केन्द्रीय संस्करण

'जुन वर्गको संस्था स्थापना हुन्छ, त्यसले आफ्नो वर्गका लागि लड्नेलाई अगाडि ल्याउने रहेछ '

person explore access_timeमाघ १६, २०७५ chat_bubble_outline0

‘सहिद’ कति पवित्र शब्द छ । तर, पछिल्लो समय सहिद शब्द सस्तो लोकप्रियता कमाउने शब्दमा सिमित बनेको छ  । राजनीतिक सम्झौतका आधारमा मानिसहरु सहिदहरु भएका छन् । मुलुक र जनताको हक अधिकारका आन्दोलनमा सहादत प्राप्त गरेकामध्ये कसलाई सहिद भन्नेमा अझै मापदण्ड बन्न सकेको  छैन । जनजिवीकालाई बदल्ने, मानिसहरुको जिन्दगीलाई सजिलो बनाउने, देशमा विकास गर्ने र समाजलाई अग्रगतितिर लैजाने सहिदहरुको सपनामाथि हामीले न्याय गर्न सकेका छैनौँ । 

यही सेरोफेरोमा विश्वभक्त दुलाल ‘आहुति’ सँग सुनिता न्यौपानेले गरेको कुराकानी :

सहिद शब्दलाई कसरी पुन:परिभाषित गर्न सकिन्छ ?

नेपालमा सहिदबारेको व्यवस्थित अवधारणा र परिभाषा प्रष्ट छैन । कसलाई सहिद भन्ने ? कुन अवस्थाको मानिसलाई सहिद भन्नेमा धेरै भ्रम रहेको छ । हाम्रो एउटा मापदण्ड छैन । पहिलो सहिद लखन थापा भन्ने नामकरण भएको छ । उनी पहिलो सहिद किन भए ? के आधारमा भए ? राणा शासन गएको हुनाले । उनी जङ्गबहादुरको विरुद्ध लड्न आएको हुनाले । तर जङ्गबहादुरसँग त्योभन्दा पहिले लड्ने मान्छे पनि थिए । जस्तो कि लखन थापा मारिनुभन्दा २७ वर्ष अगाडि काठमाडौँसँग विद्रोह गरेर मारिएका मानिस नै छन्, अछाममा बलदेव शाह । उनी मारिएका हुन् ।  उनीसहित अरू पनि मारिएका हुन् । तिनलाई किन भनिएन त सहिद ? यदि राणाशासन कालको मानिसलाई सहिद भन्ने हो भने तिनी पनि जङ्गबहादुरको उदयपछि नै हो मारिएको । किन नभन्ने उनलाई सहिद ? कसैसँग पनि उत्तर छैन । यसको पछाडि उत्तर एउटै मात्र देखिन्छ । गोरखामा ठूला नेता जन्मिए । कर्णाली पारिका मानिसहरू जहिले पनि हेपाइमा परे । त्यसकारण त्यहाँ मारिएका मानिस सहिद होइनन् भन्ने हुन्छ । त्यसकारण सहिदबारे निकै ठूलो भ्रम हाम्रोमा छ । 

सामन्तवादविरोधी संघर्ष विसं  १९९० को हाराहारीबाट सुरु हुन्छ । त्यो क्रममा राणा शासनलाई व्यवस्थित रूपमा संघर्षमा अगाडि बढाउन ४ जना मानिसको सहादत हुन्छ । त्यो मूलतः नेपालको सामान्तवाद विरोधी संघर्ष नै थियो । राणशासन विरोधी आन्दोलन भनेर किन भनियो त भन्दा त्यहाँ शाह राजा पनि राणाहरूको विरुद्ध हुने भएकाले र राणाहरू गइसकेपछि शाह राजाहरू आएको हुनाले त्यो सङ्घर्षलाई राणा शासन विरोधी सङ्घर्ष पनि भनियो । त्यो राणा शासन विरोधी सङ्घर्ष थियो त ? त्यो नेपाली समाजमा भएको राणा प्रधानमन्त्रीले नेतृत्व गरेको सामन्तवादविरुद्ध थियो । त्यो सङ्घर्ष २००७ सालमा पूरा भएन । नभएको हुनाले अहिलेसम्म लड्नु पर्याे । उहाँहरूले गरेको योगदानलाई सामन्तवाद विरोधी आन्दोलनको पहिलो कलपुर्जाका रूपमा मान्न सकिन्छ । त्यो उहाँहरू अहिले पनि श्रद्धायोग्य नै उहाँहरूबाट शिक्षा लिने योग्य नै सहिदहरू हुनुहुन्छ । त्यतिबेला स्वाभाविक रूपमा सामन्तवादमा त्यसलाई नै बढी जानकारी लिने अवसरका रूपमा जो हिन्दु सामन्तवादी समाजमा माथिल्लो जातका हुन्थे । हाम्रा चार जना सहिदहरू त्यतिबेलाका आआफ्ना समुदायका माथिल्लो जातका मानिन्थे । किन थियो ? उनीहरूलाई पढ्ने अवसर थियो । उनीहरूलाई नै शासन कति गलत थियो भनेर बुझ्ने अधिकार थियो । उनीहरूले नै सबैभन्दा पहिले नेतृत्व गर्नु पथ्र्यो । शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल, धर्मभक्त । सबै नै आआफ्ना जाति समुदायभित्रका माथिल्लो समुदायका थिए । 

स्कुलमा पढाउँदा लामो कालसम्म ती चार जना  सहिदहरूमध्ये एक जनाको मात्र थर लेखिन्थ्यो– दशरथ चन्द । अरू तीन जनाकाे नाम मात्र लेखिन्थ्यो । धेरै मानिसलाई गङ्गलाल श्रेष्ठ भन्ने धेरै पछि मात्र थाहा थियो । यस्ता धेरै प्रसङ्ग छन् यहाँ । किनकि दशरथ चन्द ठकुरी थिए । परम्परागत राजपरिवारका, अरू तीन जना नेवार थिए । उनीहरूको थर जोडेर पढाइँदैनथ्यो । लोकतान्त्रिक आन्दोलनपछि अगाडि आयो । नेपालमा रहेको सामन्तवादविरुद्धको पहिलो खुड्किलो पहिलो चरणका बलिदानकर्ता उनीहरू थिए । हजार पन्ध्र सय जना शहिद भइसकेका थिए । त्यसकारण त्यो परम्परा धेरै नै अगाडि बढिसकेको छ । त्यसकारण सहिद सप्ताहलाई हामीले बढाउने कुरा व्यवस्थित गर्ने कुरा छुट्टै छ । थप सहिद सप्ताहका बारेमा चिन्तन गर्नु आवश्यक छ । 

कैयौँ उत्पीडित क्षेत्र र समुदायबाट बलिदान भएका मानिसलाई राज्यले सहिदका रूपमा सम्मान नदिने गरेको छ । जस्तो भीमदत्त पन्त । उहाँलाई अहिलेसम्म पनि राज्यले सहिदका रूपमा स्वीकार गरेको म पाउँदिनँ । जब कि कर्णाली पारिको सभ्यता र भारती फौज बोलाएर २००८ सालमा कैलालीमा तिनको हत्या गरेको थियो । २००७ सालपछि लोकतान्त्रिक परिवर्तन भएर  सरकार बनेपछि उनको हत्या भयो । उनलाई निकै क्रुरतापूर्वक मारिएको थियो । हत्या भइसकेपछि पनि २४ घण्टासम्म डडेल्धुराको टुँडिखेलमा लिङ्गोमा टाउको बाँधेर झुड्याएर राखिएको थियो । तर अहिलेको व्यवस्थाले त्यसलाई धेरै ठूलो सम्मान दिनुपथ्र्यो । त्यस्तो गरिएनँ । त्यस्तो किन भयो भने कर्णालीपारिको सभ्यतासँग नेपालको सभ्यता केन्द्रीय सत्तासँग जहिले पनि रिसाइरहेको छ  । उसले जहिले पनि सत्रु देख्छ । राजा महेन्द्रलाई काँग्रेसको निर्णयअनुसार बम दुर्गानन्द झा, जसलाई पञ्चायतले मृत्युदण्ड दियो । पोहोर मात्र उनलाई सहिद घोषणा गरियो । उनले बम हाने राजा महेन्द्र संयोगले बाँचे ।  यस्ता धेरै उत्पीडत क्षेत्र र उत्पीडित समुदायका बलिदान भएकालाई राज्यले ठीक ढङ्गले सम्मानित नगर्ने त्यो प्रसङ्ग छ । यो सहिद सप्ताह जस्ता पर्वहरू, जसलाई सांस्कृतिक पर्व नै बनाउँदा हुन्छ । यस्ता पर्वहरूमा त्यस्ता नमिलेका कुराहरू, बलिदानभित्र पनि अन्यायमा परेका च्याप्टरहरूबारे हामीले खोज अनुसन्धान गर्ने त्यसबारे विवेचना गर्ने र ती लुकेका वा लुकाइएका वा व्यवस्था गरिएका चीजहरूको फेरि पुन:स्थापित गर्नुपर्छ भन्ने लाग्छ । 

सहिद शब्द नै प्रष्ट छैन भन्नुभयो । किन छैन त ? 

जस्तोसुकै अवस्थामा मृत्यु भएका मानिसलाई पनि सहिद भन्न मिल्ने भयो । गाडीले किचेर मरेको पनि सहिद भएको छ । दबाब भए पनि सहिद घोषणा भएको छ । बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला एउटा सहिद मापदण्ड समिति  पनि बनेको थियो । त्यसले पनि कुनै ठोस रिपोर्ट दिएको मैले देख्दिनँ । 

आफूलाई मन परेपछि सहिद घोषणा गरिदिने, कुनै पार्टीले पनि घोषणा गरिदिने । पछिल्लो उदाहरण, नेकपाले स्थानीय तहको चुनावमा पहिलो सहिद कालिकोटमा घोषणा गरिदियो । उनी वडा समितिको सदस्य थिए । राप्रपाका मानिस थिए । राप्रपाको मानिस जो आफै उम्मेदवार छ, चुनाव भाँड्न खोज्दा उनलाई गोली लागेको हो । त्यो पनि सहिद घोषणा भयो । कमसेकम जे चीजको लागि सङ्घर्ष भयो, त्यसको विरोधी त हुनुपर्याे । त्यसको विरोधमा कति लड्ने त्यो अर्काे कुरा हो । त्यसको विरोधी पनि छैन । त्यो हुनुपर्छ भनेर उम्मेदवार दिएको हो । किन त्यही ठाउँमा मैले मेरो उम्मेदवारी फिर्ता लिए । म यसको विरुद्धमा गए त्यो पनि होइन । राजनीति पार्टी र सत्तालाई त्यतिखेर के गर्दा फाइदा हुन्छ ? त्यसको  आधारमा सहिद भन्ने जस्तो भयो । 

अवधारणामै हाम्रो छलफल बाँकी छ । त्यो अवधारणामा छलफल नहुँदा के भएको छ भने राजनीतिक सम्झौताका आधारमा सहिदहरू भएका छन् । कुनै राजनीतिक सङ्घर्ष पूरै असफल भयो । त्यसभित्र मारिएका केही पनि भएनन् । थोरै सम्झौता जस्तो भयो । त्यसभित्र मारिएका सबै सहिद भए । यो त समाज अगाडि बढाउने  व्यवस्थित मापदण्ड नै भएन । समाज अगाडि बढाउन हामीसँग ठोस अवधारणा केही पनि भएन । 

देश र जनताको मुक्तिका लागि भएका अग्रगामी परिवर्तनकारी घटनाहरूमा बलिदान प्राप्त गरेका वीर वीरङ्गनाहरूको योगदानलाई कसरी सम्मान र स्थापित गरिनुपर्छ ?

वर्गीय कुरा हुँदो रहेछ । कुन वर्गको संस्था स्थापना भएको रहेछ । जुन वर्गको संस्था स्थापना हुन्छ, त्यसले आफ्नो वर्गका लागि लड्नेलाई अगाडि ल्याउने रहेछ । त्यसले गर्दा हामीले पनि वर्गीय ढङ्गले नै हेर्नुपर्छ । वर्गीय ढङ्गले हेर्दा सबैभन्दा पिँधमा रहेका जनता हुन्, जसले लोकतन्त्र, सामाजिक अधिकार ल्याउनका निम्ति बलिदान गरेका छन्, उनीहरूलाई हामीले अगाडि ल्याउने कुरा हो । अरूलाई त सत्ताले अगाडि ल्याइहाल्छ । 

बहादुर सदा सधैँ पछाडि पर्ने रहेछन्, जो चाहिँ सिराहाको भूमि आन्दोलनमा लडेका थिए र उनलाई त्यहीँ गोली हानिएको थियो । ३५, ३६ सालको किसान आन्दोलनको कुरा हो । तर उनको कतै पनि चर्चा छैन । किनकि उनी जातीय हिसाबले पनि दलित थिए र वर्गीय हिसाबले पनि पूरै ज्यालादारी दासत्वपूर्ण जीवनमा थिए । तिनको बारेमा कसले बोल्ने ? उनी मारिए । उनी मधेसी पनि हुन् । दुर्गानन्द झालाई त नदेख्ने काँग्रेस हुनेखानेहरूको हट्टा कट्टाहरूको पार्टी हो । सत्ता पनि चलाइसकेको । महेन्द्रलाई बम हान्ने किसिमको मन्छेलाई त वास्ता गर्दैन । बहादुर सदालाई कसले वास्ता गर्ने ? 

यस्ता तल्लो वर्गका धेरै उत्पीडित क्षेत्र, वर्ग, लिङ्ग समुदायका मानिस छन् । जसले योगदान गरेका छन् तर छोपिएर बसेका छन्, उनीहरूलाई अगाडि ल्याउन हामीले मिहिनेत गर्नुपर्ने रहेछ । उनीहरूको बलिदानलाई अगाडि ल्याउन मिहिनेत गर्न जरुरी छ । इतिहासको एउटा ठूलो छोपिएको खण्ड हामीले अगाडि ल्याउनुपर्छ  । नयाँ पुस्तालाई हामीले उत्साहित बनाउनुपर्ने हुन्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...