शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दधिराज सुवेदी प्रतिष्ठानको पुरस्कार पोखरेल र नेपाललाई

सोमबार, १४ माघ २०७५, २० : ३२
सोमबार, १४ माघ २०७५

काठमाडौँ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले यसवर्षको पुरस्कार साहित्यकार प्रा. डा. माधवप्रसाद पोखरेल र वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । 

प्रतिष्ठानकोे आइतबार बसेको बैठकले ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ साहित्यकार प्राडा पोखरेललाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि रु ५१ हजार र सम्मानपत्र छ । 

प्रा. डा. पोखरेलले नेपाली भाषा साहित्यका क्षेत्रमा लामो समयदेखि दिनुभएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए । 

पोखरेलका ‘ध्वनि विज्ञान र नेपाली भाषाको ध्वनि परिचय’, ‘मेरो मान्छे’, ‘नागदहको थिति’,‘गार्गीको गाँठो’, ‘नेपाली साहित्य कोष’, ‘लिम्बू नेपाली अङ्ग्रेजी शब्दकोश’लगायत दर्जनौँ कृति प्रकाशित छन् । 

यस्तै ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ । 

राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गरिसक्नु भएका पत्रकार नेपाल एक कुशल साहित्यकारसमेत हुन् । उनका ‘रङ्गमण्डल’, ‘अर्को प्रस्तर’, ‘चिन्ताका क्षणहरू’, ‘पाताल’, ‘शहरको कथा’ लगायत कृति प्रकाशित छन् । 

नेपाली भाषा साहित्यमा समर्पित प्राज्ञ समालोचक दधिराज सुवेदीको नाममा उनका सुपुत्रद्वय शरदराज र रुपकराजले तीन वर्ष अगाडि रु १५ लाखकोे अक्षय कोषको व्यवस्था गरेर उक्त पुरस्कार स्थापना गरेका हुन् । 

यसअघि यी पुरस्कारबाट साहित्यकार प्रा डा गोविन्दराज भट्टराई, प्रा डा अभि सुवेदी, पत्रकार हरिबहादुर थापा र शिवबहादुर कार्की पुरस्कृत भइसकेका प्रतिष्ठानले जनाएको छ । 

त्रिहत्तर वर्षीय प्राज्ञ सुवेदीले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत चार दशकदेखि निरन्तर योगदान दिएका छन् । उनका समालोचना, निबन्ध, कविता तथा भाषा साहित्यका विभिन्न सम्पादनसहित चार दर्जन कृति प्रकाशित छन् । यस वर्षको पुरस्कार आगामी फागुन महिनामा विराटनगरमा प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप