केन्द्रीय संस्करण

संसारको रुप बदल्ने महान वैज्ञानिक थोमस अल्वा एडिसन

हज्जारौं आविष्कार गर्ने एडिसनलाई सानैमा स्कूलबाट निकालिएको थियो !

person explore access_timeमाघ १६, २०७५ chat_bubble_outline0
Photo: cdn.cnn.com

बिजुली बत्ती बाल्नको लागि हामी चीमको प्रयोग गर्छौं । एकछिनको लागि सोचौं त चीम नहुँदो हो त के हुन्थ्यो ? शायद हामी बत्ती बाल्न पाउँदैनथ्यौं होला । बत्ती बाल्न नपाएपछि रातमा उज्यालोको लागि टुकी, लालटीनहरुको भरपर्नु पर्थ्यो होला। अनि राम्रो उज्यालो नपाएपछि हामी चाँडै सुत्ने गर्थ्यौं होला । जस्तो कि, अझै पनि बत्ती नपुगेका गाउँठाउँका मानिसहरु गर्ने गर्छन् ।

तर धन्य ! चीम भएकोले गर्दा हामीले बिजुलीको उज्यालोमा बस्न पाएका छौं ।

मानिसको लागि यस्तो उपयोगी बस्तु चीमको आविष्कार आजभन्दा १२६ वर्षपहिले अमेरिकामा भएको हो । त्यसको आविष्कार चाहिँ प्रसिद्ध वैज्ञानिक थोमस अल्वा एडिसनले गरेका हुन् ।

एडिसनले विद्युतीय चीमको आविष्कार गर्नुभन्दा पहिले एउटै विद्युत लाइनमा धेरै प्रकाश दिने विद्युतीय वत्तीहरु राख्न मिल्दैनथ्यो । त्यसबेला एउटै विद्युतलाइनको उही उर्जाबाट त्यतिनै प्रकाश दिने धेरै विद्युतीय बत्तीहरु बाल्न असम्भव मानिन्थ्यो । तर एडिसनको विद्युत चीमको आविष्कारले असम्भवलाई सम्भव बनाइदियो । यसैले उनको आविष्कारलाई त्यसबेला संसारकै आठौं आश्चर्यको रुपमा लिइएको थियो ।

अहिले संसारले थोमस एल्वा एडिसनलाई संसारकै सबैभन्दा बढी आविष्कार गर्ने वैज्ञानिकको रुपमा सम्मान गरेको हामी देख्छौं । तर एडिसन त्यत्तिकै संसारले भएका होइनन् । उनी आफ्नो मेहनत र लगनशीलताले यति महान भएका हुन् । उनको बाल्यकाल निक्कै दुःख र कष्टपूर्ण थियो । वाल्यावस्थामा उनले धेरै कष्ट र अभावको सामना गरे उनको जन्म सन् १८४७ को फेब्रुअरी १ तारीखमा अमेरिकाको मिलान, ओहियो भन्ने ठाउँमा भएको हो । उनका आमाबाबु निक्कै गरीब थिए । उनकी आमा एक स्कूलमा पढाउने गर्थिन् । तिनीहरुको जीवन निक्कै संघर्षपूर्ण थियो ।

एडिसन जन्मेको सातवर्षपछि उनका आमाबाबु आफ्नो साबिकको बस्ती छोडेर पोर्टहुरान, मिचीगनमा बस्न गए । त्यहाँको स्थानीय एक स्कूलमा एडिसनलाई भर्ना गरियो ।

तर उनी हिसाबमा लद्दू थिए, पढाइमा बोधो थिए, शब्द उच्चारण गर्न र बोल्न उनलाई निक्कै कठिन पर्ने गथ्र्यो । त्यसैले शिक्षकहरु उनलाई गाली गर्थे । साथीभाइहरु गिज्याउँथे। तर लेखपढ बाहेक, अरु कुरामा भने उनी निक्कै प्रतिभाशाली विद्यार्थीमा गनिन्थे ।

एडिसनको मन पढाइमा राम्रो लाग्दैनथ्यो । उनी पढाइमा भन्दा बढी विभिन्न प्रयोगहरुमा आफ्नो ध्यान लगाउने गर्थे । उनको मनमा धेरै नै जिज्ञासाहरु थिए । उनी कसैले भनेको कुरालाई पनि जाँचेर चित्त नबुझेसम्म पत्याउँदैनथे । उनको यस्तो व्यवहारबाट वाक्क भएका शिक्षक–शिक्षिकाहरुले उनलाई महामुर्ख भन्न थाले । अनि, स्कूल भर्ना भएको तीन महिनामा नै उनलाई यो केटा कहिल्यै पढ्न सक्दैन भन्ने आरोप लगाएर स्कूलबाट नै पनि निकालियो।

आफ्ना छोरालाई त्यसरी अपमान गरेर स्कूलबाटै निकाल्दा कुन आमाबाबुको मन दुख्दैन होला। एडिसनको आमाको मन पनि त्यो घटनाले निक्कै अमिलो भयो । उनले स्कूलका शिक्षकहरुलाई चुनौती नै दिइन्– “मेरा छोरा महामुर्ख छैन । म तिमीहरुलाई देखाएरै छाड्छु ।” त्यसपछि उनले एडिसनलाई घरमै राखेर आफैं लेख्ने, पढ्ने र गणितसम्बन्धी शिक्षा दिन थालिन् । उनी एडिसनलाई एडवार्ड गिब्बन, विलियम सेक्सपियर, चाल्र्स डिकेन्स जस्ता प्रसिद्ध साहित्यकारहरुको कृति पनि पढेर सुनाउने गर्थिन् । तिनै आमाको प्रारम्भिक शिक्षा अनि आफ्नो स्वाध्ययनले पछि उनी महान् वैज्ञानिक बन्न पुगे ।

गरीब परिवारका एडिसन सानोदेखि नै कडा मेहनत गर्थे । १२ वर्षको उमेरमा नै उनले खबरपत्रिका, स्याउ र चकलेट बेच्ने कामहरु गर्नुपरेको थियो । यही समयताका नै उनको सुन्ने शक्ति पनि कम हुँदै गएको थियो । रेलरोडमा पत्रिका फलफूल र चकलेट बेच्ने काम गर्दागर्दै १५ वर्षको उमेर टेकिसकेका एडिसनले एकदिन एउटा पुरानो सानो छाप्ने मेशिन किने । १३६ किलो तौल भएको सो मेशिनलाई उनले रेलगाडीमा नै राखेर विक्ली हेराल्ड नामक पत्रिका निकाल्न थाले। यस पत्रिको सम्पादक, प्रकाशक र हकर सबै उनी आफैं थिए । उनले त्यो पत्रिका ग्रान्ड ट्रंक रेलरोडमा बेच्न थाले ।

सन् १८६२ को ग्रीष्म ऋतुको एक दिन एडिसनले एउटा तीन वर्षे बालकलाई रेलगाडीले किच्नबाट बचाए। ती बच्चा त्यहाँको स्टेशन मास्टरका छोरा थिए । एडिसनप्रति कृतज्ञ बनेका ती स्टेशन मास्टरले एडिसनलाई टेलिग्राफ मेशिन चलाउन सिकाइदिए । उनलाई यो मेशिन चलाउन अलिअलि आउँथ्यो। त्यसैले उनले खुसीसाथ त्यो कुरा माने। पाँच महिनाको छोटो अवधिमा नै उनले टेलिग्राफमा सन्देश पठाउन र लिन सिके । त्यसपछि अर्को चारवर्षसम्म उनले टेलिग्राफरको रुपमा रेलबाट हज्जारौं माइल यात्रा गरे । त्यसबेला कमाएका सबै पैसा चाहिँ उनले प्रयोगशालाका लागि विद्युतीय सामानहरु किनेर जम्मा गर्नमा नै खर्च गरेका थिए ।

एडिसनले आफ्ना महत्वपूर्ण आविष्कारहरु युवावस्थामा गरेका हुन्। उनले विद्युत र टेलिग्राफ सम्बन्धी ज्ञान युवावस्थामा नै पाएका थिए । २१ वर्षको उमेर छँदा नै सन् १८६८ मा उनले टेलिग्राफिक भोट–रेकर्डिङ मेशिनको आविष्कार गरे । यो नै उनको पेटेन्ट दर्ता गरिएको पहिलो आविष्कार थियो। त्यसको अर्को वर्ष उनले स्टक मार्केटको कोटेशन र सुनको भाउ कागजको टेपमा छाप्ने स्टक टिकरको विकसित रुपको आविष्कार गरे । पहिलेको स्टक टिकर मेशिन चलाउन अपरेटरको आवश्यकता पथ्र्यो । तर एडिसनको आविष्कार पूरै स्वचालित थियो ।

एडिसन अत्यन्तै दृढ प्रतिज्ञ र आफूले सोचेको कुरामा एकहोरो लागिरहने व्यक्ति थिए । आफ्नो जीवनकालमा उनले १ हजारभन्दा बढी आविष्कारहरुको पेटेन्ट दर्ता गराएका थिए । उनले गरेको आविष्कारमध्ये सबैभन्दा विलक्षण विद्युत चीम हो भने, फोनोग्राफ र सिनेमा खिच्ने क्यामेरा उनको अर्को प्रमुख आविष्कार हो । उनले गरेको अर्को महत्वपूर्ण आविष्कार भनेको फोनमा प्रयोग हुने कार्बन ट्रान्समिटर पनि हो । अझै पनि फोनमा उनले विकास गरेको कार्बन ट्रान्समिटर नै प्रयोग हुने गर्छ । त्यसले गर्दा फोन स्पष्ट सुन्न सकिने भयो । उनले नै विश्वकै पहिलो फिल्म द ग्रेट ट्रेन रबरी बनाए । त्यसबाहेक पनि उनले १८७९ देखि १९०० को समयबीचमा थुप्रै थुप्रै महत्वपूर्ण आविष्कारहरु गरे । त्यसैले त्यस समयलाई विज्ञानको क्षेत्रमा एडिसनको युग भनेर सम्मान गर्ने गरिन्छ ।

यति धेरै आविष्कार गरेका महान् वैज्ञानिक थोमस अल्वा एडिसनलाई सन् १९१५ मा वैज्ञानिक निकोला टेसलाका साथ संयुक्त रुपमा नोबल पुरस्कार दिने निर्णय गरियो। तर दुबैले पुरस्कार लिन मानेनन् । कारण चाहिँ दुई जना नै एक अर्कालाई मन पराउँदैनथिए । पहिले टेसला एडिसनकै वर्कसपमा सहायकको रुपमा काम गर्थे । तर पछि उनीहरुबीच मनमुटाव भएको थियो।

एडिसन सधैं भन्ने गर्थे– प्रतिभा भनेको एक प्रतिशत प्रोत्साहन र ९९ प्रतिशत पसिना बगाइ हो । उनले गरेको आविष्कारको रहस्य पनि सम्भवतः श्रमप्रतिको यही लगन र समर्पण नै थियो ।

एडिसनले पहिलो विवाह आफ्नै प्रयोगशालाका सहायक मेरी स्टिलबेलसँग गरेका थिए । उनीबाट तीनवटा बच्चाहरु भएको थिए । उनको मृत्युपछि एडिसनले मिना मिलर नाम गरेकी धनी युवतीसँग विवाह गरेका थिए । उनीबाट पनि एडिसनको अर्को बच्चा भएको थियो।

यी विलक्षण प्रतिभा भएका वैज्ञानिक एडिसनको मृत्यु अक्टोबर १८, १९३१ मा अमेरिकाको न्यूजर्सीमा भयो । ठीक तीनदिनपछि उनको शवलाई उनकै घरनजिक गाडियो । उनलाई गाडिएको दिन अमेरिका र क्यानाडा दुबै मुलुकमा एक मिनेटको निम्ति बत्ती निभाएर सम्मान प्रकट गरिएको थियो ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...