केन्द्रीय संस्करण

कविताः मलाई अचम्म लाग्छ

person explore access_timeमाघ १९, २०७५ chat_bubble_outline0

 

मलाई चिनी गुलियो भएको देख्दा अचम्म लाग्छ 
म देश बनाउने जिम्मा पाएर भ्रष्टाचारमा भुल्ने नेताहरुको नागरिक
तिहारमा ढकमक्क फुल्ने सयपत्री देखेर अचम्म लाग्छ ।

मलाई कागती अमिलो भएको देख्दा त उल्कै अचम्म लाग्छ ।
म देशका जिम्मेवारहरुको गैरजिम्मेवारीबाट अमिलो भएको नागरिक 
जेब्राक्रसमा पैदलयात्रुलाई बाटो काट्न दिएको देख्दा अचम्म लाग्छ ।

मलाई कोइलीको मिठो स्वर सुन्दा अचम्म लाग्छ
म खलासीको रुखो बोलीसँगै बाँदर जस्तै गाडीमा झुण्डिएर यात्रा गर्ने गरिब नागरिक 
सार्वजनिक यात्रामा कुनै खलासीको मिठो बोली  सुन्दा अचम्म लाग्छ ।

मलाई हिमालमा हिउँ टल्किएको देख्दा अचम्मै लाग्छ 
म ट्याक्सीले मिटरमा जान निहुँ खोज्ने देशको नागरिक  
कुनै बुद्धि सक्केको ट्याक्सी ड्राइभरले खुरुखुरु मिटरमा हिँडेका देख्दा अचम्म लाग्छ ।

मलाई कमिलाको एकता देखेर अनौठो लाग्छ।
माहुरीले चाकाहरुमा मह भरेको देख्दा अचम्म लाग्छ 
म जुकाहरुले देशको ढुकुटी चुस्दाचुस्दा खोक्रोभएको देशको नागरिक 
कुनै राष्ट्रसेवकले जनसेवामा लागेर पसिना पुछ्दा अचम्म लाग्छ ।

मलाई डम्पिङ्ग साइडमा फोहोरको खात देखेर अचम्म लाग्छ
म पवित्र वागमतीमै मलमूत्र बग्ने देशको नागरिक
वागमतीमा नहाएर पशुपति दर्शन गरेको सपना देख्दा अचम्म लाग्छ ।

मलाई मुटुले धड्कन भरेको देख्दा अचम्म लाग्छ 
म निर्मलाहरुले न्याय नपाएर आत्मभड्किने देशको नागरिक 
नागरिकको माया नेताहरुको मनमा धड्किएको देख्दा अचम्म लाग्छ ।


आजकाल मलाई घडीको सुई दाँया घुमेको देख्दा अचम्म लाग्छ 
म देशमा जे हुनुपर्ने हो त्यो नभएर आजित भएको नागरिक ।
अचेल आँखाले देख्दा, कानले सुन्दा र छालाले महसुस गर्दा समेत अचम्म लाग्छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...