केन्द्रीय संस्करण
विचार

भेनेजुएलामाथि हस्तक्षेप : हामीले समाजवादको पक्ष लिने कि साम्राज्यवादको ?

person explore access_timeमाघ १९, २०७५ chat_bubble_outline1

संवैधानिक र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलास मडुरोको सरकारको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भइरहेको छ, त्यो मुलत असफल भैसकेको छ । तर पनि त्यसलाई अझै अगाडि बढाउने प्रयत्न जारी छ । त्यसको विरुद्धमा हाम्रो पार्टीको तर्फबाट अध्यक्ष कमरेड प्रचण्डले वक्तव्य दिइसक्नुभएको छ । सरकार पनि भेनेजुएलामा बाह्य हस्तक्षेप विरुद्ध उभिइसकेको स्थिति छ । वास्तवमा भेजेजुयलामा भइरहेको सत्ताविरुद्धको षड्यन्त्रमुलक गतिविधिहरु छन्, त्यो साम्राज्यवाद र पुँजीवादको विरुद्ध भेनेजुएलाले आफ्नो राष्ट्रिय सार्वभैमिकता र

स्वाधिनताको रक्षा गर्दै समाजवादको दिशातिर जान खोजिरहेको प्रयत्नलाई असफल पार्न गरिएको कदम हो । 
भेनेजुयलामा भएको अहिले घटनाक्रम बाह्य हस्तक्षेपलाई हामीले वीरतापूर्वक विरोध गर्नुको पछाडि केही स्पष्ट कारणहरु छन् । पहिलो, विश्वमा रहेका सम्पूर्ण देशहरुको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको सम्मान गर्छाैँ । सबैले त्यो गर्नुपर्छ भन्ने म ठान्छु । कुनै पनि देशले कुनै अर्काे देशमाथि आक्रमण र आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भने त्यो राष्ट्रिय स्वाधिनता र सावैभौमिकता माथिको आक्रमण हुन्छ र त्यसको वीरतापूर्वक विरोध गर्छाैँ । यो हाम्रो पार्टी र नेपाल सरकारको पनि सैद्धान्तिक प्रस्तावना हो । त्यसैको आधारमा सरकारले पनि भेनेजुएलाको भएको घटनाको सन्दर्भमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै बाह्य शक्तिद्वारा हस्तक्षेप हुनुहुँदैन भन्ने कुरालाई प्रस्तुत गरेको छ । हाम्रो पार्टीको तर्फबाट अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट रुपमा भेनेजुएलामा संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित सरकारविरुद्ध जुन प्रकारको गतिविधि भयो त्यसको विरुद्ध हामी छौँ र साम्राज्यवादी हस्तक्षेपको विरुद्ध हामी छौँ भन्ने कुरा दृढतापूर्वक प्रस्तुत गर्नुभएको छ ।

हामीले आफ्नो एउटा दृष्टिकोण व्यक्त गर्नुको पछाडि चारवटा कारणहरु छन् । एउटा त राष्ट्रिय सामुहिकताको विरुद्ध,  सार्वभौमिकताको विरुद्ध बैदेशिक हस्तक्षेपको कदम देखापर्याे, त्यसको विरुद्धमा हामी छौँ । यो खाली भेनेजुएलाको मात्र सन्दर्भको कुरा होइन, जुनसुकै मुलुकलाई अर्काे मुलुकले त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भने त्यसको विरुद्धमा पनि हामी उठ्छौँ ।  हाम्रो पार्टीको देशभक्तिपूर्ण आन्दोलनको अगुवा पनि हो । यो कुनै नयाँ नीति होइन । त्यसैकारणले यसलाई के–के नै भयो भनेर बुझनु पर्ने कुरा होइन । बरु यसबाट विचलित भयो भने चाहीँ ‘के हुन लागेछ कम्युनिष्ट पार्टी ?’ भनेर सोच्नुपर्ने हुन्छ । कुनै पनि देशको आन्तरिक मामलामा बाहिरी हस्तक्षेप गर्छ भने त्यो हस्तक्षेपका विरुद्ध दृढतापूर्वक उभिनु कुनै पनि देशको कम्युनिष्ट पार्टीको, कुनै पनि देशका जनताहरुको न्यायपूर्ण शक्तिरुको कर्तव्य हुन आउँछ । 

भेनेजुएलामाथि किन हस्तक्षेप गरियो त ? साम्राज्यवादको पूँजीवादको विरुद्ध ऊ लड्यो, टिक्न खोज्यो, त्यसैकारणले हस्तक्षेप भयो । त्यसैले यो वर्ग र विचारधाराको लडाइँ पनि हो । यसमा हामी साम्राज्यवाद र पुँजीवादको विरुद्ध समाजवादी विचारधारा र श्रमजिवी वर्गको पक्षको लडाईमा उभिन्छौँ, उभिनै पर्छ । 

दोस्रो कुरो लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिको पक्षमा उभिएर लोकतन्त्रको नाममा निरङ्कुशता लाद्ने, फासिवाद लाद्ने प्रवृत्तिको विरुद्ध पनि उभिएका हौँ । भेनेजुएलामा लोकतान्त्रिक विधिबाट निर्वाचनबाट निकोलास माडुरो राष्ट्रपति निर्वाचित भएका छन् । संवैधानिक रुपले सपथग्रहण गरेका छन् ।  त्यस पछाडि योजनाबद्ध रुपमा उभाएर अर्काे राष्ट्रपति घोषणा गराएर जसरी त्यसलाई मान्यता दिने क्रम सुरु गराउन  खोजियो, त्यसले के देखाउछ भने साम्राज्यवादी र पुँजीवादीहरुको शक्तिको लोकतन्त्र सामान्य अवस्थाको लोकतन्त्र मात्रै हो । विशेष अवस्थामा आफ्नो वर्ग, स्वार्थलाई सरोपरी राखेर उनीहरुले लोकतन्त्रलाई च्यातचुत पार्छन् भन्ने कुरा त्यहाँ देखापरेको छ । त्यसकारणले त्यहाँ वास्तवमा लोकतन्त्रको निमित्त भेनेजुएलामा होइन । लोकतन्त्रको विरुद्ध भेनेजुएलामा हस्तक्षेप भएको हो । लोकतान्त्रिक विधिबाट संवैधानिक रुपले निर्वाचित सरकारको विरुद्ध असंवैधानिक र अलोकतान्त्रिक ढंगले कुनै गतिविधि गर्ने प्रयत्न भइरहेको छ । त्यसलाई प्रोत्साहित गर्नु भनेको लोकतन्त्रको विरुद्ध हस्तक्षेप पनि हो । 

तेस्रो कुरा यो विचार धारा र वर्गको लडाइँ पनि हो । भेनेजुएलामाथि यसप्रकारले हस्तक्षेप, षड्यन्त्र किन गरिँदै छ ? साम्राज्यवादको नाइके अमेरिकाले भेनेजुएलालाई टिक्न नदिने गरी प्रयत्न गरेको अहिले मात्र होइन । सम्पूर्ण घेराबन्दी षडयन्त्रको विरुद्ध जनताको बलमा समाजवादको दिशामा उन्मुख हुँदै भेनेजुएलाले त्यहाँको समाजवादी पार्टीको नेतृत्वमा आफ्नो अग्रगमनको यात्रालाई अगाडि बढाइरहेको छ । यसरी त्यहाँ एउटा समाजवादी विचारधारा छ । त्यहाँ एउटा श्रमजिवी वर्गको स्वार्थ छ । समाजवादी विचारधारा र श्रमनिवी वर्ग र पुँजीवादी विचारधारा र साम्राज्यवाद पक्षधरबीचमा ठूलो संघर्ष भइरहेको छ । हामीले के बुझ्नु जरुरी छ भने यो भेनेजुएलामाथिको हस्तक्षेप समाजवादी विचारधारा र श्रमजिवी वर्गमाथिको हस्तक्षेप हो । त्यस्तो सन्दर्भमा हामी कसको पक्षमा लिने ? समाजवादी विचारधारा र श्रमजिवी वर्गको पक्ष लिने कि पुँजीवादी विचारधारा र साम्राज्यवाद र पुँजीवादको पक्ष लिने ? यो हाम्रो लागि गम्भिर महत्त्वको विषय हो । 

भेनेजुएलामाथि किन हस्तक्षेप गरियो त ? साम्राज्यवादको पूँजीवादको विरुद्ध ऊ लड्यो, टिक्न खोज्यो, त्यसैकारणले हस्तक्षेप भयो । त्यसैले यो वर्ग र विचारधाराको लडाइँ पनि हो । यसमा हामी साम्राज्यवाद र पुँजीवादको विरुद्ध समाजवादी विचारधारा र श्रमजिवी वर्गको पक्षको लडाईमा उभिन्छौँ, उभिनै पर्छ । 

चौथो कुरा यो युद्ध र शान्ति कसको पक्षमा उभिने भन्ने कुरा पनि हो । कहिलेकाँही हामीलाई साम्राज्यवादबिरुद्धको युद्ध धेरै पुरानो भयो भन्ने लाग्छ  । लेनिनले परिभाषित साम्राज्यवादबिरुद्धको युद्ध अन्तत युद्ध हो भनेर परिभाषित गर्नुभएको छ । अहिले त्यस्तो स्थिति छैन भने सामान्यतया लाग्छ । किनभने शोषणका रुप र तरिकाहरु नयाँ–नयाँ आएका छन् । अहिले जुन प्रकारको नव उपनिवेशिकरणको प्रक्रिया, नवउदारवादको अर्थतन्त्रको प्रक्रिया अगाडि बढिराखेको छ  । भेनेजुएलाको हस्तक्षेप शान्तिको विरुद्धमा र युद्धको पक्षमा छ । हामी शान्तिको पक्षमा छौँ । 
यिनै चार कारणले गर्दा भेनेजुएलामा भएको हस्तक्षेपको विरुद्ध हाम्रो पार्टी छ । 

कतिपय कम्युनिष्ट भन्नेहरुले नै भनिरहेको देख्छौँ हामी यति टाढाको देशको बारेमा किन बोल्नुपर्याे ? तर, कुरा नजिक वा टाढाको होइन । कुरा मूल्य र दृष्टिकोणको हो । कुनै पनि देशले अर्काे देशलाई हस्तक्षेप गर्न पाउने कि नपाउने ? लोकतन्त्रको पक्षमा उभिने की नउभिने ? हरेक देशका जनताले आफ्नो फौसला आफै गर्न पाउने कि नपाउने ? यो लोकतान्त्रिक ढंगले आफ्नो सरकारलाई निर्वाचित गर्न पाउने पक्षमा छौँ कि छैनौँ हामी ? 

एउटा देशले तेस्रो चरणको समाजवाद निर्माणको अभियानको नेतृत्व गरिहेको छ । पहिलो चरणमा त्यतिबेलाका कम्युनिष्ट पार्टीहरुले सफल पार्न सकेनन् । दोसो चरणमा लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा समाजवादको स्थापना भयो र  त्यो समाजवादको यात्रा लामो समयसम्म अगाडि बढ्यो र त्यही चरणमा चीन, भेतनाम, कोरिया, क्युवा देशहरुले पनि समाजवादको झण्डा उठाए । समाजवादी अभियानमा अगाडि बढे । भलै पछिल्लो अवस्थामा रुसले नेतृत्व गरेको समाजवाद र त्यही प्रकृतिको समाजवाद ढल्यो । तर दोस्रो चरणको समाजवादले विश्वमा समाजवादको ठूलो महाअभियान अगाडि बढ्यो । त्यो समाजवादको अभियान मात्र थिएन, साम्राज्यवाद विरुद्धको पनि अभियान थियो । त्यसपछाडी विशेषत १९९० को दशकमा सोभियत संघको पतन त्यहाँको विघटन र पतन दुवै भयो । समाजवादको पतन र सोभियत संघको बिघटन भएर पूर्वीय देशहरुमा पनि समाजवादी सत्ताको पतन भयो । त्यसपछाडि पनि कसरी समाजवादलाई अगाडि बढाउने भन्ने सन्दर्भमा थुप्रै देशमा नयाँ पहल भइरहेको छ । भेनेजुएला त्यस्तो देश हो जुन देशमा ह्युगो चाभेजको युनाइटेड सोसलिस्ट  पार्टीको नेतृत्वमा समाजवादको नयाँ अभियान अगाडि बढ्यो । अहिले हाम्रो देश नेपाल नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवाद निर्माण गर्ने अभियानमा अगाडि बढ्न खोज्दै छ । तर तेस्रो चरणमा मैलिक ढङ्गले समाजवादको झण्डा उठाउने र समाजवादकै बाटोमा अगाडि बढ्ने घोषणासहित साम्राज्यवाद र पुँजीवादविरुद्ध ठूलै लडाई गरेर अगाडि बढ्ने देश भेनेजुएला हो । त्यसकारण त्यो विचारधारा बोक्ने वर्गको पक्षमा उभिने कि नउभिने ? 

लेनिनिले भन्नुभएको छ, ‘कुनै पनि क्रान्तकारीले यदि आफूलाई शुद्ध क्रान्तिकारी ठान्छ र शुद्ध क्रान्तिको कल्पना गर्छ भने त्यसले कहिले क्रान्ति देख्न पाउँदैन किनभने शुद्ध क्रान्ति कहिले पनि हुँदैन ।’

ठूलो द्वन्द्व पछि हामी शान्ति प्रक्रियामा आएका छौँ । अब हामी शान्ति चाहन्छौँ । विश्वमा साम्राज्यवादले युद्ध थोपर्न खोज्छ भने युद्धको विरुद्ध र शान्तिको पक्षमा हामी उभिन्छौँ । ‘कु’ को प्रयत्न र साम्राज्यवादी षडयन्त्र र हस्तक्षेपको विरुद्ध दृढतापूर्वक उभिन्छौँ । भेनेजुएलामा संवैधानिक रुपले निर्वाचित समाजवादी पार्टीको सरकारको पक्षमा हामी छौँ र हामी ऐकबद्धता प्रकट गर्न चाहन्छौँ ।

भेनेजुएलालाई किन यति धेरै महत्व दिनुपर्ने प्रश्न पनि छ । भेनेजुएला साम्राज्यवाद र पुँजीवादको पनि विरुद्धमा छ र समाजवादको पक्षमा छ । भेनेजुएला आफ्नै ढङ्गले समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढिरहेको देश हो । हामीले बनिबनाउ सुत्रको आधारमा मात्र क्रान्तिको मूल्याङ्कन गर्न मिल्दैन । क्रान्तिको ऐतिहासिक वस्तुगत नियमहरु छन् । भौतिकवादी नियमहरुको आधारमा हामीले विश्लेषण र संश्लेषण गर्नुपर्ने हुन्छ, कुनै सुत्रहरुको मात्र आधार होइन । त्यसकारण भेनेजुएलामा लेनिनले भन्नुभएको जस्तो कुनै शुद्ध कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति हुने र सम्पूर्ण राज्ययन्त्रका संरचनाहरु कम्युनिष्ट पार्टी नेतृत्वको शक्तिले कब्जा गरिसकेपछाडि सत्ताको गुणात्मक रुपान्तरण हुने र शक्ति सम्पन्न हुने प्रक्रियालाई हुबहु हामीले त्यहाँ देख्न पाउँदैनौँ । ह्युगो चाभेजको नेतृत्वको पार्टी आफैमा कम्युनिष्ट पार्टी होइन । त्यो समाजवादी पार्टी हो । त्यसकारणले खाली क्रान्तिलाई शुद्धतामा हेर्ने र शुद्ध क्रान्तिको कल्पना गर्ने काम गर्याे भने त्यो गल्ती हुन्छ । भेनेजुएला समाजवादी क्रान्तिकै पक्षमा छ । आफ्नै मोडेलको आफ्नै ढङ्गबाट अगाडि बढिराखेको छ । 

लेनिनिले भन्नुभएको छ, ‘कुनै पनि क्रान्तकारीले यदि आफूलाई शुद्ध क्रान्तिकारी ठान्छ र शुद्ध क्रान्तिको कल्पना गर्छ भने त्यसले कहिले क्रान्ति देख्न पाउँदैन किनभने शुद्ध क्रान्ति कहिले पनि हुँदैन ।’ भेनेजुएलालाई पनि हामीले त्यही अनुसार बुझ्नुपर्छ । समाजवादी प्रक्रिया अगाडि बढिरहेको छ तर हामीले सोचे जस्तो समाजवाद स्थापित भइकेको छैन । समाजवादको महान लक्ष्यलाई केन्द्रविन्दुमा राखेर समाजवाद उन्मुख कदमहरु चालिएका छन् । 

ह्युगो चाभेजले कसरी अगाडि बढेर यो समाजवादको यात्रा तय गरे ? यसबाट हामीले धेरै शिक्षा लिन सकिन्छ ।  ह्युगो चाभेज  सेनामा थिए । उनले त्यहाँको शोषण र राज्यसत्ताको विरुद्ध लोकतन्त्रको पक्षमा विद्रोह गरे । विद्रोह असफल भइसकेपछि सन् १९९२ मा उनी पक्राउ परे। १९९४ मा उनी जेलबाट छुटे । त्यसपछि पार्टी निर्माणको प्रक्रिया अगाडि बढाए । सन् १९९८ मा राष्ट्रपतिको निर्वाचन भयो । निर्वाचनमा बैधानिक ढङ्गले निर्वाचित भए । त्यहाँको राष्ट्रपति भइसकेपछि पनि उनलाई घेराबन्दी गर्ने काम जारी रह्यो । असफल गर्ने प्रयत्न जारी रह्यो । सन् २००२ मा ‘कु’ को असफल प्रयत्न भयो । सेनाको एउटा  सानो हिस्सा विभिन्न साम्राज्यवादको पुच्छर बनेर त्यहाँ ‘कु’ को प्रयत्न भएको थियो । सबै जनता सडकमा उत्रेर चाभेजको पक्षमा आफूलाई उतारे । सन् २००२ देखि २००४ सम्म गृहयुद्धको जस्तै अवस्था भयो । ‘कु’ लाई असफल पार्न जनता र प्रतिक्रान्तिको विरुद्ध झडप भइरह्यो । अन्ततः आम जनताको ठूलो समर्थनले ‘कु’ लाई असफल पारियो । अन्त्यमा जनमत संग्रह गरियो । जनमत संग्रहको चुनौती सामना गरेर फेरी राष्ट्रपति बनेर चाभेजले साढे चौध वर्ष चाभेजले भेनेजुएलाको नेतृत्व गरे । 

चाभेजले कसरी पार्टी स्थापित गरेर अभियान अगाडि बढाए भन्ने कुरा पहिले बुझ्नुपर्छ । चाभेजले के भने भने आफूहरुले भनेको समाजवाद साम्राज्यवाद र पुँजीवादकै रक्षाका निम्ति समाजवादको खोल ओढाइएको प्रजातान्त्रिक समाजवाद वा लोकतान्त्रिक समाजवाद होइन । मानिसलाई धेरै भ्रम छ । चुनाव लडेर आएको र केही सुधारको काम गरेको तर कम्युनिष्ट पार्टीको रुपमा आफूलाई  माक्र्सवादी भनेर घोषणा नगरेको र पूरै सम्पत्ति माथिको निजी स्वामित्व अन्त्य नगरिसकेको कारणले गर्दा चाभेज र त्यहाँको समाजवादी पार्टी लोकतान्त्रिक  समामाजवादको पक्षधर हो कि भन्ने कतिपयलाई भ्रम छ । तर, त्यो होइन । चाभेजले प्रष्ट रुपमा आफूहरुको समाजवाद साम्राज्यवाद र पुँजीवादविरुद्धको समाजवाद हो भनेर भन्नुभएको थियो । तर उहाँले के पनि भन्नुभयो भने सोभियत संघमा जुन मोडेलको समाजवाद स्थापित भएको थियो, ठ्याक्कै त्यस्तो पनि होइन । त्यही समाजवादको यात्रामा भेनेजुएलालाई अगाडि बढाउन प्रयत्न गर्नुभयो । ‘हामीले त्यस्तो समाजवादको कल्पना गरौँ जसले डेमोक्रेसीमा पनि बेस्ट डेमोक्रेसी दिन्छ र पुँजीवादलाई परास्त गरेर समाजकेन्द्रित अर्थ प्रणाली स्थापित गर्छ,’ भन्ने वहाँको भनाई थियो । 

‘तपाईं किन माक्र्सवादी नहुनुभएको भनेर ?,’ सोध्दा उहाँले भन्नुभयो, ‘मैले आफूलाई माक्र्सवाद भन्नलाई माक्र्सवादको दह्रो अध्ययन गरेको छैन ।’ 

हामीले समाजवादको रणनीतिक लक्ष्य र अहिलेको समाजवाद उन्मुख समृद्धिको लक्ष्यलाई भुल्यौँ भने हामी कम्युनिष्ट नै बाँकी रहदैनौँ । कम्युनिष्टहरुले कम्युनिष्ट कर्म नै नगर्ने हो भने कम्युनिष्ट नै चाहिँदैन  । त्यसैले नाममात्रको कम्युनिष्ट हुनुभएन । हामी सच्चा कम्युनिष्ट नै भएर अगाडि बढ्नुपर्छ ।

हामी माक्र्सवादको दुई चारओटा लाइन रटेपछि माक्र्सवादी भइहाल्छौँ । त्योभन्दा पनि अर्को महत्वपूर्ण वहाँले भन्नुभयो, ‘यसले हामीलाई जडसुत्रवादबाट बचाउन सहयोग गरेको छ । माक्र्सवादी भइसकेपछि माक्र्सले के–के भनेको छन् त्यही सत्य हुने, बेठीक भए पनि ‘बुढोले भन्देको’ कुरा भन्नुपर्ने । हामी त्यस्तो समाजवादी हौँ । माक्र्सवादको मूलभूत कुरालाई आत्मसाथ गर्छाैँ । तर आफूलाई माक्र्सवादी र कम्युनिष्ट नभनेको हुनाले त्यसका गल्ती र कमजोरीबाट सजिलै मुक्त हुन सक्छौँ । त्यो भन्दा बाहिर पनि राम्रा कुरा छन् भने हामी त्यसलाई सहजै आत्मसाथ गर्न सक्छाँै । त्यसैले यो कारण हामी जडसुत्रवादी भएनौँ । माक्र्सवादको सकारात्मक सबै कुरालाई आत्मसात गर्ने र माक्र्सवादभन्दा बाहिर हिजो कम्युनिष्टहरुले विरोध गरेका कतिपय सकारात्मक चिजहरुलाई पनि हामीले आत्मसाथ गर्न सक्छौँ ।’ त्यही अनुसार उहाँले समाजवादी धारामा आफूलाई अगाडि लैजान प्रयत्न गर्नुभयो । साम्राज्यवादी अमेरिकाको नाकै साढे चौध वर्ष पेचिलो सङ्घर्षको बीचमा समाजवाद उन्मुख राज्य सञ्चालन गरेर समाजवादको खुला लक्ष्य घोषणा गरेर अघि बढ्नुभयो  । आज निकोलास मडुरो पनि त्यही ढङ्गले अगाडि बढिरहनुभएको छ र उहाँले पनि समाजवादकै पक्षमा आफूलाई उभ्याउनु भएको छ । समाजवादी पार्टीले पनि आफूलाई समाजवादकै पक्षमा उभ्याएको छ । चाभेजको उत्तराधिकारी निकोलस माडुरोलाई जनताले निर्वाचित गरेका छन् । त्यसैले साम्राज्यवाद र पुँजीवादी शक्तिहरु उनको सत्ताको विरुद्धमा धावा बोलिरहेको छ । त्यो वास्तवमा समाजवादी विचारधारा र समाजवादी यात्राको विरुद्ध हमला हो । त्यसकारणले हामीले यसलाई गम्भिरतापूर्वक बुझ्न जरुरी छ । 

भेनेजुएलमा एउटा निर्वाचित सामुदायिक परिषद् छ जसले त्यहाँको सम्पूर्ण तलको कामहरुको नेतृत्व गर्छ । अर्काे प्रतिक्रान्ति, साम्राज्यवाद र पुँजीवाद विरुद्ध एउटा शक्तिको रुपमा बोलिभोरियन कमिटी भनेर गठन गरिएको छ । एउटा सम्पूर्ण जनताहरको परिषद छ जसलाई कम्युनिटी काउन्सिल भनिन्छ । यसले सम्पूर्ण जनताको आवश्यकता पुरा गर्ने काम हेर्छ । बोलिभेरियन कमिटीको रुपमा तल एउटा कमिटी छ जसले युवा शक्तिलाई संगठित गरेको छ । 

तलैबाट समाजवादको रक्षा गरेर माथिबाट सेनासहित राज्यको सम्पूर्ण अङ्गहरुमा क्रान्ति गरिएको छ  । त्यो नमुना पनि हो । त्यहाँ हामी जस्तो सशस्त्र संघर्षबाट क्रान्ति अघि बढेको होइन । शान्तिपूर्ण बाटोबाट अगाडि बढेर पनि भेनेजुयली सेनामा क्रान्ति गरिएको छ जसले उनीहरु पनि समाजवादको पक्षमा उभिएका छन् । कसरी सेनाको क्रान्तिकरण भयो ? कसरी राज्यका सबै अंगको मूलभुत रुपमा क्रान्तिकरण गरियो ? यो सिक्न भेनेजुएलालाई हेर्नुपर्छ । 

त्यतिमात्र होइन विश्व बैंकको विरुद्ध छुट्टै अर्थ संरचना खडा गर्ने पहल पनि त्यहाँ गरिएको छ । यो सबै प्रक्रियाबाट अगाडि बढ्ने क्रममा जसरी चाभेजको निधन भयो । उहाँको निधन भइसकेपछि जनताबाट निर्वाचित भएर समाजवादी नेतृत्वकै अभियान थाल्ने निकोलस मडुरोको सरकार छ । सरकारलाई अपदस्त गर्ने प्रयत्न धेरै पटक गरियो । तर, त्यहाँका जनताले त्यसलाई असफल पारेका छन् । हामी भेनेजुयली जनताको सह्राना गर्दै त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ । 

हामीले अब के गर्ने ?

भेनेजुएला जस्तो साम्राज्यवाद र पुँजीवादको विरुद्ध लडेर समाजवादको नयाँ अभियानलाई आफ्नै ढंगले नेतृत्व गर्नु सामान्य कुरा होइन । विश्वमा भएका समाजवादीहरु विश्वभरिका कम्युनिष्ट क्रान्तिकारीहरु, न्यायपे्रमी शक्तिहरु र स्वाधिनताप्रेमी शक्तिहरुले भेनेजुएलाको रक्षा गर्नुपर्छ र भेनेजुएला मा निर्माण हुन लागिरहेको समाजवादी सत्ताको रक्षा गर्न एकजुट हुनुपर्छ । 

हामीले संविधानमै समाजवाद उन्मुख राज्य र समाज भन्यौँ । पार्टीले वैज्ञानिक समाजवादलाई आफ्नो मुल लक्ष्य बनायो । यो परिस्थितीमा हामी कसरी अगाडि बढ्ने भन्ने कुरामा गम्भिर हुनुपर्छ । हामीले अहिलेको परिस्थितीमा हाम्रो समाजवाद उन्मुख राज्यलाई व्यवहारमा लागु गर्दै समाजवादतर्फ अघि बढ्न कदमहरु चाल्दा फुकिफुकी र नापतौल गरेर चाल्नुपर्छ । हामीले समाजवादको रणनीतिक लक्ष्य र अहिलेको समाजवाद उन्मुख समृद्धिको लक्ष्यलाई भुल्यौँ भने हामी कम्युनिष्ट नै बाँकी रहदैनौँ । कम्युनिष्टहरुले कम्युनिष्ट कर्म नै नगर्ने हो भने कम्युनिष्ट नै चाहिँदैन  । त्यसैले नाममात्रको कम्युनिष्ट हुनुभएन । हामी सच्चा कम्युनिष्ट नै भएर अगाडि बढ्नुपर्छ । त्यसैले अहिलेको दुई तिहाईको सरकारले  राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवाद उन्मुख समृद्धिको यात्रा तय गरेपछि मात्र हामीले समाजवादको लक्ष्य पुरा गर्न सक्छौँ । 

सम्वाद डबलीमा २०७५ माघ १७ गते आयोजित भेनेजुएलासँग ऐक्यवद्धता शीर्षकको अन्तक्रियामा नारायणकाजी श्रेष्ठद्वारा व्यक्त विचारको सम्पादीत अंश । 

प्रस्तुति सुनिता न्यौपाने

कमेन्ट

  1. Feb. 2, 2019, 8:47 p.m. Raiesh
    Janatalai tanab dine gaira jimmewar abhibyakti
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ