शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वरसम्राज्ञी अरुणा लामा

मङ्गलबार, २२ माघ २०७५, १० : ३१
मङ्गलबार, २२ माघ २०७५

नरेन्द्रराज प्रसाईं

हाँसीहाँसी जलिरहेँ, खुसीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रूखो हाँसो देखाइरहेछु ।

(स्वर : अरुणा लामा, सङ्गीत : कुन्दनराज सुब्बा, शब्द : नरेन्द्रराज प्रसाईं)

अरुणा लामाले प्रायः वेदना, व्यथा र पीडाका गीतहरू मात्र गाइन् । एकातिर अरुणाको स्वरमा जन्मजात कारुणिकता भरिएको थियो भने अर्कातिर उनको जीवन सङ्घर्षैसङ्घर्षले बेरिएको थियो । व्यथै व्यथाले भरिएको थियो र दुःखै दुःखले चुलिएको थियो । मानौँ अरुणाको जीवन नै एउटा दुखात्मक कथा थियो अनि यही कथा नै नेपाली साङ्गीतिक फाँटमा एउटा ज्वलन्त करुणाको उदाहरण बनेर अरुणाको उदय भयो । अनि त्यही कथाले नै उनी स्वरकिन्नरी भइन्, मेलोडी क्विन भइन् र नाइटिङ्गेल अफ हिमालय भइन् । त्यति मात्र होइन गीतका पारखीले उनलाई ‘ट्रेजेडी क्विन’ पनि भन्थे । यी सबै बेहोरालाई जोडेर छोटकरीमा अरुणा लामाको परिचय दिँदा उनी स्वरसम्राज्ञी थिइन् ।

अरुणाको रिकर्डिङ भएको पहिलो गीत थियो ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न !’ यो गीत उनले रेडियो नेपालमा २०१६ सालमा रिकर्डिङ गराएकी थिइन् । पहिलो गीत रिकर्डिङ गरेको अर्काे वर्ष अर्थात् २०१७ सालमा यिनले दार्जीलिङको गभर्नमेन्ट कलेजबाट स्तातक उत्तीर्ण गरिन् । 

नेपाली गीतिफाँटमा अरुणाको एउटा बेग्लै स्वणिर्म अभिलेख, विशिष्ट स्थान र अभूतपूर्व देन रह्यो । नेपाली गायनको इतिहासमा हाँसीहाँसी पनि वेदनाको गीत गाउने कलाकारमा अरुणा सर्वाेत्कृष्ट मानिन्छिन् । उनको यही कारुणिक स्वरलाई हृदन्तरदेखि स्वीकार्दै नेपाली गायनकी शिखर तारादेवीले भनेकी थिइन् ‘दुःख र वेदनाको स्वरबाट अरुणाले नेपाली परिवेश ढाकेकी थिइन्’ ।

उदास मेरो जीवनकथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा त्यो पनि भनिनँ ।

(स्वर : अरुणा लामा, सङ्गीत : नारायणगोपाल, शब्द : भैरवनाथ रिमाल कदम)

अरुणाको जन्म दार्जिलिङको घुमपहाडमा २००२ साल भदौ २४ गते आइतबार भएको थियो । अनि यिनको चिनाको नाउँ चाहिँ दाँतेमा तामाङ थियो । उनी सानैदेखि नाच्न, गाउन भनेपछि हुरुक्कै हुन्थिन् । सानामा गीत गाउँदा यी अग्लो माइकमा पुग्न सक्तिनथिन् तर त्यस्तो स्थितिमा यिनलाई यिनका बाबुले काँधमा बोकेर माइकसम्म पुर्याइदिन्थे । सातआठ वर्षकी हुँदा उनले गीत गाएर दार्जिलिङ हल्लाएकी थिइन् ।

पन्ध्रसोह्र वर्षे झलझलाउँदो उमेर टेकेपछि अरुणाको गीत गाउने रहर, गीतको सुरताल र गीतका शब्दहरूले कञ्चनजङ्घाको टुप्पो छोइसकेका थिए । त्यसपछि यी निरन्तर गीतगायनमा नै चुलिँदै गइन्  ।
अरुणा १३ वर्षकी हुँदा यिनको भेट शरण प्रधानसँग भएको थियो । अम्बर गुरुङसँग सङ्गीत सिक्न जाँदा शरण र अरुणा एकअर्काप्रतिको आकर्षणमा झुन्डिएका थिए । परिणामस्वरूप अरुणा लामाले १९ वर्ष टेक्नासाथ शरणको इच्छालाई स्वीकार गर्दै उनीसँग बिहे गरेकी थिइन् । २०२० साल असार २५ गतेदेखि अरुणा वैवाहिक जीवनमा प्रवेश गरिन्  । बिहेअघि र पछि यी दम्पती स्कुलको शिक्षण पेसामा आबद्ध थिए ।

अरुणा र शरणको मिलनबाट एउटी छोरी सपना र एउटा छोरा सुप्रित जन्मे । छोरी सपना पनि गीतगायनमा अग्रसर भइन्  । अरुणा र शरणको दाम्पत्य जीवनको १० वर्षपुग्दानपुग्दै अरुणाका जीवनमा एउटा विनाशको हुन्डरी आयो । एउटा कालो आँधी आयो र उनका टाउकामा पृथ्वी नै आएर थेचारियो । शरण प्रधान मुर्छा पर्दापर्दै संसारबाटै बिदा भए । अनि फेरि अरुणा रुन थालिन् ।

पोहोर साल खुसी फाट्ता जतन गरी मनले टालेँ
त्यही साल माया फाट्ता त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाटयो केले सिउने केले टाल्ने हो ?

(स्वर : अरुणा लामा, सङ्गीत : अम्बर गुरुङ, शब्द : राजेन्द्र थापा)

अरुणा आफ्ना पतिको निधनपछि झोक्राएर घरैमा बसिन् तर छ महिनापछि यिनलाई कर्म योञ्जनले जबर्जस्ती रङ्गमञ्चमा पुर्याए । त्यसपछि उनी त्यहीँ रत्तिन थालिन् । पुनः उनी गीत गाएर आफ्नो निष्ठामा समर्पित हुन थालिन् ।

आफ्ना पतिको देहान्त भएपछि अरुणालाई आर्थिक अवस्थाले सारै रन्थन्याउन थाल्यो । तर पनि यी आफ्ना यात्रामा सङ्घर्षरत रहिन् । एकातिर जागिर र अर्कातिर आफ्नो गायनलाई पनि उचाल्दै यी निरन्तर अगि बढिन् । यिनको सङ्गीतप्रतिको झुकावले नेपाली समाज यिनीप्रति नतमस्तक रह्यो । उनको गायनको सीप र गलाको भाकाले नेपालीहरूलाई एकछत्र प्रेममा डुबाउन थाल्यो ।

अरुणाको गायनले नेपाली धर्तीमा राम्ररी जरा गाडिसकेको थियो । गायनमा लामो सेवा र निपुणतापूर्ण काम गरेबापत उनी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भइन् । साथै उनले छिन्नलता पुरस्कार, भानु अकादमी पुरस्कार, मित्रसेन पुरस्कारलगायत नेपाल तथा भारतबाट थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि ग्रहण गरेकी थिइन् । त्यति मात्र होइन २०५० सालमा सीताराम प्रज्ञाप्रतिष्ठानद्वारा ‘अरुणा लामा : स्वणिर्म साँझ’ कार्यक्रमको आयोजना गरिएको थियो । त्यो अत्यन्तै ठूलो साङ्गीतिक आयोजना थियो । सो आयोजनाको मञ्चमा अरुणाका हातमा दुई लाख पैँसट्ठी हजार रुपियाँ राशिका साथै ‘स्वरकिन्नरी’को उपाधि पनि अर्पित गरिएको थियो । साथै सो समारोहमा नरेन्द्रराज प्रसाईंद्वारा सम्पादित ‘अरुणा लामा ः कथा र व्यथा’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो । त्यस दिन अरुणाले नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा उत्साह, उमङ्ग र साहसका साथ आफ्ना मीठा स्वरहरू स्रोतासमक्ष अर्पण गरेकी थिइन् । त्यो भव्य समारोहमा उनले अठारवटा नेपाली गीत गाएकी थिइन् र प्रत्येक गीतमा दर्शकको ताली पाएकी थिइन् ।

चौतारीमा बसेर रुन पाऊँ
मनको पीर आँसुले धुन पाऊँ

(स्वर : अरुणा लामा, सङ्गीत र शब्द : गोपाल योञ्जन)

सूर्यबहादुर लामा र सनमाया तामाङकी कान्छी छोरी अरुणा लामा समस्त नेपाली सङ्गीतका पूजारीकी साझा सन्तान बनिन् । उनी जस्ती स्वरसाधिकाले नेपाली गीत गाएर नेपाली भाषालाई आफ्नै प्रकारले सिँगारिन्  । शब्दलाई घाँटीमा गलाएर कोइलीले झैँ स्वर प्रदान गर्ने उनको दैवी कला थियो । तर उनले १५० भन्दा बढी गीत रेकर्ड गर्न भ्याइनन् । 

अरुणा औषधि उपचारका लागि दार्जिलिङबाट काठमाडौँ आइन् । उनलाई कुनै औषधिले पनि बचाउन सकेन । कैयौँ नेपालीहरू उनलाई बचाउन उनका छेउ पुगे । तर लाखौँ नेपालीले पनि उनलाई कालका

मुखबाट छुटाउन सकेनन्  । अन्ततः नेपाली गायनकी स्वरसम्राज्ञीको भौतिकचोला यस पृथ्वीबाट २०५४ साल माघ २२ गते काठमाडौँमा अन्त्य भयो । 

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आँसुमा म फुलेँ
म आफैँ भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलेँ ।

(स्वर : अरुणा लामा, सङ्गीत र शब्द : अम्बर गुरुङ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप