शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देश ‘बन्दै छ’, अस्पताल बन्द छ !

अस्पतालमा लाग्यो ताला, सेवा बन्द गर्न प्रशासनलाई डाक्टरहरुको धम्की
शुक्रबार, १८ माघ २०७५, १५ : ४०
शुक्रबार, १८ माघ २०७५

समय : बिहानको ९ः३० बजे । 

चिकित्सकहरुको पूर्व घोषित आन्दोलनले राष्ट्रिय ट्रमा सेन्टरको ओपीडी सेवा ठप्प थियो । 

आन्दोलनबारे बेखबर सर्वसाधारण उपचारको आशामा बिहानै अस्पताल परिसर पुगेका थिए । तर, सेवा बन्द भएको पाए पछि धेरै जना फर्किसकेका थिए । केही फर्कने क्रममा थिए ।

फेरि केही समय पछि ओपीडीको टोकन खुल्ला गरियो । एक जना अस्पतालको कर्मचारी टोकन हातमा लिँदै ‘ओपीडी सेवा खुल्ला भयो’ भन्दै कराउँदै थिए । 

तर धेरै बिरामी फर्किसकेका थिए । केही पुराना बिरामीहरु मात्र बाँकी थिए टिकट काट्न ।    

सेवा बन्द नगर्दा डाक्टरले पनि धम्क्याउने र आफै ओपीडी सेवा बन्द गर्नेको रमिते बिरामी आफैले देखे । डाक्टरहरुको यस्तो हर्कत देखेपछि बिरामी कोही निजी अस्पतालतर्फ लागे भने कोही घरतिर लागे । 

बालसरा मगर डल्लूबाट आफ्नो ५ वर्षको छोराको उपचारको लागि ट्रमा सेन्टरमा  छोरालाई ल्याएकी थिइन् । तर त्यहाँ पनि ओपीडी सेवा बन्द थियो । 

बिहान ८ बजे अस्पतालमा आएकी बालसराले झण्डै ३ घण्टासम्म अस्पतालको वातावरण बुझनै सकिनन् । छोरा उज्वल मगरलाई हिजो विद्यालयमा साथीभाईसँग खेल्दा बायाँहातको कुममा चोट लागेको थियो ।  

साँझ घरमा दुख्यो भन्दै धेरैनै रोएपछि कुममा केही समस्या भयो कि भनेर उनले उपचारमा ट्रमामा ल्याएकी थिइन् । 

ओपीडी बन्द भएपछि छोरालाई अन्ततः ट्रमाको आकस्मिक कक्षमा देखाइन् । 

महोत्तरीका राज देव महत ज्यामी काम गर्छन् । ५५ वर्षका महतको घरमा काम गर्ने क्रममा लडेर दुब्रे खुट्टा भाँच्चियो । 

महोत्तरीमा उपचार नभएपछि उनलाई ट्रमा सेन्टरमा रिफर गरियो । उपचारको लागि परिवारले एम्बुलेन्समा ट्रमामा ल्याए । 

सेवामा नफर्किने चिकित्सकहरुलाई कार्वाही गर्ने सरकारको चेतावनी 

आकस्मिक कक्षमा उपचारको लागि राखिए पनि एक्स—रे गर्नको लागि वीरमा पठाए । तर वीर अस्पताल पनि चिकित्सकको आन्दोलनको टार्गेटमा परेको यो बेलामा राज देवका परिवार एक्स—रे को लागि यताउता भौतारिँदै थिए । अस्पतालको कर्मचारीलाई हारगुहार गर्दै थिए । 

यी दुई बिरामी प्रतिनिधि पात्र मात्रै हुन् । पुष २५ देखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक संसद र राष्ट्रियसभाबाट पनि पास गरेको भन्दै अहिले चिकित्सकहरु आन्दोलनमा छन् । 

एक साता देखिनै चिकित्सकहरुले स्वास्थ्य सेवाभन्दा पनि आन्दोलनलाई प्राथमिकता दिन थालेपछि बिरामीहरु मारमा परेका छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायत देशका ठूला सरकारी अस्पतालको ओपीडी सेवा आज पूर्ण रुपमा प्रभावित भयो । 

टिचिङमा सुरक्षाबीच सेवा

यता, टिचिङमा भने अस्पताल प्रशासनको जोडबलमा ओपीडी सेवा खुल्ला गरेको देखियो । प्रशासनले सुरक्षाको बीच सेवा प्रदान गरिरहेको थियो । 

शिक्षण अस्पतालबाट डेढ दर्जन डाक्टरहरु पक्राउ

अस्पताल प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारी कुन विभागमा कति चिकित्सक छन् भन्ने तथ्याङ्क संकलनको लागि घुम्दै थिए । तर सेवा दिने चिकित्सक आन्दोलनमा उत्रिए पछि टिचिङको ओपीडी सेवा पनि प्रभावित भएको देखियो । 


 
ट्रमा सेन्टरमा बिरामीको उस्तै बिजोक 
देशको एक मात्रा ट्रमा सेन्टर अन्य स्वास्थ्य संस्था भन्दा नितान्त फरक तरिकाको सेवा दिने सेन्टर हो । यो सेन्टरमा दूर्घटनामा परेका अधिकांश बिरामीहरु ल्याइन्छ । तर आज चिकित्सकको आन्दोलनले ट्रमाको ओपीडी सेवा ठप्प रह्यो । 

ट्रमा सेन्टरमा आधा चिकित्सक सेवा दिने र आधा आन्दोलनको पक्षमा देखिए । टिकट काउण्टरनै आन्दोलनरत चिकित्सकहरुले बन्द गरेको हुँदा बिरामी जाँच्छु भन्ने चिकित्सकले पनि बिरामी जाच्न पाएनन् । 

वीरमा तालाबन्दी 
नेपाल चिकित्सक संघको अगुवाईमा डा. केसीको पक्षमा आज ओपिडी सेवा बन्द गर्ने निणर्यनै थियो । वीर अस्पतालमा बिरामीहरु उपचारको लागि ओपीडी आगाडि बसिरहेका छन् । तर ओपिडीमा जाने ढोकामा ताला लगाइएको छ । 

अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेतले भने, ‘वीरमा ३ सयको हाराहारीमा आवसीय चिकित्सक आन्दोलनमा उत्रिदा ओपिडि सेवा ठप्प भएको बताए ।’ 

ताला लगाउने चिकित्सक संघसँग वार्ताको लागि छलफल गर्ने प्रयास भईरहेको तर आन्दोलन गर्ने पक्षका चिकित्सकहरु नआएको बताए । 

विरामीले सेवा पाउनुपर्छ —अस्पताल प्रशासन 
चिकित्सकको आन्दोलनले देशभर स्वास्थ्य संस्था ठप्प हुँदा अस्पताल प्रशासन भने सेवा सुचारु हुनु पर्ने पक्षमा छन् ।

अस्पताल प्रशासन सेवा सुचारु हुनुपर्छ भन्ने पक्षमा लागे पनि सेवा प्रदान गर्ने चिकित्सकहरु आन्दोलनमा उत्रिदा प्रशासनले चाहेर पनि पूर्ण रुपमा सेवा सुचारु गर्न सकेनन् ।  देशकै एक मात्रै रिफरल सेन्टरको सेवा प्रभावित हुँदा सयौँको संख्यामा बिरामीहरु सेवा पाउनबाट बञ्चित भएका छन् । 

यस्तै ट्रमा सेन्टरका प्रशासन प्रमुख गुणराज भट्टराईले अस्पताल सेवा बन्द गर्ने पक्षमा नभएको तर पनि सेवा दिने चिकित्सक आन्दोलनमा भएको हुँदा सेवामा समस्या आएको बताए । 

आज शुक्रबार ट्रमामा पूर्वघोषित कार्यक्रमका कारण बिरामी संख्या कम भए पनि त्यसबारे अनभिज्ञ बनेर ओपीडीमा आएका बिरामीले सेवा नपाएको दुखेसो पोखे ।  

प्रशासनले सेन्टरमा भएको चिकित्सकबाट सेवा उपलब्ध गराउन निःशुल्क टिकट दिँदै सेवामा पठाएको भट्टराईले बताउँछन् ।  

ट्रमा सेन्टरमा नेपाल चिकित्सक संघ बन्द गर्ने र सरकारी चिकित्सक संघ भने सेवा प्रदान गर्नुपर्छ भन्ने पक्षमा रहेका छन् । तर टिकट लिने ठाउँनै बन्द भएको हुँदा नागरिकले सेवा पाउँन सकेनन् । 
स्वास्थ्य संस्थामा सेवानै बन्द गर्ने गरी आन्दोलन गर्न नहुने पक्षमा सबै अस्पताल प्रशासन छन् । 

डा. केसीको अनसनको पक्षमा भइरहेको आन्दोलनको सवालमा सरकारले कदम चाल्नुपर्ने र अस्पताललाई सधैँको लागि आन्दोलन मुक्त बनाउनुपर्ने अस्पताल प्रमुखहरुको भनाइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप