झलनाथ खनालसित खुल्ला बहस

person access_timeसाउन १५, २०७४ chat_bubble_outline0

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले यही श्रवाण ७ गते बागलुङ जिल्लामा ३९औँ पुष्पलाल स्मृति दिवसका दिन व्यक्त गरेका विचारमाथिको यो बहस जबजले  स्थापित गरेको प्राज्ञिक स्वतन्त्रतामा आधारित छ । मन्थन गरेर मात्र नौनी निस्कन्छ ।

यो लेखक नेतालाई द्यौता मान्दैन, राम्रो गर्दा राम्रो र नराम्रो हुँदा र गर्दा सुझावपरक आलोचना गर्छ । यस लेखकले माक्र्सवाद र जबजलाई शीर्षस्थ स्थानमा राखेर कुनै पनि खाले आश,त्रास र बतासमा नपरी एमाले पार्टीका तमाम गतिविधिलाई मिही रूपमा अवलोकन र  मनन् गर्छ र  तदनुरूपसत्यतथ्यमा आधारित निष्कर्ष  निकाल्ने गरेको छ । 


   खनालले बागलुङमा  पहिले पार्टी एकताबद्ध थियो तर आजभोलि गुटको छिर्का परेको सुन्छु भनेको विषयलाई अलि गम्भीर लागेको  छ । खनालले मानौँ पहिले भनेर नवौँ महाधिवेशन अघि भन्न खोजेको हो ? केही नेताहरूआफू चाहिँ शुद्ध चोखो र अझ दूधमा धोएको भन्ने अनि ओलीलाई चाहिँ गुटको,गुट चलाउने नेता भनिरहन्थे । यही आशयबाट बागलुङमा आज गुटका छिर्का भन्न खोजेको हो भने त्यो फजुल हो । गुणात्मक प्रतिस्पर्धा गर्न नसकेपछि कतिपय मानिस भए नभएका दोष र दुर्गुण आधारित आरोप र लाञ्छना लगाउँछन् । यसलाई जननेता मदन भण्डारीले एउटा मान्छे भन्ने शीर्षकको कविता मार्फत् छर्लङ्ग पार्नुभएको छ । मदनले कवितामा  भनेझैँ  मानिस तर्क समाप्त भएपछि  कुतर्कको सहारा लिन्छ । यस्तो सहारा ढोडको तक्मा सरह हुन्छ ।

तर खनालले हिजो भनेर बागलुङमा पार्टी एकढिक्का थियो अहिले गुटका धर्सा देखिएको भनेको अर्थ अर्को हिसाबले ठिकै पनि  लागेको छ  ।  पार्टीको नवौँ महाधिवेशनमा नेतृत्वको सहज हस्तान्तरण गर्ने विषयलाई अल्झाएर,बल्झाएर अनेक खुराफात गर्दा प्रायोजित रूपमा पार्टीको मााथिल्लो तहदेखि तलतल समूहगत दुई चिरा पारियो । यस खालको त्यस बेलाको अत्यन्त सङ्गीन अवस्थामा खनाल आफैँपार्टी अध्यक्ष हुनुहुन्थ्यो ।  तपाईंले चाहेको भए र गम्भीर पहल गरेको भए नेतृत्वको सहज हस्तान्तरण हुँदैनथ्यो होला भन्ने नै लाग्दैन ।यस सबालमा अर्का हालका उपाध्यक्ष वामदेव गौतम र वर्तमान महासचिव ईश्वर पोखरेलले निर्वाचन मार्फत् नै भए पनि नेतृत्व हस्तान्तरणमा तमाम जोखिम मोलेको हुँदा ओली नेतृत्व मार्फत् आजको एमालेको उचाइ यतिविधि माथि उठ्न सकेको हो । नत्र यो पार्टीमा जननेता मदन भण्डारी र उहाँको अगुवाइमा प्रतिपादित जबजको बेहाल हुन्थ्यो मात्रै होइन यसको बदनाम नै हुन्थ्यो । संस्कारका अभावमा आफैँले चाहेको नवौँ महाधिवेशनको निर्वाचनमा हार खानु परेपछि कतिपय नेताले यसको तुस पछिसम्म राखेको देखिन्छ ।  यस खालको तुस उपल्ला तहका एकाध नेतामा पर्याप्त पाइन्छ  । यो तुसले गुट नगर्ने भनेर पनि  भित्रभित्रै गुटगत खुसखुस र घुसघुस गरेको पाइन्छ । महाधिवेशनमाविजय हासिल गर्ने कतिपयमा अलिअलि घमण्डले पनि घर गरेको भने नपाइने होइन । 


खनालले हिजोका दिनमा बागलुङमा गुटगत गतिविधि थिएन भन्नु भएछ तर देशव्यापी रूपमा अझ पार्टीको माथिल्लो तहमा घुसघुसे गुट विद्यमान रहेको उहाँलाई नै सम्झना दिलाउनुपर्ने देखियो । धेरै लामो कुरा नगरी पार्टीको सातौँ महाधिवेशनमा सङ्गठनमा लोकतान्त्रीकरण वा बहुपदीय अवधारणाका विपक्षमा आक्रामक रूपमा आलोचना गरियो अनि त्यही विषय आठौँ महाधिवेशनमा प्रस्तुत हुँदा तीन बित्ता उफ्रिएर समर्थन गर्नेहरूपार्टीको माथिल्लो तहका नेतृत्व मण्डली नै थिए । सातौँमा उही प्रस्ताव घनघोर प्रतिक्रियावादी अनि त्यही प्रस्ताव आठौँमा घनघोर प्रगतिशील मान्नु र ठान्नुका पछाडि  गुट मात्र होइन निकृष्ट गुटगत करामत नै हो । आठौँ महाधिवेशनमा विचार एउटाको अनि नेतृत्व अर्कैको हुनु गुटगत नै होइन र ? कम्तीमा कम्युनिस्ट पार्टीको नेतृत्व जसको नीति पारित हुन्छ,उही पार्टी प्रमुख हुने परम्परा होइन र ? सैद्धान्तिक वैचारिक पार्टीमा  नेतृत्व निर्माण गर्ने यही सही परिपाटी हो नि । तपाईंले इटहरीको पार्टी प्रदेश नं.१ को उद्घाटन समारोहमा मेरो नेतृत्वमा पार्टी सदस्यताको सङ्ख्या यति हजार बढेको हो भनेर आफैँ सगर्व उल्लेख गर्नुभयो ? अनि के.पी.शर्मा ओली कार्यकालमा भएका जनता,जनजीविकाका सवालमा भएका अत्यन्त दूरदर्शी तथा राष्ट्रवादी काम  र कदमको मूल जस आम जनता र कार्यकर्ताले ओलीकमरेडलाई दिनु कुन अचम्म हो र ! अनि यस्ता खुद्रा कुरामा केको चित्त दुखाइ ?लेनिनले इतिहासका निर्माता जनता हुन् तर नेता र प्रमुख नेताको आफ्नो छुट्टै महान् नेतृत्वदायी भूमिका हुन्छ भन्नुभएको छ । कार्लमाक्र्स,लेनिन,माओ,पुष्पलाल,मदन प्रमुख नेता हुने उच्चतम गुण गरिमाका व्यक्तित्व हुनुहुन्थ्यो ।

यसमा अन्य समकालीन सहयोद्धाले रिस गरेर हुन्छ र !यो कसरी पनि पुष्टि हुन्छ भने उहाँहरूमा तमाम प्रतिकूलताविरुद्ध जुधेर अनुकूलता सिद्ध गर्ने र समाजलाई अग्रगमनतिर लैजाने महान् क्षमता थियो । क्षमतावान् मानिसले माटो भेटे सुन बनाउँछ,अक्षमका हातमा परेको  सुन पनि फलाम हुन्छ र भएको पनि छ । खनाल कमरेड ! हेर्नुहोस् त मदनको नेतृत्वबाट के कति दूरगामी काम भए ? उहाँको अगुवाइमा प्रतिपादित जबजका प्रकाशमा तपाईं नेताहरू राजनीतिक र राजकीय उच्चतहमा सुखसुविधा र प्रतिष्ठाका साथ विराजमान हुनुभयो । मदनले त के पाउनु भयो र ? अहिले उहाँ बितेर गएपछि पनि उहाँका सही सकारात्मक पक्ष उल्लेख गर्न आनाकानी गर्नेहरू विद्यमान देखिन्छन् । अनि कमरेड के.पी.शर्मा ओलीकै कुरा गर्ने हो भने उहाँको राजनीतिक र राजकीय नेतृत्वको कालखण्डमा मुलुकमा के–कस्ता खालका कासेढुङ्गा सरहका अत्यन्त दूरगामी काम भए ती कामका अगाडि केही हजार र लाखको सङ्गठित सदस्यताको वृद्धि साह्रै मामुली बात हुन्छ,होइन कमरेड !हुर्नुहोस् त हेर्दाहेर्दै हिजो गान्धी श्रेणीको र लिङ्ग पहिचान नै नभएको पार्टी एमाले पार्टी आज सुस्पष्ट र शिखर पहिचानको पार्टी बन्यो । पार्टीका अध्यक्ष र महासचिव त पहिले पनि थिए ।

अहिले स्थानीय तहको निर्वाचनमा एमाले प्रथम दर्जामा आयो, उक्लियो । सच्चा कलाकारका हातमा परेको माटो धपधपी बल्दोरहेछ । यो त आँखा अगाडि नै छ नि ।  पार्टीमा भित्रभित्र गुटगत खुसखुस र घुसघुस नगरेको भए यही स्थानीय तहमा ६० प्रतिशत एमालेको जीत सुनिश्चित रहेछ नि । यस खालको आँकडा प्रा.डा. सुरेन्द्र केसीले नै एक अन्तर्वार्तामा उल्लेख गर्नुभएको थियो । घटी वा बेसीलविगत गुटका दुवै पक्षको कमजोरी देखिन्छ । अझ ओली सरकार ढाल्न धूपबत्ती बाल्ने बन्चराका बिँडहरूको मति अझै पनि समय छँदै सुध्रिएन भने तिनले केसम्मगर्दैनन् होला । यस खालको स्थिति भयो भने प्रदेश र केन्द्रीय निर्वाचनमा अपेक्षित परिणाम नआउनसक्छ । यो लेखक सबै एमाले नेता र वरिष्ठ नेताहरूका अन्तर्वार्ता,विचार र लेखहरू पछ्याइरहन्छ । कस कसले के कसरी कस्तो कुन भाखा र लोली र बोलीमा के के बोल्छन्, सब हेक्का राखेको छ ।

ओलीलाई  नेपालको अर्को जोग्राफिकल मिस्टेक नबनाइयोस्,उहाँलाई एमाले पार्टीका नेता र कार्यकर्ताहरूले नै त्यस्तो कृतघ्नबोलीवचन र व्यवहार गरेर नखसालून् । एमाले नेताहरूमा गुणको कदर गर्न सक्ने क्षमता छ भने गुण र गुणीजनको बेलैमा उचित कदर गरियोस् । आफ्नै र पार्टीको टाउको लतारेर र लत्याएर किमार्थ कहिल्यै उठ्न सकिन्न ।खनालले अहिले राष्ट्रवादको जस ओलीलाई दिएकामा चित्त दुखाउनु भएको उहाँको अभिव्यक्तिबाट अवगत भयो । पार्टी प्रमुख जस र अपस दुवैको भागिदार हुन्छ, तपाईं नै भनिरहनु हुन्थ्यो । एकाध एमाले नेताले रातरात भारतसित आर्थिक सहयोग माग्ने अनि दिउँसो दिउँसो राष्ट्रवादको नारा भट्याउने भनेर  हार्दिक होटेल बागबजार, काठमाडौँमा ओली लक्षित व्यङ्ग्य वाण बर्साकाथिए । सिक्काका दुइटै पाटा हुन्छन् । तर ओलीले छिमेकीले सरसहयोग ग¥यो भनेर घरपरिवार नै जिम्मा लगाउन सकिन्न भन्ने एक वाक्यले कुटकलुषित मानव भुइँमै ढलेका थिए  । एकपाटे निष्कर्ष,निचोड र निकासबाट लक्ष्यभेद गर्न सकिन्न । अझ गुटगत सङ्कीर्ण कुरा पार्टीको विचार र सिद्धान्तमा गरिन्छ । तपाईंले नै इटहरीमा एक वर्षअघि ०६३ सालमा नयाँजनवादी क्रान्ति सम्पन्न भएको बताउनु भयो,तपाईंले नै नेपाल पुँजीवादी भएको पनि बताउनुभयो । नयाँ जनवादी क्रान्तिको उपरिढाँचामा परिवर्तन आउनु समग्र क्रान्ति सम्पन्न हुनु हा र ?सामन्तवादको नायक राजा र राजतन्त्र ढलेको भोलिपल्ट पुँजीवाद आयो भन्दा कसले पत्याउँछ कमरेड ? नवौँ पार्टी महाधिवेशनको  दस्तावेजले तपाईंले भनेजस्तो कदापि उल्लेख गरेको छैन । दस्तावेजमा नयाँ जनवादी क्रान्ति, पुँजीवाद र अर्धसामन्ती तथा अर्धऔपनिवेशी  विषयका बारेमा सुस्पष्ट र सविस्तार व्याख्या विश्लेषण गरेको छ ।  

यस विषयका बारेमा उल्लेख गरिएका ती सामग्री पढेपछि जो कोही ती विषयमा सुस्पष्ट हुन्छ । नयाँ जनवादी क्रान्ति हुँदा पनि कुन पक्ष प्रबल छ भन्ने कुरा हुन्छ । पुँजीवादका पनि धेरै चरण र प्रवृत्तिहरू हुन्छन् वा पुँजीवादमा पनि कुन पक्ष प्रबल भन्ने कुरा हुन्छ । औद्योगीकरण नभएको, बेरोजगार भरमार रहेको र अझ त्यसमा पनि उत्पादनमूलक उद्योगको पूर्ण अभाव भएको नेपालको अहिलेको यो अवस्थामा सोलोडोलो पुँजीवादीभएको कुरा भ्रम मात्र हो,पूर्ण सत्य  होइन  । पार्टी दस्तावेजमा अहिले नेपाली समाजमा सामन्तवाद मूलभूत रूपमा विघटित भएको छ र नेपाली समाज  प्रारम्भिक प्रकारको पुँजीवादी समाजमा रूपान्तरित भएको उल्लेख छ  । नेपालमा नयाँ जनवादी क्रान्ति पूरा भएको भन्नु जनताको बहुदलीय जनवादको काम सकियो भन्नु हो । किनकि एमाले पार्टीले चिनियाँ विशेषताको नयाँ जनवादलाई जबज भनेको हो । जबजमा अहिलेको अवस्थाको परिवर्तन उपरिढाँचा वा मात्रात्मक परिवर्तन मात्र हो भनिएको छ । त्यसैले जबजले अहिलेको पहिलो काम पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि ठहर गरेको देखिन्छ । यसरी क्रमशः पहिलो दोस्रो काम गर्दै समाजवादी चरणमा प्रवेश गर्नेसम्मका दूरदर्शी र दीर्घकालीन दृष्टिकोण जबजमा अघि सारिएको छ । त्यसैले एमाले पार्टीले अहिलेको अवस्थामा सामन्तवादी सांस्कृतिक अवशेष समाप्त गर्ने अवधिलाई विशेष ध्यान दिएको छ । यो सामन्तवादी सांस्कृतिक अवशेष राजनीतिक,आर्थिक,सामाजिक तथा सांस्कृतिकआदि हरक्षेत्रमा हुन्छ ।

यति दूरगामी दृष्टिकोणको सिद्धान्त जबजको दायाँ र बायाँ भड्काउ व्याख्या हुन र गर्न थालेपछि यो झन् खतरनाक गुट हुन्छ । धरानमा विगतमा चार महिने जागरण अभियानमा बोल्दै केन्द्रीय सचिव घनश्याम भुसालले हाल जबजका १४ सूत्रीय विशेषता पूरा भएको भन्दै अस्पष्ट र घुमाउरो व्याख्या गर्दै जबजको औचित्यमा प्रश्न गरेझैँ गर्नुभएको थियो । अहिले त शङ्कर पोखरेलको सक्रियतामा नेता र कार्यकर्ताको सैद्धान्तिक धार प्रबल बनाउने खालको पार्टी स्कुल विभाग सञ्चालित भएको देखिन्छ । आम अगुवा कार्यकर्ताको सैद्धान्तिक स्तर सबल र घनीभूत नहुँदासम्म कुहिराको काग बनिरहने स्थिति हुन्छ । खनाल कमरेडले बागलुङमा पार्टी अध्यक्षलाई लक्षित गरी  कसैको पनि बढाइ चढाइ गर्नुहुन्न पनि भन्नु भएछ । विद्वान्लाई विद्वान् भन्नु बढाइचढाइ गरेको मानिन्छ र ? माक्र्सवाद भन्नु त देवत्वकरण होइन भने अमुक प्रभावशाली,प्रतिभाशाली र अत्यन्त दूरदर्शी नेतालाई तद्नुसार उल्लेख सम्बोधन गर्दा देवत्वकरण गरेको ठानेर तर्सिनु जरुरी देखिन्न । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ