बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानमा लेखिएको आर्य शब्दको अर्थ नै गलत

मङ्गलबार, १५ माघ २०७५, १६ : ०३
मङ्गलबार, १५ माघ २०७५

संविधान भनेको मुलुकको मुलकानुन एवं राज्य दर्शनको मुख्य आधार हो। संविधानबाटै निर्देशित भएर अन्य कानुन, ऐन, नियम बन्ने गर्दछन्।

संविधान राज्य संरचनाको यथार्थबोध हो। कुनैपनि देशको शासन प्रणाली कस्तो छ भनेर बुझ्न त्यो देशको संविधान हेरे पुग्छ। देशको राजनीतिक, सामाजिक, आर्थिक ऐना एवं राज्यको अटोग्राफिसमेत हो संविधान।

संविधानले सम्पुर्ण नागरिकको भविष्य निर्धारण गर्दछ, यो राज्य र जनताबीचको लिखित सम्झौताको दस्तावेज हो। संविधानले जनतालाई अधिकार दिन्छ भने सरकारको अधिकारको सीमा तोक्दछ।

संविधान दुरदर्शी पनि हुनु पर्दछ। समाजले हजार कोल्टे फेरोस्  तर कानुनका एक पंक्ति पनि नढल्कियोस्। कानुन कस्तो न्यायोचित हुनपर्छ भने राज्यभित्रका हरेक नागरिकले न कानुनका शब्दहरुमा औँला ठडाउन वा आपत्ति जनाउन नसकून् वा नपरोस्। हामी कहाँ पनि बन्नुपर्थ्यो ठ्याकै यही मर्मको संविधान तर हाम्रो बिडम्बना, संविधानमाथि नै विभिन्न शंका उपशंका उब्जिन थालिसकेको छ। कतिपय देशमा संविधानको लिखित सङ्गालो छैन तर परम्पराको पालना र परिपक्कताका दृष्टिले ती स्तुत्य देखिन्छन्। हाम्रो भने संविधानको कतिपय प्रावधान कतिसम्म काँचा र अपरिपक्क छन्, जसले गर्दा सामान्य नगरिकलाई पनि हजम हुन गाह्रो छ।

यसै सन्दर्भमा हाम्रो संविधानको एउटा प्रावधानको चर्चा गरौँ, कुन स्तरको अध्ययनले त्यो राखिएछ भन्ने उदांगो हुनेछ | बिषय प्रवेश गरौँ, संविधानमा प्रयुक्त आर्य शब्दबाट: नेपालको संविधान २०७२ को भाग ३ को धारा ४२ अन्तर्गत सामाजिक न्याय सम्बन्धि हकमा लेखिएको छ, 'सामाजिक रुपले पछाडि परेका महिला, दलित, आदिवासि,जनजाति, मधेसी, थारु, अल्पसङ्ख्यक, अपाङ्ग्ता भयका व्यक्ति, सीमान्तकृत, मुस्लिम पिछडिएका वर्ग, लैंगिक तथा योनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक उत्पीडित क्षेत्रका नागरिक तथा आर्थिक रुपले बिपन्न खस आर्यलाई समावेशी सिद्दान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ।'

यहाँ आर्य शब्दको गलत परिभाषा लगाइएको छ। आर्य शब्द संविधानमा जातका रुपमा परिभाषित गरिएको छ। तर आर्य शब्द जातिबाचक नभै सँस्कार एवं गुणसँग सम्बन्धित छ। यो संसारमा कुनै पनि जाति आर्य छैनन्, मानिस भने आर्य हुन सक्छन्।

हाम्रो इतिहासका पानामा त आर्य शब्दको अनर्थ लगाइदै आएको थियो नै, संविधानमा समेत त्यो गल्ती दोहो-याइयो । थप गल्ती के पनि गरियो भने, खस र आर्यलाई एकै पंक्तिमा झुण्डाइयो।

अर्कातर्फ मङ्गोल र आर्यलाई बिपरित शब्दका रुपमा परिभाषित गरि भावनात्मकरुपमा एक अर्कामा उल्टो चेत जगाउने दुस्साहससमेत गरियो। चुच्चो नाक, लाम्चो मुहार भएका मान्छेलाई खस आर्य भनियो अनि नेप्टो नाक, गोलो अनुहार भएका मानिसलाई मङ्गोलका रुपमा ब्याख्या गरियो। शारिरिक रुप र ढाँचाका आधारमा, अनुहार र वर्णका आधारमा मङ्गोल र खस आर्यलाई बिपरित जातिका रुपमा अर्थाइयो। यो जति इतिहासको हास्यात्मक चेत अरु के होला र ? वास्तविकता के हो भने, अनार्य र मङ्गोल न एउटै अर्थ जनाउने शब्द हुन्, न त खस,आर्य र मङ्गोल उल्टो अर्थ जनाउने शब्द नै हुन्।

मङ्गोल जाति हो भने आर्य संस्कारसंग सम्बन्धित शब्द। हिन्दु दर्शन शास्त्रको तेस्रो सिद्दान्तमा 'कृण्वन्तो विश्वमार्यम' अर्थात सारा बिश्वोलाई आर्य बनाउ भनिएको छ। यसको अर्थ आर्य भनेको कुलिनता, उच्चबर्ग, भिन्न नश्लता होईन। आर्यको अर्थ सभ्य, सुसंकृत र शिष्टता हो। हरेक व्यक्ति जो सभ्य, सुसस्कृत र शिष्ट छ त्यो आर्य हो अर्थात् आर्य भनेको जाति हैन। यो कुरा ऋग्वेद (९|६३|५)मा समेत उल्लेख गरिएको छ।

यसबाट के प्रस्ट हुन आउँछ भने एउटा मङ्गोल पनि आर्य हुनसक्छ र क्षेत्री बाहुन सबै आर्य हुन्छन भन्ने कुनै निश्चितता छैन। जो अशिष्ट,असभ्य र असंस्कारित छन्, ती क्षेत्री बाहुन वा मङ्गोल जेसुकै किन नहुन् ती अनार्य हुन्। ऋग्वेदले भनेअनुसार संसारका सबै मानिसलाई आर्य बनाउँ, आर्य अर्थात सभ्य,संस्कारित एवं शिष्ट बनाउँ।आर्य भनेको ईश्वरबाचक शब्द पनि हो। आर्यको अर्थ ईश्वरपुत्र, श्रेष्ठ, उत्तम, गुणले परिपूर्ण हो।

तसर्थ आर्य शब्दले जात, वर्ग, वर्ण कुनैसँग सरोकार नराखी सिधै बानी व्यवहार, गुण, सँस्कार एवं धारणासँग संबन्ध राख्दछ। यस्लाई प्रमाणित गर्ने महत्त्वपूर्ण तथ्य के हो भने भारतीय संविधानका पिता डा. भिमराव अ्म्बेडकरले ऋग्वेदलाई  पुर्ण अध्यान गरेर हेर्दा अर्य शब्द ८८ स्थानमा र आर्य शब्द ३१ स्थानमा भेटे र ती शब्द कतै जातिवाचक भएको पाएनन्। एकपटक आर्य शब्दको अनर्थ कहिलेदेखि कसरी लगाईयो ? र, कथित खसको पुच्छरमा आर्य कसरी झुन्डियो ? यस्को जरो खोतलेर हेरौं है त:

इतिहासकार मनु बाज्रकीका अनुसार 'नेपालका पहाडे बाहुनलाई आर्य भनेर किन कोकोहल मच्चाईदैछ? यस्तो मँपाईबाद त ब्राहमणबादबाटै सुरु भएको हो। त्यही मँपाईबादले अहिले आफुलाई आर्य भनेर हिँडिरहेकोछ। बास्तवमा नेपालका बाहुन, क्षेत्री, कामी, दमाई सबै खस हुन् । यिनिहरु ककेशिया पर्बतबाट आएका हुन्। जब यिनिहरु इरानको बलुचिस्ताको पर्वत शृंखला पार गरेर यतापट्टि सिन्धु घाटीमा मोहन्जेदडो र हरप्पाको बिकसित सभ्यतासम्म आईपुगे, यी दुई प्रजातिका दुइ समुदायबीच झगडा भयो र एकार्काले आफुलाई ठुलो भन्नका लागि अनेकौँ शब्दको सृजनाभयो । त्यहीक्रममा आफुलाई ठुलो हुँ भन्नका लागि आर्य हुँ आर्य भन्दथे। यसरी आफुलाई ठुलो भन्नकै निम्ति आर्य शब्दको प्रयोग गर्दथे' (अशुध्द आर्य, पानी छर्केका खस, २५ कत्तिक २०७५, अनलाईन खबर)

कालान्तरमा यो शब्दको निकै दुरुपयोग गरियो, अनर्थ लगाईयो। जो कोहीले पनि आफुलाई ठुलो देखाउन आर्य हुँ भन्न थाले । नाजी हिटलरले समेत आफुलाई आर्य हुँ भन्ने गरेको इतिहासमा भेट्टिन्छ। यसरी शब्दको झुटको खेति सुरुभयो। प्राडा निर्मलमणि अधिकारीका अनुसार 'युरोपियन साहित्यमा उन्नाईसौ शताब्दीको मध्यतिरबाट मात्र आर्य नामको कुनै जातिको चर्चा गर्न थालेको पाइन्छ। उनी थप्दछन्, 'लास्सेन नामका ब्यक्त्तिले सन १८४७ मा The history of ancient india नामक किताब छपाएका थिए र त्यही किताबमा नै पहिलोपल्ट आर्य शब्दको गलत अर्थ लगाई जातिको जामा पहि-याई दिएको हो। यसअघि संसारमा कहिँ कतै आर्य शब्दलाई जातिबोधक शब्दका रुपमा प्रयोग गरिएको थिएन। र, यसलाई बिशेष गरेर लण्डनमा मिति ९|४|१८६६ सनमा भएको रोयल यसियाटिक सोसाईटीको बैठकमा पश्चिमा ईसाइ विद्वानहरुले जातिबाचकका रुपमा स्थापित गर्ने काम गरेका हुन्। त्यो कार्यलाई प्रतिकार गर्न नसक्दा मिथ्या फैलिदै गयो र जातिवाचकका रुपमा स्थापित भयो। बैदिक धर्म संस्कृति, भारतबर्सीय सभ्यतासँग इर्ष्यालु पश्चिमा ईसाईहरुले रोयल यसिइटिक सोसाइटीमार्फत भ्रष्टीकरण गरि छाडे।' (को हुन आर्य? को हुन अनार्य?,स्पेसटाईम दैनिक, बर्ष २ अकं १८१,विसं,२०५९ बैशाख २१, पृष्ठ ६)

आर्य भन्ने शब्द अर धातुबाट आएको भन्ने केही अध्येताको राय छ तर डा. अधिकारि भन्दछन्, 'त्यो अर भन्ने धातु संस्कृतको शब्दकोशमै छैन।' गुगल खोज गर्दापनि भारतमा आर्य समाजको गृह पृष्टको सुरुमै 'आर्य जाति नहि गुण सुचक शब्द हे' भनेर आर्य जात हैन, गुण एवम संस्कार जनाउने शब्द हो भनेर प्रष्ट्याइएको छ। त्यस्तै, आर्य समाज, दिल्लीको फेसबुक पेजमा समेत 'कृण्वन्तो विश्वमार्यम' अर्थात आर्य भनेको सभ्य, शिष्ट एवं राम्रो गुण बानी ब्यहोरा भएको मानिस भनेर स्पष्ट पारेको छ।

यी तमाम तथ्यबाट के प्रमाणित हुन आउँछ भने नेपालको संविधानको धारा ४२ को  सामाजिक न्याय सम्बन्धी हकमा समावेश गरिएको आर्य शब्द र यसको संश्लेषण हदैसम्म गलत छ। हुन त अरु देशहरुका संविधानमा त्रुटी नै नहुने र तीमाथि टीका टिप्पणी नै नहुने त हैन। तर, हामीकहाँ संविधान जस्तो महत्त्वपूर्ण दस्तावेज कोर्दा किन यस्तो हेलचेक्राइ वा गल्ती गरियो, कुन्नि? स्थापित सत्यबिरुध्द मनपरी गर्ने छुट हाम्रो संविधानसभालाई कस्ले दिएछ खै?

हाम्रो देश नेपालमा, जनताको लामो सङघर्ष, हजारौँ योध्दाको त्याग र बलिदानको परिणाम स्वरुप संविधानसभाको जन्म भएको थियो। त्यो संविधानसभा हजारौँ सहिदका जीवनमुल्यको जगमा उभिएको थियो, लाखौँ सपनाले गोलबध्द थियो। तैपनि पहिलो संविधानसभा आफ्नो दायित्त्व पूरा गर्न असमर्थ भयो र दोश्रो संविधानसभाले जेनतेन आफ्नो भुमिका निर्वाह गरेकाले अन्तत: संविधानपनि आयो। त्यस्तो प्रश्रब पीडाबाट जन्मिएको संविधानमा यस्तो गल्ती हुनु दु:खद कुरा होइन र ? संविधानभित्र सत्यता हुनुपर्दछ अनि मात्र देश सत्यताको बाटोतिर लम्किन्छ। किनभने समाजसँग संविधानको गहिरो नाता हुन्छ । तर, संविधानजस्तो संवेदनशील दस्तावेज बनाउँदासमेत सामान्य शब्दको अर्थसमेत खोजी भएनछ !

संविधान बनाउनकै लागि भनेर बिभिन्न देशबाट बिद्वानहरु आमन्त्रित पनि गरिएको थियो। प्राडा युवराज सङ्ग्रौलाका अनुसार "नेपालको संविधान बनाउन बिदेसीहरुको १० अर्ब रुपैयाँ खर्च भएको थियो। DFID ले जातिय संघियताको लागि ८ करोड रुपैयाँ दिएको थियो।आखिर हाम्रो संविधान,कानुनमाथि बिदेसीहरुको यत्रो लगानी र चासो किन? अनि, आर्य शब्दलाई जबरजस्ती जाति नै हो भनेर स्थापित गर्न खोज्नुको रहश्य के हो ? म त निशब्द हुन्छु, आखिर के संविधान हाम्रै हो त? यस्का निर्माता हामी नै हो त? अब यी सबै प्रश्नहरुको वास्तविकता पत्ता लाग्नैपर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिनराज आचार्य
मिनराज आचार्य
लेखकबाट थप