केन्द्रीय संस्करण

कालो हिमालको अधिक दोहन

person explore access_timeमाघ २०, २०७५ chat_bubble_outline0

मानवको प्रत्यक्ष  तथा अप्रत्यक्ष क्रियाकलापबाट उत्सर्जित हरितगृह ग्यासले गर्दा विश्वव्यापी जलवायु परिवर्तन भइरहको छ । यसैको असरको रूपमा रफ्तारमा  हिम गलन भइरहेको छ । विश्वव्यापी जलवायु परिवर्तनको कारकको रूपमा  रहेको हरितगृह ग्यास उत्सर्जनमा नेपालको अति न्यून भूमिका भए  पनि पर्वतीय भू–परिधि कमजोर भएकाले जलवायु परिवर्तनप्रति अति नै संवेदनशील हुन्छ र जलवायु परिवर्तनको असर छिटो पर्न गई पर्वतीय पर्यावरणको विनाश तथा क्षयीकरण हुन जान्छ । 

हिमालको शिरबाट बग्ने स्वच्छ पानीले विश्वको करिब ४० प्रतिशत कृषि उत्पादन, २० प्रतिशत विद्युत उत्पादन र १२ प्रतिशत माछा उत्पादनमा टेवा पुर्याएको छ । विश्वको करिब १२ प्रतिशत जनसङ्ख्या पर्वतीय शृङ्खलामा बसोबास गर्छन् । 

नेपाल जैविक विविधता, सांस्कृतिक विविधता, हावापानी, भूधरातलीय हिसाबले एक अनुपम तथा सुन्दर हिमाली राष्ट्र हो । नेपालमा विश्वको सर्वोच्चो शिखर सगरमाथासहित आठवटा अग्ला हिम शिखरहरू छन् । नेपालमा समुन्द्र सतहबाट ३००० मिटर उचाइभन्दा माथिका सयांै हिम शृङ्खलाहरू छन् । हाम्रा हिमालहरू जैविक तथा सांस्कृतिक विविधताले धनी छन् । 

विश्वव्यापी जलवायु पविर्तनले द्रुत गतिमा हिम गलन तथा न्यँन हिमपातले हिमालहरू काला हुँदै गइरहेका छन् । जलवायु परिवर्तनको असर सँगै हिमालको अधिक दोहनले हिमाल, हिमाली जैविक विविधता र हिमाली जनताको अस्तित्व र  जीविकोपार्जनमा ठूलो चुनौती थपिएको छ । जलवायु परिवर्तनको कारणले हिउँदमा हुने लामो खडेरी तथा हिम गलनले हिउँदमा सेताम्मे हुने हिमालहरू हेर्दै उराँठ लाग्ने काला पहाडमा रूपान्तरण भएका छन् । हिमालमा हिउँ नहुनाले हिमालमा जडीबुटी, खनिजको दोहन बढ्नुका साथै वातावरण प्रदँषण र सङ्कटापन्न वन्यजन्तुको चोरीसिकारी बढेको छ । यो लेख जाजरकोट, दैलेख, कालिकोट र जुम्लाको सिमानामा रहेको कुशेमुसे हिमालमा भएको दोहनलाई आधार मानी समग्र नेपाल हिमालयमा भएको प्राकृतिक स्रोतको दोहनको विषयमा केन्द्रित हुनेछ । 

कुशेमुसे हिमालको अधिकतम उचाइ ४५०० मिटर हो । कुशेमुसुे हिमालको उत्तर–पश्चिममा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका, दक्षिणमा जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका, पूर्वमा  जाजरकोटकै बारेकोट गाउँपालिका र कुशे गाउँपालिका  पर्छन् । कुशेमुसे हिमाल यार्सागुम्बा, सतुवा, जटामसी, गुच्ची च्याउ, विष, कुट्की, फरण, मौरामुलो,पदमचाल, लौठ सल्ला, भोजपत्र, देवदार, ओखर, धुपी, लालिगुरास, चिमालो, निगालो, रातो पन्यु च्याउ, झ्याउ, सिलाजित, खिरौलो, पाखणवेद, भाङ्, पाचऔले,भ्याकुर,  भुत्ले, निरमसी, सुनमासी लगायतको दजनौँ बहुमँल्य गैरकाष्ठ वन पैदावार, खनिज (काइनाइट, टर्मालिन), स्वच्छ पानीको स्रोत र हिन्दु धर्मको आस्थाको केन्द्र हो । कुशेमुसे हिमाल विश्व तथा नेपालमा सङ्कटापन्न वन्यजन्तु रेडपण्डा, कस्तुरी मृग, हिउँ चितुवा, नेपालमा सङ्कटापन्न र विश्वमा संवेदनशील हिमाली कालो भालु, नेपालमा संरक्षित डाँफे, मुनाल र अन्य वन्यजन्तु झारल, थार, घोरल, रतुवा, लङ्गुर बाँदर, बाँदर, लगायतका वन्यजन्तु बासस्थान हो  ।

  कुशेमुसे हिमालको दोहनको अवस्था र कारण 

विगत केही वर्षदेखि कुशेमुसे हिमाल तथा यसको आसपासको क्षेत्रमा यार्सागुम्बा, सतुवा, जटामसी, गुच्ची च्याउ, बन लसुन, कुट्की, पदमचाल, मौरामँलो, खिरौलो, विष, रातो पन्यु च्याउ, झ्याउ, सिलाजित, पाखणवेद, भाङ, पाँचऔँले, भुत्ले, निरमसी, सुनमासी लगायतको बहुमूल्य तथा लापोन्मुख जडीबुटीको अवैधानिक तथा अवैज्ञानिक तवरले सङ्कलन र चोरी निकासीले लोप हुने अवस्थामा पुगेका छन् । अर्काेतिर बहुमूल्य खनिजको अधिक दोहन र हिन्दु धर्मको आस्थाको केन्द्रलाई प्रदूषित गरिँदै छ । सङ्कलकहरूलाई जडीबुटी सङ्कलनसम्बन्धी उचित ज्ञान तथा प्रविधिको अभाव, थारै ज्ञान भए पनि उपयोग नगर्दा जडीबुटीको पुनरुत्थान, पुनरुउत्पादन, माथिल्लो क्षेत्रमा भूक्षय, पानीको स्रोतमा प्रदूषण, तल्लो क्षेत्रमा बाढी तथा सिमसारहरू बलुवाले भरिने खतरा बढेको छ । मिचाहा प्रजातिहरू ( टिकुली फूल, लालकेतु, रोदडो) लगायतको प्रकोपले रैथाने जडीबुटीको बासस्थान खतरामा परेको छ । लापरवाही र जानीजानी पाटन र जङ्गलमा डढेलो लगाउँदा जडीबुटी र वन्यजन्तुको बासस्थान सखाप भइरहेको छ ।

 वसन्त तथा वर्षायाममा वस्तुभाउको अधिक चरिचरण र गोठ निर्माणले चरण तथा वन क्षेत्रको विनाश गर्नाले  बहुमुल्य जडीबुटीहरूको वृद्धि विकास र विश्व तथा नेपालमा सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा, कस्तुरी मृग, नेपालमा सङ्कटापन्न र विश्वमा संवेदनशील हिमाली कालो भालु, नेपालमा संरक्षित डाफे, मुनाल र अन्य वन्यजन्तु झारल, थार, घोरल, रतुवा, लङ्गुर बाँदर, बाँदरलगायतका वन्यजन्तुको बासस्थान विनाश र क्षयीकरण भएको छ । केहीले गोठालोको नाममा लोपोन्मुख तथा संरक्षित वन्यजन्तुको चोरी सिकारी तथा चोरी निकासी गरिहेका छन् । सिकारीले पासो थापेर, पानी तथा खानामा विष हालेर, बन्दुकको प्रयोग गरेर अवैध चोरी सिकार र अखेटोपहारको अवैध व्यापार तथा चोरी निकासी गरिरहेका छन् ।  विश्व तथा नेपालमा सङ्कटापन्न वन्यजन्तु हिउँ चितुवा र नेपालमा अतिसङ्कटापन्न ब्वाँसोलगायतको मांसाहारीहरूको आहारा प्रजातिको बासस्थानको विनाश र चोरी सिकारीले मानव वन्यजन्तुको द्वन्द्व बढेको छ । विशेष गरी मानव हिउँ चितुवा र मानव ब्वाँसोको द्वन्द्वले हिउँ चितुवा र ब्वाँसोको संरक्षणमा चुनौती थपेको छ । 

सधैँजसो दशैँतिहार मनाएपछि रोजगारीका लागि छिमेकी राष्ट्र भारत जाने मानिस आजभोलि कुशेमुसे हिमालतिर जडीबुटी सङ्कलन गर्न उक्लन थालेका छन् । हिमालमा हिउँ नभएपछि त्यति जाडो छैन । जडीबुटी सङ्कलन गर्न सजिलो भएको छ । जडीबुटी सङ्कलकहरू २, ३ महिना पाटनमा पाल टाँगेर बस्ने भएकाले खाना पकाउन, शरीरलाई न्यानो राख्न, पाल टाँग्न र खिरौलो पकाउन देवदार, भोजपत्र, धूपी, गोब्रेसल्ला, हिमाली गुराँस (चिमालो)को वन विनाश भएको छ । 

अहिले कुशमुसेमा खिरालौ (लिलिअम नेपालेन्स ) को  अधिक, अवैज्ञानिक, अवैधानिक र परिपक्व नभई सङ्कलन  तथा गैरकानुनी रूपमा निकासी हुँदा खिरौलो लोप हुने खतराको छ । साथै त्यहाँको पर्यावरणमा नकारात्मक असर परेको छ ।   कुशेमुसे हिमालको पूर्वतिर रहेको बारेकोट गाउँ पालिकाको, बारेलेक, मुसे, कोटे, च्याखुरे, देउराली पाटन, दियाबाल्न, कालीमुरी, ठाकुरजी र कराइचुला, पूर्वतिरकै कुशे गाउँपालिको रातापाटन, सरुकादँ, ब्युलिढुङ्गा, चाल्ने चौर, कुशे पाटन, भीमपोस्तक दक्षिणतिरको जुनीचाँदे गाउँपालिकाको टुसा, धनराशी, बाघफाल, धुपी चौर, एकडोरे, ज्वालछरी र छेप्का खोला उत्तर–पश्चिमतिरको तातोपानी गाउँपालिको गाग्रे एरी ओडार, करसिला, चाल्न, इमिल्चा, धर्मशाला, माटीभिट्टा, धुवानेलगायतको स्थानमा खिरालो सङ्कलन भइरहेको छ ।  खिरौलोलाई नेपाली जनजिब्रोमा सेतो चिनी, हाड्या भनिए पनि यसको वैज्ञानिक नाम लिलिअम नेपालेन्स हो । यो लिलियसी परिवारको बहुवर्षे पोथ्रा वर्गको बिरुवा हो । यसको उचाइ करिब १ मिटर हुन्छ । समुन्द्र सतहबाट खिरौलो करिब १९५०–३५०० मिटरको उचाइमा उच्च पहाडी तथा हिमाली जिल्लामा पाइन्छ । मकवानपुरमा खिरालौ नेवार, तामाङ र बनकरिया जातिले सागपातको रूपमा प्रयोग गर्छन् (जोशी र सिवाकोटी, सन् २०१२) । खिरौलोको गानाको  धुलो, पेस्ट र जुस बनाएर सेवन गर्दा झाडापखाला, महिलामा हुने महिनावारीको समस्या, खोकी, ज्वरो र कमजोरीपनाको निदान  हुन्छ (रोकाय, सन् २०१०) ।  

कुशेमुसे हिमालमा खिरौलो सङ्कलन गर्न जुम्ला, कालिकोट, दैलेख, जाजरकोट जिल्लाका विभिन्न भूभागबाट कुशेमुसे हिमालको पाटन तथा आसपासका सामुदायिक र राष्ट्रिय वनमा १–२ महिनासम्म पाल टाँगेर  बास बस्छन । खिरौलोको गानो सङ्कलन गर्न ठूलोठूलो कोेदालोले खाडल खन्दा खिरौलो सँगैको वनस्पतीको वृद्धि तथा विकासमा गम्भीर असर पर्छ । खिरौलोको सङ्कलन गर्दा पुनरुत्पादनका लागि गानो ( राइजोम) को केही भाग छोडेर जमिनमै पुर्नुपर्ने हुन्छ । तर त्यसको ठीक विपरीत सङ्कलकहरूले पुनरुत्पादनका लागि न गानो छाडेका छन् न त खाल्डो पुरेका छन् । गोठालाहरूले खिरौलोको बीउ परिपक्व नहुँदै असारदेखि खिरौँलो सङ्कलन गर्न थालेका हुन् । खिरौलो सङ्कलन र निकासीको लागि न इजाजत लिएका छन् न त सङ्कलनको लागि वातावरण प्रभाव मूल्याङ्कन गरिएको छ । सरोकारवाला निकाय पनि मुकदर्शक बनेका छन् ।

जनसङ्ख्या वृद्धिसँगै मानिसका दैनिक आधारभूत आवश्यकता र आधुनिक सुविधाका लागि प्राकृतिक स्रोत साधनको अधिक दोहन हुन थाल्यो । मानिसका सबै प्रकारका आवश्यकता प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रकृतिबाट पूरा हुन्छन् । जडीबुटी, खनिज र वन्यजन्तुको अखेटोपहारको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा धेरै छ । त्यही बजारको माग पूरा गर्न स्थानीय ब्यापारी, नेता, कमचारी, स्थानीय जनप्रतिनिधि र स्थानीय टाठाबाठको मिलेमतोमा बहुमूल्य जडीबुटी, खनिज र सङ्कटापन्न वन्यजन्तुको अखेटोपहारको चोरी निकासी हुन्छ । यस्ता बस्तुको मूल्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा धेरै छ । 

माछा मार्नका लागि नदी, पोखरी, तालमा विषको प्रयोग र करेन्ट लगाउँदा ठूलो मात्रामा माछा मर्नुको साथै माछाको प्रजनन क्षमता घट्छ । विष प्रयोग गरी मारेको माछाको सेवनले मानव स्वास्थ्यमा गम्ीभर असर पार्दछ । माछा मार्नको लागि विषको प्रयोगले गर्दा पानीको स्रोत प्रदूषित भई जल पर्यावरणको विनाश, पानी अन्य जीवजन्तु र मानवको हितमा प्रयोग गर्न नहुने हुन्छ । 

दु्रत गतिमा हाइब्रिड जतिको विस्तार, किटनाशक औषधी र रासायनिक मलको उचित तरिकाले प्रयोग नगर्दा कृषि पर्यावरणको ह्रास भइरहेको छ । कागुनो, नले धान, सानो मकै, ठूलो मकै, माटे लगायतको कृषि बालीको गाउँघरमा खेती गर्न छाडिएको छ । 

कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, सरकारी निकायहरू बीचमा समन्वयको कमी, स्थानीय, जिल्ला र केन्द्रीय तहमा जैविक विविधता संरक्षणका लागि एकीकृत योजनाको अभाव कुशेमुसे हिमालको मात्र नभई समग्र नेपाल हिमालयको जैविक विविधताको मूख्य अप्रत्यक्ष खतरा हुन् । 

कुशेमुसे हिमालको आसपासमा जनताको जीविकोपार्जन दयनीय छ । यही दयनीय स्थितिको फाइदा उठाउँदै तस्करले कुनै न कुनै रूपमा गरिब  जनतालाई अवैधानिक जडीबुटी सङ्कलन र खनिजको उत्खननमा प्रयोग गर्छन् । जनताको आयआर्जनका लागि जडीबुटी सङ्कलन, खनिजको उत्खनन एउटा राम्रो अवसर भइदिन्छ । जडीबुटी सङ्कलन र खनिज उत्खननबाट भएको आयआर्जन परिवारको दैनिक आवश्यकता पूरा गर्न, परिवारको औषधोपचार र बालबालिकाको पढाइमा खर्च गर्छन् । 

जडीबुटीको दिगोपनालाई कायम राख्दै सदुपयोग गर्दै जानु आजको आवश्यता हो तर वातावरणीय विनाश र जडीबुटीको पुनरुत्पादनलाई असर पर्ने गरी सङ्कलन गर्दा जडीबुटी लोप हुनुका साथै स्थानीय जनताको आयआर्जनको स्रोत गुम्ने मात्र होइन भूक्षय, बाढी, पहिरो र महामारीजन्य रोगले ठूलो धनजनको क्षति हुन्छ । 

 वातावरणीय प्रभाव मूल्याङ्कन नगरी  खानी उत्खनन गर्दा स्थानीय पर्यावरणको ह्रास र सांस्कृतिक विकृति फैलिएको छ । गैरकाष्ठ वन पैदावार (काठबाहेका अन्य जैविक उत्पत्ति) मा आधारित उद्यमशीलता, ब्यापार र स्थानीय स्तरमा गैरकाष्ठ वन पैदावारको मूल्य अभिवृद्धिको पाटोलाई उजागर, विस्तार, विकास गर्नुको साटो गैरकाष्ठ वन पैदावारलाई क्षणिक लाभका रूपमा लिदाँ  गैरकाष्ठ वन पैदावारको अधिक दोहन हुन गई तिनीहरू लोप हुने खतरा छ । गैरकाष्ठ वन पैदावारको सङ्कलन, ब्यापार, उद्यमशीलता  र निकासीमा भएको अप्ठेरो र झन्झटिलो सरकारी प्रक्रियायाले गैरकाष्ठ वन पैदावारको अधिक दोहनलाई थप ऊर्जा थपेको छ । जडीबुटी सङ्कलक, ब्यापारी र उद्यमीलाई बजारको राम्रो ज्ञान नहुँदा गरेको परिश्रम र लगानी खेर जाने जोखिम हुन्छ । यस्ता जोखिमले पनि अप्रत्क्ष रूपमा गैरकाष्ठ वन पैदावारको दोहनलाई सघाउ पु¥याउँछ । 

 प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय जनसमुदायको अर्थपूर्ण सहभागिता, तिनीहरूको क्षमताको पहिचान तथा अभिवृद्धि र सशक्तीकरण नीतिगत रूपमा व्यवस्था भए पनि कार्यान्वयन एकदम दयनीय छ । गैरकाष्ठ वन पैदावारको अवैज्ञानिक राजस्वले गैरकाष्ठ वन पैदावारमा आधारित व्यापार र उद्यमशीलतालाई निरुत्साहित गरेको छ ।

हिमालको दोहनको औषधी, समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन र उद्यमीशलता

स्थानीय जनताको क्षमताको राम्रोसँग पहिचान तथा अभिवृद्धि, स्रोत व्यवस्थापनमा अर्थपूर्ण सहभागिता, स्रोतबाट प्राप्त लाभको समतामूलक वितरण र जनताको जीविकोपार्जनलाई केन्द्रमा राखी प्राकृतिक स्रोतको व्यवस्थापन गर्नु आजको अपरिहार्य आवश्यकता हो । गरिब मानिसले जनचेतनाको कमीको कारणले प्राकृतिक स्रोतको दोहन गर्छन् भन्ने धेरैलाई भ्रम छ । यी महत्त्वपूर्ण प्राकृतिक स्रोत भावी पुस्तालाई चाहिन्छ भन्ने के उनीहरूलाई थाहा छैन ? अवश्य पनि थाहा छ । गरिब जनताले दैनिक आवश्यकता परिपूर्ति गर्न कसैको घर फोर्दै हिँड्नु पनि भएन । अब जाने कहाँ त्यही प्रकृति । यी गरिब जनसमुदायको दैनिक आवश्यकता परिपूर्ति गर्दै जनसमुदायको नेतृत्वमा  प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्नु हाम्रो प्रमुख दायित्व हो । समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनमा समुदायको गरिबीलाई न्यूनीकरण गर्न समुदायको वरिपरि उपलब्ध साधन स्रोतको समुचित प्रयोग गर्दै उद्यमशीलताको विकास र विस्तारमा जोड दिनु आवश्यक छ । 

वैदेशिक रोजगारीले नेपाली समाजको उद्यमशिलता हराउँदै छ । प्राकृतिक स्रोतको संरक्षण, विकास र उद्यमशीलताको विकास गर्दै देशलाई औद्योगीकरणको दिशामा लिनुपर्छ । 

मानिस समुदायमा आधारित संस्थाले प्राकृतिक स्रोत व्यवस्थापन गर्न सक्छ भन्नेमा शङ्का गर्छन् । किन नसक्नु सामुदायिक वनको सफलता समुदायमा आधारित संस्थाको सफलताका रूपमा लिन सकिन्छ । समुदायमा आधारित संस्थाहरू कमजोर र असफल भएका पनि छन् । यसरी सामुदायिक संस्था कमजोर र असफल हुनुमा संस्थामा हुने भ्रष्टाचार र संस्थाको आधुनिक प्राविधिक क्षमताको कमी हो । सामुदायिक संस्थामा हुने भ्रष्टाचारको प्रमुख स्रोत संस्थामा हुने राजनीतिक हस्तक्षेप हो । सहकारी, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय व्यवस्थापन समिति, खानेपानी उपभोक्ता समूह लगायतका समुदायमा आधारित संस्था गठन गर्दा राजनीतिक दलका कार्यकर्ता भर्ती गरिन्छ । संस्थाको मुख्य जिम्मेवारीमा पुग्ने तिनै राजनीतिक दलका कार्यकर्ता हुन् । तिनको काम भनेको भविष्यमा गर्ने माथिल्लो तहको राजनीतिका लागि पैसा कमाउने हो । राजनीतिक दलको मिली भगतमा सामुदायिक संस्थालाई भ्रष्टाचारको अखडा बनाइन्छ । आफ्नो पार्टीको कार्यकर्ताले गरेको भ्रष्टाचारलाई शुभचिन्तकहरूले चोख्याइ दिन्छन् । राजनीतिक दलले विचारको निर्माण, त्यसको बहस र कार्यान्वयनलाई छोडेर सामुदायिक संस्था, विश्वविद्यालयलगायतका अन्य प्राज्ञिक संस्थाहरूमा भ्रष्टहरू निर्माण गर्दै छन् । 

 सामुदायिक संस्थाको आधुनिक प्राविधिक क्षमता अभिवृद्धि गर्ने कुरा छ । यसमा सामुदायिक संस्थाको प्राविधिक क्षमता दुई तरिकाले अभिवृद्धि गर्न सकिन्छ । पहिलो, सामुदायिक संस्था गठन गर्दा सकेसम्म गाउँ घरमा उपलब्ध प्राविधिक जनशक्तिलाई संस्थाको निर्णायक स्थानमा पुर्याउने । दोस्रो, सरकारका सम्बन्धित निकायहरू वन तथा भू–संरक्षण विभाग, वनष्पती विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्वविद्यालय र अन्य अनुसन्धानमा क्रियाशील निकायहरूले प्राकृतिक स्रोत व्यवस्थापन गर्न समुदायमा रहेको परम्परागत ज्ञान, सीप, प्रविधिसँग आधुनिक विज्ञानले अन्वेषण गरेको आधुनिक प्रविधिको फ्युजन गरी सामुदायिक संस्थाको क्षमता अभिवृद्धि गर्न सकिन्छ । 

प्राकृतिक स्रोत व्यवस्थापनको नेतृत्व सरकारले होइन स्थानीय जनसमुदायले गर्ने हो । सरकारले प्राविधिक, कानुनी र खाँचो परेको बेला आर्थिक सहयोग गर्ने हो । समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनले प्राकृतिक स्रोतको संरक्षणमा रहेका यावत समस्याहरूको एकमुष्ट हल गर्छ । जसरी किसानले आफ्नो खेतको हेरचाह गर्छ त्यसरी स्थानीय समुदायले प्राकृतिक स्रोतको हेरचाह गर्न सक्छ । वनलाई जनसमुदायको दोस्रो खेतकै रूपमा हेर्नुपर्छ । प्राकृतिक स्रोतको मालिक जनता नै हुनु पर्छ । 

नेपालमा प्राकृतिक स्रोतको विषयमा दुईथरी विचार छन् । एकथरी प्राकृतिक स्रोतको संरक्षणलाई मात्र जोड दिन्छन् भने अर्को थरीले अधिक दोहनलाई मात्र जोड दिन्छन् । यी दुइटै विचार प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका दुस्मन हुन् । प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र आर्थिक विकासका लागि प्राकृतिक स्रोतको  संरक्षण, विकास र सदुपयोगको पाटोलाई जोड दिनुपर्छ । ‘सामुदायिक वन गरिबको धन’ भन्ने गरिन्छ  तर भने जसरी सामुदायिक वनले गरिबी न्यूनीकरणमा ठूलो योगदान पुर्याएको छैन । यसको पछाडिको कारक तत्व भनेको हामीले उद्यमशीलताको विकास गरेका छैनौँ । यसरी हामीले न त प्राकृतिक स्रोतको संरक्षण गर्न सक्छौँ न त सुखी नेपाली, समृद्ध नेपालको सपना पूरा गर्न सक्छौँ । 

समग्रमा नेपाल हिमालयको प्राकृतिक स्रोतको दोहनको अवस्था एउटै हो । कतै गिट्टी–बालुवाको दोहन भएको छ त कतै खनिज त कतै जडीबुटी र वन्यजन्तुको अवैध चोरी निकासी । औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको हरितगृह ग्यासले गर्दा भएको विश्वव्यापी जलवायु परिवर्तन  र हामी आफैले प्राकृतिक स्रोतको संरक्षण, विकास र सदुपयोग नगर्दा नेपाल हिमालयमा प्रकृतिक स्रोतको विनाश र क्षयीकरण भइरहेको छ । 

समुदायमा आधारित प्राकृतिक स्रोतको व्यवस्थापनमा जोड, कच्चा रूपमा हुने प्राकृतिक स्रोतको विदेशी निकासीलाई निरुत्साहित गरी नेपालमा उद्यमशीलता र औद्योगीकरणको विकास गरी अन्तिम रूपमा वस्तुको निर्यात र व्यापारमा गर्दा सुखी नेपाली  र समृद्ध नेपालको लक्ष्य हासिल हुनेछ । यसका लागि समुदाय, सरकारी र निजी क्षेत्रको सक्रिय सहभागिताको खाँचो छ । 

तस्बिर– जयबहादुर शाही

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...