बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पराकम्पन प्रेम-प्रस्तावको

शनिबार, १९ माघ २०७५, ११ : ०१
शनिबार, १९ माघ २०७५

• पूर्ण ओली

प्रेम एक उदाहरणीय,अनुशासित र कर्तव्यनिष्ठ अंग्रेजी शिक्षक । सितिमित उसले विदा लिँदैन । पाठयोजनाको पूर्वतयारीसाथ ऊ ठीक समयमा कक्षामा जान्छ। आधुनिक एवं प्रयोगात्मक विधिबाट शिक्षण गर्दछ । यथेष्ट शैक्षिक सामग्रीको सार्थक प्रयोग गर्दछ । ऊ विद्यालयमा पूरै समय व्यस्त भइरहन्छ । 

जब घरमा फर्कन्छ,विद्यार्थीहरुका कक्षाकार्यका कापी जाँच्छ । विद्यार्थीले सुधार गर्नुपर्ने कुराको टिपोट गरिदिन्छ । विद्यालयका कमजोर विद्यार्थीहरु र अभिभावकलाई घरमै बोलाएर सल्लाह सुझाव पनि दिन्छ । बाँकी समयपाठयोजना तथा शैक्षिक सामग्रीहरु तयारी गर्नमै ठीक्क हुन्छ । 

उसको यो अति व्यावसायिकता भने उसको पत्नीको लागि ग्राह्य छैन । कुनै काममा पनि अति गर्न हुँदैन भन्ने उसको भनाइ रहन्छः "कापी त स्कूलमै जाँचे भैहाल्छ नि ? घरमा आएर पनि कापीमै घोत्लिने ?नजर र मन एकैसाथ तान्ने के छ ती कापीहरुमा ?" कचकच गरिरहन्छे प्रेमकी पत्नी।

"पद्मा, कुरा बुझ न तिमी । स्कूलमा पाँच-पाँच पिरियड त पढाउनु नै पर्छ । एक पिरियड विषयगत बैठक हुन्छ । बचेको एक पिरियड शिक्षणको लागि पूर्वतयारीमै बित्छ । नास्ता खान त फुर्सद पाइँदैन स्कूलमा, कहाँ होमवर्क जाँच्न फुर्सद हुन्छ त ?आफैले दिएको कक्षाकार्य घरमा नजाँची कहाँ जाँच्ने ?"दुखेसो पोख्छ पत्नीसँग ।

"अनि ? आफ्ना बच्चाहरुको भविष्य हेर्नुनपर्ने?भान्छाको काम हेर्नुनपर्ने ?खेतबारीमा के भैरहेको छ हेर्नु नपर्ने ? सप्पैले खाएका छन् जागिरी सरज्यू ! अरुको घरबार कति राम्रो छ ! अरुले कसरी घर चलाएका छन्? त्यो पनि हेर्नुपर्छ के !" भट्ट्याउँदै पद्मा प्रेमलाई झम्टन्छे रजाँच्दै गरेकाहातका कापीहरु खोसखास पारेर छरिदिन्छे ।

पद्मासँगप्रेम प्रतिवाद गर्न चाहँदैन । सोच्छ'पद्माले भनेको पनि ठीकै हो । अरुले चलाएको जस्तो आफूले घर चलाउन नसकेकोमा आफैलाई आत्मग्लानी भइरहेकोछ ।जागिर खाएपछि अरु कामचोरसँग दाँजिएर भएन,आफ्नो कर्तव्य पनि त निभाउनुपर्योे ।' उठेर छरिएका कापीहरुका पाना मिलाउँदै एउटा झोलामा राख्छ ।

०००

भर्खर ल्यापटप किनेको छउसले । घरमा नेट पनि जोडेकोछ । पद्मा टेलिसिरियलमा व्यस्त भएको बेला ल्यापटप खोल्छ र भोलिपल्ट पढाउने पाठको सूचनाहरु तथा नयाँ विधि सर्च गरी हेर्छ । पाठयोजना बनाउने तरीका लगायत शैक्षिक सामग्री बनाउने तरीका सिक्छ । ती सबैटिपोट गरेर कक्षाकोठामा प्रयोगमा ल्याउँछ । जसले गर्दा प्रेमको शिक्षण विधिप्रति विद्यार्थीहरु औधि आकर्षित भएका छन् ।

प्रेमले ल्यापटप चलाएको पद्मालाई झन पटक्कै मन पर्दैन । खोल्यो कि खोसेर फालिदिन्छे । ल्यापटप भुइँमा बजारिदिई भने हजारौँ रुपैयाँ चौपट हुन्छ भन्ने डरले पद्माका आँखा आफूतिर पर्ने बित्तिकै प्रेमले ल्यापटप हत्तपत्त बन्द गर्छ र दराजमाथि थन्क्याइहाल्छ ।

पद्मा बजार निस्किएको मौका पारेर वा उसका आँखा जोगाएर प्रेमल्यापटप खोल्दछ । भोलिपल्टकक्षा दशको फिक्सन सेक्सन युनिट फाइभको 'पेटोल बाबुः फिल्म स्टार' शिर्षकको पाठको लागि शिक्षण विधि, पाठयोजना, शैक्षिक सामग्रीहरु खोतल्न थाल्छ । गुगल क्रोममा मेसेज आउँछः Preeti comments upon the post that you shared.

ऊ आफ्नो प्रकाश नामको फेसबुक अकाउन्टमा आएको नोटिफिकेशन हेर्छ । उसले शेयर गरेको क्वोटमा तल प्रितिले टिप्पणी लेखेकी हुन्छे"वाउ ! इन्स्पाइरेशनल कोट् !!"

फेसबुक प्रोफायल पिक्चरमा प्रिति सुन्दरी युवतीदेखिन्छे । ऊसँग परिचित भएको वर्षदिन हुँदैछ । उसले पोष्ट गरेका स्टेटमेन्टहरु मन छुने लाग्छन् प्रेमलाई । विदेशी लेखकहरुका यस्ता घतलाग्दा भनाइहरु शेर गरेकी हुन्छे कि प्रेम लाइक नगरी बस्नै सक्दैन । कहिलेकाँही प्रितीका पोष्टउपरकमेन्ट पनि गर्छ र शेर पनि गर्छ । 

प्रितिले नै पाउलो कोइलोको "when you want something, all the universe conspires in helping you to achieve it." भनाइ शेयर गरेकी थिई ।  भित्रैदेखि मन छोएकोले प्रेमले शेयर गरिदिएको थियो । जसमा प्रितीले कमेन्टगरिदिएकी दिईभर्खरै ।

अनलाइन र छापाका पत्रपत्रिकाहरुमा प्रकाशित लेखहरुबाट प्रितीसक्षम लेखक पनि हो भन्ने प्रेमले थाहा पाएको थियो । ती लेखहरुले पनि प्रेमको मन छोइदिँदा लाइक, कमेन्ट मात्र होइन शेयर पनि गर्छ र मेसेन्जरमा मेसेज गरिदिन्छप्रेम । प्रितिले आवश्यक परे मेसेजको जवाफ दिन्थी नत्र दिँदैनथी । जवाफ नआएकोमा कुनै दुखेसो पनि गर्दैनथ्यो प्रेम ।

०००

त्यसो त प्रेम पनि सानातिनो लेखक नै हो । तर आफू लेखक हुँ भन्ने कुरामा भने उसलाई पटक्कै विश्वास छैन ।उसलाई कापी जाँच्न त फुर्सद हुँदैन लेखोस् कुनबेला ?लेखक बन्नेसुषुप्त रहर भने भित्रैदेखि गाँजिइरहेको छ ।घरपरिवारबाट चोरेको समयमा दुईचार अनुच्छेद लेखेर पोष्ट गर्छ कहिलेकाँही । प्रितीले शेयर गरेकै पोष्टबाट कुन पुस्तक पढ्दैछे अनुमान गरी सुटुक्क त्यो पुस्तक किनेर ल्याइहाल्छ । कोर्स बाहिरकानयाँ पुस्तक घरमा भित्रियो भने पनि पद्मालाई मन पर्दैन । सोधिहाल्छे:"कहाँबाट आयो यो किताब ?"

प्रेम टाउको कन्याउँदै भन्छ,"स्कुलको लाइब्रेरीबाट !"

"स्कूलको छाप खोइ किताबमा ? नढाँट्नुहोस् तपाईँ । तलबसलब किताब किन्नमै सकेपछि कसरी चल्छ घर?" पड्किँदै जिब्रो समाइहाल्छे पद्माले ।

पद्मालाई दिनुपर्ने जवाफ केही हुँदैन उसँग । त्यो किताब लिएर विद्यालयले छुट्याइदिएको दराजको आफ्नो आलमारीमा राखिदिन्छ । पढ्न भ्याए पनि नभ्याए पनि साथीभाइ र विद्यार्थीलाई बाँडिदिन्छ । 

यसरी पाउलो कोइलोको दि अल्केमिष्ट र एडल्ट्री,चेतन भगतको टु स्टेट्स र हाफ गर्लफ्रेन्ड, फ्रान्ज काफ्काको द मेटामर्फोसिस र द ट्रायल, मुराकामीको मेन विदाउट वुमेन, अब्दुल कलामको इन्स्पाइरिङ थाउट्सलगायत नेपाली लेखकहरुका धार्मिक, राजनैतिक, साहित्यिक सबै प्रकारका पुस्तकहरु किनिसकेकोछउसले । यी पुस्तकहरु किनाउने मुख्य उत्प्रेरक प्रितीका स्टाटसहरु हुन् । उसलाई प्रिती जत्तिकै ज्ञान प्राप्त गरेर प्रितीभन्दा चर्चित लेखक बन्ने रहर छ ।

प्रितीलाई अझ धेरै चिन्ने रहरले खोज्दै जाँदा थाहा पायो कि ऊ पनि सरकारी स्कूलकै शिक्षिका पो रहिछे । वर्गीयताको साइनोको अपनत्वले ऊ प्रितीको अझै नजिक हुन खोज्दछ । आफ्नोजस्तै  शैक्षणिक समस्या भोगिरहेकी एक शिक्षिका त्यति चर्चित लेखक बन्न सक्छे भने आफू किन बन्न नसक्ने ? हिम्मत बढ्छ प्रेमको ।

उसले पहिलो 'माइलस्टोन' प्रीतिलाईनै बनाएकोछ । त्यहाँ पुगिसकेपछि अर्को गन्तव्य के हुन्छ, थाहा छैन प्रेमलाई ।

०००

एकपटक मागेको थियो प्रितीको परिचय । प्रितिले छोटकरीमा आफ्नो बारेमा बताइदिएकी थिईर भनेकी थिईः"एकजना आफ्नो फुपू नाता पर्ने कोटेश्वरमै बस्नुहुन्छ ।" अनि आफ्नोबारेमा पनि बताउन चाहेको थियोप्रेमले, तर,उसलाई उछिन्दै प्रितीले थपेकी थिई:"तपाईँ एक सुधो टिचर हो । तपाईँ दुईछोराको बाउ हुनुहुन्छ । सबै थाहा छ मलाई । तपाईँले आफूलाई जति चिन्नुभएको छ, मैले त्योभन्दा बढी चिनेकी छु । लोग्नेमान्छे चिन्न मलाई कुनै महाभारत पर्दैन ।"असहज लाग्ने प्रितीका यस्ता भनाइहरुमा पनि सहज हुँदै गएको थियो प्रेम ।

हुँदाहुँदा प्रितिप्रति एडिक्ट नै हुनपुगेको छ प्रेम । अलिकति समय उब्रियो कि विद्यालयमा होस् कि घरमा होस् अब 'प्रिती' सर्च गर्न थालिहाल्छ । प्रिती पनि फुर्सद मिलेसम्म अनलाइनमा हाजिर भैदिन्छे । अतः प्रितिको अमूल्य समय आफ्नो पोल्टोमा पार्न पाएकोमा गौरवान्वित हुन्छ ऊ । प्रितीको फुर्सद र पद्माको बेफुर्सदको मौका एकैपटक जुरेमा लामो समय भुल्न खोज्छ प्रितीसँगै । पद्माको टोकसोको घाउ प्रितीको मलहमले शितल भएको कल्पना गर्दछ ।

प्रिती अनलाइनमा अनुपस्थित भैदिँदामेसेन्जरमापर्खाइको व्यग्रताको वर्णन गर्दै मेसेज खसाउँछ । उसका मेसेजहरु अनुनय विनयपूर्ण हुन्छन् । मेसेजमा कहिले ऊ बुद्धिसागरको कोट लेख्दछः "भाग्यमानीको ढोका साँचोको झुप्पोमध्ये पहिलो साँचोले खोल्दछ भने अभागीको ढोका अन्तिम साँचोले खुल्दछ ।"

अर्कोपटक लेख्छः "तपाईँको साथ सहयोगले मलाई ढुङ्गो खोज्दा देउता मिलेको अनुभूति भएको छ । म जीवनमा नाम कमाउन केही गर्न सक्छु जस्तो लाग्दैछ ।"

फेरि थप्छः"यो साथ दिन कन्जुस्याँइ गर्नुहुनेछैन भन्ने विश्वास र प्रार्थना छ मेरो ।"

जति प्रेमको चाहनाविपरीतप्रिती अनुपस्थित भैदिन्छे,उति नै प्रेमका मेसेजको लम्बाइ र भावना बढ्दै गएको छ ।

०००

कुरैकुरामा एक दिन सोध्छे प्रीतिले,"म तपाईँसँग एउटा महत्त्वपूर्ण विषयमा प्रोपोज गर्न चाहन्छु ।"

प्रेम'प्रोपोज' शब्दमा नै अलमल पर्दछ केहीबेरसम्म । अनि सोचबिचारपछि भन्छः"गर्नु न, गर्नु ! म तपाईँको हरजिज्ञासाको जवाफ दिन तयार छु ।"प्रेम हौसिइरहेको छ ।

"मलाई कति हलुका बनाइदिनुभयो तपाईँले ? मेरो महत्त्वपूर्ण प्रस्ताव कसरीअहिल्यै मेसेन्जरमा राखूँ म ?" प्रिति डिमान्डिङ बनिदिन्छे ।

"के गरौँ त ? कहाँ आऊँ म ? भन्नु न हजुर आफैले ?" कौतुहलता उम्लिएर पोखिनै आँटेको छ प्रेमको मनबाहिर ।

"मैले भनेको मान्नुहुन्छ ?" कबोल गराउन खोज्छे प्रिती ।

"कसम। किन नमान्नु ? हाम्रो कुराकानीबाट तपाईँ मेरो भलो चिताउने मित्र हो भन्ने बुझिसकेको छु मैले ।" प्रेमको सर्वाङ्गमा काउकुति सल्किरहेको छ ।

"शान्त र एकान्त स्थलको चयन गरेर मलाई मेसेन्जरबाटै जानकारी गराउनुहोला ।सकभर यही हप्ताभित्र । म अर्को हप्ता बाहिर जाँदैछु । त्यही स्थलमा पूर्ण तयारीसाथ आउनुहोला, हाम्रो अबको भेट त्यहीँ हुनेछ । त्योभन्दा अगाडि मलाई फोन, मेसेन्जर लगायत कुनै पनि सञ्चार साधनबाट सम्पर्क गर्ने कोशिस नगर्नुहोला ।"यति भनेर प्रितीले फोन काटिहाली ।

उनको कुरा गराइको ढाँचाले प्रेमको मुटूछेउ ठूलैभुइँचालो गइदियो,'महत्त्वपूर्ण प्रस्ताव? एकान्त स्थल ? कतै यो प्रेम-प्रस्ताव नै त होइन ?' उसको दिमाग बेसरी चक्करायो ।ऊ हिँड्न खोजेको बाटो त त्यही थियो सायद । तर गन्तव्य नै यति छिटो आइदेला भन्ने विश्वास नै थिएन उसमा ।कतातिर हिँड्दैछु भन्ने बल्ल चाल पायो प्रेमले । प्रेम-प्रस्ताव नै रहेछ भनेएकजना विवाहित व्यक्तिले कसरी स्वीकार गर्न सक्ला ?उसका त विवाह गर्ने उमेरका छोराहरु नै भैसकेका छन् । ऊ आफू हिँडिरहेको बाटोमै उभिएर पछि फर्किएर हेर्योर एकपटक ।

चुनौतीको पहाड नै आफ्नो अगाडि खडा भएझैँ लाग्यो उसलाई । उकालो चढ्ने कि पछाडि हट्ने भन्ने विषयमा पनि बिचार मन्थन गर्ने फुर्सद पायो र'सोट (SWOT) एनालाइसिस' पनि गर्योो । उकालो चढ्नका जोखिमहरुभन्दा सुरक्षित अवतरण गर्नुकै जोखिम न्यून भएको निश्कर्षमा पुग्यो । 

'आsss,'प्रस्ताव स्वीकार्य छैन !' भनी मेसेन्जरमा हालिदिऊँ र यो टण्टाबाट अलग रहूँ ।

प्रेम-प्रस्ताव रहेनछ भने नि ?प्रेम-प्रस्तावको सट्टा आफैलाई फाइदा हुने कुरा पनि त हुनसक्छ । वा आफ्नो तिब्र अभिलाषाबमोजिम लेखनकलाको मार्ग प्रशस्त गरिदिनेप्रस्ताव पो हो कि ? 

मर्द नै हो प्रेम ।'प्रेम-प्रस्ताव' नै रहेछ भने पनि तर्किएर हिड्नुपर्नेकुनै कारण थिएन । उसले गुमाउन सक्ने कुराभन्दा सम्भावित प्राप्ती नै धेरै ठूलो थियो ।

०००

उसलाई त्यस रात पटक्कै निद्रा लागेन । विद्यार्थीहरुको होमवर्क कापी पनि जाँच्न सकेन । भोलिपल्ट दिउँसो स्कूल गएरसाविकको जसरी पूर्वतयारीसाथ पढाउन सकेन । के कारणले यतिविघ्न हैरान भैरहेको छ भन्ने कुरा परिवारमा पनि राखिदिन सकेन । उसलाई झनझन चिन्तित मुद्रामा देख्न थालेपछि झन् टोकसो गर्न थालिन् पद्माले ।

ऊ केही सोच्न सकिरहेको थिएन । पद्माको बारम्बार र अनावश्यक लखेटाइले प्रेमको मनमा नयाँ विकल्पले जन्म लिइसकेको थियो,'प्रेम प्रस्ताव नै रहेछ भने पनि के फरक पर्योा र ? रवि लामेछानेभन्दा कान्छो नै छु ।बढीमा दुइटी हुने त हुन् । बच्चाहरु हुर्किसकेकोले पारिवारिक जिम्मेवारी पनि कम नै छ । अझै जीवन सुविस्तापूर्ण पो हुने लेखिएको छ कि ?भाग्यको खेल पनि हुनसक्छ । मेरो भाग्यमै यस्तै लेखिएको रहेछ भने कति दिन भागेर बचुँला र म ?'

यसको छिनोफानो गर्न ऊ पशुपति पुगेर हातहेर्नेहरुलाई हात पनि हेरायो । लगातार तीनजनाले 'दुइटी बिहे हुने योग छ !' भनी बताइदिए । 'आss जे होला होला !' प्रेम प्रस्ताव नै रहेछ भने पनि स्वीकार गर्ने' निचोडमा पुग्यो ऊ ।

पूर्वतयारी गर्नु भनेकी छे प्रितीले । के तयारी गर्नुपर्ला उसले ?निकटका साथीभाइहरुबाट सरसल्लाह र सरसापटी दुवै माग्यो । साथीहरुले बधाइ दिँदै मागेभन्दा बढी नै सुझाव र सापटी उपलब्ध गराइदिए । उसको आत्मबल ह्वात्तैबढ्न गयो । उसले एकान्त र शान्त स्थल गोदावरी उपयुक्त हुने ठहर्याकयो । गोदावरी पुगेर आफूले एक दिनको लागि खर्च धान्नसक्ने होटेल पनि छान्यो । सोचेअनुसारकोहोटेल फेला परेपछिमिति र समय तोक्यो:'माघ सत्र गते दिउँसो तीनबजे ।' स्थान तोक्योः'होटेल हिमालय भ्यू गोदावरी ।' होटेलको लोकेशन सहितको मेसेज प्रितीको मेसेन्जरमा हालिदियो ।

हो न हो यो पहिलो प्रेम-प्रस्ताव नै हो भनी निश्चित् गरिसकेको थियोउसको ब्रह्मले । अतः प्रस्ताव राख्दा आवश्यक पर्नेसूचीहरुसोधखोज गर्नथाल्यो ।यो जमानामाकुनै कुरा सोध्न पनि कतै बरालिनुपर्दैन ।प्रितीको फेसबुक प्रोफाइल हेरेर उनले पढ्न छुटाएकाचर्चित लेखकका महत्त्वपूर्णपाँचवटा पुस्तकहरु किन्यो । उनलाई मनपर्ने रङ तथाशरीरपोष पत्ता लगायो र अनुमानित बडी स्ट्रक्चरअनुसार किन्योपनि । मायाको चिनोस्वरुपगुलाबको फूलको गुच्छा त्यसै दिन किन्नेसूचीमा राख्यो । गुलाब ओइलाउने भयले प्लाष्टिकका गुच्छाहरु भने किनिहाल्यो । भैपरि आउने खर्च भनी आधा लाखजति नगद पनि खल्तीमा राख्यो ।चौआनीको सुनको औँठी तयार गरेर औँठीमा कुँदायोः  'P'।

त्यस दिनदेखि प्रेमको बोलीव्यवहारमा पूरै परिवर्तन आइसकेको थियो । उसको हिँडाइ, बोलाइ, बसाइ,खुवाइ नितान्त फरक हुँदै गएको थियो ।

उताआफ्नो लोग्ने घरमा झनझन हैरान भैरहेको देख्दा पद्मालाई सहिनसक्नुभैरहेको थियो । बारम्बार सोधखोज गर्दा पनि समस्याको जड पत्ता लाग्ने कुनै छाँट देखेकी थिइन । सत्यता बताउने कुरा पनि थिएन प्रेमले । 

अतः पद्माले पनि प्रेमको पिछा गर्न थाली । प्रेमले साथीहरुबाट पैँसा काढेको कुरा चाल पाई ।पैंसा काढ्नु र उसको व्यवहारमा आमूल परिवर्तन ल्याउनुको उद्देश्य पनि अनुमान गरी । उसले किनेका सामानहरु सोधखोज गर्दै गई । जतिजति रहस्य खुल्दै जान्थ्यो पद्मा उतिउति हैरान हुन थाली । हुँदाहुँदा प्रितिसँग नजिकिएको पनि पत्ता लगाई र खोज्दैखोज्दै प्रितिसम्मै पुग्ने प्रयास गर्दै थिई ।

रोगको कारण पत्ता लागिसकेपछि उपचारमा समस्या हुँदैन भन्ने कुरामा पद्मा ढुक्क भई । दुवैले मच्चीमच्ची आफ्नै घरमा सुकेको पराल थुपार्दै गए ।घरभन्दा धेरै अग्लो भैसकेको थियो परालको टौवा । त्यसमा आगो झोस्न बाँकी नै थियो ।

०००

बोलचाल नै बन्द भएको चारपाँच दिन भैसकेको थियो उनीहरुको । अचाक्ली भएपछिनिर्धारित समयको अघिल्लो बेलुका पद्माले मुख फोरी"तपाईँ केहीगरी खुशी हुनुहोस् । यो परिवारमा अपुग्दो केही छैन । म पनि अब बित्थै कचकच गर्नेछैन । हामीभित्रको बेचैनीले छोराहरु झोक्राइरहेका छन् । बिन्ति छयसको निकाश दिऊँ । तपाईँ कर्तव्यपथमालाग्नुहोस् ।"

"म दुःखित छँदै छैन । जे भैरहेको छ तिम्रै मनमा भैरहेको छ। बाहिर केही पनि छैन । सबै राम्रै भइरहेको छ । तिमी खुशी रह्यौ भने म स्वतः खुशी भैहाल्छु ।"

"म अब खुशी हुन्छु त भनिसकेँ त ।" आँशु खसाली पद्माले ।

केही सोचेर भन्यो प्रेमले,"भयो अब,हामीले बिहे गरेको बीसौँ वसन्त पार गरिसकेको छ । हामी धेरै अगाडि बढिसकेका छौँ । हाम्रो बानी सितिमिति परिवर्तन हुन सक्दैन । त्यस्तो जीवनको बाटो नै बिग्रनेभत्कने केही नहोला जस्तो लाग्छ। भैहाल्यो भने पनि त्यो हाम्रो वशमा छैन । अब जे हुन्छ भाग्यको खेला हो भनी चित्त बुझाऊँ वश् ।"

"यस्तो कुरा किन गर्दै हुनुहुन्छ तपाईँ ?"क्वाँक्वाँ गरेर रुन थाली पद्मा ।

पद्माले सोधेको प्रश्नको जवाफ दिन आवश्यक ठानेन प्रेमले । दुवैजना रातरातभर जागा रहे, तर दुवैले निद्रामा मस्त रहेको बहाना गरे ।पद्माको रुवाइका रातभरिका हिक्काहरुले पनि प्रेमको मन पगाल्न सकेनन् ।

त्यो निर्धारित दिन पनि हतारहतार प्रेमको सामू आइपुग्यो । रोमाञ्चकता, पीडा, प्रायश्चितको खिचडी उसको मनमाभकभकी पाकिरहेको थियो । सधैँ झैँ स्कुल जान तयार गरी गर्यो् प्रेमले ।

पद्माले प्रेमलाई सुमसुम्याउँदै भनी"यताउता नलागेर बेलुका समयमै घरमा आइहाल्नुहोस् है ।" पद्माको नरम बोली पहिलो पटक सुन्दै थियो प्रेम ।

"आइहाल्छु नि जाने ठाउँ कहाँ नै छ र मेरो ? तर आज अलिकति अबेर हुन्छ । आज स्कूलमा अबेरसम्म कार्यक्रम छ ।" प्रेमले गमक्क फुल्दै भन्यो ।

पद्मा प्रेमको स्कूलब्याग आफैले बोकिदिएर बाहिरसम्मै पुर्यायउन आई र हात हल्लाउँदै भनी"बाइ ! सियु !!"

पहिलोपटक पद्माकोयति आत्मीयतापूर्ण व्यवहारले ऊ अकमक्क पर्योल । यसको जवाफ कसरी दिनुपर्छ थाहा भएन वा जवाफ दिन पनि आवश्यक ठानेन । पुलुक्क स्वास्नीको मुखतिर हेर्दै स्कूलको बाटो हतारिँदै ततायो ।

स्कूलमा पुगिसकेपछिउसले पहिलो पिरियड पढायो । उसलाई हिजो बेलुकादेखि आकस्मिक रुपमा परिवर्तन भएको स्वास्नीको व्यवहारले अलमल्याइरहेको थियो । उसको मुटू पगारिरहेको थियोः "अझै समय बाँकी छ, केही बिग्रिएको छैन । नजाऊँ कि गोदावरी ?"

अर्को मनले भन्यो,"समय निर्धारित गरिसकेर यत्रो खर्च गरिसकेपछि कसरी त्यो सम्भव छ ? नजानुका जोखिमहरु पनि त थुप्रै होलान् नि । गएमा बिग्रिहाल्ने कुरा नहुन पनि सक्छ ।" चित्त बुझायो आफ्नै ।

०००

अतः मुटू दरो पार्दै ऊ बाँकी समयको लागि स्कूलबाट विदा लिएर गिफ्टका सामानहरु एउटा झोलामा बोकी ट्याक्सी लिएर लाग्यो गोदावरीतिर ।भर्खरै बनेको रिङरोडको चौडा र चिल्लो सडक, सातदोबाटोको शहरी वस्ती, हात्तीवनको भित्तो, बडिखेल पारितिर लेलेको जङ्गल, वारिपरिकोकुनै पनि दृश्यले पटक्कै तान्नसकेन प्रेमको मन ।उसका आँखामा पद्मा र प्रितिका अनुहारहरुले उधुम मच्चाइरहेका थिए पालैपालो ।

होटेल हिमालय भ्यूजमा ऊ तीन बजे नै पुग्यो । रेसेप्सनमा विभिन्न स्न्याक्सको अर्डर गरीवरी तीनसय नौ नम्बरको कोठाको साँचो लिएर तेस्रो तल्लामा उक्लियो । कोठाभित्र कैद हुन मानेन उसको मनले । झोला टेबुलमुनि घुसारेर कौशीमा निस्कियो । वारिपारि हेर्यो्, गोदावरीको बाक्लो जङ्गलमा धकेल्दै पुर्याेयो मन, फूलबारीतिर लखेट्यो, पारिको क्षितिजतिर देखिने उपत्यकासम्म पुर्याोयो मन, कतै अड्न सके पो ?आगोले पुत्ताउँदै गरेको मन त्यतैकतै भुलाउन खोज्यो,सक्दै सकेन।

चार बज्दै थियो । एउटाकार होटेलभित्र छिर्योग ।होटेलमाकार त कति आए कति गए त्यो उसले हेक्का राखेन । भरखरै छिरेको कार भने उसलाई विशेष लाग्यो । कारबाट एक नारी आकृति गहना र आभुषणहरुले सजिसजाउ भएर ओर्लियो ।बाटुलो र गोरो अनुहार, पुक्क गाला, सलक्क परेको जीउ, कटीसम्म लत्रेको घुर्मैलो सुनौलो कपाल, शिरदेखि गलासम्म लत्रेका बहुमूल्य गहनाहरु, गुलाबी सारी! यो त कुनै फिल्मी नायिका होली ।यही हो त प्रिती? अँहँ पत्याउनै सकेन उसले । 

'टकटक-टकटक…' भर्याीङमा उक्लिइरहेका स्यान्डलका स्वर टड्कारो सुनिरहेको छ ऊ ।त्यही टकटकसँगै उसको मुटूले लय मिलाउन थाल्यो । त्यो स्वर माथिल्लो तला उक्लिँदै गर्दा एउटा नारी स्वर झङ्कृत भयोः "उम्,तीनसय नौ नम्बर कोठा ?" यो निश्चयात्मकनारी स्वर सुन्नेबित्तिकै हत्तपत्त कोठाभित्र पसिसकेको थियो प्रेम ।

त्यो सुन्दरी त्यही कोठामा चहक र महक थप्दै टुप्लुक्कै आइपुगी । जति गरे पनि प्रेमले आफ्नो बढ्दै गरेको ढुकढुकी नियन्त्रणमा राख्न सकेन ।

०००

"हाइ जेन्टलम्यान!" मुस्कुराउने कोशिस गर्दै बोली प्रिति । उसले सर्सर्ति प्रेमको अनुहार पढी, ऊ असिनपसिन थियो र पीडाका रेखाहरु उत्रिरहेका थिए अनुहारभरि ।

"हाइ ! लेडी प्रिति!" मुस्कुराउने प्रयास गर्यो् प्रेमले पनि ।

"धेरै बेर प्रतिक्षारत हुनुहुन्थ्यो कि ? म समयअनुसार चल्ने आइमाइ, समयमै आइपुगेँ नि, होइन ? तपाईँ त समयभन्दा अगावै चल्नुहुँदोरहेछ ।खुशी लाग्यो ।"

"म त होष्ट हुँ नि त । समयभन्दा अघि नआएको भए कसले गर्थ्यो स्वागत ?" उसले गर्वले छाति फुल्याउने कोशिस गर्योा,"यु आर हेयर,योर हाइनेस ।" सोफातिर देखायो प्रेमले ।

"वेल, गुड ! एनिवे, के ल्याइदिनुभयो मलाई ? म हेर्नसक्छु ?" उभिई-उभिई सोधी प्रितीले ।

"ल्याउन लायक त्यस्तो केही पाइन । कस्तो प्रस्ताव हो ? स्पष्ट नभई केको लागि ? केर कसरी ल्याऊँ कोसेली ?" सहज हुँदै मनोविनोदमा उत्रियो प्रेम ।

"त्यसरी कहाँ पाइन्छ ? अम्sss म खोजूँ है त कोसेली ?" प्रितीको छङछङ स्वर र हिँडाइको लच्काइले नै मन्त्रमुग्ध भैरहेको थियो प्रेम । उसले टेबुलमुनि राखेको झोला भेट्टाई र भनी,"यो झोलाको अधिकार आजलाई मेरो पनि भएकोले मैले नसोधी खोलेँ है त ?" भन्दै झोलाको चेन उधार्दै सामानहरु एकएक गरी टेबुलमा ओइर्यापउन थाली ।

"आहाऽऽ फूलको पूरै बगैँचा नै उठाइदिएको ? वाउऽऽसुनको औँठी पनि? आहाऽऽउत्कृष्ट पुस्तकहरुपनि ? यी उपहार पाउने स्वास्नीमान्छे कति भाग्यमानी होली ?" उसले खुशीले हल्लिएको स्वाङ पारी ।

"दिनपाउनेमान्छे पनि त भाग्यमानी होला नि ! पाउने मात्रको कति प्रशंशा गरेको ?" मुटू कँपाउँदै बोल्यो प्रेम ।

"एकदमै, एकदमै ।" उसले ब्यागबाट क्यामेरा झिकी र कोठाको सम्पूर्ण अवस्था आउने गरी कुनातिर मिलाई ।

"किन नि यो क्यामेरा ?" अलिकति चिसो पस्यो प्रेमको मनमा । ऊ प्रितीको सुन्दरतामा खेल्न जति स्वतन्त्र थियो अब अवरोध सिर्जना भए झैँ अनुभूति गर्योे ।

"तपाईँले किन बुझ्नुभएन कुन्नि ? म प्रेम-प्रस्तावकै सिलसिलामा आएकी हुँ । यसले पछिसम्म हामीबीचको प्रेम प्रस्तावको प्रमाण बक्ने छ नि जेन्टलम्यान ।"

प्रेम-प्रस्ताव भन्ने बित्तिकै प्रेम लाजले पुनः सङ्कुचित भयो । उसले जे सोचिरहेको थियो, आखिर कुरा त्यही नै रहेछ । प्रितिको रुपले उसलाई त चुम्बकसरि खिँचिरहेको थियो,उसको मनमष्तिष्कप्रितीबाट दायाँबायाँ चलमल गर्न के सक्थ्योबरा !

"सुन, हामी पहिले प्रेमर त्यसको बुझाइको विषयमा स्पष्ट हुनेछौँ । अनि आआफ्ना गिफ्ट सहित प्रेम-प्रस्ताव राख्न स्वतन्त्र हुनेछौँ । आर यु रेडी ?" प्रिती अब सोफासेटमा आएर फैलिएर बसिसकेकी थिई । ऊ प्रेमको यति नजिक थिई कि उसको जीउको सबै पर्फ्यूमको मादकतायुक्त सुगन्ध प्रेममा सरेरनाक नै ध्वाँरिरहेको थियो ।

"आइम टोटल्ली रेडि, लेडि प्रिति !"

"ह्वाट डु यु मिन बाइ लभ?"प्रश्न तेर्स्याई उसले ।

"पाउलो कोइलो सेज द्याट् वान इज लभ्ड, बिकज वान इज लभ्ड । नो रिजन इज निडेड फर लभिङ ।" उसको दिमाग हुँदै जिब्रोमा पाउलो कोइलो आइहाल्यो । प्रतिक्रियाको प्रतिक्षामा बस्यो प्रेम ।

"बट, अब्दुल कलाम सेज द्याट लभ योर जब, नट योर कम्पनी, बिकज यु मे नट नोउ ह्वेन योर कम्पनी स्टप्स लभिङ ।" प्रितीले खण्डन गरी ।

"द्याट डजन्ट म्याटर । इन द लभ, जब एण्ड कम्पनी आर सेम थिङ ।" प्रेम पनि के कम हुन्थे तर्क पेश गरिहाल्यो ।

"द्यान जेन्टलम्यान, के तपाईँ सम्पूर्ण रुपमा मलाईनै माया गर्न सक्नुहुन्छ ?"प्रितीको यो कठीन प्रश्नले हच्कियो प्रेम । भित्रभित्रै बेसरी हडबडायो । ऊ सहज हुने कोशिस गर्दै भन्यो,"तपाईँले मलाई जति माया गर्नुहुनेछ, त्यो अनुपातमा म बढी नै गर्नेछु ।"

"मायाको खेलमा मायाको तुलना हुँदैन, जेन्टलम्यान !" प्रितिको तर्कले अलमलियो प्रेम । ऊ त"याऽऽ याऽऽ !" गर्दै अकमकाइरह्यो । रेडिमेड जवाफ मुखमा आउँदै आएन ।

"अब भन कि मैले 'पन्ध्र वर्ष पर्ख !' भनेँ भने तिमी पर्खन सक्छौ ?" तिमी सम्बोधनतिरअकस्मात ओर्लिई प्रिती ।

"देर इज नो लिमिट अफ एज इन लभ ।" सकारात्मक बन्न खोज्यो प्रेम ।

"ह्वाट डु यु थिङ्क अफ अ वुमन ?"

"आइम टोटल्ली लिवरल टु वुमेन !"

"हाउ अ ग्रेट थिङ्किङ ! वाउऽऽ कति महान बिचार !!" आकाशमै पुर्या्इदिई प्रेमलाई प्रितीले ।

"मलाई पनि तिमी अद्वितीय बिचारको लाग्दछ ।" पिरतिमा तिमी सम्बोधनले निकटता बोध गराउँछ । यही अर्थ्याएर प्रेमले पनि तिमी सम्बोधन गर्न थाल्यो प्रितीलाई ।

"तिम्रो बिचार झन् महान छ । आफूलाई मिटाएर अरुलाई सहयोग गर्ने यो संसारमा बिरलै होलान् । तिम्रो सहयोग झनै उत्कृष्ट छ । आफ्नो बिचारको क्रेडिट अरुलाई दिन खोज्छौ !" प्रेम सुनिरह्यो केही बोलेन । प्रिती पुनः बोलीः "त्यति वेट गर्न समस्या छैन भने पन्ध्र वर्षपछि तिमी कति वर्षका हुन्छौ नढाँटेर भन त !"

फेरि हडबडायो प्रेम । प्रितिलेमेहन्दीले सजिएका मसिना औँलाहरुले क्यामेरातिर इङ्गित गरेपछि भन्यो,"एक्चुयल्ली नाउ आइम फोर्टी फाइभ, आइल बि सिक्स्टियाट द्याट टाइम ।" यो प्रश्न अलिकति असहज लागेको थियो प्रेमलाई । तर प्रेमको अन्तर्वार्तामा बसेपछि हर प्रश्नको जवाफ नदिई करै थियो ।

"के साठी वर्षको बूढो उमेरमा पनि चालीस नकटेकी युवतीलाई उत्तिकै माया गरौला त तिमी ?"

प्रेमले भन्यो,'यो त म्याग्नाकार्टा नै भयो नि । आज जति महत्त्वपूर्ण छ यो करार, यसको म्याद समाप्त होउन्जेल यसका कुनै बुँदाहरुको पनि महत्त्व एकरत्ति घट्ने छैन ।"

"युआर सो क्विक एण्ड वाइज, जेन्टलम्यान । अनि ? भन,पन्ध्र वर्ष अगाडि तिमी कति वर्षका थियौ रे ?"

यो खेदाइले झोक्कियो प्रेम "के तिमी गणितको परीक्षा लिँदैछौ मसँग ? म त्यतिबेला तीस वर्षको थिएँ । काफ्काले भनेका छन् कि “Youth is happy because it has the capacity to see beauty. Anyone who keeps the ability to see beauty never grows old.” 

"यो गणितकै परीक्षा हो सम्झ । सुन राम्रोसँग, म पन्ध्र वर्ष अगाडि दश वर्षकी मात्र थिएँ ।यस हिसाबले जवाफ देऊ मलाई'के तीस वर्षको बूढोले दश वर्षकी नाबालिकालाई प्रेम-प्रस्ताव गर्ने जमाना हो यो ?" अकस्मात कड्किई प्रिती ।

अकस्मात उत्पन्न विपरीत परिस्थिति, उल्टो प्रश्न र उसको कड्काइले प्रेमको मुटूमा महाभूकम्प नै गइदियो रउसका मर्दानापन,विश्वास, आकांक्षा एवं अभिमानका धरोहरहरु एकैचोटी गर्ल्यामगुर्लुम ढले र त्यहीँ कतै पुरियोऊ । उसकोहोशहवास नै गुम भयो ।

"मलाई तिमीले किन परिबन्दमा पार्न खोज्दैछ्यौ ? मेरो इच्छाले कहिले पनि तिमीलाई प्रेम-प्रस्ताव राख्न चाहेको थिइन । तिमी आफैले यो परिस्थितिको सिर्जना गरिदियौ ।" प्रेम रुँलारुँला जस्तो गरी धेरैतलबाट बोल्यो ।

"ठीक छ, मैले नै परिस्थितिको सिर्जना गरेँ रे । गलत केटीको बहकाउमा लागेर आफ्नो परिवार भत्काउन चाहन्छौ तिमी ? त्यसरी फस्न सजिलो छ हैन, तिमी पुरुष भनाउँदाहरुलाई ?" झनै स्वर ठूलो पारी प्रितीले ।

रेडिमेड जवाफ थिएन प्रेमसँग । कुनै पनि लेखकको 'इन्स्पाइरेशनल कोट' दिमागमा आउन छोड्यो । आफूलाई सक्दो नियन्त्रित गर्दै यति भन्यो,"क्षमा गर्नुहोस् प्रितीम्याम् । मैले हजुरलाई चिन्नै सकिन ।"

"मेरो ठाउँमा अर्की आइमाइ भएकी भए चिन्न सक्थ्यौ तिमी ? अझै आफ्ना गल्ती ढाकछोप गर्न एउटी केटीलाई नै दोष दिँदैछौ होइन ?" हुम् गर्दै प्रेमलाई धकेल्दै उठी प्रिती ।

प्रेम पनि धङधङिदै जुरुक्क उठ्यो,"म तिमीलाई एकएक जवाफ दिनेछु, मलाई एकछिन रेष्ट गर्न देऊ ।" हाउभाउबाट स्पष्ट देखिन्थ्यो किप्रेम आक्रामक मुडमा पुगिसकेको थियो ।ऊ प्रितिलाई जगल्ट्याउन चाहन्थ्यो र आफ्नो प्रमाणिक बचाउको लागि त्यो दृश्य कैद गरिरहेको क्यामेरातिर लम्कियो ।

प्रितीले तुरुन्तै चेतावनी दिई"स्टप प्रेम ! त्यति सजिलो छैन क्यामेरा फाल्न। मैले प्रहरी र मेरा परिवारका सदस्यहरु पनि सँगै ल्याएर आएकी छु । तिनीहरु बाहिर तिमीलाई नै कुरेर बसिरहेका छन् ।"

प्रितीको चेतावनीले भर्खरै गएको भुइँचालोको ठूलै पराकम्पन गयो फेरि फलस्वरुप उसलाईहच्किन करै लाग्यो ।झण्डै बेहोस भएर ढलेन । यो योजनाबद्ध चेतावनीले उसले प्रितीलाई हातपात गर्न पनि सकेन र त्यहाँबाट भाग्ने सोच पनि बन्द भइदियो । बरु दुईहातले टाउको थिच्दै थुचुक्क बस्यो र भन्यो,"ओहोss प्रिती, तिमीले मलाई बर्बाद गर्नकै निम्ति यति ठूलो प्रपञ्च रचिसकिछ्यौ । मैले यो परिस्थितिको पटक्कै अनुमान गर्नसकिन । तर यो मामलामा म सम्पूर्ण रुपमा निर्दोष छु । मेरो जिन्दगीलाई यसरी परिबन्दमा फसाइदिएकोमा तिमीलाई घोर पाप र पश्चात्ताप लाग्नेछ ।"

प्रिती गडगडाउँदै बेसरी हाँसी र त्यसरी नै लामो समयसम्म हाँसिरही । 

०००

"किन तर्सिनुभयो तपाईँ? मैले तपाईँकोमन जाँच्नको लागि मात्र यो नाटक रचेकी हुँ । म तपाईँको प्रस्ताव स्वीकार्न भनेरै यहाँसम्म आइपुगेकी हुँ । बि कमन ! बि कमन !"ऊ प्रेमको नजिक नजिक सरेर फकाउन खोजी । सम्बोधनमा पुनः आदरार्थीमै उक्लिई । प्रेम भने पछिपछि सर्दै भन्योः "म अब कुनै हालतमा तिमीलाई विश्वास गर्नेछैन । तिमी धोखेबाज हौ प्रिती,अहिले मात्र होइन म तिमीलाई जिन्दगीभर विश्वास गर्नेछैन अब ।"

"मलाई मात्रविश्वास नगर्ने कि अरुलाई पनि ?"विजयभावले मुस्कुराउँदै बोली प्रिती ।

"आफ्नो सम्बन्धभन्दा परका कुनै नारीलाई पनि विश्वास गर्ने छैन म ।हेरिराख्नू ।"स्वाँस्वाँ गर्दै बोल्यो प्रेम ।

ऊ फेरि उसरी नै गडगडाएर हाँस्न थाली । अनि ब्यागबाट ल्याएको एउटा सानो बाकस झिकी र भन्दै गई,"तपाईँ पत्याउनुहोस् वा नपत्याउनुहोस् ।एक्चुयल्ली मैले तपाईँको साहस जाँच्न खोजेकी हुँ ।तपाईँले प्रस्तावको लागि ल्याउनुभएका उपहारहरुको प्रयोजन समाप्त भैसकेको छैन अझै ।"

ती गिफ्टहरु टेबुलबाट उठाउँदै एकएक गरी आफ्नो बाकसमा राख्न थाली । प्रेमलाई निश्चय भैसकेको थियो कि प्रिती एउटी लुटेरा रब्ल्याकमेलर हो । उसले जे नगर्नुथियो, त्यो भुलभुलैयामै गरिसकेका थियो । अब ती प्रयोजन समाप्त भैसकेका वस्तुहरुप्रति पटक्कै मायाँ थिएन उसलाई । वेपरवाह भइदियो त्यतातिर । प्रितीले भने कुनै प्रतिक्रिया आउँछ कि भनेर उसको नजर जाँचिरही र बाकसलाई उठाएर आफ्नो झोलामा खाँदखूद पारी ।

"जाऊँ अब । हाम्रो प्रेम-प्रस्ताव कार्यक्रम यहीँ समापन भयो ।" जीउ र कपडाहरु ऐना हेरेर मिलाउँदै बोली प्रिती ।

"तिमी जाऊ, म जाँदिन ।मेरो कार्यक्रम म आफैले समापन गर्छु । यो समापन तिमीसँग बिलकुलै सम्बन्धित हुनेछैन ।" उसले यति अपमान बेहोर्नुपरिसकेपछि घरमा नफर्कने निर्णय गरिसकेको थियो ।

"जाँदैनौ ? बोलाऊँ पुलिस ? मसँग गए सुरक्षित हुनेछौ, तर आलटाल गर्यौम भने झनै नसोचेको परिस्थिति उत्पन्न हुनेछ अहिले ।" प्रेमको पखेटा तान्दै भनी प्रितीले ।

"छोड मलाई ।"उसले आफ्नो पाखुरामा बेरिएको प्रितिको हात झड्कारिदियो,"अहिलेसम्म त सोचेकै परिस्थिति भोगिरहेको छु नि म ?"उसका आँखा राताराता भइसकेका थिए । जिउ बेसरी डगडग काँपिरहेको थियो ।

"बि कमन ! जेन्टलम्यान ।"प्रितीले क्यामेरा तानी र आफ्नो ब्यागमा राख्दै भनीः"आउनुहोस्, खुरुक्क आउनुहोस् प्रेमी महोदय । मेरो पछिपछि आउनुहोस् ।"

प्रेम जुरुक्क उठ्यो र अन्यमनस्क रुपमा प्रितिको पछिपछि लाग्यो । रिसेप्सनमा वेटरले स्न्याक्स तयार भएको जनाउ दिँदै थियो । उसले त्यसको समेत बसाइको हिसाब बुझाइदियो ।

प्रितीले आफ्नो कारको ढोका खोलिदिई । ऊ खुरुक्क गएर पछिल्लो सिटमा बस्यो । हात्तीवन आउन्जेल केही बोलेन प्रेम । प्रिती भने कारको ब्याकलाइटमा प्रेमको बेसरी बिग्रिएको अनुहार हेरेर मुस्कुराइरहेकी थिई । प्रिती जति मुस्कुराउँथी उति नै क्षोभ बढ्दै गएको थियो प्रेमको ।

०००

प्रितीको घर जाउलाखेलतिर थियो तर सातदोबाटो चोकबाट कोटेश्वरतिर मोडियो कार । 

"मलाई यतै झारिदिन्छ्यौ कि लुट्न वा प्रतिशोध साँध्न बाँकी नै छ अझै ?" शुष्क स्वरमा बोल्यो प्रेम ।

"त्यतिविधि नडराउनुहोस् महोदय । म हजुरलाई हजुरकै घरसम्म पुर्यारइदिनेछु ।"

"कसैसँग जानुपर्यासछैन मलाई । म एक्लै जान्छु आफ्नो घरमा ।"

मुसुक्क हाँसी मात्रै प्रिती केही जवाफ दिइन । गाडी अब ग्वार्कोचोक क्रस गरेर अगाडि हुँइकिइरहेको थियो । एकछिनको सन्नाटापछि प्रिती सिरियस हुँदै बोलीः 

"सरी है । मैले तपाईँलाई यति हैरानी खुवाइदिएँ कि तपाईँ जीवनको अकल्पनीय तनावमा पर्नुभयो । अब बाटोमा तपाईँलाईकहाँ छोड्नसक्छु एक्लै । मैले तपाईँलाई घरमै पुर्यावइदिने कसम खाइसकेकी छु ।"

"आखिर किन रच्यौ यति खतरनाक नाटक तिमीले ? के रिसर प्रतिशोध साँध्नुथियो ममाथि ? मेरा हर रिक्वेष्टहरु अस्वीकार गरेको भए म उतिखेर नै तिम्रो पछि त लाग्दैनथेँ कमसेकम ।" प्रिती कम्किएको देखेपछि अब कड्किने पालो प्रेमको थियो ।

"एक्चुयल्ली, म क्षमायाचना गर्दछु तपाईँसँग । …किनकि यसबारे तपाईँबाटै कथा लेखाउनु थियो मैले । यदिमैले तपाईँलाई शुरुमै अस्वीकार गरेको भए तपाईँभित्र जागृत नारीप्रतिका लोभ, माया, मोह,अहंकारहरु कदापि मर्दैनथे । ती अर्कोतिर सल्कन्थे र यो भन्दा भयानक परिबन्दको शिकारमा अर्की कुनै केटी पर्थी । ती कुरा बाहिर कहिल्यै आउँदैनथे पनि । अब त्यो बाहिर आउनेछर सबैले सुन्नेछन् एउटा अनमेल प्रेम-प्रस्तावको सुन्दर कहानी।"

"म कहिल्यै लेख्नेछैन यो कथा । तिमीले गर्नु अपमान गर्यौु मेरो । आखिर किन किन ?" उसका रिस अझै मरिसकेका थिएनन् । रिस मर्ने खालको कुरै थिएन त्यहाँ ।

"किनकि पद्मा मेरी नजिककी फूपू पनि हुन् र बढी त मजस्तै एक नारी पनि हुन् । उनको जीवन रक्षा गर्नु मेरो पनि कर्तव्य थियो ।" हाँस्दै ढुक्कसाथ बल्ल पोल खोली प्रितीले ।

नसोचेको समयमा प्रेमको मुटुभित्र भुइँचालो बराबरकै पराकम्पन फेरि गइदियो । बिचलित भयो र बेसरी हल्लियो प्रेम ।

"हँ ? पद्मा, तिम्रीफूपू ??" उसको आँखा ठूलाठूला भए ।जोगाउन मिल्ने केही थिएन, बचेखुचेका अभिमान र भरोसा उठ्न नपाउँदै पुनः गर्ल्यामगुर्लुम ढलेर त्यसैभित्र ऊ थिचियो । यति लज्जास्पद घटना परिवारबाट लुकाउन सकिन्छ कि भन्ने विश्वासमा थियो अझै, उसको त्यो आशा असिम गहिराइमा फेरिपुरियो ।

हुँइँकिरहेको कार प्रेमको घरको आँगनमा पुगेर रोकियो । कार आएको देखेर पद्मा बाहिर निस्किई र दौडिँदै कारको झ्यालनेरै आइपुगी । प्रितीलेझोलाबाट झटपट गिफ्ट तानी र प्रेमको हातमा थमाइदिई । पद्मातिर हेर्दै हाँस्दै भनी,"काफ्काले भनेका छन्'आइएम अ केज, इन सर्च अफ अ बर्ड' ।" दुवै नारीहरु खिलखिलाउँदै हाँस्न थाले । प्रेमले मरक्क टाउको अर्कोतिर मर्कायो ।

"फूपाजू यो गिफ्ट हजुरकै हातले फूपूलाई दिनु त ! दिनु न दिनु! लजाउनु हुँदैन, लभको स्याक्रिफाइसमा ।"

प्रेम पत्नीको अगाडि लुसुक्क पर्योु । प्रितिको आदेश नमान्नुको कुनै विकल्प छोडिएको थिएन त्यहाँ । प्रेमले पद्मालाई गिफ्ट दिँदै गर्दा प्रितीले ताली पिटी ।

"अनि सुन्नुस् फूपू, तपाईँकै कचकचे व्यवहारले हातबाट चिप्लिइसकेको फुपाजूलाई जतनले तपाईँकै हातमा ल्याएर थमाइदिएकी छु । अर्की केटीले यति इमान्दारीपूर्वकजिम्मेवारी पूरा गर्न सक्नेछैन है, बिचार गर्नुहोला तपाईँ पनि ।

यो क्यामेरामा कैद भएको भिडियो भने केही समयसम्म मसँगै रहनेछ ।" यति भनिनसक्दै प्रिती फनक्क कारलाई मोडेर फिर्ता हुइँकिहाली ।

त्यसपछि प्रेम टाउको निहुराएर खुट्टाको बूढी औँलाले आँगनको माटो कोर्दैधेरैबेरसम्म उभिइरह्यो । बारम्बारका पराकम्पनहरुका ढलाईबाट पुनःउठ्ने जुक्तिखोजिरहेको हुँदो होऊ ।

०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप