शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काम्रेड, रक्सीभन्दा मार्सी खत्रा !

शनिबार, १९ माघ २०७५, ११ : ०८
शनिबार, १९ माघ २०७५

उस्तै उस्तै हो काम्रेड,

त्यो साला रक्सी र गड्याम मार्सी !

आज तिम्ले खायौ, भोली तिम्लाई खान्छ

तर काम्रेड, रक्सीभन्दा मार्सी ‘लास्टै’ खत्रा’ छ !

बाफ्रे बाफ् काम्रेड !

मार्सीको कुरै नगरौं यार, बबाल छ

दुई बोतल रक्सीले दुईचारलाई गाल्छ

दुई थाल मार्सीले पुरै दुईतिहाई ढाल्छ

एकमना सर्खारलाई सिंगै खाल्डाँ’ हाल्छ

एकै थालमा राजनेतालाई लम्पसार बनाइदिन्छ

मार्क्सवादलाई मार्सीवादमा रुपान्तरण गराइदिन्छ

नौलो जनवादलाई जननेतासँगै खोलाँ’ बगाइदिन्छ

हो कि हैन, काम्रेड !

रक्सीभन्दा मार्सी ‘लास्टै’ खत्रा’ छ कि छैन, काम्रेड ?

 

मालको कमाल, काम्रेड !

देखायो यार, मार्सीले कमाल देखायो

बिचरा ती, माननीयलाई घुँडा टेकायो

मै हुँ भन्थे, दुईथालले मेरुदण्ड खुस्कायो

हेर्दा हेर्दै ती सारालाई गड्यौला बनायो 

सदनमै लडायो, सबैलाई लडिबुडी गरायो

त्यत्रो दुईतिहाईलाई एउटाको दास बनायो

संसदले ऐतिहासिक सर्वोच्चता देखायो !

हो कि हैन, काम्रेड !

रक्सीभन्दा मार्सी ‘लास्टै पावरफूल’ छ कि छैन, काम्रेड ?

यार कुरै नगर, काम्रेड !

रक्सी मूलामा के छ ? मार्सीमा जे छ !

नाथे रक्सी जसले खान्छ, त्यसलाई लाग्छ

मार्सी हो माल, एउटाले खान्छ सारालाई हान्छ

दाताले दिन्छ, सेवकले कुपुकुपु निल्छ

खानेलाई लडाउँछ, चारकलाई जगाउँछ

मैमत्त ‘म’लाई पुरै निहुरमुन्टी ‘न’ बनाउँछ

पुच्छरलाई गोरुसिंगे ‘ञ’ बनाउँछ, जुधाउँछ 

दलालदेखि दादासम्म सारालाई मैमत्त बनाउँछ

नेपाल भन्ने देशमा मार्सी खाएर दीपावली गरिन्छ !

हो कि हैन, काम्रेड !

रक्सीभन्दा मार्सी ‘लास्टै’ बबाल छ कि छैन, काम्रेड ?

 

साच्चै हो, काम्रेड !

रक्सीको भन्दा मार्सीको रहस्य गज्जब छ

रक्सीले सधैं सत्य ओकल्न लगाउँछ

मार्सीले झूठो बोल्न खप्पिस बनाउँछ

मुख खोल्दै मान्छे झूठो बोल्छ

बोल्दा बोल्दै जुठो सबै पचाउँछ 

वचन र सन्तान एउटै हो, तर सबै भुल्छ

वचनको वलात्कार आफैं गर्छ

प्रण र प्राण एकै हो तर आफैं हर्छ

हो काम्रेड, मार्सीमा त्यस्तो केही छ ?

निष्ठा विष्ठा सबै एकै हुन्छ !

हेर्दा हेदै के के भयो, के के भयो

मार्सीले देशमा नयाँ क्रान्ति ल्यायो

जताततै समृद्धिको द्वार खोल्यो

मार्सीको शक्ति इतिहासमा लेखिन्छ

अब मान्छेका मृगौला मात्र हैन,

अण्डकोश पनि निकालेर बेचिन्छ

अण्डकोशको कमिशन पनि हुन्छ  

घरभाडा जस्तै लुतुलुतु जान्छ !

हो कि हैन, काम्रेड !

रक्सीभन्दा मार्सी ‘लास्टै’ बबन्डर छ कि छैन, काम्रेड ?

उस्तै उस्तै हो काम्रेड,

त्यो साला रक्सी र गड्याम मार्सी !

आज तिम्ले खायौ, भोली तिम्लाई खान्छ

तर काम्रेड, रक्सीभन्दा मार्सीले छिट्टै लान्छ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव प्रकाश
शिव प्रकाश
लेखकबाट थप