शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद शब्दको पुनर्व्याख्या

बुधबार, १६ माघ २०७५, ११ : २७
बुधबार, १६ माघ २०७५

- यादव देवकोटा

सहिद कस्ता व्यक्तिलाई भनिएको छ भन्नेबाट छलफल सुरु गर्नुपर्छ । खासगरी राजा महेन्द्रको पालामा २०१२ साल माघबाट काठमाडौँ नगरपालिकाले सहिद सप्ताह मनाउन सुरु गरेको रेकर्ड देखिन्छ । तर,माघ १६ गतेलाई नै किन सहिद दिवस मानिएको हो, त्यसमा तिथिमिति के पर्छ भन्ने खालको कुरो अहिलेसम्म देखिँदैन ।

राणाशासनविरुद्ध लागेका प्रजापरिषद्का तीन सदस्यसहित नेपाल नागरिक समितिका अध्यक्ष शुक्रराज शास्त्रीलाई १९९७ माघ दोस्रो साता मृत्युदण्ड दिइएको थियो । माघ १० देखि १५ गतेका बीचमा धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाइ झुण्डाएर तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली ठोकेर मारिएको थियो । ती मारिएका कुनै एक दिन मनाउँदा अरू सहिदहरू छुट्ने भएपछि  सबै सहिदहरू मारिसकेपछि माघ १६ गते सहिद दिवस मनाउने गरेको हुनसक्छ।

लखन थापालाई पहिलो सहिद भनिन्छ तर उनीभन्दा पनि अगाडि सुपती गुरुङ, शुक्र गुरुङलगायतका व्यक्तिले जंगबहादुर राणालाई हटाएर आफै देशको प्रमुख बन्ने, देशमा जनताले शासन थाल्ने भनेर विद्रोह गरेका थिए। उनीहरूभन्दा पछि मारिएका लखन थापालाई किन पहिलो सहिद भनिएको हो, बुझ्न सकिंदैन।

त्यस्तै, चार सहिदहरूभन्दा अगाडि पनि राणा शासनविरुद्ध लागेर मारिएका अरू व्यक्तिसमेत छन्, उनीहरूलाई सहिदको सूचीमा राखेको पाइँदैन ।

खासगरी राणा शासन फाल्ने र जनताको शासन ल्याउने, जनताको जीवनस्तर बदल्ने भन्ने उद्देश्यसहित १९८८ मा प्रचण्ड गोरखाका खण्डमान, मैनाबहादुर, खड्गमान सिंह र रङ्गनाथ शर्मा पक्राउ गरिएका थिए । यी व्यक्तिमध्ये खण्डमान सिंह र मैनाबहादुर यातनाका कारणले जेलभित्र नै सहिद भएको देखिन्छ । त्यसकारण उनीहरू पनि सहिदको सूचीमा रहनुपर्छ । उनीहरू पनि राणाशाही विरुद्ध र जनताको जीवनस्तर सजिलो बनाउने अभियानमा पक्राउ परेर यातनाका कारण जेलभित्रै मारिएका हुन् । उनीहरूलाई सहिद घोषणा गरेको देखिँदैन ।

दशरथ चन्द, शुक्रराज शास्त्री प्रजापरिषद्कै टङ्कप्रसाद, रामहरि शर्मासँगै पक्राउ परेका बलबहादुर पाण्डेलाई जेलभित्र यातना दिइएको थियो, त्यही कारणले १९९९ सालमा जेलभित्रै उनी सहिद भएका छन् । बलबहादुर पनि अरू सहिदले जे उद्देश्य राखेका थिए, त्यही उद्देश्यमा सामेल भएका, प्रजापरिषदको सदस्य रहेका र उही केसमा पक्राउ गरी जेलमा राखिएका थिए । जेलमै उनको मृत्यु भएको छ । तर, उनलाई पनि सहिद घोषणा गरेको देखिँदैन ।

एकै अभियानमा लागेर सहादत प्राप्त गर्नेमध्ये कुनै व्यक्ति सहिद बन्ने, कुनै नबन्ने भन्ने कुरा त्यति मुनासिव देखिँदैन । र, यस्तो हुनुमा बालकृष्ण शमशेर राणाको हात छ जस्तो देखिन्छ ।

राजा महेन्द्रको शासन कालमा बालकृष्ण शमशेर राणाले आफ्नो नाम थर बालकृष्ण सम लेख्न थाले । तर, बालकृष्ण तिनै व्यक्ति हुन्, जो १९९७ सालमा टङ्कप्रसाद आचार्य प्रक्राउ परिसकेपछि उनीसँग बयान लिने राणा शाहीका भारदारमध्ये एक थिए । पछि महेन्द्रको पालामा, उनै बालकृष्णलाई प्रज्ञा प्रतिष्ठानको सदस्य बनाइयो । सहिद मापदण्ड र राष्ट्रिय तिथि घोषणा गर्ने समितिमा पनि उनलाई नै हर्ताकर्ता बनाइएको थियो । आफ्नो थरबाट राणा हटाए पनि बालकृष्णले जहानियाँ राणा शासनको अन्त्यका लागि जीवन आहुती दिएका सबै मानिसहरूलाई सहिदको सूचीमा राख्न नचाहेको देखिन्छ । खासगरी १९९७ सालका चार सहिद आम रूपमा सहिद भए र त्यसलाई नकार्न नसकिने स्थिति थियो । बाँकी मासिको बारेमा बाहिर प्रचार पनि नभएको, बाहिर थाहा पनि नभएका कारणले बालकृष्णले त्यसलाई लुकाउन खोजेको देखिन्छ । त्यसकारण चार जना मात्र नेपालको सहिद हो भन्ने बुझिएको छ ।

यसो भन्नुको अर्थ, चार सहिदको अवमूल्यन गर्न खोजेको होइन । उनीहरूले जसरी हाँसी हाँसी देशका लागि बलिदान दिए, समाजलाई जहानियाँ राणाहरूको सिकञ्जाबाट बाहिर निकाल्न आफ्नो जीवनको बलि दिए, त्यसको यथोचित सम्मान नेपाली समाजले गरिरहेको छ, गर्नुपर्छ र गरिरहनु पनि पर्छ । तर, त्यसको मतलब अरुलाई अपमानित, अवमूल्यन र पक्षपात गर्नु पर्छ भन्ने पनि होइन । चार सहिद सरह नै देशका लागि सहादत प्राप्त गरेका जो जो छुटेका छन्, उनीहरूलाई पनि जोड्नुपर्छ । निरङ्कुश व्यवस्थाका विरुद्ध लडेका र व्यक्तिगत जीवनको नाफाघाटा नहेरेका व्यक्तिहरू, बृहत्तर समाजको हितका लागि जिन्दगी न्यौछाबर गरेका व्यक्तिहरूलाई सहिद मानिनु पर्छ । हाम्रो मुलुकमा दशकौं लामो संघर्षका क्रममा व्यक्तिगत जिन्दगीको घेराभन्दा माथि उठेर आफ्नो समुदाय, समाज, देशका लागि जीवन दिएका थुप्रै सहिदहरू छन् ।

राणा शासनविरुद्ध लड्नेलाई सहिद मान्ने, राजतन्त्रविरुद्ध लड्नेलाई सहिद नमान्ने भन्ने हुँदैन। राणा शासनविरुद्ध होस् वा पञ्चायतविरुद्ध होस् अथवा राजतन्त्रविरुद्ध किन नहोस्, निरङ्कुश राज्य व्यवस्थाका विरुद्ध लड्दा जजसले सहादत प्राप्त गरेका छन्, ती सबै मानिसहरूलाई सहिद मान्नुपर्छ, सम्मान गर्नुपर्छ ।

देश र जनताको मुक्तिका लागि भएका अग्रगामी परिवर्तनकारी घटनामा बलिदान गरेका वीर विराङ्गनाको योगदानलाई कसरी सम्मान र स्थापित गरिनुपर्छ ?

व्यवस्थामात्र बदल्ने उनीहरूको सपना पक्कै थिएन । जनजीविकालाई बदल्ने, मानिसहरूको जिन्दगीलाई केही सजिलो बनाउने, देशमा विकास गर्ने र समाजलाई अग्रगतितिर लैजाने कामले नै सहिदहरूको सपनामाथि न्याय हुन्छ । सहिदहरूको बलिदानमा न्याय हुन्छ । त्यसो गर्नाले उनीहरूको योगदानको मूल्य स्थापित हुन्छ । अन्यथा एउटा व्यवस्थाको ठाउँमा अर्काे व्यवस्था र एउटा शासकको ठाउँमा अर्काे शासक आउँदा जनताको जीवन झनझन तलतल आउने हुनाले सहिदको अवमूल्यन हुन्छ । जनतालाई उनीहरू मरेर हामीलाई के नै भएको छ र ? भन्ने लघुताभासपूर्ण हुने अवस्था पनि आउँछ ।

त्यसकारणले समाजलाई अग्रगमनतिर, विकासतिर लैजाने, जनताको जीवन सजिलो बनाउने, जनताको जिन्दगीलाई पहिलेको भन्दा सुधार्दै अगाडि लैजाने कामबाट नै सहिदहरूलाई स्थापित गर्ने र उनीहरूको  योगदान तथा बलिदानलाई जनताको बीचमा थप प्रगाढ बनाउने तरिका हुन सक्छ ।

सहिद शब्द सस्तो भयो पनि भन्न थालिएको  छ नि ?

हो, सहिद शब्द पछिल्ला दिनमा धेरै सस्तो हुँदै गयो । यो राजनीतिक दलको समस्या हो । डनहरूको मारमुङ्ग्रीमा मारिएकालाई पनि सहिद भनिदिने, राजमार्ग हडतालमा मारिएका मानिसलाई पनि सहिद भनिदिने जुन खालको नकाम हुने गरेको छ, त्यो अनुचित नै छ । त्यो सहिदहरूको समस्या होइन  । तर, कतिपयले निश्चित घेराभित्र रहेर राजतन्त्रविरुद्ध लडेकालाई सहिद नमान्ने राणाविरुद्ध लडेकालाई मात्र सहिद मान्ने, काँग्रेसले हतियार उठाउँदा मरेका सहिद हुने, माओवादीले हतियार उठाउँदा मरेका सहिद नहुने, एमालेले टाउको काटेर मारेका सहिद हुने, मधेसमा समानता खोज्दा मरेका मानिस सहिद नहुने भन्ने खालका ध्रुवीकरण गर्न खोजिएको छ, त्यो बेठीक छ ।

सहिदहरूको मापदण्ड बेगर जसरी र जसलाई पनि सहिद घोषणा गर्ने काम भएका छन्, यसले भने सहिदहरूको बलिदानलाई अवमूल्यन गर्न सक्छ । त्यसैले सहिदको एउटा निश्चित मापदण्ड बनाउनुपर्छ । सहिद कसलाई भन्ने र कसलाई नभन्ने भन्ने कुरा तय गरिनुपर्छ ।  त्यसपछि यसलाई सहिद भन्ने, यसलाई सहिद नभन्ने भन्ने कुरा आउला । नेताहरूमा, राजनीतिक पार्टीहरुमा राष्ट्रका लागि बलिदान भएका वीर विराङ्गनाको मूल्याङ्कन गर्ने क्षमता भने हुनैपर्छ ।

सहिदहरुलाई सम्मान गर्न चार कुरामा ध्यान दिनुपर्छ : नवराज सुवेदी
नेपालको प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनमा १९९७ पछि धेरै मानिसले प्राण आहुती दिनु भएको छ । उहाँहरूले जे सोचेर प्राण आहुती दिनु भएको छ, त्यो सापेक्षतामा सोच्दा हामी त्यो बाटोमा गएका छैनौँ । उहाँहरू समानता, प्रजातान्त्रिक प्रणालीको आदर्श पात्रहरू हुनुहुन्छ । सहिदहरूलाई स्थापना र सम्मानित गर्नका लागि हामीले दुई चार कुराहरूलाई ध्यान दिनुपर्छ । पहिलो कुरा त हामी ती सहिदहरूको बाटो अङ्गाल्नुपर्याे । ती सहिदहरूले गर्दा नै सामन्ती प्रणालीको अन्त्य भएको छ । राष्ट्र, प्रदेश, स्थानीय तहले सम्मान गर्नुपर्छ । सहिद परिवारलाई सम्मान गर्नुपर्छ पढाइ, लेखाइ, कलेज त्यस्तै प्रकारका स्थापना गर्नुपर्छ । सहिद परिवारका छोराछोरीलाई कोटा छुट्याउनुपर्छ । सहिदहरूको प्रतिष्ठान बनाउने ट्रस्ट बनाउने काम गर्नुपर्छ । सत्तामा बसेका मानिसहरूले सहिदका नाममा बजेट छुट्याउनुपर्ने र सहिद वृत्ति विकासलाई हेरेको खण्डमा सहिदहरूलाई केही हदसम्म सम्मान गर्न सकिन्छ ।


(लेखक तथा अध्येता देवकोटा र सहिद मापदण्ड समितिका संयोजक सुवेदीसँगको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप