शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रतिबद्धता

नेता सुध्रे समाज सुध्रिन्छ : प्रभु साह
शुक्रबार, १८ माघ २०७५, २० : ४०
शुक्रबार, १८ माघ २०७५

रौतहट । ‘न्याय न पाए गोरखा जानु, एसएलसी पास गर्नेभए रौतहट जानु’ भन्ने उखान पछिलो केही दशकदेखि यस जिल्लामा चरितार्थ हुँदै आएको छ ।

पछिलो समय विद्यार्थीको लागि एसएलसी पास गर्नु फलामे गेट पार गर्न मान्यता रहेको समय राजधानी काठमाडौं लगायत दर्जनौ जिल्लाका विद्यार्थी चिट चोरेर रौतहट आउने गर्दथे ।

बाहिरबाट आउने अधिकांश विद्यार्थी पास भएर जान्थे । एसएलसीमा राम्रो नम्बरले पास हुन चिट चोर्नैपर्ने सबैको मान्यता रहेको थियो ।

परिक्षा आउँदा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधी, सुरक्षाकर्मी सबै आ–आफनो स्थानबाट चिट चोर्नमा 
सहयोग गर्दथे ।

चिट चोर्न नजाने अथवा असहयोग गर्ने शिक्षकलाई अभिभावकले प्रत्यक्ष रुपमा गालीगलौज गर्दथे । एसएलसीपछि एसईई लागु हुँदा चिट चोर्ने परिपाटी केही हदसम्म कमि आएको छ ।

तर केही जानकारहरु प्रायः शिक्षकहरु अहिले पनि आफ्ना छोराछोरीलाई काठमाडौं, चितवन, हेटौंडा जस्ता शहरहरुमा निजि बोर्डिङ स्कुलमा पढाउने तर एसईईको परिक्षा दिलाउन गाँउ ठाँउको सामुदायीक विद्यालयमा ल्याउने गरेका छन् ।

मानव सूचकांकमा सबैभन्दा पुच्छारमा रहेका जिल्ला रौतहटमा विगतदेखि चल्दै आएको शिक्षा अन्र्तगत विकृतीलाई निमुल पार्न र जेहेन्दार विद्यार्थी बनाउन जिल्लामै पहिलो टक एक सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षाका लागि सरोकारवाला सबैले प्रतिबद्धता जनाएका छन ।

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का अध्यक्ष तथा पूर्वमन्त्री सघीय सांसद प्रभु साहको पहलमा उनकै गाँउ मौलापुर नगरपालिका–८ सोनरनियास्थित जनता माविका सरोकारवाला सबैले एक समारोह बीच गुणस्तरिय शिक्षाका लागि मौखिक र लिखित रुपमा सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

कुनै सार्वजनिक पदको जिम्मेवारी लिन सपथ ग्रहण लिए जस्तै कार्यक्रमका प्रमुख अतिथि सांसद साह, उनकी श्रीमती एवं मौलापुर नगर प्रमुख रिना कुमारी साह, प्रदेश सांसद कुन्दन कुश्वाहाले प्रतिबद्धतापत्र पढेका थिए भने स्कुलका प्रधानाध्यापक रामवाल यादवलगायतका सबै शिक्षकहरुले दोहोर्याएका थिए ।

सो पश्चात सांसद साहलगायतका जनप्रतिनिधीले अर्को प्रतिबद्धतापत्र अगाडि पढेका थिए भने अभिभावकले दोहोर्याएका थिए ।

शिक्षकले पढ्ने प्रतिबद्धतापत्रमा म तपाईहरुलाई साक्षी राखी यो प्रतिवद्धता गर्दछु कि म निर्धारित समयमा नियमित विद्यालयमा आउनेछु । विद्यालयमा स्वच्छ वातावरण निर्माण गर्दै विद्यार्थीहरुको उज्वल भविष्य बनाउने लक्ष्य राखी आफनो पेशाप्रति समर्पित रहने छु ।

त्यसैगरी अभिभावकले पढेका प्रतिबद्धतापत्रमा म आफ्नो बच्चालाई तोकिएको समयमा विद्यालय पठाउनेछु ।

बच्चाको सरसफाईमा ध्यान दिँदै समग्र गतिविधीमा निगरानी राख्नेछु । समय समयमा शैक्षिक सामग्री उपलब्ध गराई बच्चाको हौसला बढाउनेछु । विद्यालयको कृयाकलापमा सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।

कार्यक्रमका प्रमुख अतिथी सांसद प्रभु साहले विद्यालयको भौतिक संरचनादेखि विद्यालयको स्तरवृद्वि, विद्यालयमा चाहिने सबै सामग्री उपलब्ध गराउन प्रतिबद्धता जनाए ।

उनले नेता सुध्रे समाज सुध्रिने भएकाले विद्यालयको गतिविधी राम्रो बनाउन सबै जनप्रतिनिधी लाग्नुपर्ने र विद्यालयमा स्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई अनुरोध गरे ।

प्रदेश सांसद कुन्दन कुश्वाहाले शिक्षा बिनाको संसार अन्धो जस्तै हुने भएकाले आफ्ना छोराछोरीले राम्रो पढिरहेका छन कि छैनन सोको निगरानी गर्नुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप