केन्द्रीय संस्करण

शान्ति र समृद्धिका लागि कस्तो हुनुपर्छ नेपालको दीर्घकालीन परराष्ट्रनीति ?

person explore access_timeमाघ १७, २०७५ chat_bubble_outline1
अवधारणापत्र

रातोपाटी

नेपाल राज्यको स्थापना पछिको करिब साढे दुई सय वर्षको अवधिमा नेपालले आफ्नो विदेशनीति तय गर्दा अधिकांश समय स्वभाविक हिसाबले मूलतः अस्तित्वरक्षाको रणनीतिबाट निर्देशित हुँदै आयो । सन् १९६० र ७० को दशकसम्म आइपुग्दा पनि क्षेत्रीय मानचित्रमा राज्यहरु जन्मने र मर्ने क्रम नरोकिएको सन्दर्भमा त्यसबीचमा नेपालले जेजस्ता विदेशनीति अपनायो तिनले  मूलतः हाम्रा पूर्वजको बुद्धिमत्ता र रणनीतिक कौशलको नै प्रतिनिधित्व गर्दछन् ।  पृथ्वीनारायण शाहको उत्तर र दक्षिणका महाशक्तिका संवेदनशीलताप्रति सजग रही नेपाल एकीकरण र राज्य विस्तार अभियानलाई अगाडि बढाउने दिव्योपदेश र  बृहत् रणनीति वा ‘ग्रयाण्डस्ट्राटेजी’, सन् १८१४ देखि १६ सम्म अंग्रेजहरुसितको युद्धमा पराजित भैसकेपछि जंगबहादुरद्वारा गरिएको विदेशनीतिको नवीकरण अर्थात् मध्यम वा महाशक्तिले मात्र अपनाउन सक्ने ‘ग्रयाण्ड स्ट्राटेजी’को परित्याग र साना राज्यले अपनाउने विदेशनीतिको अनुसरणको सुरुआत, राजा महेन्द्रका पालमा अपनाइएको विदेशसम्बन्धको विविधिकरण, असंलग्नता र छिमेकीहरुबीचको युद्धका बेला तटस्थता एवम् क्षेत्रीय शान्तिको समयमा अपनाएका ‘सफ्ट ब्यालेन्सिङ’ एवम् ‘बाल्किङ’ नीति, यहुदीमाथि युरोपमा भएको ऐतिहासिक अन्यायको पृष्ठभूमिमा यहुदी राष्ट्र इजरायलप्रति राजनेता विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा प्रदर्शित ऐक्यवद्धता र दलहरु प्रतिबन्धित हुँदाको अवस्थामा  पनि राष्टिय सार्वभौमिकता एवम् अखण्डतालाई केन्द्रविन्दुमा राखेर अघि सारिएको राष्टिय मेलमिलापको नीति, राजा वीरेन्द्रद्वारा प्रस्तुत ‘शान्ति क्षेत्र’को प्रस्ताव, सन् १९९० को परिवर्तनपछि अपनाइएको खुलापन र सन् २००८ मा खासगरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अघि सार्नुभएको नेपाल, चीन र भारतबीच त्रिदेशीय सहकार्यका प्रस्ताव तीमध्ये उल्लेखनीय कदमहरु हुन् ।

यसबीच जनस्तरबाट उठेका ००७ सालको परिवर्तन, ०४६ सालको परिवर्तन, तत्कालीन नेकपा माओवादीको नेतृ्त्वमा गणतन्त्र स्थापनाका लागि भएको सशस्त्र संघर्ष र ०६२÷०६३ को जनआन्दोलनको सन्दर्भमा देशमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि दलहरुले कतिपय अवस्थामा राज्यले परम्परारुपमा अंगाल्दै आएको भन्दा भिन्न रुपमा अपनाएको परिवर्तनमुखी परराष्ट्रनीति अर्को विर्सननहुने पाटो हो । इतिहासमा विदेशसम्बन्धका सन्दर्भमा अपनाइएका कतिपय राज्य र गैरराज्यपक्षका समानान्तर एवम् अलग नीतिको पृष्ठभूमिमा परिवर्तनको युगले लगभग कोल्टेफेरेको र देश स्थिरता, शान्ति र समृद्धिको मूलबाटोमा अगाडि बढ्न जमर्को गरेको आजको सन्दर्भमा कसरी संश्लेषण गरेर शान्ति र समृद्धिका सार्वजनिक नीतिलाई सघाउने गरी नेपालको परराष्ट्रनीतिलाई नवीकरण गर्ने भन्ने चुनौती सबैका सामु उभिएको सन्दर्भमा यो विचार गोष्ठी आयोजना गरिएको हो ।

फेरि पनि खासगरी खुलापन र त्रिदेशीय सहकार्य, लोकतन्त्र र गणतन्त्रको स्थापना लागि भएका अन्तर्राष्ट्रिय पहलकदमी र शक्तिराष्ट्रसित सद्भावको खोजीबाहेक त्यसअघि नेपालको परराष्ट्रनीतिका क्षेत्रमा भएका अभ्यास र नवीकरण दुवै मूलतः नेपाल राज्यको स्वतन्त्र र सार्वभौम अस्तित्वलाई जोगाउने उद्देश्यबाट प्रेरित थिए भन्दा अत्युक्ति हुँदैन । तर, आज संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको उपस्थिति (भलै त्यसको भूमिकाको प्रभावकारिता र उपयोगिता अलग्गै बहसको विषय हो), राज्यहरुको मृत्युदर नगन्य रहेको अवस्था, अन्तर्राष्ट्रिय कानुनको विकास, नेपालको आफ्नै भूराजनीतिक अवस्था, देशमा संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रजस्तो अन्तर्राष्ट्रिय रुपमा सर्वस्वीकार्य राज्यप्रणालीको स्थापना आदि कारणले अब नेपालको सार्वभौमिकता र अखण्डतालाई कुनै पनि मध्यम वा महाशक्तिले आँच पुर्याउन सक्ने स्थिति बिल्कुलै छैन । त्यसकारण, अब हाम्रो राष्ट्रिय मनोविज्ञान ‘एक्जिस्टेन्सिएल एङ्जाइटी’ बाट बाहिर निस्किन, हामी नेपाली दीर्घकालीन शान्ति र समृद्धिका लागि अत्मविश्वासका साथ अघि बढ्न, अनि विदेशनीतिलाई शान्ति र समृद्धिको सार्वजनिक नीतिको सेवामा लगाउन ढिला भैसकेको छ ।

खासगरी ७० वर्षभन्दा बढीको परिर्तनका विभिन्न संघर्षको पृष्ठभूमिको सन्दर्भमा नेपाली मनेविज्ञान उत्कट आशा र संघर्षपछिको सारभूत अपरिवर्तनका कारण उत्पन्न चरम निराशाको बीचमा पेन्डुलम जस्तो बनेको छ । यस्तो

विरोधाभाषपूर्ण राष्ट्रिय मनोविज्ञानलाई नकारात्मक नाराहरुले प्रभावित गरिदिने, जनमत विरोध र आन्दोलनका व्यवसायीहरुको बन्धक बनिदिने, गैरराज्य पक्षका विभिन्न स्वार्थसमूहले एक वा अर्को प्रकारको असामान्य स्थिति सिर्जना गरिरहनेमात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा देशको छविलाई धमिलो बनाइदिने आदि कारणले राज्यका तर्फबाट सार्वजनिक नीति र विदेशनीति दुवैका सवालमा दीर्घकालीन निर्णयहरु लिन निकै कठिन भएको तीतो यथार्थ हाम्रा सामु छ

। जसरी इष्र्या, डाह र पीडित मानसिकतामात्रै बोकेर हिँड्ने व्यक्ति जीवनमा सुख र समुन्नति हासिल गर्न निकै कठिन हुन्छ, त्यसरी नै नकारात्मक मनोग्रन्थी बोकेर हिँड्ने राष्ट्रले पनि आफ्नो राष्ट्रिय जीवनमा शान्ति र समृद्धि हासिल गर्न निकै कठिन हुन्छ भन्ने यथार्थ हामी नेपाली जातिले हृदयंगम् गर्न ढिला भैसकेको हो कि भन्ने हामीलाई अनुभूत भएको छ । 

नेपालको परराष्ट्रनीतिको नवीकरणको सन्दर्भमा केही यस्ता यक्ष प्रश्न छन् जसको जवाफमा राष्ट्रिय सहमति कायम नगरी हामी एक कदम पनि अगाडि बढ्न सक्दैनौं । ती यक्ष प्रश्नहरु उठाइदिने जमर्को गर्न पनि हामीले यो विचारगोष्ठीको आयोजना गरेका हौं ।

नेपालको भूराजनीतिक अवस्था अवसर हो कि चुनौती हो? भूराजनीति चुनौती थियो भने अन्तर्राष्ट्रि राजनीतिको अराजक बनमा हामी कसरी राष्ट्रको रुपमा जिउँदो रहन सक्यौं? दुई शक्तिशाली राष्ट्रको बीचमा र संसारको महाशक्तिको नजरमा रहेको सानो मुलुकले कस्तो विदेशनीति अपनाउनुपर्छ? अझ भनौं शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न एक्काइसौं शताब्दीको दोस्रो दशकमा नेपालको दीर्घकालीन परराष्ट्रनीति कस्तो हुनुपर्छ? एक वा  अर्को विचारधारात्मक हुरीले बढारिँदै  आएका हामी नेपालीले अब कसरी हाम्रो जरा पहिल्याउने र सो अनुरुपको विदेशनीति तय गर्ने?

हामी नेपाली को हौं? अझ भनौं, हामीले आफूलाई को ठान्छौं, वा अरुले हामीलार्इं को भन्ठान्छन् वा हामीले आफूलाई अरुसामु को हौं भनेर चिनाउन चाहन्छौ? हाम्रो पहिचान र हाम्रा परराष्ट्रनीति र विदेशसम्बन्धलाई कसरी जोड्ने?

शक्तिराष्ट्र र साना राष्ट्रबीच हुने सम्बन्धका विविध आयामलाई कसरी बुझ्ने? हाम्रो विदेशनीति र व्यवहारले अगाडि बढेका सभ्यता र समाजबाट ज्ञान, पुँजी र प्रविधि भिœयाउन सहकार्य र सहयोगका लागि विकसित महाशक्तिहरुलाई विश्वस्त पार्ने कि गैरजिम्मेवार एवम् उग्र भाषाशैली र व्यवहारको प्रदर्शन गरेर शक्तिराष्ट्रहरुलाई अनावश्यक रुपमा तरंगित गराउने? जनतालाई शान्ति, सुख र  अमनचयन दिन छिमेकीसित जिम्मेवार व्यवहार गर्ने कि दलगत, गुटगत र व्यक्तिगत छुद्र स्वार्थका लागि तनावपूर्ण स्थितिको सिर्जना गरेर जनतालाई दुःख दिने? अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिशालीले विगतमा देखाएका हेपाहा नीतिलाई वस्तुवादी रुपमा ग्रहण गरेर त्यसलाई ‘न्यूट्रीलाइज’ गर्दै सामना गर्ने सुझबुझपूर्ण रणनीति तय गर्ने कि राष्ट्रिय मनोविज्ञानमा सधैं त्रास र आक्रोशको आगो झोसेर घरेलु नीतिमा आफ्ना अक्षमताहरुबाट ध्यान अन्तै मोड्ने? समग्रमा हाम्रो घरेलु भावनात्मक संरचनाको कसरी पुननिर्माण गर्ने, जसले गर्दा हामीले यस्तो वैदेशिक नीति लिन सकियोस् जसले आउने एकदशकमै हामीलाई बुद्ध र सगरमाथाको देशपछि शान्ति र समृद्धिको उदाहरणीय र रमणीय देश भनेर चिनाउने हाम्रो लक्ष्यलाई सघाओस्?

चिनियाहरुले अपनाएका ‘सय र हजार प्रतिभा’जस्ता कार्यक्रमको प्रभावकारिता र उपदेयताबाट पाठ सिक्दै नेपालमा पनि केन्द्रीय सरकार र प्रान्तीय सरकारहरुले सञ्चालन गर्ने पो हो कि? विदेशी कम्पनीलाई देशभित्र बोलाएर नेपाल सरकार र नेपाली कम्पनीहरुसितको सहकार्यमा कसरी धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने? यी प्रश्नहरु अमूर्त सैद्धान्तिक प्रश्न होइनन् । तर यिनै व्यवहारिक प्रश्नको जवाफमा हाम्रो सार्वजनिक र विदेश नीतिको सफलता अन्तर्निहित छ ।

फेरि पनि निचोडमा भन्नुपर्दा ‘सुखी नेपाली, समृद्ध नेपाल’को उद्देश्य पूरा गर्न हामीले कस्तो विदेश नीति अपनाउने? ठोस रुपमा भन्नुपर्दा जर्जर बनेको हाम्रो शिक्षाप्रणालीलाई सुधार गरेर हाम्रा विश्वविद्यालयलाई कम्तीमा एसियामा नामी बनाउन, विदेशका उत्कृष्ट विश्वविद्यालयसित सहकार्य गर्न के कस्तो विदेशसम्बन्ध विस्तार गर्ने? जलविद्युत, जडीबुटी, कृषि र पर्यटनका क्षेत्रबाट अधिकतम लाभ लिन मित्रराष्ट्रहरुसित कसरी सहकार्य गर्ने? हरेक कुराको विरोध गर्ने मानसिकताले नै लोकप्रियता पाउने विद्यमान परिस्थितिमा कसरी सकारात्मक परिवर्तन ल्याउने? देशलाई आवश्यक पर्ने सक्षम जनशक्ति भित्राउन सबभन्दा पहिले त विदेशका उत्कृष्ट विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई पठाउन र त्यहाँ उनीहरुले अनुभव र ज्ञान हासिल गरिसकेपछि कसरी उनीहरुलाई स्वदेशमा फिर्ता बोलाउने? चिनियाहरुले अपनाएका ‘सय र हजार प्रतिभा’जस्ता कार्यक्रमको प्रभावकारिता र उपदेयताबाट पाठ सिक्दै नेपालमा पनि केन्द्रीय सरकार र प्रान्तीय सरकारहरुले सञ्चालन गर्ने पो हो कि? विदेशी कम्पनीलाई देशभित्र बोलाएर नेपाल सरकार र नेपाली कम्पनीहरुसितको सहकार्यमा कसरी धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने? यी प्रश्नहरु अमूर्त सैद्धान्तिक प्रश्न होइनन् । तर यिनै व्यवहारिक प्रश्नको जवाफमा हाम्रो सार्वजनिक र विदेश नीतिको सफलता अन्तर्निहित छ ।

द्वन्द्वको  नमीठो अनुभवपछि आफ्नै पहलमा अभूतपूर्वरुपमा सफल भएको नेपालको शन्तिप्रक्रियाको सुखद् अनुभवलाई कसरी अन्तर्राष्ट्रियकरण गर्ने? विश्वका विभिन्न भागमा जारी द्वन्द्व समाधानका लागि ‘पिस एम्बेसडर’को रुपमा हामी पनि अगाडि पो सर्ने हो कि?

आज यो विषयको बहस सुरुआत गर्ने उपयुक्त थलो पूर्वप्रधानमन्त्री, पूर्व विदेशमन्त्री, पूर्वराजदूत र अन्य परराष्ट्रनीतिसम्बन्धी विज्ञहरु उपस्थित हुनुभएको यो समारोहभन्दा अरु हुन सक्दैन भन्ने हामीलाई लागेको छ ।

हामी फेरि पनि दोहो¥याउँछौं– उपरोक्त यक्ष प्रश्नहरुको जवाफ खोज्न र क्रान्तिकारिता वा परम्परावादिताको दलदलबाट बाहिर निस्केर नेपालको सार्वजनिक नीति र विदेशनीतिको क्षेत्रमा नवीन बाटो पहिल्याएर शान्ति, सुख र समृद्धि हासिल गर्न रेलइन्जिनको गतिमा अघि बढ्न ढिला भैसकेको छ ।

यसै सन्दर्भमा रातोपाटी डट कम र सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज ‘शान्ति र समृद्धिका लागि नेपालको दीर्घकालीन परराष्ट्रनीति’ विषयक विचारगोष्ठीको आयोजना गरेका हौं ।

आजको यो विचारगोष्ठीमा म यहाँहरुलाई स्वागत गर्दछु र यो गम्भीर वहसमा उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिनुभएकोमा हार्दिक धन्यवाद समेत ज्ञापन गर्दछु । आउनुहोस् नेपालको शान्ति र समृद्धिका लागि दीर्घकालीन विदेशनीति कस्तो हुनुपर्छ भन्ने विषयमा एउटा अभूतपूर्व बहसमा सहभागी बनौं । पूर्वेली दार्शनिकहरुले भनेजस्तो सत्यको बारेमा हाम्रा विविध धारणाहरु हुनसक्छन् तर के बाटो हिँड्ने भन्ने विषयमा भने हामी सहमति जुटाउन सक्छौं । अब घरेलु शान्ति र समृद्धिको सेवा गर्ने विदेशनीतिको बाटो आजै र यहीँबाट पहिल्याउने सामूहिक प्रण र पहल गरौं । 

२०७५ माघ ११ गते रातोपाटी डटकम र सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रद्वारा संयुक्त रुपमा आयोजित ‘शान्ति र समृद्धिका लागि नेपालको दीर्घकालीन परराष्ट्र नीति’ विषयक विचार गोष्ठीमा केन्द्रका सचिव ध्रुवराज अधिकारीद्वारा प्रस्तुत अवधारणापत्र

कमेन्ट

  1. Feb. 3, 2019, 12:15 p.m. Hari Sharma
    Nepalka khasgari communist neta harule padhnuparne sarai nai samayik bichar!
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...