केन्द्रीय संस्करण

बरालिएको विद्यार्थी आन्दोलन

person explore access_timeमाघ १७, २०७५ chat_bubble_outline0

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति यही फागुन १४ गतेलाई तोकेसँगै विश्वविद्यालय क्याम्पसहरूमा चुनावी चहलपहल सुरु भएको छ । दुई वर्षअघिको स्ववियुको निर्वाचन सफल रूपले सम्पन्न हुन सकेन । विद्यार्थी सङ्गठनहरूबीचकै विवादका कारण तोकिएको मितिमा स्ववियु निर्वाचन हुन नसक्दा विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । यस पटक पनि प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घमा देखिएको आन्तरिक विवादका कारण स्ववियुको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आशङ्का छ । तर पनि सबै कुरा यथावत् रहे अनि विद्यार्थी सङ्गठनले तदारुकता देखाए १० वर्षपछि त्रिवि क्याम्पसहरूमा स्ववियुले पूर्णता पाउनेछ । 

कहिले अन्तर सङ्गठनबीचको झमेला त कहिले आन्तरिक सङ्गठनको झैझगडाका कारण पटकपटक स्ववियुको निर्वाचन सर्दै आएको छ । जसरी चुनाव गर्ने सवालमा त्रिविको क्यालेन्डर बरालिएको छ, त्यसैगरी विद्यार्थी आन्दोलनको एजेन्डाको सवालमा विद्यार्थी सङ्गठनहरू पनि बरालिएकै छन् । अहिले क्याम्पसहरूमा चुनावी माहोल सिर्जना हुँदै गर्दा, विद्यार्थी भर्नाको चाप बढेको देखिन्छ । दलीय विद्यार्थी सङ्गठनहरूले चुनावी श्रेष्ठता हासिल गर्नका लागि विश्वविद्यालय क्याम्पसहरूमा आफ्ना गतिविधि बढाएका मात्र छैनन्, विद्यार्थी भर्ना अभियानलाई पनि तीव्र पारेका छन् । 

चुनावी प्रयोजनका लागि क्याम्पसमा विद्यार्थीहरूको नाम लेखाउने प्रचलन नियमित जस्तै भइसकेको छ । यसले विद्यार्थी आन्दोलनलाई मुद्दा केन्द्रितभन्दा स्रोतसाधन र शक्तिकेन्द्रित बनाइदिएको छ । के विद्यार्थी सङ्गठनहरूले विनाविवाद स्वच्छ प्रतिस्पर्धामा चुनाव सम्पन्न गर्लान् ? अनि बरालिएर दिशाबिहीन बन्दै गएको विद्यार्थी आन्दोलनले नयाँ एजेन्डासहित आफूलाई पुनर्गठन गर्ला ? यिनै नसोधिएका प्रश्नहरूबीच विद्यार्थी आन्दोलनको औचित्य र भविष्य निर्भर रहनेछ भन्दा खासै फरक नपर्ला । किनकि अहिलेको नयाँ पुस्ताले पारम्परिक शैलीको विद्यार्थी आन्दोलनलाई रुचाएको देखिँदैन । 

हो, स्ववियु चुनावको प्रसङ्ग चल्दै गर्दा अबको विद्यार्थी आन्दोलनको उद्देश्य र गन्तव्यको बारेमा व्यापक बहस हुनु जरुरी देखिन्छ । निःसन्देह नेपालको विद्यार्थी आन्दोलन राजनीतिक उद्देश्यका लागि सुरु भएको थियो । विसं. २००४ सालमा पुरोहित विद्यार्थीहरूले सुरु गरेको ‘जयतु संस्कृतम्’ नै विद्यार्थी आन्दोलनको सुरुवात थियो । यद्यपि त्यो आन्दोलन साङ्केतिक विरोध थियो । त्यस आन्दोलनमा संस्कृत पढ्ने विद्यार्थीहरूले संस्कृतका साथै अन्य व्यावहारिक एवम् जीवनोपयोगी शिक्षा पनि सामेल गरिनुपर्ने मागसहित विरोध गरेका थिए । साथै ‘पुरोहित’ विद्यार्थीहरूलाई राणाहरूले जेल सजाय नगर्ने र उनीहरूलाई राजकाजको मुद्दा नलगाउने हुनाले जयतु संस्कृतम् सफल भएको बुझिन्छ ।

यो ७ दसकको अवधिमा आन्दोलनले पनि निकै उतारचढाव बेहोरेकै छ । अनि यो अवधिमा राजनीतिक परिदृश्यमा पनि धेरै बदलाव आइसकेको छ । त्यसैले अब विद्यार्थी आन्दोलनको गन्तव्य र एजेन्डामा पनि पुनरावलोकन हुनु आवश्यक छ ।

त्यही आन्दोलनको जगमा खडा भएको विद्यार्थी आन्दोलनले अहिले ७ दसक पार गरिसकेको छ । यो ७ दसकको अवधिमा आन्दोलनले पनि निकै उतारचढाव बेहोरेकै छ । अनि यो अवधिमा राजनीतिक परिदृश्यमा पनि धेरै बदलाव आइसकेको छ । त्यसैले अब विद्यार्थी आन्दोलनको गन्तव्य र एजेन्डामा पनि पुनरावलोकन हुनु आवश्यक छ । भन्नै परेन, विगतमा विद्यार्थी आन्दोलनको उठान राजनीतिक गतिविधिकै लागि थियो । मूलतः पञ्चायतमा झाँगिएको विद्यार्थी आन्दोलनको भित्री उद्देश्य विद्यार्थीमार्फत गाउँगाउँमा दलीय गितविधि सञ्चालन गर्नु थियो । विद्यार्थी सङ्गठनहरूले दलको खुला मोर्चाकै रूपमा काम गरेका थिए । त्यसैले त्यो बेला विद्यार्थी सङ्गठनहरू पार्टीभन्दा प्रभावशाली थिए ।

अहिले पनि विद्यार्थी नेताहरूले विद्यार्थी आन्दोलनको त्यही ‘गौरवशाली’ इतिहासकै व्याख्यामा समय व्यतीत गरेको देखिन्छ । ठूला दलका ठूलै हैसियतदेखि साना दलका कतिपय चल्तापुर्जा नेताहरूको पृष्ठभूमि नियाल्दा विद्यार्थी राजनीति नै भेटिन्छ । वामपन्थी राजनीतिका लागि अनेरास्ववियु नेता उत्पादन गर्ने ‘कारखाना’झैँ लाग्छ, भने नेपाली काँग्रेसको ‘नर्सरी’ नै नेपाल विद्यार्थी सङ्घ हो । निम्न माध्यमिक तहमा पढ्दादेखि नै विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेका धेरै नेताहरू अहिले राजनीतिक दलको केन्द्रीय तहमा पुगेका छन् । 

यसर्थ, विद्यार्थी आन्दोलनको विगत हेर्दा यसले राजनीतिक अभीष्ट नै बोकेको देखिन्छ । कुनै समय दलहरूलाई बाध्यता थियो कि विद्यार्थी सङ्गठनमार्फत पार्टीका गतिविधिहरूलाई अगाडि बढाउने । किनकि पञ्चायतकालमा पार्टीहरूलाई खुल्ला गतिविधि गर्न रोक लगाइएको थियो । त्यसैले पार्टीहरूले विद्यार्थी सङ्गठनमाफर्त जनसम्पर्क गर्थे । त्यही आन्दोलनले आकार ग्रहण गर्दैै देशमा ठूला ठूला राजनीतिक परिवर्तनहरू भए । त्यसैले मुलुकको राजनीतिक रूपान्तरणका लागि विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

तर के आज पनि त्यही गर्विलो इतिहासकै महिमाले विद्यार्थी आन्दोलन अघि बढ्ला ? यो भने आजको गम्भीर एवम् महत्त्वपूर्ण सवाल हो । विद्यार्थी नेताहरूले यसलाई गम्भीरतापूर्वक लिनै पर्छ कि अब उही पुरानो राजनीतिको विरासत बोकेर विद्यार्थी आन्दोलनले गति लिन सक्दैन वा यसले अब आफ्नो उद्देश्य र गन्तव्य परिवर्तन गर्नैपर्छ । तर पारम्परिक पार्टीका विद्यार्थी सङ्गठनका शीर्ष नेताहरू यो विषयलाई रिभ्यु गर्ने पक्षमा देखिँदैनन्, यो भने दुर्भाग्यकै विषय हो । उनीहरूको एक मात्र चिन्ता र चासो भनेको आफ्नो सङ्गठनले निर्वाचन जित्ने शर्तमा स्ववियु निर्वाचन गराउने, नत्र भाँड्ने देखिन्छ ।

अहिलेको नयाँ उदाउँदै गरेको युवा पुस्तालाई हेर्दा त्यो पुस्ता कुनै न कुनै रूपमा राजनीतिप्रति निरपेक्ष देखिने गरेको छ । अनि विद्यार्थी नेताहरूले जसरी भाषण गरिरहेका सुनिन्छन् । आम विद्यार्थीहरूलाई त्यो कुरा जचेको छैन । अर्थात् उनीहरूलाई विद्यार्थी राजनीतिको दलीय गतिविधिमुखी राजनीतिक एजेन्डा नै ठीक लागेको छैन । अहिले विश्वविद्यालय शिक्षामा भइरहेको राजनीतिकरण, पठित तन्नेरी पुस्ताले मन पराएको छैन । विश्वविद्यालयमा शिक्षा, अध्ययन र अनुसन्धानकै विषयमा पैरवी हुनुपर्ने हो । न कि दलीय गतिविधि अनि दलीय आग्रहका साथ अगाडि सारिएका आन्दोलनका कार्यक्रमहरू । तर विद्यार्थी सङ्गठनहरूले त्यसरी आफूलाई रूपान्तरण गर्दै समयसापेक्ष रूपमा आन्दोलनलाई रचनात्मकता दिन सकेका छैनन् । 

परिणामस्वरूप विद्यार्थी आन्दोलन शैक्षिक मागहरूतिर भन्दा दलीय राजनीतितिरै लहसिएको छ । हिजो कुनै बेला त्यो आवश्यक पनि थियो होला । तर, आज दलीय कुरा गर्न राजनीतिक दलहरू नै छन् भने विद्यार्थीले किन दलीय मुद्दा समात्ने ? विद्यार्थी आन्दोलनका आजका माग हुन्– शैक्षिक गुणस्तर कायम गर्ने कुरा । शिक्षा नीतिमा फेरबलदका कुरा, शिक्षा र शिक्षालयहरूलाई सुधार्ने कुरा, शिक्षालयहरूको चुस्त व्यवस्थापनका कुरा, विद्यालयहरूलाई पढाइको कारखाना होइन, रमणीय सिकाइ केन्द्र बनाउने कुरा, सिकाउनेहरूको दायित्वका कुरा, विश्वविद्यालयको पुनर्संरचना गर्ने कुरा, अध्ययन अनुसन्धानका कुरा, सिकाउने पद्धति र प्रविधिका कुरा, प्राध्यापकहरूको नियुक्तिमा हुने अपारदर्शिता र अनियमितताको अन्त्यका कुरा, प्राज्ञिक क्षेत्रमा बढ्दै गएको राजनीतिकरणको अन्त्य, विश्वविद्यालयमा मौलाउँदै गरेको राजनीतिक भागबण्डाको अन्त्य आदि छन् । 

विद्यार्थी सङ्गठनहरूलाई आफ्ना माउ पार्टीको ताकत देखाउने र उनीहरूलाई आफ्नो दलीय एजेन्डाका लागि सडकमा टायर बाल्न र ढुङ्गा हान्ने काममा मात्र अघि सारिँदा विद्यार्थी आन्दोलनले आफ्नो ओज र गरिमा गुमाउँदै गएको कुरा निर्विवाद छ । यसर्थ अब विद्यार्थी आन्दोलनले पनि रचनात्मक उद्देश्यहरू अँगाल्नुपर्ने आवश्यकता छ । अब स्ववियुलाई विशुद्ध विद्यार्थीहरूको हक, हित र सुरक्षा, क्याम्पस तथा विश्वविद्यालयको भौतिक विकास र शिक्षाकेन्द्रित समस्याहरूको समाधान र नयाँ शिक्षा प्रणालीको संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने देखिन्छ । 

तर शैक्षिक क्षेत्रका यी टड्कारा आवश्यकताहरूतर्फ भन्दा पनि विद्यार्थी सङ्गठनहरू पुरानैशैलीको राजनीतिप्रति अभ्यस्त देखिन्छन् । तिनको रवैया हेर्दा आज पनि उनीहरू मूलतः नाराबाजी, बहिस्कार, जुलुस अनि तोडफोडमै केन्द्रित भइरहेका छन् । आजको आन्दोलनको स्वरूप के हो ? प्राथमिकता के हो ? अनि आवश्यकता के हो ? अब विद्यार्थी सङ्गठनहरूले आन्दोलनको लय फेर्नुपर्छ । विद्यार्थी आन्दोलनले अब विद्यार्थीहरूलाई राजनीतिक रूपमा कसरी जागरुक बनाउने ? कसरी उनीहरूमा गढिएको राजनीतिक वितृष्णा हटाउने ? कसरी युवा विद्यार्थीहरूलाई राजनीतिप्रति निरपेक्ष होइन, सापेक्ष बनाउने र सामाजिक रूपान्तरणतर्फ आकर्षित गर्ने भन्ने विषय विद्यार्थी आन्दोलनको एजेन्डा बन्नुपर्छ । अनि समयसापेक्ष शिक्षा नीति र प्रणालीको बहसमा पनि विद्यार्थी सङ्गठनहरू उत्रिने हैसियत बनाउनुपर्छ । बृहत्तर रूपमा मुलुकको शैक्षिक प्रणालीको सुदृढीकरणका लागि विद्यार्थी सङ्गठनहरूले भूमिका निर्वाह गर्नुपर्छ । के आसन्न चुनावको तयारीमा रहेका विद्यार्थी सङ्गठनहरूले यसतर्फ पनि ध्यान दिएका छन् ?

त्यसो त युवा विद्यार्थीहरूले भनेजस्तै अहिले मुलुकको राजनीति फोहोरमै डुबेको छ भन्दा अतिशयोक्ति नहोला । तर फोहोर सफा गर्नका लागि फोहोरमै हेलिनुपर्छ । राजनीतिलाई असल बनाउनका लागि राजनीतिमै केन्द्रित हुनुपर्छ । ठूला दलहरूको सत्तालिप्साका कारण नागरिकमा राजनीतिक वितृष्णा बढ्दै गएको छ । देशमा राजनीतिक रूपले धेरै परिवर्तन देखिएको भए पनि नागरिकको दैनिकीमा कुनै प्रकारको रूपान्तरण आएको छैन । गरिब झन् गरिब बन्दै गएका छन् भने धनी झन् धनी । मुलुकमा भ्रष्टाचारको सिँढी झन् अग्लो हुँदैछ । अघिल्लो वर्ष ट्रान्सपरेन्सी इन्टरनेसनलको कम भ्रष्टाचार हुने मुलुकहरूको सूचीमध्ये नेपाल १२२औं स्थानमा परेको थियो भने यो वर्ष झन् दुई सिँढी चढेर १२४औं स्थानमा पुगेको छ ।

आर्थिक विषमता बढ्दो छ । भर्खरै मात्र अक्सफामले जारी गरेको एक प्रतिवेदनअनुसार धनी १० प्रतिशत नेपालीहरूको वार्षिक आय गरिब ४० प्रतिशत नेपालीको भन्दा तीन गुणा बढी छ । त्यस्तै ती १० प्रतिशत धनीहरूको सम्पत्ति गरिब ४० प्रतिशतको कूल सम्पत्ति भन्दा २६ गुणा बढी रहेको देखाएको छ । मुलुकमा रोजगारीका अवसरहरू सिर्जना हुन नसक्दा झण्डै पैंसठ्ठी लाख युवा जनशक्ति मुलुकबाट पलायन भएको छ । गाउँघरहरू युवाविहीन बन्दै गएका छन् । सायद अहिलेसम्म हामीले जनताको नाममा जति पनि राजनीति गर्यौं, त्यसले जनताको दैनिकीमा कुनै तात्विक परिवर्तन ल्याउन सकेन, त्यसैले राजनीतिप्रति आम मानिसहरू निरपेक्ष बन्दै गएका छन् । यसरी राजनीतिप्रति आम मानिस निरपेक्ष बन्नुभनेको पक्कै पनि राम्रो सङ्केत होइन । 

विद्यार्थी सङ्गठनहरूलाई आफ्ना माउ पार्टीको ताकत देखाउने र उनीहरूलाई आफ्नो दलीय एजेन्डाका लागि सडकमा टायर बाल्न र ढुङ्गा हान्ने काममा मात्र अघि सारिँदा विद्यार्थी आन्दोलनले आफ्नो ओज र गरिमा गुमाउँदै गएको कुरा निर्विवाद छ । यसर्थ अब विद्यार्थी आन्दोलनले पनि रचनात्मक उद्देश्यहरू अँगाल्नुपर्ने आवश्यकता छ । अब स्ववियुलाई विशुद्ध विद्यार्थीहरूको हक, हित र सुरक्षा, क्याम्पस तथा विश्वविद्यालयको भौतिक विकास र शिक्षाकेन्द्रित समस्याहरूको समाधान र नयाँ शिक्षा प्रणालीको संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने देखिन्छ । 

किनकि विद्यार्थी आन्दोलनको सुरुवातीताकाको मुलुकको आर्थिक, सामाजिक, राजनीतिक एवम् शैक्षिक वातावरणमा पनि धेरै ठूलो परिवर्तन आइसकेको छ । स्वभावैले वातावरणीय तत्वहरूमा आएको परिवर्तनसँग समायोजित हुँदै अघिबढ्न पनि पुरानो सोच, संस्कार र चिन्तनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । यसर्थ पुरानै पञ्चायती ढर्रामा स्ववियुको संरचना कायमै राख्दा त्यसको उपादेयता पनि कम हुँदै जानेछ । विद्यार्थीहरूलाई नयाँ संरचना र भूमिकामा परिवर्तन गर्न सकिएन भने आम रूपमा पनि विद्यार्थी आन्दोलनप्रति विश्वास रहँदैन र यो अक्षुण शक्ति केवल हुलदङ्गा र भीडमै परिणत हुने खतरा रहन्छ । त्यसैले अब विद्यार्थी राजनीतिले मुलुकको शैक्षिक रूपान्तरणका लागि नयाँ ढङ्गबाट शैक्षिक आन्दोलनको उभार सिर्जना गर्नुपर्छ । तब मात्र बरालिएको विद्यार्थी आन्दोलनले सही  गन्तव्य पहिल्याएको ठहर्नेछ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...