बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनको औचित्य

आइतबार, २० माघ २०७५, १२ : ५०
आइतबार, २० माघ २०७५

देशको आमूल परिवर्तनका लागि हरेक पक्षबाट विद्यार्थी आन्दोलनले खेलेको भूमिका अतुलनीय छ । विद्यार्थी आन्दोलनले  देशको सामाजिक,  सास्कृतिक,  राजनीतिक,  आर्थिक तथा शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

विद्यार्थी मोर्चाहरू सङ्गठित नहुँदैबाट देशमा सानादेखि ठूला परिवर्तनका आन्दोलनमा विद्यार्थीहरू सधैँ अग्रपङ्क्तिमा  रही परिवर्तनका नारा घन्काए । कतिपय समयमा राजनीतिक पार्टीले खेल्न नसकेको भूमिका वा जनताको राजनीतिक भावनाको सही ढङ्गले प्रतिनिधित्व गर्न नसक्दाको अवस्थामा  विद्यार्थी आन्दोलनले त्यो भूमिका खेलेको इतिहास छ ।

२००४ पछि गठन भएको जयतु सस्कृतम,  २००७ पछि गठन भएका छात्र सङ्घ,  २०२२ पछि गठन गरिएको अखिल नेपाल सम्मेलनपछि गएर अनेरास्ववियुलगायतका विद्यार्थी सङ्गठनहरूले शैक्षिक मुद्दासहित देशको राजनीतिक,  सांस्कृतिक तथा आर्थिक परिवर्तनका एजेन्डालाई स्वस्फूर्त रूपमा अघि बढाए । क्रूर राणा शासनको अन्त्य,  बहुदल प्राप्ति,  सामन्ती पञ्चायती व्यवस्थाको अन्त्यसँगसँगै सामन्ती शाही शासनको अन्त्यसहितको समावेशी,  समानुपातिक,  धर्म निरपेक्ष लोकतान्त्रिक गणतान्त्रिक सङ्घीय राज्यको प्राप्तिका खातिर विद्यार्थी मोर्चाहरूले सङ्गठित हुँदै बलिदानी सहितको क्रान्ति गरे । 
नेपालको विद्यार्थी आन्दोलन :

नेपालको सन्दर्भमा विद्यार्थी आन्दोलनको चरित्र मुख्य राजनीतिक र सहायक शैक्षिक बन्दै आएको पाइन्छ । नेपालको विद्यार्थी आन्दोलनका उपलब्धिलाई केलाएर हेर्ने हो भने २००४ असार १ गते जयतु सस्कृतम् नामक विद्यार्थी सङ्गठन नै नेपालको आधिकारिक विद्यार्थी सङ्गठन मानिन्छ ।  यस सङ्गठनले शैक्षिक मुद्दाहरूको वकालत गरे पनि भित्री आसय भने राणा शासनको अन्त्यका निम्ति सङ्गठित मोर्चा बनाउनु थियो । 
१९९० माघ १५ गते त्रिचन्द्रमा अध्ययनरत विद्यार्थी नेता गङ्गालाल श्रेष्ठलाई राणाहरूले विष्णुमतीको बगरमा गोली हानेपछि राणा शासनविरुद्धमा विद्यार्थी आन्दोलन अझ सशक्त रूपमा अघि बढेको हो । विद्यार्थी नेता गङ्गलाल श्रेष्ठ प्रथम विद्यार्थी सहिद मानिन्छन् । 

२००७ मा प्रजातन्त्र प्राप्तिपछि विभिन्न छात्र सङ्घ,  विद्यार्थी फेडेरेसनहरू खुल्न थाले,  २०१७ मा राजा महेन्द्रले कु गरेपछि पुनः पञ्चायती व्यवस्था लागू भयो र विद्यार्थी सङ्गठनहरू अझ सशक्त ढङ्गले प्रस्तुत हुन थाले । २०२२ जेठमा ‘अखिल नेपाल सम्मेलन’ नामको नयाँ सङ्गठन स्थापना भयो । यही सङ्गठन अहिलेको अनेरास्ववियु,  अखिल क्रान्तिकारी,  नेविसङ्घ,  अखिल छैठौँ आदि सङ्गठनको बिजारोपण हो । २०४५ साल चैत १० गतेबाट भारतले जब पहिलो पटक नाकाबन्दी घोषणा गर्याे तब विद्यार्थी आन्दोलन अझै सशक्त भयो । भारतीय नाकाबन्दीविरुद्ध र व्यापार र पारवहन सन्धि छुट्टाछुट्टै हुनुपर्ने भन्दै विद्यार्थीहरूले भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्रीलाई विरोधपत्र बुझाए । २०४६ साल माघमा पञ्चायती व्यवस्थाका विरुद्ध जनआन्दोलन सुरु भयो । जनआन्दोलनमा सम्पूर्ण विद्यार्थीहरू सहभागी भएका थिए । २०४६ चैत २४ गते विद्यार्थीले नेपाल बन्दको घोषणा गरे र आन्दोलनको जुलुसलाई राजदरबारतिर लगियो । विद्यार्थीले दरबारमार्गमा रहेको महेन्द्रको सालिक फोर्न थालेपछि शाही सेनाले गोली बर्साउन थाल्यो । धेरै विद्यार्थीले सहादत प्राप्त गरे तर सालिक फोर्ने अभियान रोकिएन । आन्दोलन उत्कर्समा पुगेपछि कफ्र्यु लगाइएको थियो,  काङ्ग्रेस,  बाममोर्चाका नेताहरूबीच राजाले सम्झौता गरे र कथित बहुदलीय व्यवस्था प्राप्त भयो । 

२०५२ फागुन १ बाट जनयुद्ध सुरुवातको घोषणा भयो । विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले जनयुद्धलाई समर्थन गर्याे र सहयोग गर्ने निर्णय गर्याे । विद्यार्थी बलिदानीको सिलसिला कायम नै रह्यो । जनयुद्धका प्रथम सहिद बन्न पुगे ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेल । जनयुद्धकै क्रममा २०५८ मङ्सिर ११ बाट सेरबहदुर देउवा सरकारले सेना परिचालन गर्याे र जनवर्गीय सङ्गठनहरूमाथि प्रतिबन्ध लगायो । यो प्रतिबन्धले बहुदलीय व्यवस्थामा रहेको कथित सरकारले आफूलाई पञ्चायतको असली उत्तराधिकारी भएको स्पष्ट पार्याे । २०६१ माघ १९ मा ज्ञानेन्द्र शाहले सम्पूर्ण मन्त्री मण्डल हातमा लिएपछि देशमा ठूलै हलचल मच्चियो  । सात राजनीतिक पार्टी र माओवादीबीच १२ बुँदे सहमति भयो र दोस्रो जनआन्दोलनको घोषणा गरियो । दोस्रो जन आन्दोलनमा सम्पूर्ण विद्यार्थी सङ्गठनहरूले समर्थन जनाए र आन्दोलनको अग्र पङ्क्तिमा नै रहे र आन्दोलनलाई सहयोग गरे । आन्दोलनको फलस्वरूप राजसंस्थाको अन्त्य भयो । देशलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक धर्म निरपेक्ष समावेशी समानुपातिक राज्य बनाउनको बिजारोपण बन्यो । यस्तो परिवर्तनकारी आन्दोलनमा विद्यार्थी सङ्गठनले बिनाहिच्किचाहट समर्थन र भौतिक रूपले नै सहयोग गरे । आन्दोलन सफल बन्यो देशको संरमचना परिवर्तन भयो । राजाको २३७ वर्षीय शाही शासन ढल्यो । देशमा जनताद्वारा लेखिएको संविधान प्राप्त भयो । देश सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक धर्म निरपेक्ष राज्यमा परिणत भयो ।

विद्यार्थी आन्दोलनमा त्रि–चन्द्र क्याम्पसको भूमिका 
नेपालीको विद्यार्थी आन्दोलनको बारेमा व्याख्या गर्दैगर्दा त्रिचन्द्र क्याम्पसको विद्यार्थी आन्दोलनमा सहभागिता,  सक्रियता र बलिदानीबिना अपुरो रहन जान्छ । विद्यार्थी आन्दोलनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने नाम हो त्रि–चन्द्र क्याम्पस । त्रि–चन्द्र क्याम्पस विद्यार्थी राजनीतिको मुटु नै भन्ने गरिन्छ । विद्यार्थी राजनीति हेर्दा शैक्षिक मुद्दामा केन्द्रीकृत देखिने तर अन्तरवस्तु भने देशको राजनीतिक अवस्थामा मूल रूपमा केन्द्रित रहेको पाइन्छ । यसमा त्रिचन्द्र क्याम्पसको विद्यार्थी राजनीति पनि अछुतो रहन सकेन । 
त्रि–चन्द्र क्याम्पस खोलेपछि उद्घाटन समारोहमा चन्द्र शमशेरले त्रिचन्द्र क्याम्पस खोलिनुले आफ्नो खुट्टामा आफै बन्चरो हानेको बताएका थिए । देशका प्रमुखदेखि सहायक राजनीतिक क्रान्तिमा त्रिचन्द्रले बलिदानी दिएको छ । राणा शासन फाल्ने आन्दोलनका क्रममा त्रिचन्द्रमा बीएसी अध्ययनरत विद्यार्थी नेता गङ्गालाल श्रेष्ठ राणा द्वारा गोली हानी मारिए । गङ्गालाल श्रेष्ठ प्रथम विद्यार्थी सहिद मानिन्छन् । राणा शासनविरोधी आन्दोलन गर्दैगर्दा देशले प्रथम सहिद प्राप्त गर्यो र  त्रिचन्द्र क्याम्पसको बलिदानीको सुरुवात भयो । राणाविरोधी आन्दोलनको प्रमुख माध्यम बन्यो त्रिचन्द्र क्याम्पस । विद्यार्थी आन्दोलन र अन्य सङ्गठन र अन्य पार्टीहरूको चर्काे विरोध,  आन्दोलनको फल स्वरूप २००७ फाल्गुन ७ मा प्रजातन्त्र प्राप्ति भयो ।

प्रजातन्त्र प्राप्तिपछि पनि देशको राजनीतिक अवस्था स्थिर रहेन । विभिन्न परिवर्तनको आवश्यकतासहित परिवर्तनका आन्दोलनहरू भइ नै राखे । हरेक परिवर्तनमा विद्यार्थी मोर्चा सदैव अग्रपङ्क्तिमा रह्यो । धेरैजसो आन्दोलनको थलो बन्यो त्रिचन्द्र क्याम्पस र त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेताहरू धेरै आन्दोलनकारी बने ।  २०२१ साल वैशाख २१ गते त्रिचन्द्र क्याम्पसको विद्यार्थी युनियनको सक्रियता र व्यवस्थापनमा भएको उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो र जेठ १ गते विद्यार्थीहरूले विशाल जुलुस प्रदर्शन गरे । जुलुसमाथी पञ्चायती सत्ताले दमन गर्याे । भिडन्तमा १५० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार भए र उपत्यकाव्यापी आमहडताल सुरु भयो । फलस्वरूप स्ववियु खोल्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थीहरूको रिहाइसहित अन्य मागहरू पूरा भए ।
पञ्चायती सत्ताको दमन बढ्दै थियो । आन्तरिक रूपमा आन्दोलनहरू चर्किंदै थिए । त्यसैमा भारतले २०४५ चैत १० बाट प्रथम पटक नाकाबन्दीको घोषणा गर्याे । देशमा पेट्रोलियम पदार्थदेखि लिएर खाद्य वस्तु र औषधिको चर्काे अभाव हुन थाल्यो । विद्यार्थीहरूले भारतीय दूतावासमार्फत विरोधपत्र बुझाए । नाकाबन्दी र पञ्चायती सत्ताविरुद्ध चैत २१ बाट विशाल प्रदर्शन गरे । प्रदर्शनपछि त्रिचन्द्र क्याम्पसमा आमसभाको आयोजना गरियो । सभामा प्रहरीले हस्ताक्षप गर्याे । अश्रुग्यास हान्यो । लाठीचार्ज गर्याे । ५ सयभन्दा बढी नेताकार्यकर्ता र विद्यार्थी गिरफ्तार भए । व्यापक भिडन्तपछि पञ्चायती सत्ताले राजधानीमा सभाजुलुसमाथि प्रतिबन्ध लगायो र २ महिनाका लागि क्याम्पसहरू बन्द गरायो । आन्दोलन रोकिएन । २०४३ माघबाट पञ्चायती सत्ताबिरुद्ध जनआन्दोलन सुरु भयो । 
नेपाली काँग्रेस, बाममोर्चा, विद्यार्थी, युवाको सक्रियता र बलिदानीमा जनआन्दोलन सफल भयो । 
२०५२ पछि माओवादीले जनयुद्धको घोषणा गर्याे । २०५८ मा राजा ज्ञानेन्द्रले मन्त्रीमण्डल आफ्नो हातमा लिएपछि आन्दोलन चर्कियो । सात पार्टी र माओवादीले युद्ध विश्राम गर्ने र संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरे । युद्ध विश्रामपछि २०६२–६३ मा जनआन्दोलन छेडियो । जनआन्दोलनमा त्रिचन्द्रका सम्पूर्ण विद्यार्थी सङ्गठनहरू स्वस्फूर्त रूपमा लागे । त्रिचन्द्र हुँदै दरबार मार्ग आन्दोलनको नारा घन्काउने थलो बन्यो । 
त्रिचन्द्रमा रहेका विद्यार्थी सङ्गठनहरू सबैले आन्दोलनको मोर्चा तताय । कोण सभादेखि, आमसभासम्मका गतिविधि त्रिचन्द्रमा हुन थाले । आन्दोलन सफल बन्यो, राजसंस्था फालियो । देशको व्यवस्था परिवर्तन भयो । मुलुक सङ्घीयतामा गयो । जनताद्वारा लेखिने संविधानका लागि संविधानसभाका निर्वाचन भए । अहिले नेपालमा जनताद्वारा लेखिएको संविधान, धर्म निरपेक्षसहित सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक राज्यमा परिणत भएको छ । 

त्रिचन्द्र क्याम्पसमा स्ववियु 
विद्यार्थी जीवनमा नै राजनीतिक नेतृत्वको अभ्यास गर्न पाउने भएकाले स्ववियुलाई मिनी सांसद मानिने गरिन्छ । स्ववियु निर्वाचनमार्फत बौद्धिक तथा क्षमतावान नेतृत्वको विकास एवम् उत्पादन हुने भएकाले स्ववियुलाई राजनीतिक नेतृत्वको ब्याडसमेत मानिने गरिन्छ । 
विद्यार्थीको शैक्षिक हक हित, क्याम्पसको विकास, प्रशासनको चुस्त कामकारवाहीका लगि प्रमुख मानिने स्ववियुको निर्वाचन त्रिचन्द्र क्याम्पसमा विगत १०  वर्षदेखि हुन सकेको छैन । त्रिचन्द्र क्याम्पसमा विगत दस वर्षदेखि विद्यार्थी राजनीति अस्तव्यस्त रहेको छ । 

२०२१ सालमा त्रिचन्द्र क्याम्पसबाटै थालिएको आन्दोलनको फलस्वरूप प्राप्त भएको स्ववियु खोल्न पाउने अधिकारले हाल त्रिचन्द्र क्याम्पसलाई गिज्याइरकेको छ । त्रिचन्द्र जस्तो राजनीतिक धरातल जोडिएको क्याम्पसमा स्ववियुको निर्वाचन नहुनुमा आफैमा लज्जाको विषय हो । आफू अनुकूल निर्वाचनको नतिजा नआउने र आफ्नै सङ्गठनभित्रको किचलोले निर्वाचन जबर्जस्ती रोक्ने, क्याम्पसमा तालबन्दी गर्ने जस्ता अराजक क्रियाकलापले त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेताहरूको भविष्य अन्योलमा पारेको छ । विद्यार्थी नेताको भविष्य अन्योलसहित क्याम्पसको प्रशासनमा देखिएको किचलो, क्याम्पसमा देखिएको भ्रष्टाचार, गुण्डागर्दीको प्रमुख तत्त्व हो स्ववियु निर्वाचन हुन नसक्नु । 

क्याम्पसमा देखिएका अराजक गतिविधि, वर्षाैंदेखि पुनर्निर्माणका लागि गुहारिरहेका साइन्सका ल्याब, पुस्तकबिनाका लाइब्रेरी साथै जीर्ण अवस्थाका भवनहरूले विद्यार्थी नेता र क्याम्पस प्रशासनलाई गिज्याइरहेका छन् । कुरिरहेका छन् स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन । 
२०६५ पछि त्रिविले गराउन नसकेको स्ववियुको निर्वाचन २०७० जेठ २३ गते हुने घोषणा भयो । तर फर्जी विद्यार्थी भर्नाका कारण निर्वाचन अन्योल भयो । पछि  २०७३ फागुन १८ मा स्ववियु निर्वाचनको मिति घोषणा भयो । धेरै क्याम्पसमा निर्वाचन सम्पन्न पनि भयो तर  त्रिचन्द्र क्याम्पसमा चुनाव हुन सकेन । नेविसङ्घको आन्तरिक किचलो निर्वाचन रोक्ने प्रमुख कारक बन्यो र उमेर हदबन्दीको निर्णय । चुनावको मनोनयन दर्ता हुनु अगाडि नेविसङ्घले क्याम्पसमा तालाबन्दी गर्याे । विद्यार्थी नेताहरूको भविष्य अझ दुई वर्ष पछाडि धकेलियो । क्याम्पसको अवस्था जस्तको तस्तै । अन्य त्रिविका केही आङ्गिक र समन्वय प्राप्त केही क्याम्पसहरू भने अखिल क्रान्तिकारीले एजेन्डा बनाएको उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीबाट नै स्ववियुको निर्वाचन हुन सफल भएको थियो ।

२०२० साल भाद्र २० मा प्रथम पटक त्रिवि विश्वविद्यालयमा स्ववियु निर्वाचन भएको थियो । त्यसपछि अन्य क्याम्पस, विद्यालयमा स्ववियुको निर्वाचन हुन थाले । त्रिचन्द्र क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन थाल्यो । २०३६ सालमा त्रिचन्द्रमा प्रथम पटक स्ववियु निर्वाचन भयो र नेविसङ्घले स्ववियु सभापति जित्यो । त्यसपछि २०३८, २०४० को स्ववियु निर्वाचनमा अखिलले जित हासिल गर्याे । त्यसयता २०६५ सम्मको निर्वाचनमा नेविसङ्घले नै त्रिचन्द्रको स्ववियु निर्वाचन जित्दै आएको छ । 
पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका नेता राजन भट्टराई आदि पनि त्रिचन्द्रकै विद्यार्थी आन्दोलन हुँदै पार्टीको आन्दोलनमा होमिएका नेताहरू हुनुहुन्छ । नेपाली काँग्रेसका एक प्रमुख नेता एवम् पूर्वमन्त्री गगन थापा २०५३ मा स्ववियु सचिव हुँदै  २०५५ मा स्ववियु सभापति भएका थिए । त्रिचन्द्र क्याम्पसले महान साहित्यिक सष्टाहरू जन्माएको छ । राष्ट्र कवि माधवप्रसाद घिमिरे, महान साहित्यकार बालकृष्ण सम लगायतका महान साहित्यकारहरूले त्रिचन्द्रबाटै शिक्षा प्राप्त गरेका थिए । यस्ता देशले उच्च सम्मान गर्ने व्याक्तित्वहरू जन्माउने थलो हो त्रिचन्द्र क्याम्पस, जो आजको दिनमा अस्तव्यस्त क्याम्पसको नाममा परिभाषित छ । त्रिचन्द्र क्याम्पस विज्ञान र प्रविधि, साहित्य र कलामा विद्यार्थीलाई पोख्त बनाउँदै नयाँ आविष्कारमुखी बनाउने देशकै प्रमुख थलो मानिन्छ । तर क्याम्पसको अस्तव्यस्तले विद्यार्थीको भविष्य अन्योलमा पर्न गएको छ । 

त्रिचन्द्रको स्ववियु,  हालसम्म क्याम्पसलाई प्राज्ञिक बनाउने भन्ने विषयमा प्रयोग हुन नसकेको सर्वविदित नै छ । त्रिचन्द्रको स्ववियु देशको राजनीतिक परिवर्तनका आन्दोलनमा ज्यादा र शैक्षिक मुद्दाहरूमा आक्कलझुक्कल उपयोग भएको देखिन्छ । अबको स्ववियु पूर्ण रूपमा क्याम्पसलाई प्राज्ञिक बनाउनेतर्फ लाग्नुपर्छ । देशले वर्षाैंवर्षपछि स्थायी सरकार पाएको अवस्थामा राजीतिक परिवर्तनको खाँचो नभएको र सम्पूर्ण ध्यान शैक्षिक मुद्दामा केन्द्रीकृत हुने अवस्था रहेको छ । 
त्रिचन्द्रमा खोलिएका विभिन्न विद्यार्थी सङ्गठनहरूले सर्वप्रथम स्ववियु निर्वाचन गराएर स्पष्ट स्ववियु टिम बनाउनुपर्ने आवश्यकता देखिएको छ । विभिन्न बहानाबाजी गरेर स्ववियु निर्वाचनमा नजाने प्रवृत्ति जुनसुकै विद्यार्थी सङ्गठनले हटाउनुपर्दछ । खुला दिलले, जितको आस र पराजय स्वीकार्ने सहास बोकेर सम्पूर्ण विद्यार्थीमुखी, प्रशासनमुखी साथै समग्र देशको शिक्षामुखी भएका विद्यार्थी सङ्गठनहरू स्ववियुको निर्वाचनको मैदानमा उत्रिनुबाहेक अन्य कुनै विकल्प छैन । दसौँ, बीसौँ वर्षदेखि बसेका विद्यार्थी नेताहरूले विद्यार्थी राजनीतिको निकास स्वरूप कुरिरहेछन् स्ववियु, क्याम्पसको अस्तव्यस्त लाइब्रेरी, जसमा वर्षाैंदेखि पुस्तक थपिएका छैनन्, भएका पनि हराइसके ।  औजार, केमिकलबिनाका ल्याब,  जीर्ण अवस्थामा रहेका भवन, बाटो काट्दा हुने दुर्घटनाका समस्या, कक्षाकोठाहरू गाँजा र चुरोट खाने बनेका अड्डा, कर्मचारी तथा कथित विद्यार्थी नेताबाटै हुने ठेक्कापट्टा र भ्रष्टाचार, राजनीतिक नियुक्तिबाट आएका शिक्षक र विभागीय प्रमुखहरूको क्याम्पस प्रशासनलाई नमान्ने दादागिरी,  गुण्डागर्दी आदिले गुहारिरहेका छन् त्रिचन्द्र क्याम्पसमा स्ववियुको निर्वाचन । त्यसअर्थमा क्याम्पसलाई अझ प्राज्ञिक बनाउने र  क्याम्पस प्रशासनलाई विद्यार्थीमुखी बनाउने सन्दर्भमा समयमा नै स्ववियुको निर्वाचन हुन  अत्यावश्यक रहेको छ ।


(भण्डारी अखिल क्रान्तिकारीका नेता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक भण्डारी
अशोक भण्डारी
लेखकबाट थप