केन्द्रीय संस्करण

उत्पादन तथा सेवामूलक अर्थतन्त्र र समाजवाद

person explore access_timeमाघ १७, २०७५ chat_bubble_outline0

शास्त्रीय अर्थशास्त्रीहरूले अर्थशास्त्रलाई धनको विज्ञान भनेर परिभाषित गरे । एडम स्मिथले यस सन्दर्भमा राज्यको धन भन्ने सनसनीपूर्ण पुस्तक नै लेखे । सामन्यतय अर्थशास्त्र भनेको त्यो सामाजिक विज्ञान हो, जसले माल र सेवाको उत्पादन, वितरण र उपभोग गर्छ । वस्तुतः आधुनिक शास्त्रीय राजनीतिक अर्थशास्त्रको उदय अठारौँ शदीको अन्त्य र उन्नीसौँ शदीको प्रारम्भबाट भएको देखिन्छ । स्मिथ, रिकार्डो, माल्थस र जेएसमीलहरू शास्त्रीय अर्थशास्त्रीहरू हुन् । उनीहरूले कुनै पनि खास समुदाय वा मुलुकभित्र धन आर्जन गरिने शृङ्खलाहरूको समुच्चय रूप नै अर्थशास्त्र हो भनेर परिभाषा लगाए । अर्थात् धन आर्जन, उत्पादन, व्यापार र नाफाको कक्षभित्र अर्थशास्त्रलाई कैद गरे । 
 

   तर यो अर्थशास्त्रको सामन्य र प्राविधिक परिभाषा थियो । उनीहरू अर्थतन्त्रको चरित्र, त्यसले पैदा गर्ने अन्तरविरोध र त्यसको समाजमा पर्ने प्रभावहरूको सवालमा मौन बसे । पछि उन्नीसौँ शदीको मध्यबाट कार्ल माक्र्सले अर्थराजनीतिक सम्बन्धबारे स्पष्ट व्याख्या गर्नुभयो । उनले वर्गसमाजमा अर्थतन्त्र वर्गीय हुने सार्वभौम सच्चाइ पेश गर्नुभयो । त्यति मात्र होइन अर्थतन्त्रलाई चलायमान राख्ने चालकशक्ति मजदुरवर्ग रहेको तथ्य पत्तो लगाउनुभयो । यो वर्गीय सामाजिक उत्पादन पद्धतिद्वारा ओतप्रोत हुने प्रष्ट गर्नुभयो । यही अर्थराजनीतिक सम्बन्धकै कारण समाजमा शोषण–विभेद र हेलाहोचो कायम रहने सच्चाइ अन्वेशष गर्नुभयो । उहाँले माल उत्पादनको सिलसिलामा मजदुरहरूलाई असाध्यै न्यून ज्याला दिएर पुँजीपतिहरूले अध्यधिक नाफा कमाउने र मजदुरलाई शोषण गर्ने उत्पादन पद्धति पत्तो लगाउनुभयो । यसलाई अतिरिक्त मूल्यको सिद्धान्त भनेर स्थापित गर्नुभयो ।

वस्तुतः शास्त्रीय अर्थतन्त्रको परिभाषालाई पच्छ्याउने हो भने यसले केवल धन कमाउने वा पुँजी विकासको मात्र वकालत गर्छ । धेरै आर्जन गर्ने र नाफा कमाउने रणनीतिद्वारा निर्देशित देखिन्छ । उत्पादन बढाउने कुरा गर्छ । तर यसमा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको न्यायपूर्ण वितरणमा ध्यान दिइँदैन । यो निजी वा तेरोमेरो स्वामित्वमा आधारित हुन्छ । राजनीतिक भाषामा यसलाई पुँजीवादी वा बुर्जुवा अर्थतन्त्र भनिन्छ । यता माक्र्सले पेश गर्नुभएको अर्थराजनीतिमा उत्पादन र वितरण आधारभूतरूपमै समान र न्यायोेचित हुनुपर्नेमा जोड गरिएको छ । यसमा सामाजिक, सामूहिक र राजकीय स्वामित्व सुनिश्चित गरिन्छ । यसलाई समाजवादी अर्थतन्त्र भनिन्छ । यी दुवै अर्थतन्त्रको वर्गीय चरित्र फरक रहेको छ । चरित्र फरक भएपछि गन्तव्य फरक हुन्छ । गन्तव्य फरक भएपछि यसलाई प्राप्त गर्ने प्रक्रिया र विधि पनि फरक हुनेगर्छ । तब परिणाम वा उद्देश्य प्राप्ती पनि फरक हुन्छ भनेर बुझ्नु अनिवार्य हुन्छ ।

     पछिल्लो समय नेपालमा चौतर्फी अमुक समाजवादको बहस भइरहेको छ । यो साझा मुद्दा जस्तो भएको छ, जुन वर्गसमाजमा सम्भव हुँदैन । सबै अग्रगामी, यथास्थितिवादी र पश्चगामी शक्तिहरू एउटै स्वरमा समाजवादी भाषण र वक्तव्यबाजी गरिरहेका छन् । तर उनीहरूले समाजवादमा सङ्क्रमण गर्ने ठोस अर्थराजनीतिक पद्धति किटान गरेको देखिँदैन । यसले समाजवादी नाराप्रति नै आशङ्का जन्माएको छ  । वस्तुतः समाजवादलाई सहयोगी अर्थतन्त्र र औसत पुँजीवादको सेवा गर्ने अर्थतन्त्रबीच वर्गचरित्रमा धेरै भिन्नता हुन्छ । यसमा औसत लोकतन्त्रवादीभन्दा कम्युनिस्ट शक्तिहरू सचेत हुनुपर्छ । समाजवाद कठिन र लामो ऐतिहासिक प्रक्रियागत रूपान्तरणको आन्दोलनबाट मात्र सम्भव हुन्छ । त्यसैले मूलतः अर्थराजनीतिक सम्बन्धको स्वरूप, चरित्र र उद्देश्य नै फरक हुन्छ । यिनीहरूबीच तुलना नै गर्न मिल्दैन । 

     मूलतः समाजवादी अर्थतन्त्रको आधार भनेको राष्ट्रिय औद्योगिक पुँजीको पूर्ण आकारमा विकास नै हो । यसमा उत्पादनमुखी अर्थतन्त्र प्रधान हुन्छ, जुन समाजवादी अर्थराजनीतिको मूलभूत सवाल हो । आजकल अमुक विकास र समृद्धिको नारा सबैले घोक्नुपर्ने साझा गायत्रीमन्त्र जस्तो भएको छ । तर कस्तो चरित्रको विकासलाई पहिलो प्राथमिकता दिने भन्नेमा अन्यौल रहेको छ । किनकि विकास पनि उत्पादनमुखी, उपभोगमुखी र सेवामुखी हुन्छ । वस्तुतः अर्थराजनीतिक चरित्रद्वारा नै विकासको मोडेल निर्धारण हुनेगर्छ । समाजवादी अर्थराजनीतिले उत्पादनमुखी विकासका माग गर्छ । यता पुँजीवादी अर्थराजनीतिले उपभोग, नाफा र सेवामुखी विकासलाई प्रश्रय दिन्छ । अर्कोतिर विकसित मुलुक र हाम्रो मुलुकको अर्थतन्त्र र विकासे मोडेल धेरै फरक देखिन्छ । फरक यसकारण छ कि उनीहरूले उत्पादनमूलक औद्योगिक क्रान्ति गरेको डेढ दुई सय वर्ष भइसकेको छ । उनीहरू भौतिक संरचना विकासबाट सेवा अर्थतन्त्र विस्तारको पनि उच्चतम चरणमा देखिन्छ । हाम्रो समाजमा अझै पनि औद्योगिक क्रान्ति भइसकेको छैन साथै भौतिक संरचना विकास पर्याप्त भएको छैन । यसको अर्थ हामी अझै आधारभूत उत्पादनमूलक अर्थतन्त्र विकासको चरणमा छौँ । यसकारण पनि उनीहरूको जस्ताको तस्तै नक्कल गर्नु उचित हुँदैन ।

     तर अर्थतन्त्रको भूमण्डलीकृत चरित्रले गर्दा आज सेवामूलक विकासे मनोरोगबाट हामी पनि ग्रसित छौँ । पहिलो त आजको विश्व अर्थतन्त्र उपभोगवादमा आधारित रहेको छ । यसको चरित्र पुँजीवादी रहेको छ । दोस्रो ती पुँजीवादी मुलुकहरू उत्पादनमुखी अर्थतन्त्रबाट वित्तीय सेवामुखी अर्थतन्त्रमा फड्को मारिसकेका छन् । उत्पादनमुखी विकासकै उच्चतम रूप नै सेवामुखी अर्थतन्त्र हो । नेपाल एक चरण पछाडि देखिन्छ । तर नेपालमा यतिखेर उत्पादनमुखी विकासभन्दा पनि भौतिक संरचना, सेवामूलक, उपभोगमूलक विकास तर्फको एकोहोरो आकर्षण बढेको छ । यस्तो हुनुमा एकातिर भूमण्डलीकृत आर्थिक नीति र अर्कोतिर उपभोगवादी अर्थराजनीतिक सम्बन्ध जिम्मेवार देखिन्छ । त्यसो त आज विकसित मुलुकहरूमा उत्पादनमूलकभन्दा सेवामूलक अर्थतन्त्रले ठूलो हिस्सा ओगटेको पाइन्छ । उदाहरणका लागि सेवामूलक अर्थतन्त्रले हङ्कङमा ९० प्रतिशतभन्दा बढी योगदान दिएको आँकडा सार्वजनिक गरिएको छ । तर हङ्कङलाई माथि हेरेर दौडिन खोज्दा खाल्डामा परिने खतरा छ  ।
 

   वास्तवमा हाम्रो आर्थिक परिवेश नियाल्दा उत्पादनमुखी विकास नीति नै प्रधान हुन्छ । सेवामुखी विकास सहायक नै हुन्छ । त्यसैले उत्पादनमुखी विकास अवधारणा अन्तर्गत सर्वप्रथम कृषि क्षेत्रलाई आधुनिकीकरण, वैज्ञानिकीकरण र व्यवसायिकीकरण गरी उत्पादन बढाउनु पहिलो दायित्व हुन्छ । दोस्रो, औद्योगिक पुँजी विकासमा जोड दिनुपर्छ । यसका लागि राष्ट्रिय पुँजीपति वर्गको व्यापक सहभागिता र लगानीमा साना एवम् मझौला उद्योग, कलकारखाना र व्यवसायहरू व्यापकरूपमा खोल्नुपर्छ । अर्थात् मनुफ्याक्चरिङ अर्थतन्त्रलाई बढवा दिनुपर्छ । ठूलाठूला परियोजनाहरूको हकमा पनि जनताकै लगानीमैत्री वातावरण बनाउनुपर्छ । विदेशी लगानी ल्याउनै परे पनि त्यसमा राष्ट्रिय स्वाभिमानमा कुनैपनि खालको आँच नआउने अवस्थामा मात्र अनुमति दिनुपर्छ । किनकि लगानीको नाममा  दलाल पुँजी भित्रियो भने ठूलो हिस्सा पुँजी पलायन हुन्छ । यसरी पुँजी बाहिर पलायन हेर्ने आर्थिक गतिविधिले समाजवादको आधार तयार हुँदैन । तेस्रो, यसरी कृषि र औद्योगिक क्षेत्र प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधारहरू पनि निर्माण गर्नुपर्छ । यसले आयत–निर्यात र उत्पादित माललाई बजारसम्म पुर्याउन सहज पार्छ । विकासको आधारभूत भौतिक पक्षहरूमा ध्यान दिनुपर्छ । 

     तर नेपालमा पछिल्लो समय एकाएक लम्पट उपभोगवादी र सेवामूलक विकासे मानसिकता हावी भइरहेको छ । यहाँसम्म कि उत्पादनमुखी विकासलाई ऐच्छिक राख्दै केवल सेवा र उपभोग वरिपरि मात्र विकासलाई सीमित गरिरहेका छौँ । त्यसको मतलव उत्पादनमूलक विकास पटक्कै भएको छैन भन्न खोजेको होइन । तर जति ध्यान दिनपथ्र्यो त्यो भइराखेको छैन । उदाहरणका लागि आज प्रत्येक नागरिकहरू कृषि र उद्योगको कुरा गर्नुभन्दा अग्लो डाँडा, त्यसमाथि पनि भ्युटावर, ठूलो चौरी, भिरालो भिर, पहरा, तालतलैया, झरना, नदीनाला, अनौठो आयतनको वस्तु, डाँडाकाँडा, हिमाल, पहाड, गुफा र ओडारहरू देख्न वित्तिकै रोमाञ्चित हुन्छन् । त्यति मात्र होइन, उनीहरू यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्दै मनगढन्ते सपनाहरू देख्न थाल्छन् । आन्तरिक तथा बाह्य पर्यटन विकास व्यापक हुन्छ भन्दै नेपाल र नेपालीको सबै समस्याहरू समाधन हुने बनिबनाउ कल्पना गर्छ । यही सेवामुखी विकास मनोविज्ञान अन्तर्गत नै उनीहरू अग्लो भ्युटावर, प्राकृतिक रमितेडाँडाहरू अनि वाङ्गाटिङ्गा बटारिएको नदीनाला र खोला खोल्सीहरूमा पुग्नु वित्तिकै पर्यटनको सम्भावनाको कुराहरू गर्नेगर्छ ।
 

    यही उपभोगवादी मनोविज्ञानअन्तर्गत नै उनीहरूलाई घर छेउमै सबैभन्दा अग्लो भ्युउटावर, होटेल, रिसोर्ट, ठूलो भवन र फराकिलो सडक जरुरी हुन्छ । भिन्न भिन्न मोडेलको महँगो बाइक र गाडीहरू कुदाउनकै लागि मात्रै पनि तुरुन्तै बाटो पिच हुनुपर्ने उपभोगवादी मनोविज्ञानले घर गरेको छ । आफ्नै स्वार्थ, अनुकूलता र सजिलोका लागि मात्र विकासलाई नाप्ने तौलने गलत प्रवृत्ति हावी छ । वस्तुत, सडक निर्माणपछि त्यहाँ सिङ्गो मुलुकले उत्पादन गरेको के–कस्तो  सामनहरू कत्रो भोल्युममा ढुवानी गर्नुपर्ने हुन्छ । त्यस आधारमा सडकको चौडाइ र गुणस्तर निर्धारण गर्नेतर्फ हाम्रो ध्यान जाँदैन । सिङ्गो अर्थतन्त्रको आयतन, भार, चाप र आयत–निर्यातको मात्राको आधारमा हाम्रो माग र योजनाहरू निर्धारण गरिएको हुँदैन । राष्ट्रिय आर्थिक प्रणालीलाई सबल र स्वस्थ्य जीवन दिनेभन्दा पनि आत्मकेन्द्रित लम्पट उपभोगवादी र सुविधामुखी चिन्तन् वरिपरिबाट विकासलाई मापन गर्ने असाध्यै गलत आत्मकेन्द्रित प्रवृत्ति डरलाग्दो देखिन्छ । विश्वमा औद्योगिकभन्दा वित्तीय पुँजी हावी भइरहेको छ जुन समाजवादी राज्यरूपको लागि प्रतिकूल हुन्छ ।
 

   त्यसैले वस्तुतः उत्पादनमूलक विकास अवधारणाविना अर्थतन्त्र विस्तार हुँदैन । विस्तारित आर्थिक विकासविना सुदृढ अर्थतन्त्र बन्दैन । उत्पादनमूलक सुदृढ अर्थतन्त्रको आधारविना सेवामूलक अर्थतन्त्रमा सङ्क्रर्मण हुँदैन । उत्पादनमुखी अर्थतन्त्रको पूर्ण विकासपछि सुदृढ गरिएको सेवाअर्थतन्त्रले मात्रै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । उदाहरणका लागि पर्यटन क्षेत्र भनेको सेवामूलक क्षेत्र हो । उत्पादनविनाको पर्यटन क्षेत्रको विकासले रोजगारी बढाए पनि समृद्धिको आधारशीला बनाउँदैन । विनाउत्पादन नागरिकहरूमा पर्यटक बन्ने आर्थिक हैसियत नै हुँदैन । यसो भएपछि भरपर्दो पर्यटन विकास कसरी सम्भव हुन्छ । साथै पर्यटन पूर्वाधार विकासको कति औचित्य रहन्छ ? उत्पादन  विनाको सेवा अर्थतन्त्र दिगो, भरपर्दो र गुणस्तरयुक्त हुँदैन । यदि सेवामूलक विकासमा मात्र ध्यान दिने हो भने त्यो उपभोगवादी विदेशी नक्कल मात्र हुनेछ, जहाँ डेढ सय वर्ष अगाडि नै उत्पादनमूलक आर्थिक विकासको अभ्यास भइसकेको छ । त्यसैले नक्कलभन्दा हाम्रो आर्थिक अवस्था सुहाउँदो विकास अवधारणालाई प्राथमिकता दिनु वस्तुवादी हुन्छ । 

     यता समाजवादी अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिक वा उत्पादनमूलक पुँजी विकास सार्वभौम शर्त हुन्छ । आर्थिक उत्पादनमा तल्लो र राष्ट्रिय पुँजीपति वर्गलाई प्रोत्साहन गरिन्छ । पुँजी पलायनलाई पूर्णरूपमा बन्देज गरिन्छ । प्रक्रियाकै रूपमा  राजकीय उपस्थिति र दायित्व बढाउँदै लगिन्छ । वस्तुतः भरमार आर्थिक विकास जस्तो देखिए पनि आम्दानी पलायन भयो भने त्यसले समाजवादको त कुरै नगरौँ दिगो आर्थिक विकासलाई पनि टेवा दिँदैन । विकासको नाममा जथाभावी वैदेशिक लगानी भित्र्याउने कुरा खतरा हुन्छ । यसकारण उत्पादनमूलक अर्थतन्त्र विकासमा जोड गर्दै सेवामूलक अर्थतन्त्रमा ध्यान दिनुपर्छ । दलाल पुँजी अर्थतन्त्रलाई निरुत्साहित गर्न पुँजीको निगमीय चरित्रलाई खारेज गर्दै उत्पादनमूलक राष्ट्रिय औद्योगिक पुँजी विकासमा जोड दिनुपर्छ । किनकि उत्पादनमूलक अर्थतन्त्र अन्तर्गतको न्यायपूर्ण वितरण पद्धतिको लामो शृङ्खलाबद्ध ऐतिहासिक प्रक्रियाबाट मात्र समाजवादी अर्थराजनीतिक पद्धति स्थापित गर्न सकिन्छ ।    

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...