केन्द्रीय संस्करण

आठौँ राष्ट्रिय खेलकुद, इतिहास रच्ने अवसर

person explore access_timeमाघ २२, २०७५ chat_bubble_outline0
रोहित दाहाल

रातोपाटी

देशभरका एक लाखभन्दा बढी खेलकर्मीको प्रत्यक्ष संलग्नता । प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी ३५ खेल । जिल्लामा दर्ता भएका खेलाडीको सङ्ख्या मात्र ३३ हजार आठ सय ४५ । प्रदेशस्तरको छनोट प्रतियोगितामा १४ हजार ६ सय २४ खेलाडीबीच आठ हजार चार सय ३४ पदकका लागि घम्साघम्सी । राष्ट्रिय स्तरमा दुई हजार ६ सय ८७ पदकका लागि उत्कृष्ट खेलाडीहरूबीच तँछाडमछाड । प्रतियोगिता आयोजनाका लागि ४७ करोड १८ लाख ६७ हजार नौ सय ५० रूपैयाँको अनुमानित बजेट । यसदेखि बाहेक प्रतियोगिताकै लागि भौतिक पूर्वाधार निर्माणमा अर्बाैं रूपैयाँको लगानी । आगामी माघमा आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको सङ्क्षिप्त स्वरूप हो यो ।

पक्कै पनि बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको ‘घरेलु खेलकुदको कुम्भ मेला’ नै हो । खेल सङ्ख्या, खेलाडीको सहभागिता, देशव्यापी रूपमा एकसाथ बन्ने खेलकुदमय वातावरण । अनि प्रतियोगिताको भव्यता र व्यापकताका हिसाबले वास्तवमा यो मुलुकभित्र हुने खेलकुदको महाकुम्भ नै हो । त्यसैले भन्ने गरिन्छ, राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको घरेलु खेलकुदलाई चलायमान गराउने र नयाँ गति दिने सबैभन्दा महत्त्वपूर्ण माध्यम हो । 

विश्वका हरेक राष्ट्रले प्रतिभावान खेलाडी उत्पादन गर्न नियमित रूपमा राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजना गर्छन् । राष्ट्रिय प्रतियोगिताभन्दा अघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिताहरू आयोजना गरिन्छ । तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन् । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रिय स्तरमा चर्चित खेलाडीहरूसँंग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन् । 

त्यसैले नयाँनयाँ प्रतिभा खोजी गर्ने उद्देश्यले राष्ट्रिय प्रतियोगिता महत्त्वपूर्ण माध्यम हो । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समय विशेष प्रशिक्षणमा राखेर उनीहरूको सीप तिखार्ने कार्य गरिन्छ । त्यसपछि ती खेलाडीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ । एउटा राष्ट्रिय प्रतियोगिता सकिएलगत्तै तल्लो तहका खेलाडी आफ्ना कमी कमजोरी सच्याउँदै पुनः अर्को प्रतियोगिताको तयारीमा व्यस्त हुन्छन् । 

यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतका विभिन्न खेल सङ्घले नियमित रूपमा गाउँ, नगर, जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताहरू आयोजना गरिरहेका हुन्छन् । यसरी बृहत राष्ट्रिय खेलकुदको दुई संस्कणको बीचमा यो चक्र नियमित रूपमा चलिरहन्छ । त्यसैले दक्ष र प्रतिभावशाली खेलाडी खोजी र उत्पादन गर्न हरेक राष्ट्रमा राष्ट्रिय प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

मिठो इतिहास तितो यथार्थ

नेपालमा भने राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको ३७ वर्ष पूरा भइसके पनि हालसम्म सातवटा संस्करण मात्र आयोजना हुन सकेको छ । प्रत्येक दुई, दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन । नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास २०३८ सालदेखि सुरु भएको हो । त्यसयता सुरुका तीन संस्करण मात्र नियमित रूपमा सञ्चालन भएका छन् । पहिलो संस्करण २०३८ साल भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौंमा आयोजना भएको थियो । त्यसको दुई वर्षपछि २०४० साल चैत १२ देखि २० गतेसम्म पोखरामा दोस्रो संस्करण सम्पन्न भयो ।

यसैगरी तेस्रो संस्करण पनि निर्धारित समयमै २०४२ साल फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा आयोजना भयो । त्यसपछि भने राष्ट्रिय खेलकुदले निर्धारित समयमा निरन्तरता पाउन सकेको छैन ।

तेस्रो संस्करण सम्पन्न भएको १३ वर्षपछि मात्र २०५५ साल चैत ८ देखि १४ गतेसम्म नेपालगन्जमा चौथो संस्करण आयोजना भएको थियो । संयोगले नेपालगञ्जमा चौथो संस्करण आयोजना हुँदा पनि नेपाली खेलकुद आठौँ दक्षिण एसियाली खेलकुदको तयारीमा व्यस्त थियो ।

त्यसपछि चौथो र पाँचौँ संस्करणका बीचमा पनि १० वर्षको अन्तर रहन पुग्यो । पाँचौँ संस्करण २०६५ साल चैत २४ देखि ३० गतेसम्म काठमाडौँमा आयोजना भएको थियो । पाँचौँ संस्करण सम्पन्न भएको तीन वर्षपछि  २०६८ साल फागुन १४ देखि २१ गतेसम्म छैटौँ संस्करण सुदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुरमा आयोजना भयो । छैटौँ र सातौँ संस्करणको बीचमा पनि पाँच वर्षको अन्तर रह्यो । सातौँ संस्करण २०७३ साल पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न ६ वटा जिल्लामा आयोजना भएको थियो ।

इतिहास रच्ने अवसर

२०४२ सालमा सम्पन्न तेस्रो संस्करणपछि कहिले पनि राष्ट्रिय खेलकुद नियमित समयमा आयोजना हुन सकेको छैन । २०७५ सालसम्म आइपुग्दा १८ वटा संस्करण आयोजना भइसक्नुपर्ने थियो । तर नेपाली खेलकुदको दुर्भाग्य, यस अवधिमा सातवटा संस्करण मात्र सम्भव भएका छन् । आठौँ संस्करण आगामी फागुन चैतमा आयोजना भएमा ३३ वर्ष लामो इतिहास तोडिने छ । यसको अर्थ विगत ३३ वर्षयता राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण नियमित समयमा आयोजना हुन सकेको छैन ।

खासगरी मुलुकमा २०४६ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय खेलकुद निर्धारित समयमा आयोजना हुन नसकेको पाइन्छ । त्यसैले पनि २०४६ सालको परिवर्तनपछि बनेका सरकारले खेलकुद क्षेत्रलाई आफ्नो प्राथमिकतामा नपारेको आरोप लगाइने गरेको हुन सक्छ । आर्थिक समस्या, खेलकुद क्षेत्रको विकासप्रति सरकारको उदासिनता, खेलकुद क्षेत्रमा बेलाबखत देखिने अनावश्यक राजनीतिक हस्तक्षेपजस्ता कारणले यो समस्या देखिएको हो । राष्ट्रिय खेलकुद नियमित रूपमा आयोजना हुन नसकेका कारण नै हाम्रो देशमा प्रतिभावान खेलाडीको अभाव देखिन्छ ।  

आठौँ राष्ट्रिय खेलकुद सरकार र सम्बद्ध खेल अधिकारीका लागि पनि खेलकुद क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता दर्साउने गतिलो अवसर बन्न सक्छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट कुनै पनि हालतमा निर्धारित समयमै आठौँ राष्ट्रिय खेलकुद आयोजना गर्न प्रतिबद्ध देखिनुको पछाडि सायद यही तथ्यले काम गरेको हुनुपर्छ । लामो समयदेखि अनियमित बनेको राष्ट्रिय खेलकुदको क्यालेन्डरलाई सुधार्ने यो सबैभन्दा उपयुक्त अवसर हो भन्ने तथ्य सम्बद्ध खेल अधिकारीले बुझेको हुनुपर्छ ।

नेपालगञ्जलाई अवसरसँगै चुनौती पनि

२०७३ सालमा पूर्वाञ्चलमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा आठौँ संस्करण नेपालगञ्जमा आयोजना गर्ने भनेर घोषणा गर्न ठूलै कसरत गर्नुपरेको तथ्य कसैसँग लुकेको छैन । धरानमा सातौँको समापन समारोह सुरु भइसक्दासम्म पनि आठौँ आयोजनाको विषयलाई लिएर सम्बद्ध खेल अधिकारीबीच विवाद जारी थियो । अन्तिम समयमा आएर मात्र नेपालगञ्जले आठौँ आयोजनाको अधिकार पाएको थियो ।

राष्ट्रिय खेलकुद पालैपालो पाँचवटै विकासक्षेत्रमा आयोजना गर्ने परम्परा थियो । सोही अनुरूप  २०४० सालमा दोस्रो संस्करण पोखरामा र २०५५ सालमा चौथो संस्करण नेपालगञ्जमा आयोजना भएको थियो । यस आधारमा आठौँ संस्करण आयोजनाको अधिकार मध्यपश्चिमाञ्चलको नेपालगञ्जले भन्दा पहिले पश्चिमाञ्चलको पोखराले पाउनुपर्ने थियो । त्यसैले सातौँ संस्करण सुरु हुनुअघि नै पोखरा आठौँ संस्करण आयोजनाको अधिकार पाउनेमा ढुक्क थियो ।

तर, नेपालगञ्जले पनि आठौँ आयोजनाका लागि दाबी पेश गरेपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि खेल अधिकारीहरू समेत विभाजित बनेका थिए । अन्तिम समयमा आएर आठौँ आयोजनाको अधिकार नेपालगञ्जले पायो । उक्त निर्णयको केही हदसम्म विरोध पनि भएको थियो । अप्ठ्यारो अवस्थामा प्रतियोगिता आयोजनाको अधिकार पाएको नेपालगञ्जका लागि यतिबेला निर्धारित समयमै आठौँ संस्करण सफलतापूर्वक सम्पन्न गरेर देखाउनु ठूलै चुनौती पनि हो ।

प्रदेश संरचनामा पहिलो संस्करण

संरचनागत रूपमा हेर्दा राष्ट्रिय खेलकुदले छोटो समयमै थुप्रै आरोह अवरोहको सामना गरिसकेको छ । राष्ट्रिय खेलकुदको सुरुआत अञ्चलगत संरचनाका आधारमा सुरु भएको थियो । १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे ।

त्यसपछि विकासक्षेत्रका आधारमा प्रतिस्पर्धा गराउन थालियो । यो अवधारणमा पाँचवटा विकासक्षेत्रका टोलीले प्रतियोगितामा भाग लिन्थे । त्यसपछि आएर पाँचवटा विकासक्षेत्रसँंगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पनि राष्ट्रिय खेलकुदमा प्रवेश दिइयो ।

काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको भ्रातृ सङ्गठनका रूपमा जनमुक्ति सेना (पीएलए) लाई पनि छुट्टै अस्तित्व दिएर सहभागी गराइयो । त्यतिबेला यो विषयले ठूलै विवादको रूप लिएको थियो । जनमुक्ति सेनाका नाममा माओवादीलाई प्रतियोगितामा सहभागी गराइए आफूहरू प्रतियोगिताबाट बाहिरिने अडान नेपाली सेनाले लिएको थियो । त्यसैले जनमुक्ति सेनाले भाग लिएका पाँचवटा खेलमा नेपाली सेनाका खेलाडी सहभागी भएनन् । त्यसपछि छैटौँ राष्ट्रिय खेलकुदमा छुट्टै अस्तित्व दिएर विश्वविद्यालय टोलीलाई पनि समावेश गरिएको थियो । सातौँ राष्ट्रिय खेलकुदमा भने जनमुक्ति सेना र विश्वविद्यालय टोलीलाई समावेश गरिएन ।

यतिबेला मुलुक सङ्घीयतामा प्रवेश गरेको छ । आठौँ राष्ट्रिय खेलकुद नेपालगञ्जमा आयोजना गर्ने घोषणा हुँदा विकासक्षेत्रकै आधारमा निर्णय गरिएको थियो । तर त्यसपछि विकसित नयाँ राजनीतिक घटनाक्रम र पछिल्लो संविधानका आधारमा आठौँ राष्ट्रिय खेलकुदले पनि नजानिँदो किसिमले नयाँ स्वरूप ग्रहण गरिसकेको छ । यस आधारमा अब आठौँ संस्करण प्रदेशगत ढाँचामा आयोजना हुने पहिलो राष्ट्रिय खेलकुद बन्ने छ ।

पूर्वाधार : निरन्तर चल्ने प्रक्रिया

आठौँ राष्ट्रिय खेलकुद गत मङ्सिर २१ देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय भएको थियो । तर केही समयअघि पूर्वाधारको कारण देखाउँदै प्रतियोगिता दुई महिनापछि सार्ने निर्णय गरियो । नुवाकोटको ककनीमा सम्पन्न राखेपको बोर्ड बैठकले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको थियो । प्रतियोगिताको मिति परिवर्तन गर्नुको पछाडि बैठकले भौतिक पूर्वाधारलाई प्रमुख कारणका रूपमा अघिसारेको थियो ।

 

बोर्ड बैठकले माघ २५ देखि फागुन ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने सहमति गरे पनि आधिकारीक निर्णय गर्न भने बाँकी नै छ । नेपालगञ्जसँगै प्रतियोगिताका केही खेलहरू अन्य जिल्लामा पनि सञ्चालन हुनेछन् । सोही अनुरूप यतिबेला आठौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणका कार्यहरू पनि तीव्रगतिमा भइरहेका छन् । पूर्वाधार निर्माणको काम निकैअघि सुरु गरिए पनि समयमै आवश्यक बजेट निकासा नहुँदा निर्माण कार्य सम्पन्न हुन नसकेको बताइएको छ ।

राष्ट्रिय खेलकुदको विगतलाई हेर्दा यतिबेला भौतिक पूर्वाधारभन्दा पनि प्रतियोगिताको निरन्तरतालाई नै ठूलो उपलब्धि मान्नुपर्ने अवस्था देखिन्छ । भौतिक पूर्वाधार भनेको निरन्त चलिरहने प्रक्रिया हो । नेपालगञ्जमा यसअघि नै राष्ट्रिय खेलकुद आयोजना भइसकेकाले पनि त्यहाँको पूर्वाधारको अवस्था नराम्रो छैन । त्यसमाथि आठौँलाई लक्षित गरेर पनि त्यस क्षेत्रमा थुप्रै निर्माण कार्यहरू भएका छन् ।

यसअघि भएका राष्ट्रिय प्रतियोगिता पनि अत्यन्तै स्तरीय पूर्वाधारमा आयोजना भएका थिएनन् । काठमाडौँमै भएको पाँचौँ संस्करणमा समेत केही खेललाई टुँडिखेलमा खेलाइएको इतिहास हामीसँग छ । यसैगरी सुदूरपश्चिमाञ्चलको धनगढी र महेन्द्रनगरमा छैटौँ संस्करण, पूर्वाञ्चलमै सातौँ संस्करण आयोजना हुँदासमेत पूर्वाधार पूर्णरूपमा तयार भइसकेको थिएन । त्यहाँ अहिले पनि खेलकुदका पूर्वाधार निर्माण हुनेक्रम जारी छ ।

यस्तो अवस्थामा चैतको पहिलो सातासम्म आठौँ संस्करण आयोजना हुन नसके मौसमलगायतका विभिन्न कारणले प्रतियोगिता लामो समयसम्म अवरुद्ध हुने निश्चित छ । यस्तो स्थिति सिर्जना भएमा यस पटक पनि राष्ट्रिय खेलकुद नियमित समयमा आयोजना नहुने सम्भावना बढ्छ । त्यसैले आफूसँग भएका साधनस्रोत र पूर्वाधारलाई नै सक्दो प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नु बुद्धिमानी हुने देखिन्छ । प्रश्न उच्च स्तरको पूर्वाधारभन्दा पनि प्रतियोगिताको निरन्तरता र प्रतिष्ठासँग गाँसिएको छ ।

नेपालगञ्जसँग जोडिएको अर्को संयोग

२०५५ सालमा नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकुद आयोजना हुँदा नेपालमै आयोजना हुने आठौँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा देश व्यस्त थियो । चौथो राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नै थप प्रशिक्षण दिएर आठौँ सागमा सहभागी गराइएको थियो । त्यतिबेला सागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आफूलाई पदक तालिकाको दोस्रो स्थानमा उभ्याएको थियो ।

यतिबेला पुनः राष्ट्रिय खेलकुदको आठौँ संस्करण नेपालगञ्जमा पुगेको छ भने देश १३औँ साग आयोजन गर्ने तयारीमा छ । नेपालगञ्जसँग जोडिएको नेपाली खेलकुदको यो गतिलो संयोग हो । त्यसैले अहिले पनि आठौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गरेर त्यहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३औँ सागका लागि तयार पार्ने गतिलो अवसर हो ।

(दाहाल राखेपका प्रेस सल्लाहकार हुन् ।)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...