रिया पनि यसको मूल आधारको रुपमा रहेको छ । त्यसको पनि मौलिक चरित्र रहेको छ । परराष्ट्र नीतिको कुरा गर्दा पनि आफ्नै हितलाई पस्किने यो एउटा सबल पक्ष मानिन्छ ।

राष्ट्रिय पहिचानको अर्काे पक्ष छ । हामीले आफूले मिहेनत नगरी हाम्रो देश स्थापित भयो । सगरमाथा पनि हामीले मिहेनत गरेका होइनौँ । हाम्रो पुस्ताले गर्योे तर हामीले गरेका होइनौँ । बुद्ध लुम्बिनीमा जन्मिदिनुभयो । पशुपतिनाथ,जनकपुर हाम्रा पहिचान हुन् । हाम्रा राष्ट्रिय केही पहिचानहरु छन्, जो हामीले मिहेनत नगरी स्थापना भएका छन् । त्यसको सकारात्मक पक्ष छ । त्यसबाट हामीले लाभ लिन सक्ने स्थिति छ । हाम्रो जो भूराजनीतिक अवस्थिति छ, यसलाई पनि हामीले सकारात्मक पक्षका रुपमा लिनुपर्ने हुन्छ ।

हाम्रो जियोपोलिटिकल लोकेसनले गर्दापनि हामी सामाजिक रुपमा अगाडि छौं । त्यस्तै गरेर हाम्रा अरु पोटेन्सियालिटी छन् । ती पनि हाम्रा सकारात्मक पक्ष हुन् । जस्तो विश्वमा गन्न सकिने केही सुन्दर देशहरु मध्येमा नेपाल पर्छ । हावापानी, जलस्रोत, पर्यटन, कृषि, जडिबुटी, जनशक्तिको कुरा गर्दा एकैसाथ यति ‘पोटेन्सियल’ आधार भएको देश संसारमा कमै पाइछ । भएका राष्ट्रिय सम्पत्ति र सम्पदाको रक्षा गर्दै अब विकसित, समृद्ध र शान्तिपूर्ण नेपालको विकास गर्न हामीलाई सहयोग पुर्याउँछ ।

जियोपोलिटिक्सको जोखिम 

हामी गरिब छौँ । अहिले पनि हामी अतिकम विकसित राष्ट्रको समुहमै छौँ । परराष्ट नीतिमा हाम्रो एकरुपता छैन । राष्ट्रिय सहमति छैन । कुटनीतिको विकासमा हामीले आवश्यक क्षमता विकास गर्न सकेका छैनौँ । हाम्रा समस्या छन् । यस्तो बेला हाम्रो परराष्ट नीतिलाई प्रभावित पार्ने समस्याहरु केके हुन् त ? पहिचान गर्न सक्नुपर्छ ।

समस्या हाम्रो अध्ययन, अनुसन्धान विश्लेषण र संश्लेषणमा छ । हाम्रो आजको सुरक्षा नीति के हो ? आज अन्तराष्ट्रिय नीति र कुटनीतिले नै फ्रन्टलाइनका रुपमा काम गर्छ, सेक्युरिटी विकासको निम्ति ।

सकारात्मक पक्षका अतिरिक्त कमजोर पक्षपनि अवश्य हुन्छन् । अर्काे जोखिमका रुपमा जियोपोलिटिक्स पनि छ । यसलार्ई मुलभूत रुपमा सकारात्मक पक्षका रुपमा लिनुपर्छ । तर हामीले ठिक ढङ्गले परराष्ट्र नीति र कुटनीति सञ्चालन गरेनौँ भने यो जियोपोलिटिक्स हाम्रा लागि ठूलो जोखिम बन्न सक्छ । राष्टको भौगोलिक अखण्डता तत्कालै केही त नहोला तर आफ्नो सार्वभौकिमताको अभ्यास गर्ने नेपाली जनताले नेपालको बारेमा निर्णय गर्ने कुरामा एकदम कमजोर भएर जाने र यो देश असफल हुने, अर्काे क्रिडास्थल बन्ने कुरामा सचेत बन्न जरुरी छ । यसमा हामी आफैंले सिर्जना गरेका समस्याहरु के हुन त ? त्यसको लागि, शान्ति र समृद्धिको लागि अन्तराष्ट्रिय नीति कसरी अगाडि बढाउने भन्ने कुरामा हामी ठिक निष्कर्षमा पुग्न सक्नुपर्छ  । राष्ट्रिय हित र स्वार्थलाई केन्द्रबिन्दुमा राखेर हाम्रा नीत र आचरणलाई अगाडि बढाउनुको साटो कतिपय अबस्थामा पार्टी ,सरकार र नेताको स्वार्थमा निर्देशित हुने गरेको पनि पाइन्छ । यो एउटा ठूलो समस्या हो । राष्ट्रहित र चाहाना केन्द्रबिन्दुमा राख्ने कुरा गर्योे भने अलिकति तलमाथि भएपनि सच्चिएर जान सकिन्छ । मेरो सरकार कसैले बनाइदिन्छ कि ? पार्टीको नेतृत्वमा आफुलाई कसैले स्थापित गरिदिन्छ कि भन्ने मानसिकता हटाउनुपर्छ । त्यसबाट मुक्त हुनु पर्छ ।

लघुताभास ग्रन्थीको विकास

हामी एकदम लघुताभास र हीनता ग्रन्थिको सिकार भएका छौँ । त्यसले गर्दा अरुले हस्तक्षेप गर्योे भने अस्वीकार गर्ने दृढता प्रकट गर्दैनौँ । त्यति मात्र होइन, कतिपय बेलामा आफैले आमन्त्रण गर्छाैँ आफ्नो स्वार्थका लागि । हामी चीन र भारत विशाल छिमेकीको बीचमा छौं । उनीहरुको अर्थतन्त्र पनि हाम्रोभन्दा विशाल छ । राष्ट्रिय स्वार्थका निम्ति ती देशहरुको पनि न्यायोचित स्वार्थविरुद्ध नजाने गरी हामीले आफ्नो कुराहरु राख्दा ढिलोचाँडो हाम्रो आफ्नै पक्षमा निर्णय गर्न सक्छाँै । तर, हामीमा गर्न सक्छौँ भन्ने कुरामा विश्वास नै छैन । यो हीनता ग्रन्थिको सिकार भएको प्रमाण हो ।

हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई ठीक ढङ्गले परिभाषित गर्नुपर्छ । हामी अरुले गरेको हस्तक्षेप वा अन्य प्रकारका उत्पीडनको विरोध गर्छाँै, अरु देशमा न्यायपूर्ण सरकार छ भने त्यसलाई सम्बोधन गर्न लचकता प्रस्तुत गर्छाैँ । यो हुनुपर्छ । त्यसो गर्दा सफलता हासिल गर्न सकिन्छ । कतिपय मानिसको दिमागमा लोकतन्त्र आइसकेपछि पनि, जनताले भोट हालेको दुई तिहाई सरकार भएपनि सरकार यताउता गर्दा वा नेतृत्वको कुरा गर्दा तागत अन्तै छ भन्नेजस्तो मनोग्रन्थिले काम गरिरहेको पाइन्छ । त्यस्तो हुनुहुँदैन ।

समस्या हाम्रो अध्ययन, अनुसन्धान विश्लेषण र संश्लेषणमा छ । हाम्रो आजको सुरक्षा नीति के हो ? आज अन्तराष्ट्रिय नीति र कुटनीतिले नै फ्रन्टलाइनका रुपमा काम गर्छ, सेक्युरिटी विकासको निम्ति ।

अरु भन्दा सुरक्षाका बारेमा बढी ध्यान केन्द्रित गर्न जरुरी छ । विश्वव्यापी परिवेश छ । यो परिदृश्यमा हामीलाई विश्वव्यापीकरण र भुमण्डलीकरणबाट लाभ  कति हुनसक्छ ? यो पहिचान गर्न जरुरी छ ।

अहिले इण्डोप्यासिफिककै कुरा पनि आइरहेको छ । अरु पनि सन्दर्भ छन् । अहिलेको विश्व परिस्थिति, हाम्रो राष्ट्रिय कार्यभार, छिमेकीबीचको सम्बन्ध – यी विषयमा अध्ययन गरेर नीति र कुटनीतिको स्तर, क्षमता अभिबृद्धितर्फ लाग्नुपर्छ ।

यसरी क्षमता अभिवृद्धिको दिशातिर गएमात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । यो पक्ष महत्त्वपूर्ण छ । तर, यसमा हाम्रो ध्यान कमजोर छ । अन्तर्राष्ट्रिय नीतिमा सहमती कायम गर्यो, त्यसमा पनि समस्या आउछ ।  केही आधार तयार गर्ने बेलामा अध्ययन, अनुसन्धान, मूल्याङ्कन गरौ भन्नेमा ध्यान छैन । सतही कुरा मात्र छ ।

चीन र भारतको सम्बन्धमा कतिले समनिकटता भन्छन् तर म नेपालको राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकी मुलुकसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्छ भन्छु ।

हाम्रो संविधानले स्वतन्त्र परराष्ट नीतिको व्यवस्था गरेको छ । राष्ट्रिय सावैभौमिकता, स्वतन्त्रता, अखण्डता, स्वाधिनता र सार्वभौमिकताको हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, सबै सन्धि सम्झौताको पुनरावलोकन गर्ने तथा समानता र राष्ट्रिय हितमा आधारित भएर अघि बढ्न संविधानले व्याख्या गरिदिएको छ । हामी मूलभुत रुपमा त ठीक दिशातिर छौँ तर त्यसलाई पोलिसी निर्धारण गर्ने कुरामा र कुटनीतिक ढंगले अगाडि बढ्ने कुरामा अरु तथ्य÷पक्षहरुको आधारमा निर्धारित गर्नुपर्छ । त्यसको हामीले अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण गर्नुपर्छ । यहाँ समस्या छ ।

जतिबेला हामी राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सही परराष्ट्र नीति अपनाउँछौ र त्यो नीतिको कुशलतापूर्वक सम्पादन गर्दै सही कुटनीति सञ्चालन गर्ने ठाउँमा पुग्छौँ, त्यसवेलामात्रै नेपालको अहिलेको राष्ट्रिय कार्यभार पूरा गर्न मद्दत पग्छ ।

हामीले के गर्नुपर्छ ?

सबभन्दा पहिला हाम्रो राष्ट्रिय हितहरुलाई परिभाषित गर्नुपर्छ । सार्वभाौमिकताको सन्दर्भमा भौगोलिक अखण्डता जोडिन्छ । राष्ट्र सार्वभौमसत्ता सम्पन्न भन्ने तर निर्णय गर्न नपाउने, यो ठीक हुँदैन । आर्थिक क्षेत्रमा विश्व बैंक, आईएमएफ, डब्लुटिओहरुको नीति कति हामीले स्वीकार्नुपर्छ ? कति नस्वीकार्ने ? अहिले पनि हरेक ठाउँमा डब्लुटिओले वा आईएमएफले दिँदैन भन्छौँ । कति दिने र नदिने भन्ने कुरा हाम्रो राष्ट्रिय हितमा छ – छैन ?  उसको हस्तक्षेप छ या छैन भन्नेमा ठीक निष्कर्ष निकाल्न सक्नुपर्छ ।

यी कारणले गर्दा राष्ट्रिय हित के हो, राष्ट्रिय हितलाई कसरी रक्षा गर्न र प्रबद्र्धन गर्न सकिन्छ भनेर परिभाषित गर्नुपर्छ ।

अर्काे कुरा सुरक्षा नीति तय गर्दा निश्चित दृष्टिकोण र धारणा तय गर्न आवश्यक छ । त्यसपछि दुई देशबीचको सम्बन्धको कुरा आउँछ । असल मैत्रिपूर्ण सम्बन्धका आधारमा अगाडि बढ्नुपर्छ । जसले विश्वका महाशक्ति वा ठूला शक्तिका राष्ट्रहरुसँग हामीले राम्रो सम्बन्ध कायम राख्न सहज हुन्छ ।

चीन र भारतको सम्बन्धमा कतिले समनिकटता भन्छन् तर म नेपालको राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकी मुलुकसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्छ भन्छु ।

नेपालको भौगोलिक अखण्डता, सावैभौमिकता र स्वाधिनताको रक्षा हुनुपर्छ । तर जहाँ समस्या छ, त्यहाँँ समस्या समाधान गर्न पहल नगरी त्यो सम्भव छैन । स्वतन्त्र परराष्ट नीति अबलम्बन गर्ने हैसियत प्रर्दशन गर्नैपर्छ । हामीले ठूलो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको हो । लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकतालाई सँगसँगै लैजाने हो । एउटालाई संकुचन गराइए हाम्रो लोकतन्त्र बलियो हुँदैन । विकास पनि हुँदैन । त्यसकारण दुईवटा छिमेकीको सन्दर्भमा र अरुसँगको सन्दर्भमा पनि हाम्रो राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्न जरुरी छ । त्यसमा लचकता प्रदर्शन गर्नुपर्छ ।

तर राष्ट्रिय हितको मात्र कुरा गरेर पनि हुदैन । राष्ट्रिय हितको कुरा गर्दा  बहकिन थाल्यौँ भने  विचलन आउछ । हामी लोकतन्त्रको प्रगति र न्यायको सन्दर्भमा विश्वमा उदाहरण बनेका छौं तर आफैमा पनि धेरै कुरामा स्पष्ट हुन आवश्यक छ ।

विकासको मोडल

अहिलेको हाम्रो विकासको मोडेल के हो ? हाम्रो नीति त्यसमै आधारित हुन्छ । हामीले आफ्नै मौलिकतामा विकासको मोडेल अगाडि बढाउने हो भने विश्वका सबै अनुभवहरुलाई सन्दर्भको रुपमा लिनुपर्छ । यसरी नेपालको आवश्यकतासँग मेल खानेगरी अरुसँग सम्बन्ध कायम गर्दै विकासको नयाँ मोडेल अगाडि बढाउनुपर्छ । जसरी प्रजातन्त्रको सन्दर्भमा लोकतन्त्रको नयाँ मोडेल स्थापित गरिरहेका छौँ । अभ्यास गर्ने प्रक्रियामा छौँ । त्यसैले विकासको नयाँ मोडेलमा हामी जान जरुरी छ र त्यसको बारेमा बहस हुुनुपर्छ । त्यसले पनि हाम्रो परराष्ट नीतिको दिशा निर्देशित गर्छ ।

(सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र र रातोपाटी डट कमको सहकार्यमा ‘शान्ति र समृद्धिको लागि नेपालको दीर्घकालीन परराष्ट्र नीति’ शीर्षकको अन्तक्रियामा पूर्व परराष्ट्रमन्त्री तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा व्यक्त विचारको सम्पादित अंश ।)

टेप उतारः सुनीता न्यौपाने

यो पनि....

शान्ति र समृद्धिका लागि कस्तो हुनुपर्छ नेपालको दीर्घकालीन परराष्ट्रनीति ?

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ