शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको अवस्था निरासाजनक, राजनीतिक भ्रष्टाचार बढी

मङ्गलबार, १५ माघ २०७५, ११ : ४६
मङ्गलबार, १५ माघ २०७५

काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) मा नेपालको अवस्था यस पटक पनि निराशाजनक देखिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको करप्सन परसेप्सन्स इन्डेक्स –२०१८ ले नेपालको अवस्था अहिले पनि निराशाजनक रहेको देखाएको हो । 

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०१८ मा १ सय ८० देशहरुको भ्रष्टाचारको तथ्यांक संकलन गरेको थियो । विभिन्न ६ वटा संस्थासँग मिलेर विश्वरभरका १ सय ८० देशको तथ्यांक लिँदा नेपाल १ सय २४ औं स्थानमा परेको छ । 

सिपिआई अर्थात् करप्सन परसेप्सनस् इन्डेक्सको मापन गर्दा भ्रष्टाचार नै नहुने अति स्वच्छ देशलाई १०० अङ्क र अति भ्रष्टाचार हुने देशलाई शून्य अङ्क दिइन्छ ।

नेपालको स्थान २ स्थान तल झर्यो

नेपालले यस वर्ष जम्मा ३१ अङ्क प्राप्त गरेको छ । जसले नेपालको अवस्था निराशाजनक देखाएको हो । १८० देशमध्ये नेपाल जम्मा ५२ देशभन्दा मात्रै अगाडि छ । 

अङ्कको आधारमा हेर्दा गतवर्ष जस्तै नेपालले यस वषृ पनि १२४ अङ्क नै प्राप्त गरेको छ । तर भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा भने नेपाल यसवर्ष २ स्थान तल झरेको छ । 

गत वर्ष कम भ्रष्टाचार हुने मुलुकहरुमध्ये नेपाल १२२ औं स्थानमा रहेको थियो । तर यस वर्ष अन्य राष्ट्रहरुले आफूलाई सुधार गर्दा नेपाल २ स्थान तल झर्न पुगेको हो । 

अति भ्रष्टाचार हुने मुलुकमा सोमालिया पहिलो स्थानमा छ । सोमालियाले मात्र १० अङ्क पाएर भ्रष्टाचार हुने मुलुकहरुमध्ये अन्तिम स्थान अर्थात् १ सय ८० औँ स्थानमा छ । 

अति कम भ्रष्टाचार हुने मुलुकमा भने यसवर्ष डेनमार्क परेको छ । डेनमार्कले कुल ८८ अङ्क प्राप्त गरी न्युजिल्याण्डलाई पछाडि पारेको छ । सिपिआई इन्डेक्स २०१७ मा न्युजिल्याण्ड पहिलो स्थानमा थियो । 

गत वर्ष न्युजिल्याण्डले ८९ अङ्क प्राप्त गरेपनि यसवर्ष भने जम्मा ८७ अङ्क प्राप्त गरी दोस्रो स्थानमा परेको हो । डेनमार्कको भने गतवर्ष जस्तै यसवर्षको अङ्क पनि ८८ नै रहेको छ । यद्यपि न्युजिल्याण्डको भ्रष्टाचार बढ्दा डेनमार्क माथि उक्लिएको हो । 

दक्षिण एसियामा भूटान अब्बल, नेपाल औसतभन्दा तल

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल १२४ औं स्थानमा रहँदा दक्षिण एसियामा समेत औसत भन्दा तल रहेको छ । दक्षिण एसियामा भूटान ६८ अङ्क प्राप्त गरी २५ औं स्थानमा छ । भारतले ४१ अङ्क पाएर ७८ औं स्थानमा छ भने श्रीलङ्का ३८ अङ्क पाएर ८९ औं स्थानमा छ । त्यसैगरी पाकिस्तान ३३ अङ्क पाएर ११७ औं स्थानमा छ । मालदिभ्स र नेपालले समान ३१ अङ्क पाएर १२४ औं स्थानमा रहेको छ भने बंगलादेश २६ अङ्क पाएर १४९ औं स्थानमा छ । अफगानिस्तान भने १६ अङ्क पाएर १७२ औं स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार जारी गरेको रिपोर्टमा सहारा मरुभूमिको वरिपरी रहेका देशहरुको भ्रष्टाचार अवधारणा सूचकांक अति कमजोर देखाएको छ । त्यसपछि मध्य एसिया र पूर्वी युरोपमा भ्रष्टाचार बढी रहेको देखाएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनलले ४३ अङ्क प्राप्त गर्ने देशहरुलाई औसत मानेको छ भने त्यो भन्दा कम अङ्क प्राप्त गर्ने देशहरलाई भ्रष्टाचार बढी हुने देशको सूचीमा राखेको छ । ३२ अङ्कभन्दा कम पाउने राष्ट्रहरुलाई निराशाजनकको सूचीमा राखेको छ ।

करप्सन परसेप्सन्स् इन्डेक्स तयार पार्न ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न ६ वटा संस्थाहरुको तथ्याङ्कको विश्लेषण गरेको थियो । जसमा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउण्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीइएम नामक संस्थाहरु संलग्न थिए ।

कुन संस्थाले कति अङ्क दिए नेपाललाई ?

विभिन्न ६ वटा संस्थाहरुले नेपाललाई दिएको अङ्कलाई औसतमा निकाली नेपालको सिपिआई इन्डेक्स निकालिएको छ । जसमा विश्व बैंकले नेपाललाई ३५ अङ्क दिएको छ । त्यसैगरी विश्व इकोनोमिक फोरमले ३३, ग्लोबल इनसाइटले ३५, बर्टेल्सम्यान फाउण्डेसनले २५, विश्व जस्टिस प्रोजेक्टले ३२ र भीडीइएमले २५ अङ्क दिएको छ । 

यसवर्ष पनि घटेन भ्रष्टाचार

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार जारी गरेको रिपोर्ट अनुसार नेपालको स्थान गतवर्ष अर्थात् सन् २०१७ को बराबर नै हो । यसको अर्थ यस वर्ष पनि नेपालले भ्रष्टाचार निवारण तथा न्युनिकरणमा प्रगति गर्न नसकेको देखाउँछ । सन् २०१५ मा २७ अङ्क पाएको नेपालले सन् २०१६ मा २९ अङ्क प्राप्त गरेको थियो । त्यसमा पनि सुधानर गर्दै २०१७ मा ३१ अङ्क पाएको नेपालले सन् २०१८ मा कुनै प्रगति गर्न नसकेको देखाउँछ । भ्रष्टाचार न्युनिकरण गर्नका लागि नेपालले खासै ठूलो पहल नगरेको यो रिपोर्टले देखाउँछ । 

भ्रष्टाचारमा राजनीतिज्ञ पहिलो, कर्मचारी दोस्रो नम्बरमा 

ट्रान्सपरेन्सी इन्टरनेशनलले गत वर्षहरुमा जारी गरेको करप्सन इन्डेक्सअनुसार नेपालमा राजनीतिक भ्रष्टाचार बढी हुने गरेको पाइएको छ । राजनीतिक नेतृत्व वा तहबाट सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको र त्यस्तो भ्रष्टाचार पोलिसी करप्सन अर्थात् नीतिगत भ्रष्टाचार रहेको देखाउँछ । ट्रान्सपरेन्सी इन्टरनेशनलले अहिले नै क्षेत्रगत भ्रष्टाचारको सूचकांक जारी नगरेको भएपनि यसवर्ष पनि नीगित भ्रष्टाचार अर्थात् राजनीतिक भ्रष्टाचार पहिलो नम्बरमा रहेको दाबी गरिन्छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीका अनुसार यसवर्ष पनि राजनीतिक भ्रष्टाचार पहिलो नम्बरमा र कर्मचारीतन्त्रको भ्रष्टाचार दोस्रो नम्बरमा रहेको दाबी गर्छन् । 
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप