केन्द्रीय संस्करण
फिचर

फस्टाउँदो बुटिक व्यवसाय, स्वरोजगार बन्दै युवा

person explore access_timeमाघ २२, २०७५ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

प्रख्यात नेपाली फेसन डिजाइनर प्रबल गुरुङले भनेका छन्, ‘एक आधुनिक महिला हुन महँगा सामानको खरिद गर्नुपर्छ भन्ने छैन । आधुनिक महिला त ती हुन् जसले बुद्धिमानीपूर्वक कुनै सामान खरिद गर्छिन् ।’

गुरुङले भनेजस्तै आधुनिक देखिन महँगा ब्रान्डको पछिलाग्नुभन्दा आफूलाई सुहाउँदो र क्षमताअनुसारको सामान खरिद बढी बुद्धिमानी हुन्छ ।

त्यस्तै, चर्चित अमेरिकन फेसन डिजाइनर तथा लेखिका राचेल जोयले भनेकी छिन्, ‘फेसन यस्तो शैली हो, जो नबोलीकनै तपाईंको बारेमा थाहा पाउन सकिन्छ ।’

फेसन शैलीले मानिसको बारेमा बताइरहेको हुन्छ । उमेर, पेसा, शारीरिक बनावट अनि रङमा ध्यान दिएर गरिने फेसनले मानिसको व्यक्तित्वमा निखारता ल्याउनुका साथै मानिसको स्तर पनि बताइरहेको हुन्छ ।

हरेक मानिस स्मार्ट देखिन चाहन्छ, त्यसका लागि फेसन अनिवार्य हुन्छ ।

मानिसको फेसनप्रतिको मोह बढ्दै जाँदा जन्मियो बुटिकका अवधारणा । विकसित मुलुकहरूमा बुटिक व्यवसाय सामान्य बने पनि नेपालमा भने भर्खरै मात्र यो व्यवसाय फस्टाउन थालेको पाइन्छ ।

नेपालमा हाल फस्टाउँदो व्यवसायमध्येको एक हो बुटिक । विगत केही वर्षयता यो व्यवसायले धेरैलाई आकर्षित गरेको छ । रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई बुटिक व्यवसायले नेपालमै स्वरोजगार बन्न मद्दत गरेको छ ।

त्यसैगरी, विदेशिएका युवा पनि स्वदेशमै यो व्यवसायको मोहले तानिएका छन् । कुनै समय धनीमानीले मात्र प्रयोग गर्ने बुटिकका डिजाइनेबल कपडा अहिले सर्वसाधारणको रोजाइमा पर्न थालिसकेको छ ।

सहर केन्द्रित नै किन नहोस् बुटिक व्यवसाय अहिलेको चल्तीको व्यवसाय बनेको छ । केही यस्ता युवा छन् जो स्वदेशमा व्यवसाय मात्र होइन रोजगारी सिर्जना गर्ने बाटोमा लागेका छन् ।

बुटिक व्यवसायले नेपाल तान्यो : अनुस्का भट्ट

कुपन्डोलस्थित न्यु चेली बुटिककी सञ्चालक अनुस्का भट्ट एक गैरआवासीय नेपाली हुन् । १० वर्ष अमेरिकामा बसोबास गरेकी अनुस्कालाई स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने बाटो खोज्दै जाँदा बुटिक व्यवसायले आकर्षित गर्यो ।

स्वदेशमा नै केही गर्न सकिन्छ भनेर नेपाल फर्किएकी उनले बुटिक व्यवसाय सुरु गरेको १ वर्ष मात्रै भएको छ । दिदी सुनिता शर्मासँग मिलेर बुटिक सञ्चालन गरेकी अनुस्का छोटो समयमै न्युचेलीले बुटिक व्यवसायमा आफूलाई स्थापित गर्न सफल भएको बताउँछिन् ।

गैरआवासीय नेपाली अनुस्काले बुटिकलाई नेपालमा मात्रै सीमित नगरी अमेरिकामा पनि विस्तार गरिसकेकी छिन् । विदेशमा रहेका नेपालीहरूलाई नेपाली पहिरनको सहजताका लागि बुटिक खोलेको उनी बताउँछिन् ।

बुटिक व्यवसायको सम्भावना राम्रो देखेर नै विदेश छाडेर नेपालमै व्यवसाय सुरु गरेकी अनुस्काको न्यु चेलीलाई अन्य देशमा पनि विस्तार गर्दै लैजाने योजना छ । विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले स्वदेशी पहिरनका लागि महँगो रकम खर्चिनुपर्ने बाध्यतामा न्यु चेलीले कमी ल्याउने उनी बताउँछिन् ।

अनुस्का भन्छिन्, ‘विदेशमा बुटिक प्रोडक्टको डिमान्ड हाई छ । त्यसैले आफ्नो व्यवसाय स्वदेशसँगै विदेशमा पनि फैलाउँदै जानेछु ।’ साडी, ब्लाउज, चोली, लेहेङ्गा, गाउनलगायतका अन्य ड्रेसहरूको डिमान्ड धेरै छ विदेशमा । अझ चाडबाड र विवाहको मौसममा त यसको माग यति धेरै हुन्छ कि धान्न नै मुस्किल पर्छ ।

पहिला महिलाहरू साडी मात्रै बढी प्रचलनमा ल्याउँथे तर आजभोलि नेपाली समाज आधुनिकतातिर ढल्किसकेको छ । महिलाहरू लेहङ्गा, गाउन, कुर्ता सुर्वालका साथै वान पिसमा ठाँटिन थालेका छन् । त्यसैले पनि डिजाइनरबाट ड्रेस डिजाइन गर्न बुटिक नै जान थालेका छन् महिलाहरू ।

बुटिक व्यवसायमा करियर बनाउँदै गरेकी अनुस्का न्यु चेली बुटिक एउटा गुणस्तरयुक्त सामानहरूको स्टोर भएको बताउँछिन् । अनुभवी फेसन डिजाइनरबाट न्यू चेलीले ड्रेस डिजाइन गर्छ ।

अनुस्का भन्छिन् ‘न्यू चेली बुटिकले अनुभवी फेसन डिजाइनरहरूबाट मौसमअनुसारको अन्तर्राष्ट्रिय स्तरको डिजाइन तयार गर्छ ।

हाल अनलाइन मार्केटले बुटिकको व्यवसायमा मन्दी ल्याएको छ । त्यसैले आफूले पनि अनलाइनमार्फत पनि अर्डर लिन सकिने व्यवस्था गरेको बताउँछिन् । उनी भन्छिन्, ‘न्यु चेलीको उत्पादन जुनसुकै ठाउँबाट पनि अर्डर गरी खरिद गर्न सकिन्छ ।’

अनुस्का भन्छिन्, ‘हामीले व्यवसाय सञ्चालन गर्ने मात्र होइन, रोजगारीको अवसर पनि सिर्जना गर्नुपर्छ । त्यसैले रोजगारीको खोजीमा विदेशिन बाध्य नेपाली चेलीहरूलाई स्वदेशमै स्वरोजगार बनाउन बुटिकसँग सम्बन्धित तालिम प्रदान गर्ने प्रयास गर्नुपर्छ ।’

आफ्नो निश्चित पुँजीबाट सीप विस्तार गर्दा स्वावलम्बी बन्न त मद्दत गर्यो नै अन्यलाई पनि  रोजगारी दिन सकेको अनुस्का बताउँछिन् । हाल देश अनि विदेशमा गरेर थुप्रैले न्यु चेलीसँग आबद्ध भएर काम गरिरहेका छन् ।

नेपालमा सञ्चालित बुटिकहरूमा भारतलगायत अन्य देशबाट सामान आयात गर्नुपर्ने बाध्यता छ । त्यसैगरी भारतबाट कालिगड ल्याउनुपर्ने अर्को बाध्यता छ । यसको अन्त्य गर्न नेपालीहरूलाई नै बुटिकसम्बन्धी विभिन्न तालिमहरू दिलाउने हो भने यस्तो समस्याको अन्त्य हुने थियो ।

बुटिकमा कटिङ सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ । कटिङको लागि नै भारतीय कालिगडलाई महँगो रकम तिरेर काम गराउनुपर्ने बाध्यता छ ।

नेपाली बजारमा बुटिकहरू यति धेरै सञ्चालनमा आइसकेका छन् कि कालिगडहरूको माग दिनानुदिन बढ्दै गइरहेको छ । त्यसैले पनि यो पेसामा बेरोजगार महिलालाई सहभागी गराएर सीप सिकाउने प्रयासमा पनि छिन् उनी ।

रोजगारीको खोजीमा खाडीलगायत अन्य मुलुकमा श्रम बेच्न बाध्य महिलालाई कटिङ, सिलाइ, बुनाइ लगायत बुटिकसँग सम्बन्धित सीप सिकाउन सक्ने हो भने उनीहरू स्वरोजगार बन्ने विश्वास छ अनुस्काको ।

त्यसैगरी बुटकहरूको अर्को बाध्यता भनेको भारत लगायतका अन्य मुलुकबाट कच्चापदार्थ आयात गर्नुपर्ने हो । अझ ८० प्रतिशतभन्दा बढी त भारतबाट मात्रै आयात हुन्छन् । कारण भारतीय सामानहरू केही सस्तो र नेपालीले खरिद गर्न सक्ने मूल्यमा पाइन्छ ।

अनुस्का भन्छिन्, ‘बुटिकहरूले नेपालमै उत्पादित ढाका, पस्मिनालगायतका कच्चा पदार्थको प्रयोगमा जोड दिन जरुरी छ । नेपाली उत्पादनले बजार नपाइरहेको अवस्थामा बुटिक व्यवसायीले यसको प्रयोग बढाउने हो भने नेपाली उत्पादनले ठाउँ पाउने थिए ।’

बुटिकमा सबैको पहुँच हुनुपर्छ : सङ्गीता खड्का

क्यास (क्रिएटिभ एन्ड स्टाइल हाउस) की सञ्चालक सङ्गीता खड्का बुटिकलाई फस्टाउँदो बिजनेसका रूपमा हेर्छिन् ।

व्यावसायिक डिजाइनर सङ्गीताले २०६८ मा शैली फेसन हाउस सञ्चालनमा ल्याइन् । २ वर्षपछि शैलीको नाम परिवर्तन भयो र क्यास बुटिक नामकरण भयो ।

बुटिक व्यवसायमा स्थापित नाम हो क्यास । कारण, क्यासमा सबै वर्गको सहज पहुँच छ । सङ्गीता भन्छिन्, ‘पहिले बुटिकले  महँगा कपडा र महँगो सिलाई हुने ठाउँको परिचय बनाए पनि एक दशकदेखि यो भ्रम तोड्न बुटिक सफल भएको छ ।’

सामान्यत बुटिक भन्ने वित्तिकै सम्भ्रान्त वर्ग अनि सेलिब्रिटी मात्र जान्छन् भन्ने मान्यता थियो । तर अहिले यो व्यवसाय यसरी फैलियो कि सामान्यभन्दा सामान्य मानिस पनि आफू सुहाउँदो पहिरनका लागि बुटिक धाउन थाले । अझ महिलाहरू मात्र बुटिक जान्छन् भन्ने भ्रम तोड्दै पुरुषहरू पनि बुटिक धाउन थालेका छन् ।

फेसन डिजाइनिङमा डिप्लोमासम्मको कोर्स गरेर यो पेसामा आबद्ध भएकी सङ्गीताले ग्राहकको चाहना र गक्ष अनुसारको पहिरन बनाउने गर्छिन् । जसले गर्दा पनि उनका ग्राहक मध्यम वर्गीयदेखि उच्च वर्गसम्मका छन् ।

नेपालीहरू अझ युवा पुस्ता फेसनमा निकै सचेत छ । त्यसैले पनि युवाहरू क्याजुअल ड्रेसदेखि पार्टी वेयरका लागि बुटिक नै जाने गर्छन् ।

रेडिमेट कपडा अनि समान्य टेलरमा सिलाएका कपडाभन्दा बुटिकमा सिलाएका कपडाको फिनिसिङ नै फरक हुन्छ । बुटिकमा बनाएका कपडा टिकाउ अनि गुणस्तरीय हुने भएकाले सबैको रोजाइमा पर्छ बुटिक ।

सङ्गीता आफै डिजाइनर भएकाले ग्राहकका लागि सुझावसहितको ड्रेस डिजाइन गर्ने गर्छिन् । ग्राहकको क्षमता अनुसारको फेब्रिकहरूको प्रयोग गरेर ड्रेस बनाउने गर्छिन् । भन्छिन्, ‘किशोरीदेखि वृद्धाहरू पनि उनको बुटिकबाट तयार कपडाबाट सन्तुष्ट छन् ।’

नेपालका बुटिकहरूको मुख्य चुनौती भनेको कपडा लगायतका अन्य फेब्रिक भारतलगायत अन्य देशबाट आयात गर्नुपर्ने बाध्यता हो । बुटिकहरूले नेपालमा नै उत्पादित कच्चा पदार्थको बढी प्रयोग गर्ने हो भने एक त नेपाली उत्पादनको प्रयोग बढ्ने थियो, अर्को आफ्नो मौलिकपन पनि आउने थियो ।

क्यास बुटिकले नेपाली उत्पादनलाई पनि स्थान दिने गरेको सङ्गिता बताउँछिन् । उनको पहिलो रोजाइ भनेको नेपाली सांस्कृतिक पहिरनको डिजाइन हो । उनी आफ्नो डिजाइनमा विशेष गरेर ढाकाको प्रयोग गर्न रुचाउँछिन् ।

नेपालमै निर्मित ढाका केही महँगो भएकाले सबैले खरिद गर्न भने सक्दैनन् । त्यसैले अर्डर अनुसारको ढाकाका ड्रेस बनाउने गर्छिन् उनी ।

विभिन्न जात जातिका ड्रेस डिजाइन गर्न मन पराउने सङ्गिता यस्ता ड्रेसको माग विशेष अवसरबाहेक अन्य समय नहुने भएकाले चलन चल्तीकै ड्रेसमा फोकस हुनुपरेको बताउँछिन् ।

क्यास बुटिकले मौसमअनुसारको क्याजुयल ड्रेस डिजाइन पनि गर्ने गरेको छ । जसमा, लङ कोट, सर्ट कोट, पाइन्ट, सर्ट, स्कर्ट, कुर्ती, कुर्ता सलवार लगायतका पर्छन् । साथै दुलहीका पहिरन पनि निर्माण गर्ने गर्छ ।

ग्राहकको रोजाइ अनुसारको धेरै महँगादेखि सस्ता पहिरन पनि बनाउने गरेकाले बुटिक सबैका लागि हो भन्न रचाउँछिन् सुनिता ।

युवा पुस्ताको रोजाइको पेसा बनेको फेसन डिजाइन र बुटिक महिलाहरूको मात्र होइन, पुरुषहरूको पनि रोजाइमा पर्न थालेको छ ।

अनलाइन बिजनेसले बुटिकलाई असर गर्यो : लक्ष्मी बर्तौला

३० वर्ष अगाडि काठमाडौँको डिल्लीबजारबाट सुरु भएको थियो निभा फेसन । हाल काठमाडौँकै कुपण्डोल, शङ्खमूल, डिल्लीबजार अनि डल्लु गरी ४ स्थानमा यो बुटिक सञ्चालित छन् ।

निभा फेसनलाई विगत ३ वर्षदेखि आकृती रायमाझीले सञ्चालन गर्दै आइरहेकी छिन् । फेसन र डिजाइनमा व्यावसायिक रूपमा लागेकी रायमाझी बुटिक व्यवसायले धेरै युवालाई स्वरोजगार बनाएको बताउँछिन् ।

स्वदेशमै बसेर केही गर्न चाहने युवाहरू विशेष गरेर महिलाहरूका लागि यो पेसा पहिलो रोजाइमा पर्ने गरेको छ । लगानी गरेअनुसारको प्रतिफल राम्रै आउने भएकाले पनि बुटिक व्यवसायप्रति आकर्षण बढ्दै गइरहेको हो ।

हुन त हाल काठमाडौँका गल्ली गल्लीमा बुटिक सञ्चालित छन् । कतिपय व्यावसायिक बुटिक छन् भने कति बुटिकको नाम गरेर सामान्य टेलरहरू पनि सञ्चालित छन् ।

विगत ७ वर्षदेखि निभा फेसनसँग आबद्ध भएर निम्न वर्गीय महिलाहरूलाई तालिम दिँदै आएकी लक्ष्मी बर्तौला बुटिक व्यवसायमा थुप्रै अवसर भएको बताउँछिन् ।

आर्थिक अवस्था कमजोर भएका तर केही गर्न खोज्नेहरूलाई समेटेर सिलाइ, बुनाइ, कटाइ लगायतका बुटिकसँग सम्बन्धित तालिम दिँदै आएको र कतिलाई रोजगारी पनि दिएको बर्तौला बताउँछिन् ।

एक वर्ष अगाडिसम्म पनि बुटिक व्यवसाय निकै नै उत्साहजनक रूपमा फस्टाएको थियो तर यो वर्ष भने व्यवसायमा गिरावट आएको छ । कारण हो अनलाइनको मार्केट ।

विगतमा यो व्यवसायमा राम्रै आम्दानी भए पनि अहिले अनलाइनहरूले गर्दा केही मन्दी छाएको निभामै कार्यरत अर्पना आनन्द बताउँछिन् । उनी भन्छिन्, ‘गुणस्तरयुक्त सामान चाहनेहरू भने बुटिकमै आएर अर्डर गर्ने गर्छन् ।’

गत वर्षसम्म पनि सिजनको समयमा महिनामा ६ देखि ७ लाखसम्मको व्यापार हुने गरे पनि यो वर्ष ह्वात्तै घटेको आनन्द बताउँछिन् ।

अनलाइन मार्केट बढेसँगै निभाले पनि अनलाइनमार्फत बिक्री सुरु गरेको छ । अन्य अनलाइनजस्तो देखिने एउटा तर खरिद गर्दा निम्न गुणस्तरको सामान आइपुग्ने समस्या बढ्दो छ । यस्तोमा निभाले अनलाइनमार्फत पनि गुणस्तरीय सामान बिक्री गरेको आकृती बताउँछिन् ।

नेपालमा बढ्दै गएको बुटिक क्रेजलाई व्यवस्थित गर्न सरकारी तवरबाट पनि प्रयास हुनु जरुरी छ । दक्ष जनशक्तिको अभावले गर्दा मोटो रकम दिएर कालिकड ल्याउनुपर्ने बाध्यता भोगेका बुटिक व्यवसायीलाई बढ्दै गएको नेपाली र भारतीय अनलाइन मार्केटले पनि असर गरेको छ ।

सरकारका तर्फबाट सीटीईभीटीले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्ने गरे पनि त्यो पर्याप्त देख्दिनन् लक्ष्मी । किनकि बुटिकसम्बन्धी कामका लागि १ देखि २ वर्षसम्म विशेष तालिमको जरुरत पर्छ ।

बुटिकमा बन्ने पहिरनको गुणस्तर अनि फिनिसिङ विशेष खालको हुने भएकाले सीटीईभीटीबाट आएका जनशक्तिले राम्रो काम गर्न नसकेको उनी बताउँछिन् ।

निभाले चल्तीका फेसनेबल कपडादेखि सामान्य कपडा पनि बिक्री गर्ने गरेको छ । रेडिमेडलाई पनि प्राथमिकतामा राखेको निभाले ग्राहकको चाहनाअनुसारको डिजाइनर ड्रेसहरू बनाउने गरेको छ ।

बुटिक, डिजाइनरको कलालाई ड्रेसमार्फत देखाइने भएकाले बुटिकमा बनेका कपडा कलात्मक र आकर्षक हुन्छन् । त्यसैले पनि बुटिक क्रेज बढ्दो छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ