केन्द्रीय संस्करण

कविता : पागलको विपक्षमा

person explore access_timeमाघ १५, २०७५ chat_bubble_outline0

ए पागल  
कहिल्यै नखुल्ने भो चेत तिम्रो 

सतीले सरापेको मुलुक भन्थे  
तिमीलाई चाहिँ कसले सरापेछ हँ ? 
आफै अर्धपागल म 
धन्नै तिम्रो सङ्गतले पूरै पागल भइनछु ।  


दुर्गममा चिकित्सक नपुगेर के भो र ?   
गरिब बिरामी अकालमै मरे नि के भो र ? 
विपन्नले पढ्न नपाएर के नै हुने हो र ? 
माफियाले सरकार चलाए पनि 
नेताहरू विदेश गई उपचार गरेर आए पनि 
आखिर तिमीलाई हुने नाफाघाटा के छ र ! 


खानेलाई खान देऊ 
मर्नेलाई मर्न देऊ 
जसको शक्ति छ 
उसैको भक्तिगान गर्ने त हो 
सबै मान्छेलाई बराबरी देख्ने तिम्रो दृष्टिभ्रम 
सबै नागरिकलाई समान सोच्ने तिम्रो दोषी मन 

कठै ! तिम्रो पागलपन । 
पुस्तौँपुस्ता पुग्ने भ्रष्टाचार गर्नलाई  
न सत्ता चाहिएको छ तिमीलाई   
न त भत्ता नै 
अपराधबाट चोखिन 
न कसैको सुरक्षा चाहिएको छ 
न त राज्यको संरक्षण नै 
कुर्सीमा बस्नेका रङ धेरै फेरिए 
तिमी किन कहिल्यै फेरिन्नौँ ?  

बुढी आमाको भन्दा बढी देशको माया गरेर  
आफ्नै ज्यानलाई मारेर गरिबको चिन्ता गरेर 
यस्तो के अनर्थ गर्न खोजिरहेछौ ?   
कठै ! तिम्रो बहुलापन । 


तिम्रो सोच 
तिम्रो नैतिकता 
तिम्रो भावना 
सबै सबै त्यागिदेऊ 
बरु गिज्याउन देऊ 
साँझ बिहान तिम्रै निष्ठालाई   
त्यागी न हौ तिमी  
त्यसै त अरूकै लागि जीवन त्याग्न तयार छौँ  
न श्रीमती 
न छोराछोरी  
किन गर्दैछौ बेथितिको विरोध ?     

कसका लागि बसाल्नुछ –संस्कार ?   
ए ! पागल
यो तिम्रो कस्तो जिद्दी मन ?  
वाणले छियाछिया शरीरको असह्य पीडा सहँदै   
तिखा तीरैतीरैको ओछ्यानमा पल्टिरहेको भिष्मपितामह झँै  
अविचलित, निसङ्कोच, दरिद्र, शान्त, शान्त 

ए ! पागल 
तिम्रो पाउ छोएर 
मेरो अन्तर्मनले प्रणाम भनिरहेछ  
तर 
तिमीले झैँ अन्नपानी त्याग्ने आँट छैन मसँग 
मभित्रको लोभ, स्वार्थ, मोहलाई जितेर 
न त अरूको सुर्ता गर्दै पागल बन्ने सामथ्र्य नै  
ए ! पागल  
अरुकै निम्ति प्राण दिन तयार 
यो तिम्रो कस्तो विचित्र तन ? 
तिम्रो यो कस्तो पवित्र मन ? 


ए ! पागल 
म पागल बन्न नसक्नेरहेछु
कृपया ! तिमी नै अर्धपागल बनिदेऊ 
फोहोरमा सुहाउने झिँगालाई 
भन्किनदेऊ त्यतै रछ्यानतिर  

प्रिय ! पागल 
निःस्वार्थ सेवाको अभियोगमा यमराज  
जारी गर्दैछ अहंकारको रेडकर्नर नोटिस 
तिम्रै नाउँमा       
सत्याग्रहीको सम्मान गर्दै सरकार  
अभिनन्दनको शानदार कात्रो बुन्दैछ  
तिमी भने निश्चिन्त 

बुझाइरहेछौँ– सत्य र धर्म     
खोजिरहेछौँ– कोठीमा बन्देज न्याय  
चाहिरहेछौँ– मानवता 
मागिरहेछौँ– नागरिक हक 
र बसिरहेछौँ आमरण अनसन      

यो तिम्रो कत्रो आत्मविश्वास ?  
तिमी कस्तो दुर्लभ पात्र ? 
तिम्रो यो कस्तो चरित्र ? 
प्रिय पागल  
बिन्ती छ  
अरूकै लागि सर्वस्व त्याग्न तयार तिमी 
अब तिम्रै पागल ब्रह्मज्ञान पनि त्यागिदेऊ ।   


हुबेई, चाइना

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ