केन्द्रीय संस्करण

मृत्युदण्ड दिनैलाग्दा सहिद गंगालाल श्रेष्ठले के बोलेका थिए ?

person explore access_timeमाघ १६, २०७५ chat_bubble_outline0

सहिद ती हुन्, जसले देशका खातिर आफ्नो प्राण त्यागे । हिजोको भन्दा आज र आजको भन्दा भोलि नागरिक र राज्यको अवस्थामा सुधार आउनु नै सहिदको सपना हो । इतिहासमा जागेका मानिसले देशका लागि ठूलो सपना बोकेर प्राण त्यागे ।

उनीहरुको चाहना हिजोबाट मुक्ति र भोलिको प्राप्ति हो । प्रजातन्त्र/लोकतन्त्र, राजतन्त्रको अन्त्यसहित गणतन्त्र प्राप्तिसम्मका सङ्घर्षमा हजारौं नागरिकले सहादत प्राप्त गरेका छन् । परिवर्तनकारी आन्दोलनमा आबद्ध भएर जति नागरिक सहिद भए उनीहरुले शोषित–पीडितका अधिकार मात्र हैन, देशको उज्ज्वल भविष्यको सपना बोकेका थिए ।

तथापि, सहिदको रगतसँग साटिएको वर्तमान व्यवस्थाका अगुवा उनीहरुका सपना साकार पार्नेभन्दा आफूमा अङ्कुराएको स्वार्थप्रेरित भएको देखिन्छ । विडम्बना, सहिदलाई शासकको कुर्सीमाथि झुण्ड्याउने तस्वीरमा सीमित गरियो । सहिदका आत्माले शान्ति र उनीहरुका आफन्तले गर्व गर्नलायकका काम अपवादबाहेक भएनन् । सहिदका सपनाले भन्दा परिवार र गुटको चिन्ताले प्राथमिकता पायो । सहिदको रगतप्रति जिम्मेवार र उत्तरदायी नहुँदा सहिद परिवारका आफन्तको दर्दनाक जीवनका दृश्यसमेत अर्थहीन भए । 

राणा शासनविरोधी आन्दोलनमा होमिएका शुक्रराज शास्त्रीलाई १९९७ सालको धरपकडपश्चात् माघ १० मा पचली र धर्मभक्त माथेमालाई सिफलमा फाँसी दिइयो । गङ्गालाल श्रेष्ठ र दशरथचन्द ठकुरीलाई शोभाभगवतीमा गोली ठोकेर मारियो । शुक्रराज शास्त्रीलाई लागेको आरोप थियो– ‘भर्खर शिक्षा पाएका नवयुवकलाई भड्काएर देशमा द्रोह फैलाउने र राजकाजमा समेत असर पुर्याएको ।’ धर्मभक्तलाई मृत्युदण्ड दिने वेलामा उनको गलामा झुण्ड्याइएको कागजमा लेखिएको थियो– ‘संस्था खडा गरी  दुनियाँ भड्काउन पर्चा छरी हातहतियार खोजी हिँडी केही जम्मा गरी श्री ५, श्री ३ सरकार र रोलवाला जर्नेलहरुको गाथ बिताई राजकाजसमेत आफू भई चलाउने उद्योग गरेको हुनाले यस्तो सजाय भयो ।’ सहिद गङ्गालाल र दशरथ चन्दलाई लगाइएको आरोप थियो– ‘अर्काको देशको चाला ल्याई सीधासादा रैती भड्काई श्री ५ र श्री ३ सरकारको गाथ ताक्नेलाई  यो सजाय भयो ।’

राणा शासनको अन्त्य र नागरिक सर्वोच्चता प्राप्तिका लागि जीवन आहुति दिने महान् सहिदहरुमध्ये युवा गङ्गालाल श्रेष्ठको बलिदानी आममानिसका लागि अझ प्रेरणादायी छ । १९९७ साल माघ १४ गतेका दिन सेन्ट्रल जेलको गेटबाहिर गङ्गालालका बाबु भक्तलाल श्रेष्ठलगायत उनका भाइ–बहिनीहरुलाई बोलाइएको थियो ।

मुत्युदण्ड दिनुअघि ३ः३० बजे परिवारका सदस्यको छेवैमा आएर गङ्गालालले मुस्कुराउँदै सबैतिर हेरेर सम्झाउँदै भनेका थिए– ‘जन्मिएपछि मृत्यु निश्चित छ । मैले अत्याचारीसँग माफी मागेँ भने भोलि तपाईंंहरुले पनि धिक्कार्नुहुनेछ ।’ उनले आफ्नो पिता भक्तलाललाई ढोग्दै भनेका थिए– ‘बा, तपाईंं गीताका ज्ञाताले मेरो नाशवान् शरीरको नाश हुँदै गर्दा शोक गर्न सुहाउँदैन । जन्मभूमिको उत्थानका लागि हाँसीहाँसी सहिद हुन आशीर्वाद दिनुहोस् ।’ त्यसपछि माइला भाइ पुष्पलाल श्रेष्ठलाई सम्बोधन गर्दै भनेका थिए– ‘माइला, यस जन्मभूमिमा प्रजातन्त्रका लागि हामीले बालेर गएको दियोलाई तिमीले कहिल्यै निभ्न नदिनू, यसलाई नेपालका कुनाकुनामा पुर्याउनू ।’

असाधारण मान्छेहरुको बलिदानीबाट नेपालमा २००७ सालमा प्रजातन्त्र त आयो तर २०१७ सालमै राजा महेन्द्रले घाँटी निमोठे । पुनः प्रजातन्त्र फिर्ता गर्न आन्दोलन अपरिहार्य बन्यो । पञ्चायती व्यवस्थाविरुद्धमा आन्दोलन चर्किंदै जाँदा फेरि पनि प्रजातन्त्रका लागि गरिबका छोराछोरीले सहादत प्राप्त गर्नु अनिवार्य बन्यो ।

२०३६ साल कात्तिकमा भएको धनकुटाको ‘छिन्ताङ’ र २०४० साल माघमा सिन्धुपाल्चोकको ‘पिस्कर’मा भएको सामूहिक हत्याकाण्ड पञ्चायती व्यवस्थाको अन्त्यका लागि भएको बलिदानीका उदाहरण हुन् । पञ्चायती व्यवस्थाले आनो शासन टिकाइराख्न २०२८, ०२९, ०३०, ०३१, ०३५ र ०४० सालमा विभिन्न बहानामा परिवर्तनकारी नागरिकको हत्या गर्दै आयो । नेपालको राजनीतिक परिवर्तनको इतिहास हेर्दा चानचुने ढङ्गले देशमा परिवर्तन आएको छैन । हजाराैं सहिद भएका छन् । हजारौं नागरिक घाइते र अपाङ्ग हुनुका साथै कैयौं महिला र पुरुषहरु एकल भए । कैयौं बालबालिकाले परिवर्तनका खातिर बाबुआमा गुमाएका छन् । दिदी–बहिनीहरु बलात्कृत भएका छन् । तर, सहिद र घाइतेको रगतमा टेकेर उभिएकाहरुले सहिदका रगतको मूल्य नबुझ्नु पीडादायी विषय हो । 

बुझ्नै पर्ने सत्य के हो भने नेतालाई नयाँ शासकको पगरी गुथाउन, भ्रष्टलाई शक्तिशाली बनाउन, कालोबजारी र माफियालाई सत्ताको वरिपरि राख्न, दलीय स्वार्थमा देशलाई हिँडाउन, व्यक्तिगत स्वार्थमा लड्न, नेपाललाई देशी–विदेशी तङ्खवको प्रयोगशाला बनाउन, नातावाद र कृपावादमा देशलाई डुबाउन नागरिकहरु सहिद भएका थिएनन् ।

अड्डा–अदालत, विश्वविद्यालय, कर्मचारीतन्त्रलगायत सर्वत्र राजनीतिक भागबण्डा गरेर देशलाई दलीयकरण गर्न पनि रगत बगाएका होइनन् । न त ठेकेदार, गुण्डा र अपराधीलाई नेता बनाउन वा जनआन्दोलनका दोषीलाई संवैधानिक निकायको मालिक बनाउन नै लडेका थिए । गरिब झन्झन् गरिब र धनीलाई अझ कुलीन बनाउन, गरिबले सिटामोल र जीवनजल नपाउने तर पहुँचवालाले लाखौंलाख रकम राज्यकोषबाट उपचारका नाममा भुक्तानी पाउने अवस्था सिर्जना गर्न उनीहरुले मृत्युलाई रोजेका होइनन् । 

माघ १६ गते वर्षमा एक दिन सार्वजनिक बिदा दिएर सैनिक मञ्चको तामझाममा सहिदको योगदानलाई सीमित गरिँदै आएको छ । सहिदले राज्यसत्तामा जातको परिवर्तनका लागि बलिदानी दिएका थिएनन्, न त सैनिकलाई टुँडिखेलमा परेड खेलाउन नै ।

उनीहरुले देशको सर्वाङ्गीण विकास, परिवर्तन तथा न्याय र समानताका लागि आफ्नो जीवन बलिदान गरेका हुन् । जुन सत्यलाई राज्यसत्ता हाँक्नेहरुले मनन् गर्न सकेको देखिँदैन । मुलुकको वर्तमान अवस्थाले सहिदको त्याग र बलिदानको खिल्ली उडाइरहेको छ । मुलुक यस्तो अवस्थाबाट गुज्रियो कि शासकलाई मन लागे खनीखोस्री गर्ने, नलागे बँझ्याइदिने । 

आज सहिदगेट र शोभाभगवतीमा खडा गरिएका सालिकमा माल्यार्पण गरी औपचारिकता पूरा गर्नु हरेक सरकारको परम्परा बनेको छ । प्रधानमन्त्रीले शपथ खाएका दिन सहिदको सालिकमा माला लगाइदिनुलाई मात्र सहिदप्रतिको सम्मान ठानिन्छ । सहिदको रगतमा टेकेर राज्य सञ्चालन गर्नेहरुले नागरिकको सहादतलाई सार्थक बनाउनु नै आफ्नो कर्तव्य हो भन्ने ठानेको देखिँदैन । अतः राजनीतिक परिवर्तनले सहिदका छोराछोरी टुहुरा र श्रीमान्–श्रीमतीलाई एकल बनाउनेभन्दा अर्को परिणाम दिएन ।

(प्रकाश विकल्पको पुस्तक ‘देश किन बनेन ’ मा आधारित)

    
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ